भुक्तानी नपाएपछि सडकमा दूध पोखेर किसान आन्दोलित
इलाम । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामको आयोजनामा भेला भएका करिब दुई सय किसानले सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन् । उनीहरूले यथाशीघ्र किसानले भुक्तानी पाउनुपर्ने माग राखेका छन् । चक्काजाम गरिँदा करिब एक घण्टा मेची राजमार्ग अवरुद्ध भएको थियो । दूध बेचेको पैसाले गर्जो टार्दै आएका किसानलाई छ महिनायता परिवार पाल्न मुस्किल छ । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बेचेको दूधको भुक्तानी छ महिनादेखि पाएका छैनन् । भुक्तानी नपाउँदा चामल किन्न नसकिएको इलामकी सावित्रा राउतको गुनासो छ । ‘साहुसँग ऋण काढेर मान्छेलाई चामल र गाईलाई चोकर ल्याएको आधा वर्ष भइसक्यो’, राउतले भने, ‘हिसाब गर्दा बुझाउन रु ५० हजार पुगेछ, अब ऋण नतिरे साहुले पनि दिँदैनन्, डिडिसीले दूधको पैसा दिने छाँटकाँट देखाएको छैन ।’ भुक्तानी नपाएर किसान मारमा परेपछि किसानसम्बद्ध विभिन्न १५ सङ्घसंस्थाले दूधको भुक्तानी माग गर्दै इलामलगायत देशभर आन्दोलन जारी राखेका छन् । उनीहरूले फागुन १० देखि आन्दोलनलाई निरन्तरता दिँदै इलाम जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य हेम कट्टेल र इलाम अध्यक्ष महानन्द सापकोटासहितले सरकारलाई दूधको मूल्य भुक्तानी माग गरी ज्ञापनपत्र पेस गरेका हुन् । उनीहरूले लम्पी स्किन रोगले पशु मरेर, दूध बेच्न नपाएर थलिएका किसानले बेचेको दूधको भुक्तानी सरकारीसहित अन्य क्रेताले पनि दिन नसकेको गुनासो गरेका छन् । उनीहरूले किसानले उत्पादन गरेको सबै दूध बिक्ने वातावरण बनाउनेसहितका १८ बुँदे मागपत्र सरकारलाई बुझाएका हुन् । माग पूरा नभए मेचीसहित देशका मुख्य राजमार्ग बन्द गर्नेसम्मका कार्यक्रम उनीहरूले घोषणा गरेका छन् । किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल दुग्ध व्यवसायी सङ्घ, दुग्ध उत्पादक किसान सङ्घलगायत किसानका सङ्घ–सङ्गठनले संयुक्तरूपमा आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । डिडिसीले विराटनगर आयोजनासहित १० चिस्यान केन्द्रसमेत गरी दैनिक २६ हजार लिटर दूध सङ्कलन गर्दै आएको छ । त्यसैगरी अन्तरआयोजना ढल्केवर र हेटौँडाबाट थप २१ हजार लिटर दूध विराटनगर आयोजनामा आउने गरेको छ । किसानबाट खरिद गरेको छ महिनाको ५० करोड बढी सहकारीमार्फत किसानलाई भुक्तानी दिन बाँकी रहेको डिडिसीले जनाएको छ । आयोजनाले विभिन्न सहकारीमार्फत इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दूध सङ्कङ्कलन गर्दै आएको छ । जसमा कोशी प्रदेशका आठ हजार बढी किसान आबद्ध छन् । किसानबाट खरिद गरिएको दूधको उत्पादन व्यापारमा आएको ह्रासका कारण किसानलाई समयमै भुक्तानी दिन समस्या भएको दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख परमेश्वर चौधरीले बताए । उनले अहिले पनि ठूलो मात्रामा दुग्धजन्य उत्पादन आयोजनाका स्टोरमा लामो समयदेखि थन्किएका कारण किसानलाई गएको साउनयता भुक्तानी दिन नसकिएको बताएका छन् । ‘पछिल्लो समय घ्यू बिक्री नभएको र बढी भएको