विकासन्युज

काठमाडौंका १० वटा तारे होटलमा म्याद गुज्रेका परिकार, धमाधम बुकिङ रद्द गर्दै विदेशी पर्यटक

काठमाडौं । विदेशी पर्यटकहरूले धमाधम बुकिङ रद्द गर्न थालेको बुझिएको छ । नेपाली उच्चस्तरीय तारे होटलमा समेत म्याद गुज्रिएका खाद्य वस्तु भेटिन थालेपछि विदेशी पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका हुन् । विभागले माघ २९ देखि फागुन ११ गतेसम्म उपत्यका भित्रका तारे र तारेस्तरका ९ वटा होटेलहरुमा अनुगमन गरेको थियो । सो क्रममा ती सबै होटेलहरुमा म्याद गुज्रिएका र रिलेबलिङ गरेका खाद्यपदार्थ पाइएको थियो । विभिन्न सञ्चार माध्यममा उच्च स्तरीय तारे होटलमा समेत यस्ता किसिमका खानेकुरा भेटिएको सार्वजनिक भएको सूचना पाएपछि विदेशी पर्यटकले बुकिङ रद्द गर्न थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए । आफूले बुक गरेको होटलमा म्याद गुज्रिएका जोखिमपूर्ण खानेकुरा भेटिएको भन्दै पर्यटकले बुकिङ रद्द गर्न थालेको जानकारीमा आएको पोखरेलले बताए । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केही दिन यता गरेको नियमित अनुगमनमा काठमाडौंका अधिकांश ठूला तारे होटेलहरुमा म्याद गुज्रेका र रिलेबलिङ गरेका खाद्य सामग्री पाइएको हो । जसले गर्दा विभागले ती होटेलहरुलाई तीन लाख रुपैयाँ सम्म जरिवाना र म्याद गुज्रिएका खाद्य सामग्री नियन्त्रणमा लिएर नस्ट पनि गरेको छ । अनुगमनका क्रममा देखिएका विषय सहित होटेलहरुको नाम सार्वजनिक गर्दा विदेशी पर्यटकहरुले बुकिङ क्यान्सिल गर्न थालेपछि जरिवाना मात्रै तिराउने काम गर्न लागिएको पोखरेलले बताए । ‘हामीले सुरुवातमा केही होटेलहरूको नाम पनि सार्वजनिक गर्यौं, त्यसले विदेशबाट हुने बुकिङ नै क्यान्सिल हुन लागेपछि नाम सार्वजनिक नगर्ने र कारबाही मात्रै गर्ने गरेका छौं,’ अधिकारी पोख्रेलले विकासन्युजसँग भने । उनका अनुसार विभागले ठूला होटेलहरूमा अनुगमन गर्दा सबैमा समस्या देखिएपछि व्यवसायीहरू संगठनात्मक रुपमा नै विभागमा पुगेर सूचना सार्वजनिक नगर्न अनुरोध गरेका छन् । ‘हाम्रो कमजोरी छ भने सच्याउन छौं, जरिवाना पनि तिर्न तयार छौं । तर, जरिवाना गरेको विषय सार्वजनकि नगरिदिनोस्, यसले हाम्रो व्यवसायमा असर परिरहेको छ, विदेशी पर्यटककले बुकिङ रद्द गरिरहेका छन् भने उनीहरूले भनिरहेका छन्,’ होटल व्यवसायीलाई उदृत गर्दै पोखरेलले भने । विभागले फागुन २ गते हेरिटेज एन्ड बुटिक होटेलको प्रमाणपत्र लिएको बत्तिसपुतलीको होटेल द्वारीकाजको अनुगमन गरेको थियो । त्यस्तै, हेरिटेज एन्ड बुटिक होटेलको प्रमाणपत्र लिएको इमेरो प्लाजा प्रालि (बसेरा बुटिक होटेल)ले केशरमहलमा सञ्चालन गरेको रेष्टुरेन्टमा माघ २९ गते अनुगमन गरेको थियो । ती प्रतिष्ठित होटेलले म्याद गुज्रेका र रिलेवलिङ गरेका खाद्य वस्तुहरू बिक्री गर्ने गरेको पाइएपछि विभागले तीन/तीन लाख रुपैयाँ जरिवान गरेको थियो । त्यसपछि पनि विभागले दैनिकरूपमा उपत्यका भित्रका ठूला होटेलहरूको अनुगमनलाई निरन्तरता दिएको छ । तर, विभागले जरिवाना तिराउने, म्याद गुज्रेका र रिलेवलिङ गरेका खाद्यवस्तु नियन्त्रण्माा लिए पनि होटेलहरूको नाम भने सार्वजनिक गरेको छैन । विभागका अनुसार अनुगमनको क्रममा फागुन ३ गते काठमाडौं बौद्धमा रहेको प्रतिष्ठित होटेल र ४ गते कुपण्डोलमा रहेको एक होटेलमा पनि म्याद गुज्रिएका खाद्य वस्तु भेटाएको थियो । ती दुई होटललाई पनि विभागले तीन/तीन लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै, विभागले फागुन ८ गते ललितपुरको एक होटेलमा अनुगमन गर्दा म्याद गुज्रेका र रिलेवलिङ गरेका वस्तुहरू बिक्री वितरण गरेको पाइएपछि २ लाख रुपैयाँ, ९ गते कालिमाटी ताहाचलमा रहेको एक होटेल र १० गते नक्साल र ताहाचलमा रहेका प्रतिष्ठित होटेलहरूले म्याद गुज्रेका र रिलेवलिङ गरेका खाद्यवस्तुहरु बिक्रीको अवस्थामा राखेको पाएपछि तीन/तीन लाख रुपैयाँका दरले जरिवाना गरेको छ । ११ गतेको अनुगमनको क्रममा पनि विभागले दरबारमार्गमा रहेको लालदरबार होटेलमा अनुगमन गर्दा म्याद गुज्रेका र रिलेवलिङ गरेका खाद्यवस्तुहरु फेला पारेको थियो । जसवापत विभागले सो होटेललाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । सूचना अधिकारी पोखरेलका अनुसार तीन लाख रुपैयाँ जरिवाना गरिएका सबै होटेलहरू तारे र ठूला स्तरका होटेलहरू हुन् । तारेस्तरका होटेलहरूको अनुगमनको जिम्मेवारी पर्यटन विभागको हो । तर, सो विभागलाई वाणिज्य आपूर्ति विभागले तारे होटेलहरूमा गरेको अनुगमनको विषयमा जानकारी नभएको पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले बताए । सबै होटललाई पत्राचार गरिसक्यौं : महासचिव शाक्य होटेल एशोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्यले तारे होटलमा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएको विषयमा सबै होटलमा पत्राचार गरिएको बताए । उनले म्याद गुज्रेका खाद्य वस्तु प्रयोग नगर्न होटललाई पत्राचार गरिसकेको बताए । उनले यो सामान्य विषय भए पनि सञ्चार माध्यमले ठूला बनाएको तर्क राखे । ग्राहकको स्वास्थ्यमा गम्भीर असर पर्ने वस्तु प्रयोग गरिरहेका होटलहरूको यो कमजोरीलाई होटल संघले सामान्यको रूपमा लिएका छ । ‘मिडियामा आएजस्तो ठूलो विषय होइन, प्रयोग गर्दागर्दै केही हुनसक्छ, मिडियाले सानो कुरालाई ठूलो बनाइदिएको हो, त्यसो गर्न नहुने’, उनले भने, ‘ठूलो मात्रामा स्टोरमा भेटिएको अवस्था होइन, म्याद गुज्रेका विषय समयमा डिस्पोजल गर्न भनेर अहिले हामीले सबै होटेलहरूलाई पनि पत्राचार गरिसकेका छौं ।’ उनले अनुगमनको विषयमा आफूहरूले मन्त्रालयस्तरमा पनि छलफल गरिसकेको बताए । साथै उनले अनुगमनको कारण आफ्ना बुकिङहरूमा समस्या नपरेको पनि प्रतिक्रिया दिए ।