दूधबाट (धुलो दूध)बनाएर राख्नुपर्दा चालु पुँजी अभाव छ । अहिले पनि रु ३० करोड ५० लाखको धुलो दूध, मक्खन र घ्यू विराटनगर आयोजनामा मौज्दात छ’, उनले भने । गएको जेठयता रु छ करोडबराबरको ५० टन बढी धुलो दूधको पाउडर, रु ११ करोड मूल्यबराबरको ९० मेट्रिक टन मक्खन, नौ करोड ५० लाख मूल्यको आठ मेट्रिक टन घ्यू स्टोरमा रहेको जानकारी दिँदै आयोजना प्रमुख चौधरीले यसअघि विभिन्न सहकारीमार्फत किसानबाट खरिद गरेको दूधको पैसा पाक्षिकरूपमा उपलब्ध गराउँदै आएको बताए । रासस
मर्जरपछि बीमा कम्पनीहरूमा टिकेनन् डीसीईओ, यूनाइटेड अजोडमा गम्भीर समस्या
काठमाडौं । साविक प्रभु लाइफ र साविक महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको ७ महिना मात्रै भयो । तर, प्रमुख कार्यकारी अधिकृत (सीईओ), दुई जना नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)सहित १५ जनाले कम्पनी छाडेर बाहिरिए । स्रोतका अनुसार २ कम्पनीका उच्च नेतृत्वबीच ठूलै टसमस भएपछि सीईओ रमेश कुमार भट्टराई, डीसीईओ कमल पन्थी र रामेश्वर श्रेष्ठसहित १५ जना स्वेच्छिक अवकास (भीआरएस) सुविधा लिएर बाहिरिएका हुन् । यद्यपी यी सबै काम कम्पनीका लागि नियमित र सामान्य भएको बताइन्छ । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईका अनुसार मर्जपछि कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएसमा विदा गरिएको हो । ‘माथिल्लो तहमा कर्मचारी संख्या बढी भयो, डीसीईओ, सिनियर म्यानेजरहरू धेरै भयो । दुवै कम्पनीबाट आउँदा कर्मचारी बढी भए । धेरै भएपछि मिलाउन गाह्रो हुँदो रहेछ । त्यसैले भीआरएस सुविधा दिएर विदा गरेका हौं,’ उनले भने । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई गत असार २९ गते एकीकृत गरेका थिए । तर, मर्ज भएको ७ महिनामै साविक महालक्ष्मी लाइफका उच्च व्यवस्थापकहरू एकैपटक बाहिरिएका हुन् । यस्तै, गत साता हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कमल गौतमले पदबाट राजीनामा दिएर बाहिरिए । उनको राजीनामा गत मंगलबारदेखि लागू हुने गरी स्वीकृत भएको छ । यसअघि उनी एभरेष्ट इस्यारेन्सका सीईओ थिए । एभरेष्ट र हिमालयन इन्स्योरेन्सबीच मर्जरपछि उनी वरिष्ठ डीसीईओ बनेका थिए । तर, मर्जर भएको डेढ वर्ष पछि उनी कम्पनीबाट बाहिरिएका हुन् । यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सका सियिर डीसीईओ कुमार बहादुर खत्रीले राजीनामा पत्र बुझाएको २ हप्ता बढी भइसक्यो । तर, उनले बुझाएको राजीनामा स्वीकृत भएको छैन । आफूले कम्पनीमा राजीनामा पत्र बुझाएको भएपनि स्वीकृत हुन बाँकी रहेको डीसीईओ खत्रीले विकासन्युजसँग बताए । यूनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण कुमार रावलका अनुसार कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कुमार बहादुर खत्रीले राजीनामा दिएको भएपनि स्वीकृत भइसकेको छैन । उच्च पदस्थ कर्मचारी भएकाले राजीनामा स्वीकृत नगरेको उनको भनाइ छ । साथै मर्जपछि ३ जना विभागीय प्रमुखहरू बाहिरि सकेको उनले बताए । मर्जपछि एकले अर्काको कमजोरी खोतल्ने र त्रुटी