कामना सेवा विकास बैंकले पायो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

काठमाडौं । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो । उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागीता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६-२ ले हराउँदै उपाधि जितेको छ । विजेता टिम कामना सेवा विकास बैकलाई ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटीएम वुथमार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

मन्त्री किराँतीले थ्री हन्ड्रेड जी जहाज किनेर १८ करोड कमिसन खाँदैछन् : सांसद खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खान लागेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री किराँतीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताउँदै थ्री हन्ड्रेड जी जहाज किनेर सो मात्राको कमिसन खान लागेको बताएका हुन् । उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो ? जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो ? भन्दै प्रश्न गरे । साथै, उत्पादन नै बन्द भइसकेका जहाज किन ल्याउन खोजिएको भन्ने बारेमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताउँदै सांसद खतिवडाले आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुनसक्छ ? भन्दै थप प्रश्न गरे । उनले भने- ‘ट्विनअटर क्यानडाबाट दुई तीन वटा जहाज किन्ने अहिले निर्णय भएको छ । झन्डै त्यो आफ्नै समितिले नेपाल एयरलाइन्सको नेपाल वायुसेवा निगमको आफ्नै समितिले ल्याउनसक्ने अवस्था छैन, ती जहाजहरु उत्पादन हुन छोडिसकेका छन्, भन्दा टेण्डर एक महिनाअघि लागू गरिएको छ । रिपोर्ट अनक्वालिफाइड भनिसकेको छ । जुन जहाजहरु अहिले उत्पादनमा छैनन्, थ्रि हन्ड्रेड जी भन्ने जहाज ल्याइँदैछ, जुन अहिले प्रोडक्शनमा छैन । त्यसमा झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागिएको छ ।’ सांसद खतिवडाले सरकारले सुशासनको नाममा लार्के लामा जस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेको बताए । उनले शान्तिका दुतको क्षेत्रमा लक्करमा गोली राख्ने मानिसहरुलाई नियुक्ति गर्नु लज्जाजनक रहेको बताए ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक शाखा संचालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । उद्घाटनमा बोल्दै पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हाल २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