औल्याउँदै उजुरबाजुरमा लाग्ने समस्या कम्पनीमा देखिएको र यसले कम्पनीभित्र गम्भीर समस्या उत्पन्न गराएको सोही कम्पनी सम्बद्ध स्रोतले बतायो । ‘दुईटा कम्पनी मर्ज भएपछि एकअर्कालाई दोस लगाउँछन् । दुईटा डीसीईओबीच गुट बनेको सुन्नमा आउँछन्, अहिले पनि बजारमा दक्ष जनशक्ति अभाव छ । राम्रो कर्मचारी अवसर पाएपछि यताउता गइरहेका छन्,’ सीईओ) रावले भने । उनका अनुसार यूनाइटेड अजोडका रिइन्स्योरेन्स (आरआई) र अण्डरराईटिङ प्रमुखले राजीनामा दिएर बाहिरिएका हुन् । अन्य कर्मचारी भने करार अवधि सकिएर नवीकरण नभएपछि बाहिरिएका उनले बताए । मर्जरपछि कम्पनीमा ओभरस्टाफको समस्या देखिएका कारण संरचनागत समस्या देखिएको बताउँछन् । दुईटा कम्पनी मर्ज भएपछि ओभर स्टाफिङको समस्या भएपनि व्यवस्थापन गरिरहेको उनको भनाइ छ । ‘इण्डष्ट्रिमा यस्ता समस्या आइरहन्छन् । एक कम्पनीबाट अर्काे कम्पनी र अर्काे कम्पनीबाट अर्काे कम्पनीमा मुभमेन्ट भइरहेका हुन्छन् । कसैलाई त्यही कम्पनी राम्रो लाग्छ भने कसैले अफ्ठ्यारो महसुस गरिरहेका छन् । कतिपय कर्मचारीले असरक्षित महसुस गर्छन्,’ उनले भने, ‘जहाँ आफूलाई कम्फर्टेबल महसुस हुन्छ, त्यहाँ जानु स्वभाविक हो । कम्पनीहरूमा धेरै मूभ भइरहेका हुन्छन् । ती विषयलाई हामीले हटाउनु पर्ने छ ।’ आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स बनेपछि सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भए । साविक प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सनियर डीसीईओ) बने । तर, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएको एक महिना नबित्दै रावल कम्पनीबाट बाहिरिए । हाल उनी युनाईटेड अजोड इन्स्योरेन्सको सीईओमा नियुक्त भएर काम गरिरहेका छन् । सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स बनेपछि सीईओ चंकी क्षेत्री नियुक्त भए । तर, मर्जरसँगै साविक लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ रहेका नूर प्रकाश प्रधान भने बाहिरिए । यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरे । मर्जरपश्चात् कम्पनीको सीईओमा साविक सिद्धार्थ इन्स्योरेन्सबाट बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भए । दुई कम्पनीको मर्जर प्रक्रिया चलिरहँदा नै साविक प्रिमियर इन्स्योरेन्सका सीईओ विश्वराम तिमिलाले राजीनामा दिएर बाहिरिए । गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स मर्ज भए । नयाँ कम्पनीको रुपमा जन्मिएको हिमालयन लाइफको सीईओमा नियुक्त भए मनोज कुमार लाल कर्ण । उनी साविक यूनियन लाइफ इन्स्योरेन्सका सीईओ थिए । तर, मर्जरपश्चात् भने साविक गुराँस लाइफका सीईओ विपिन कुमार लाल कर्ण र प्राइम लाइफका सीईओ निर्मल कुमार दाहालले राजीनामा दिएर बाहिरिए । नेपाल बीमा प्राधिकरणको पूँजी वृद्धिको निर्देशनपश्चात् २१ वटा बीमा कम्पनी मर्जरमा सामेल भए । जसमध्ये ९ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनी थिए । मर्जरमा सामेलपछि १० वटा कम्पनीमा सीमित बने । तर, मर्जरमा सामेल भएका यी कम्पनीको नेतृत्व सम्हालिरहेका अधिकांश सीईओ राजीनामा दिएर बाहिरिए भने केही सीईओ पद घटुवामै चित्त बुझाएर काम गरिरहेका छन् । मर्जरले भविश्यमा कम्पनीको समग्र बिजनेसमा टेवा पुगे पनि यो इन्डष्ट्रीबाट केही अनुभव, सीप र ज्ञान भएका व्यक्तिहरु पलायन भएको बीमा जानकार बताउँछन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल मर्जरपछि बीमा कम्पनीमा समस्या आएको स्वीकार गर्छन् । साथै, मर्जरपछि कम्पनीहरूमा संरचनागत रूपमा समस्या देखिएको उनको भनाइ छ । हाल कम्पनीको उच्च तहमा पुगेका व्यवस्थापकहरू मार्केटिङ तहबाट आएकाले ससम्मान विदा गर्न प्राधिकरणले अनौपचारिक आग्रह गरेको उनी बताउँछन् । ‘युनाइटेड अजोड, हिमालयन एभरेष्ट, प्रभु महालक्ष्मी लाइफमा समस्या देखिएको छ । यी कम्पनीहरू विभिन्न कल्चरबाट हुर्किएर आएका हुन् । सबै आआफ्नो सिस्टममा चलेका थिए । अब त्यसलाई समाधान गर्न जरूरी छ,’ उनले भने ।
आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरुको साझा धारणा आवश्यक : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतनत्र जटिल मोडमा रहेको बताउँदै सबै राजनीतिक दलहरुको साझा एजेण्डा बनेर सुधार नभए दुर्घटना हुनसक्नेतर्फ सचेत गराएका छन् । राज्य व्यवस्था समितिमा बिहीबार भएको छलफलमा अध्यक्ष ढकालले सरकार र राजनीतिक दलहरु संवेदनशील नहुने हो भने स्वदेशी र विदेशी लगानी हुन नसक्ने अवस्था रहेको बताएका हुन् । ‘सबै मिलेर अर्थतन्त्रको जटिलता समाधानमा पहल नहुने हो भने निजी क्षेत्र लगानी बढाउने नभइ कसरी व्यवसायबाट बाहिरिने भन्ने बाटो खोज्ने अवस्था आउनेछ,’ अध्यक्ष ढकालले भने । महासंघ र अन्तराष्ट्रिय वित्त निगमले सार्वजनिक गरको अध्ययन अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत रोजगारीमा ८७ प्रतिशत योगदान निजी क्षेत्रको छ । अहिले निजी क्षेत्रमा समस्या आउँदा समाधानको उपायको खोजी हुनुपर्ने अध्यक्ष ढकालले वताउनुभयो । सरकारभित्र पनि अन्तर निकाय समन्वय नहुँदा समस्या बल्झिदै गएको उहाँको भनाइ थियो । ‘सबैले राम्रो काम गरेको भनिरहनुभएको छ,’ उनले भने, ‘तर नतिजा सकारात्मक आएको छैन । मुलतः निजी क्षेत्रले काम गर्न नसक्दा सरकारको राजश्वमा पनि असर परेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको घाटा करिब ५० अर्ब रुपैया छ । निजी क्षेत्रले निर्वाध काम गर्न नसक्दा राजश्वमा चाप परेको हो । यसैगरि आगामी लगानी सम्मेलनलाई लक्षित गरि तयार पारिएको कानुन सुधार सम्बन्धि व्यवस्था पारित गर्नुपर्नेमा पनि अध्यक्ष ढकालको जोड थियो । महासंघले करिब एक दर्जन कानुन सुधार आवश्यक रहेको तीन महले सुझाव सरकारलाई बुझाएको छ । सोही अनुसार प्रधानमन्त्री कार्यालयका सचिव एक नारायण अर्यालको संयोजकत्वमा निजी क्षेत्र सम्मिलित कार्यदलले सुधार सुझाव तयार पारि मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई बुझाइसकेको छ । अध्यक्ष ढकालले लगानी आकर्षित गर्न तयार पारिएका सुझाव संसदले पारित गर्नुपर्ने बताए । सोहि छलफल को कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीति नियमनहरु बनाउदा सरकारले निजि क्षेत्रलाई साक्षीको रुपमा मात्र लिने गरेको बताए । उनले निजी क्षेत्रले दिएका सुझावहरु नीति नियमनहरुको मस्यौदा तयार पार्दा सरकारले ध्यान दिएर समावेश गरे देशको अर्थतन्त्रमा अझै सुधार आउने जानकारी दिए । सोहि कार्यक्रममा बोल्दै श्रेष्ठले नीति नियमनहरु बनाउने निकायहरुको संख्याको तुलनामा निगरानी गर्ने निकायहरु बढीभएको र यसले व्यवसायीहरु हतोत्साहित भएको जानकारी गराए ।