मन, मस्तिष्क र शरीरको गहिरो सम्बन्ध हुन्छ

कुनै पनि व्यक्तिको शारीरिक स्वास्थ्यमा समस्या आयो भने तुरुन्त अस्पताल पुगेर जाँच गर्छ । कुनै समस्या देखियो भने उपचार गर्छ । देखिएन भने ढुक्क भएर बस्छ । तर, मानसिक स्वास्थ्यमा समस्या भयो भने ऊ अस्पताल पुग्दैन । मनलाई अशान्त बनाएर दुःखी भएर घरमै बस्छ । अझ कडा खालको समस्या देखियो भने परिवार, समाजले नै हेलाको दृष्टिले हेर्छ । हाम्रो समाजमा अहिले पनि यस्तो प्रवृति कायम छ । तर, अझै धेरैलाई मानसिक स्वास्थ्यबारे जानकारी छैन । यसो भनिरहँदा धेरैलाई लाग्न सक्छ मानसिक स्वास्थ्य के हो ? मानसिक स्वास्थ्य भन्नाले व्यक्तिको अवस्थालाई बुझ्न सकिन्छ । जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावसँग सामना गर्न सक्छ । आफ्नो जीवनमा परिणाममुखी काम गर्न सक्छ । सँगसँगै आफ्नो समाजमा पनि कुनै न कुनै योगदान गर्न सक्छ । यो सबै काम उसले गर्न सक्छ भने उसको मानसिक स्वास्थ्य अवस्था राम्रो छ अथवा मानसिक रूपमा स्वस्थ्य छ भनेर हामीले बुझ्न सक्छौं । यदि यी काम गर्न उसलाई अलिकति कठिनाइ भइरहेको छ, उसको दैनिकीमा अप्ठ्यारो छ भने मानसिक समस्या भएको छ कि भनेर शंका गर्न सकिन्छ । व्यक्तिको विचार भावना र व्यवहारमा कुनै पनि परिर्वतन आउँछ । त्यो परिर्वतन निश्चित अवधिभन्दा लामो समयसम्म रहन्छ भने उसलाई मानसिक स्वास्थ्य समस्या भएको हुन सक्छ । ताकि त्यो परिवर्तननले व्यक्तिको दैनिकीमा, जिम्मेवारीमा क्रियाशिलतामा नकरात्मक प्रभाव पार्छ । यो विषय व्यक्ति आफैंले पनि याद गर्न सक्छ भने परिवार साथीभाइ, छरछिमेक र कार्यस्थलका सहकर्मी साथीहरूलाई पनि थाहा हुन्छ । आजभोलि मानसिक स्वास्थ्य समस्या नभएको मान्छे प्राय भेट्न गाह्रो छ । कुनै न कुनै कारण मान्छेका मामनसिक स्थिती बिग्रेकै हुन्छ । कुनै पनि व्यक्तिको मस्तिष्क कस्तो छ भनेर उसको शरीरले भनिदिन्छ । किनकी मस्तिष्क, शरीर र मनको गहिरो सम्बन्ध हुन्छ । शरीरलाई केही भएको मनले भनिदिन्छ । मनलाई केही भएको शरीरले भनिदिन्छ । कुनै पनि व्यक्तिले म मानसिक रूपमा स्वस्थ छु कि छैन भन्नको लागि मेरो शरिर कस्तो छ र मेरो दैनिकी कसरी बितिरहेको छ भन्ने कुरा सबैभन्दा पहिले याद गर्नुपर्छ । जस्तो कि एन्जाइटी भएका मान्छेमा छटपटी हुने, डर लाग्ने, निन्द्रा नपर्ने शरिर काप्ने जस्तो हुने श्वास फेर्न गाह्रो भएजस्तो हुने घाँटीमा केही अड्केजस्तो हुने समस्या हुन्छ । यस्ता लक्षण देखापर्दा व्यक्तिले शरिरको समस्या भन्दै अस्पताल पुग्छ । तर, कुनै रोगको पहिचान हुँदैन । शरिरको कारणले मात्र व्यक्तिमा यस्तो समस्या देखिँदैन मनको समस्याका कारण पनि यस्तो हुन्छ । यो सँगसँगै व्यक्तिले अर्को के पनि याद गर्नुपर्छ भने मेरो मन सुखी छ कि, दुःखी छ । हिजोसम्म तपाईंलाई कुनै जमघटमा, पार्टीमा साथीभाइहरुसँग रमाइलो गर्न साह्रै इच्छा लाग्थ्यो भने आजदेखि नलाग्न सक्छ । व्यक्तिको व्यवहारमा केही न केही परिर्वतन आउँछ । जुन परिवर्तनले व्यक्तिलाई सकारात्मक परिणाम दिंदैन । दुःखी नै महसुस गराइरहेको हुन्छ । व्यक्ति धेरै एक्लोपनमा रमाउन थाल्छ । उसको निन्द्रा, खानपिन, व्यवहार यस्ता धेरै कुरामा परिवर्तन आउँछ । तनाव हरेक व्यक्तिलाई हुन्छ । कसैलाई अहिले तनाव हुने, केहिबेरमा हराएर जाने हुन्छ । अर्को कुरा सधैंभरी तनाव नराम्रो हुन्छ भन्ने पनि हैन । कहिलेकाहीँ तनावले हामीलाई सकारात्मक परिणाम पनि दिन्छ । जस्तो कुनै कुरामा हामीले स्ट्रेसले लिएर काम गर्याैं भने यसको परिणाम राम्रो पनि आउँछ । तर, सबै तनावले राम्रो परिणाम दिँदैन । यसले हाम्रो शरीरलाई नकारात्मक असर पार्छ । कुनै पनि कुराले साता दिन वा १५ दिनभन्दा बढी नचाहिँदो कुरामा कुनै कुरालाई याद आइरह्यो भने हामीले अलिकति डराउनुपर्ने हुन सक्छ । मानसिक स्वास्थ्य समस्या के कारणले हुन्छ ? मानसिक समस्या हुनु कुनै एक या दुई मात्र कारण छैनन् । यसका अनेकौं कारण छन् । मान्छेको जैविक अवस्था, मनोवैज्ञानिक अवस्था, पारिवारिक र सामाजिक अवस्था व्यक्तिलाई मानसिक समस्या निम्त्याउन जिम्मेवार रहन्छ । यस्ता समस्याबाट टाढा रहन पहिले यो विषयमा जानकार हुनुपर्छ । कतिपय व्यक्तिलाई आफू यस्तो समस्यामा परेको जानकारी नै हुँदैन । यस्तो बेला परिवारका सदस्य, साथीभाइलाई थाहा हुन्छ । जानकारी भएका साथीहरूले समयमै पहिचानका लागि सल्लाह दिनुपर्छ । समयमै पहिचान गर्दा निको हुन्छ । यो बाल्यवस्थाबाटै सुरु हुन्छ । एउटा बाल्यकालको अनुभव हुनसक्छ । अर्को दुव्र्यवहार पनि हुन सक्छ । स्कुलमा साथीभाइले होच्याउने, शिक्षकको कारण हुने तनाव पनि अन्य कारण हुन सक्छन् । लागू पर्दाथको कारण पनि हुन सक्छ । निद्रामा गडबडी, खानामा गडबडी, अरु कुनै दीर्घरोगको कारण अपांगता भएको कारण यो विभिन्न कारणले गर्दा हुन हुन्छ । मानसिक समस्या भएकाहरूको आनीबानीमा समेत परिर्वतन आउने गर्छ । यो विषयमा हाम्रो समाज सुसूचित छैन । कुन समस्या शारीरिक हो, कुन मासिक हो भन्नेमा व्यक्ति आफू उसको परिवार र समग्र समाज अझै प्रस्ट ढंगले बोल्न सकिरहेको छैन । यदि समस्या नै भइहाल्यो भनेपनि सामाजिक विश्वास, व्यवहार र बुझाइ अनुसारको फरक–फरक ढंगले व्यक्ति प्रस्तुत हुन्छ । कतिपयले यस्तो व्यक्तिलाई व्यक्तिगत लान्छनासँग जोड्छन्, उ कमजोर बनेको, उसले अल्छी गरेको अथवा असहयोग गरेको कतिपय सन्दर्भमा गलत बानी व्यवहार र दुर्व्यसनमा फसेको, उ हिंस्रक भएकोरूपमा हेरिन्छ । कसैले सहयोग नै गर्न चाह्यो पनि धामी झाँक्री कहाँ लाने, गलत र हानिकार अभ्यास गर्ने गरिरहेको हुन्छ । यति सम्मकि मानसिक स्वास्थ्य समस्या सुन्न पनि नसक्ने खालको सामाजिक चेतना छ । यस्ता हुन्छन् लक्षण मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा लक्षण पनि फरक-फरक देखा पर्छन् । पढाइ, निन्द्रा, खाना लगायत विभिन्न कुरामा हामी ख्याल गर्न सक्छौं । जस्तो कुनै कुरामा पहिले रुची हुन्थ्यो त्यो रुची घट्दै गएको हुन सक्छ । त्यस्तै चिटचिट पसिना आएजस्तै हुने, छिनमै तातो, छिनमै चिसो हुने, शारीरिक रुपमा पनि आफ्नो तापक्रम घटबढ भएको जस्तो हुने गर्छ । यो किन भएको हो थाहा नहुने शारीरिक रूपमा पनि यस्तो लक्षणहरु देखा पर्दछ । यस्तो अवस्थामा सामान्य कुराहरूलाई याद गर्न सकिन्छ । उसको नियमित र दैनिक क्रियाकलापहरू कस्तो भइरहेको छ त त्यो क्रियाकलापमा उसको ध्यान छ कि छैन ? जहिले बिहान ५ बजे उठ्ने मान्छे ७ बजेसम्म सुत्ने भइरहेको छ कि, उठ्न आलश्य गरिरहेको छ कि, फूर्तिलो कत्तिको छ खानपान कस्तो छ, दैनिकी सबै हेनुपर्छ । व्यक्तिको दैनिकीमा र नियमित क्रियाकलापमा परिवर्तन देखिन थाल्छ । उपचार के हुन्छ ? मानसिक स्वाथ्य समस्या विभिन्न प्रकारका हुन्छन् । यसको उपचारमा अहिलेसम्म औषधी उपचार र मनोवैज्ञानिक उपचार भइरहेको छ । कतिपय समस्या उपचार गरे निको हुन्छ भने कतिपय समस्यामा कसरी यो सँगसँगै बाँच्ने भन्ने कुरा सिकाइन्छ । पछिल्लो समयमा नयाँ खालको उपचार पद्धतिको पनि विकास भएको छ । यो प्रविधिले अप्रेसन गर्ने भन्दा पनि दिमागको निश्ति क्रिया सम्पादन गर्ने भागहरू हुन्छन् तिनिहरूलाई क्रियाशिल गराउने काम गर्छ । औषधी, मनोपरामर्शका अतिरिक्त यो प्रविधिले पनि उपचार गरिन्छ । तर, यस्तो समस्या भएकाहरू अझै खुलेर नआउने समस्या छ । समूदायमा यसको उपचारका लागि भनेर निशुल्क औषधीको व्यवस्था गरिएको छ । तर, उपचार गराउन आउनेहरूको सख्या कम छ । परिवार  र साथीभाइको भूमिका स्वास्थ्य भनेको शारीरिक मात्र होइन । मानसिक पनि हो । यस्तो अवस्थामा व्यक्तिमात्र होइन, समाज पनि सचेत र सजग रहनुपर्छ । आफूलाई समस्या पर्दा पनि सोही ढंगले व्यवहार गर्नुपर्छ । अरूलाई पर्दा पनि हाम्रो दायित्व छ भनेर परिवारका सदस्य, साथीभाइहरू पनि सहयोग गर्नुपर्छ । यसका लागि सचेतना जरुरी छ । मान्छेमा सचेतना हुनसक्यो भनेमात्र पनि के सही के गलत, के भ्रम के यथार्त, के उपयुक्त के अनुपयुक्त बुझन सक्नुहुन्छ । यसका लागि मानसिक स्वास्थ्यका विषयमा खुलेर बहस गर्न आवश्यक छ । मानसिक समस्या लान्छनाको विषय हैन, विभेदको विषय पनि हैन कसैको कमजोरी पनि हैन हामीसँग भएको स्वभाविक स्वाभाविक मानसिक प्रवृति हो । यसलाई सन्तुलित राख्न व्यक्ति अलमलिनु पर्ने, हिचकिचाउनु पर्ने केही छैन । यो विषयमा परिवार, साथीभाइसँग कुरा गर्न अफ्यारो लाग्छ भने विज्ञहरूसँग भेटेर सजिलै कुराकानी गर्न सकिन्छ । यसका लागि पाटन मानसिक अस्पतालले पनि ११६६ को निःशुल्क हटलाइन सेवा सञ्चालन गरिएको छ । यसमा फोन गरेर पनि आफ्ना समस्या राख्न सकिन्छ । मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्नुपर्छ । हामी स्वास्थ्य भन्ने बित्तिकै डाक्टर र अस्पतालको मात्र कुरा गर्छाैं, यो होइन । स्वास्थ्य भनेको घर व्यक्तिको आफ्नो जीवन, काम गर्ने ठाउँ जहाँ व्यक्ति जान्छ त्यहाँ स्वास्थ्य जोडिएको हुन्छ । यो कुरा बुझ्न आवश्यक छ । वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिक डाक्टर बासुदेव कार्कीस“ग गरिएको कुराकानीमा आधारित

डिप्रेसनका कारण बढेका अपराधिक अवस्था डरलाग्दो छ : सांसद बराल

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । आईतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताएकी हुन् । उनले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । मानसिक समस्याका कारण समाजमा अपराध र अपराधिक घटना बढिरहेको बताइन् । मानसिक स्वास्थ्यमा सरकारले चासो नदिएको बताइन् । ‘केही दनिअघि ललतिपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र अपराधिक अवस्था डरलाग्दो अवस्था छ । २०४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पतालको स्थापना भयो । त्यसपछि न अर्को अस्पताल खुल्यो, न मानसिक स्वास्थ्य प्राथमिकतामा नै परेको छ’, उनले भनिन् । उनले सूचना, प्रविधि र डिजिटलाइजेशनका कारण सामाजिक समस्या बढिरहेको बताइन् ।

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस् : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेका छन् । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले ख्वप विश्वविद्यालयको विधेकय तत्काल ल्याउन आग्रह गरे । शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको भन्दै प्रश्न गरे । ख्वप विश्वविद्यालयले देशभरका विद्यार्थीहरुलाई न्युन शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि चाप बढिरहेको दाबी गरे । ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । ख्वप कलेजमा पढ्नेको संख्या बढ्दो छ । शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक ल्याउनुहुन्छ तर ख्वप विश्वविद्यालयको विधेकय किन ल्याउनु हुन्न । तत्काल विधेयक ल्याइयोस्’, उनले भने । उनले सरकार समाजवादउन्मुखको नारा लगाइरहेपनि शिक्षा महंगो भइरहेको बताए ।

बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको भाउ बढेको छ । आज सुनको मूल्य तोलाको ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन तोलामा १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।