‘सहरी व्यवस्थापनका क्रममा हामी बल प्रयोग गर्दैनौं, सुन्धारा घटनामा प्रतिरक्षा भएको हो’
काठमाडौं । महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको बताएका छन् । उक्त क्षेत्रमा सडक व्यापार नगर्न आग्रह गर्दा गर्दै पनि अटेर गरेका व्यापारीद्धारा प्रहरीमाथि आक्रमण भएको उनले बताए । ‘त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका थियौं, गएको १५ दिनअघिदेखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए,’ उनले भने । पाण्डेले नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताएका छन् । उनका अनुसार घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेको छ । ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा गएका थिए । उनी पुग्ने बित्तिकै आक्रमण भयो ।’ प्रहरी बलका प्रमुख पाण्डे भन्छन्- ‘भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो । यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो । कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन । त्यो हाम्रो काम पनि होइन ।’ ’
संसदीय समितिमा उद्योगी व्यवसायी : निजी क्षेत्रलाई हेर्ने नियामक निकाय धेरै भए, हामी त्रसित भयौं
काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले सरकारको तर्फबाट निजी क्षेत्रमाथि नियमन गर्ने निकायहरु धेरै भएको बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले निजी क्षेत्रमाथि अख्तियारको कार्यक्षेत्र विस्तार हुन नहुने भन्दै दोहोरो तेहेरो नियमन गर्ने काम भएको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् । अहिले राजस्व, राजस्व चुहावट, आतंकवाद क्षेत्रमा लगानी जस्ता विषयहरुलाई आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति सुद्धीकरण तथा अनुसन्धान विभागले नियमन गर्दै आइरहेका छन् । राजस्व अनुसन्धान विभागले विशेषगरी आयातित वस्तुहरुमा भएको राजस्व अवस्था र फौजदारी प्रकृतिका राजस्व छलीका विषयलाई नियमन गर्दै आएको छ । सम्पत्ति शुद्धीकरण विभागले पनि उजुरी परेका व्यक्ति तथा संस्थाको आम्दानी र लगानीको क्षेत्रका विषयमा स्रोत खोज्ने र अदालतमा मुद्दा चलाउने काम गर्दै आएको छ । बिहीबार समितिमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागले गरेका काम कारवाहीको सन्दर्भमा बोल्दै उद्योगी व्यवसायीहरुको मुख्य छाता संगठनका नेतृत्वहरुले निजी क्षेत्र नियामकहरुबाबट त्रसित भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारका केही निकायले पपुलरको नाममा गरेको क्रियाकलापले डरलाग्दो वातावरण देखिएको बताए । ‘अहिले कताकता पपुलर हुने नाममा सरकार अन्तर्गतका निकायहरुको एक्टिभिटी भएको हो की भन्ने लागेको छ, यो देशको लागि निकै डरलाग्दो विषय हो’, उनले भने, ‘यो साँच्चै विचारणीय छ, कुनै संस्थाले लिने निर्णयले गर्दा अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने कुराको दृष्यावलोकन नभएको होकी भन्ने निजी क्षेत्रलाई लागेको छ ।’ त्यस्तै उनले निजी क्षेत्रका आर्थिक क्रियाकलापलाई हेर्ने सरकारका २०/२२ वटा निकाय हुँदाहुँदै थप अख्तियारले हेर्न नहुने बताए । तर, उनले निजी क्षेत्रलाई अनुसन्धानको दायरामा ल्याउन नै हुन्न भन्ने तर्क भने आफूले नगरेको बताए । ढकालले निजी क्षेत्रलाई अख्तियारले हेर्न नपाउने भन्ने सन्दर्भमा आवश्यक कारण माग्दै रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका सांसद रघुजी पन्त लगायतले निजी क्षेत्रलाई किन डर भयो भन्दै प्रश्न गरेका थिए । प्रश्नको जवाफमा अध्यक्ष ढकालले निजी क्षेत्र नडराएको तर, चौतारको दमाहा झैं सबैले बजाउने हो भन्दै प्रश्न गरेका थिए । ‘निजी क्षेत्रलाई डर छैन, निजी क्षेत्र भनेको चौतारामा राखेको दमाहा झैं सबैले बजाउने हो ?’, उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैंकले हेरेको छ, इन्स्योरेन्स क्षेत्रलाई बीमा प्राधिकरणले हेरेको छ, फेरि किन थप आउुनपर्र्यो ?’ त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेस अग्रवालले राजस्व अनुसन्धानको क्षेत्रमा राज्यका तीनवटा निकायले हेर्ने गरेको भन्दै त्यसले गर्दा उद्योगी व्यवसायीले दुःख पाउने काम भएको उनले बताए । ‘अहिले राजस्व अनुसन्धानमा तीनवटा निकायले हेर्ने गरेको छ, यसो गर्दा उद्योगी व्यवसायीलाई दुःख पाउने अवस्था भएको छ, यसको लागि स्पष्ट गर्न आवश्यक छ’ उनले भने । उनले राजस्व छानबिनको लागि देवानी र फौजदारी विषयमा पनि स्पष्ट हुन आवश्यक रहेको बताए । आर्थिक कसुरमा आर्थिक जरिवाना मात्रै हुनुपर्ने व्यवस्था आवश्यक रहेको भन्दै भारतमा पनि त्यसको अभ्यास भएको अध्यक्ष अग्रवालले समितिमा धारणा राखेका थिए । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा बेनामी उजुरी दिने प्रणालीको अन्त्यको व्यवस्था गर्न समेत अग्रवालले माग गरेका थिए । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि निजी क्षेत्रका आर्थिक क्रियाकलापलाई एउटा निकायले हेर्नुपर्ने माग गरेका छन् । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सेन्चुरी बैंकका पूर्व सिइओ र प्रभु बैंकका डेपुटी सिइओसहित १० जनालाई गिरफ्तार गरेको छ । राष्ट्र बैंकको यिनमनको दायरामा भएको सो विषयमा सिआईबीले बैंकरहरुलाई गिरफ्तार गरेको भन्दै अध्यक्ष मल्लले जसको शक्ति उसको भक्ति भएको बताए । ‘भर्खरै बैंकिङ कसुरमा सिआईबीले समायो, यो त राष्ट्र बैंकले हेर्ने कुरा हो, जसको शक्ति उसको भक्ति गर्न भएन’, अध्यक्ष मल्लले भने । सम्पत्ति शुद्धीकरको विषयमा पनि सबै नेपालीले एकपटक आफ्नो सम्पत्ति घोषणा गर्ने व्यवस्था गरेर अगाडि नबढ्दा समस्या भएको उनको भनाइ थियो । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले पनि सम्पत्ति शुद्धीकरण विभागलाई दुरुपयोग गर्न खोजिएको होकी भन्दै आशंका व्यक्त गर्दै सम्पत्तिको अभिलेखीकरण गर्न पाउनुपर्ने माग गरे । ‘एकपटक सम्पत्तिलाई अभिलेखीकरण गर्न पाउनुपर्यो, मानिसहरुकोे पुख्र्यौंली सम्पत्ति पनि छ, व्यक्तिको सम्पत्ति अभिलेखीकरण नगर्दा आक्रमण भयो’, उनले भने । व्यवसायी अम्बिका पौडेलले पनि निजी क्षेत्रलाई हेर्ने निकाय निकाय धेरै भएको भन्दै कति निकायले हेर्नुपर्ने भन्दै प्रश्न गरेका थिए भने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफूहरु राज्यका सर्भिलेन्स निकायहरुबाट त्रसित भएको बताएका थिए । बैठकमा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापा र रास्वपा सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागको कारबाहीको कम प्रभावकारीता भएको भन्दै आलोचना गरेका थिए । महामन्त्री थापाले सिआईबीले पछिल्लो समयमा सिआईबीले बैंकरहरुलाई गिरफ्तार गरेको तफृ ईंगित गर्दैै ‘पछिल्लो समयमा राज्यका मेसिनरीहरु बरालिने काम भएको’ र ‘त्यसले बिजनेस कम्युनिटीलाई असर गरेको’ भन्दै आलोचना गरेका थिए ।
सेजनले सबै सदस्यको गरिदियो १६ करोडको स्वास्थ्य बीमा, फागुन ४ बाटै लागू
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो । बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन् । यद्यपि पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बीमाको अवधि एक वर्षको हुने छ। पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धिबाहेक सुरक्षाको लागि समेत संस्था गम्भीर रहेको बताए । त्यसैक्रममा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको उनले जानकारी दिए । ‘हामीले आफ्ना सबै सदस्यको क्षमता अभिवृद्धि लगायत काम गर्दै आएका छौं, जुन सधै कायमै रहन्छ’ उनले भने , ‘सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बीमा गरेका छौं ।’ सदस्यको हितमा काम गर्नु संस्था र आफ्नो दायित्व भएको अध्यक्ष ओलीले बताए। सम्झौता कार्यक्रममा इन्स्योरेन्सका सीईओ शाहले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बीमा गर्न पाउनु निकै खुसीको विषय भएको बताए । उनले सबै नेपाली बीमामा जोडिन आवश्यक रहेको समेत बताए । बीमाको महत्वबारे अझै नागरिकलाई बुझाउन नसकिएको शाहको भनाइ छ । बीमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण नभएको उनको भनाइ छ । आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बीमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने उनको आग्रह थियो ।
यसरी भण्डारण गर्न सकिन्छ महिलाको अण्डा र पुरुषको शुक्रकीट
काठमाडौं । हरेक दम्पत्तिलाई स्वस्थ्य बच्चा चाहिन्छ । विज्ञहरू महिलाले स्वस्थ बच्चा जन्माउन २२ देखि ३५ वर्षभित्र पहिलो सन्तान जन्माइसक्न सल्लाह दिन्छन् । तर, तत्काल बिहे गर्न इच्छा नभएका र स्वस्थ बच्चा खोज्नेहरूका लागि भने स्वास्थ्य क्षेत्रमा विभिन्न प्रविधिको विकास भइसकेको छ । अब पाठेघर स्वस्थ भएका र अरु कुनै स्वास्थ्य समस्या नभएका महिलाहरूलाई सन्तानबिना बस्नु नपर्ने अवस्था आइसकेको छ । महिलालाई मात्र होइन अहिले विदेश गएर पछि बच्चा जन्माउछु, अथवा पहिले आफ्नो खुट्टामा उभिन्छु भन्ने पुरुषको लागि पनि उत्तिकै विकल्प छ । त्यो विकल्प हो महिलाको अण्डा र पुरुषको शुक्रकीट भण्डारण । यसरी भण्डारण गरिएको अण्डा र शुक्रकीटबाट जहिले पनि बच्चा जन्माउन मिल्छ । के हो डिम्ब र शुक्रकीट भण्डारण ? करिअरका लागि व्यस्त रहने महिला र पुरुषले आफ्नो सन्तानका लागि आफ्नो डिम्ब र शुक्रकीट सुरक्षित राख्ने प्रक्रिया हो । २२, ३० र ३५ वर्षसम्मका महिला र पुरुषले ४० वा त्योभन्दा पछिको उमेरमा बच्चा जन्माउने योजना बनाउँदा डिम्ब र शुक्रकीटलाई भण्डारण गर्न सकिन्छ । यसरी भण्डारण गरिएको शुक्रकीट र अण्डाको प्रयोगले ४० वर्षपछि पनि २५ देखि ३० वर्षको उमेरमा जन्मेको बच्चा जस्तै स्वस्थ बच्चा जन्माउन सकिन्छ । कसरी हुन्छ अण्डा भण्डारण ? कुनै पनि महिलाले आफ्नो अण्डा भण्डारण गर्न चाहेमा भने महिनावारी भएको दुई दिनमा भण्डारण गर्ने ठाउँमा पुग्नुपर्छ । दुई दिनदेखि नै इन्जेक्सन लगाउनुपर्छ । इजेक्सन र औषधीबाट डिम्ब विकास गर्ने प्रक्रिया सुरु गरिन्छ । यसको १० देखि १२ दिनसम्म इन्जेक्सन लगाइसकेपछि हल्का बेहोस बनाएर ट्रान्सभजाइनल अल्ट्रासाउण्डको मद्दतले अण्डा झिकिन्छ । अण्डा झिक्दा सानो सुइले घोचेर निकालिन्छ । अण्डा झिकिसकेपछि महिलाको होस आयो भने घर जान सक्छन् । उनीहरूले भर्ना भएर अस्पताल बसिरहनु पर्दैन । पुरुषहरूका लागि भने प्राकृतिक रूपमा नै संकलन गरिन्छ । तर, पुरुषले भण्डारण गर्न आउनुभन्दा दुई-तीन दिनसम्म शारीरिक सम्पर्क राख्न हुँदैन । यसरी संकलन गरिएको शुक्रकीटलाई पनि अण्डा जसरी नै भण्डारण गर्न सकिन्छ । झिकेको अण्डा कसरी राखिन्छ ? महिलाबाट यसरी झिकेको अण्डालाई ल्याबमा एम्ब्रोलोजिसले हेरिन्छ । यसले राम्रो अण्डा छुट्याउने काम गर्छ । राम्रो र गुणस्तरीय अण्डा छुट्याइसकेपछि एउटा औषधी हुन्छ, त्यो औषधीले अण्डाको पानी निकालेर खुम्च्याएर लिक्विड नाइट्रोजन (-१९६ डिग्री सेल्सियस) मा राखेर वर्षौंसम्म फ्रिज गर्न सकिन्छ । यो जस्ताको त्यस्तै रहन्छ । यसरी राखिएको अण्डा जब प्रयोगमा ल्याइन्छ तब त्यो अण्डामा फेरि औषधी राख्दा पहिलेकै अवस्थामा आउँछ । यसरी राख्दा दिने व्यक्तिको नाम लेखेर राखिएको हुन्छ । त्यसमा नम्बर पनि राखिएको हुन्छ । यसरी राख्दा भण्डारण गर्ने व्यक्ति आएर बच्चा जन्माउने योजना बनाउँदा प्रयोग गर्न सकिन्छ । कत्तिको सुरक्षित हुन्छ ? अण्डा स्टोर गर्नु एकदमै सुरक्षित विधि हो । तर, धेरैजसो अप्रेसन गर्दा डराउँछन् । अप्रेसनभन्दा धेरैजसोको पेट चिरेर अप्रेसन गर्ने भन्ने सोच हुन्छ तर यो पेट चिरेर गरिने अप्रेशन हैन । यौनीको माध्यमबाट अल्ट्रासाउण्डबाट लामो सुई राखेर डिम्बसयमा रहेका अण्डा तानेर टेस्टयुबमा जम्मा गरिन्छ । यो जम्मा गरिएको अण्डालाई ल्याबमा पठाइन्छ । अण्डा झिक्नका लागि अस्पतालमा भर्ना नै हुनुपर्छ भन्ने छैन । महिलाहरु कत्तिको आउँछन् ? जसको श्रीमान नेपालमा छन् । आफू विदेश जानुपर्ने छ भन्ने महिलाहरू अण्डा स्टोरका लागि बढी आउने चिकित्सक बताउँछन् । दुई तीनपटक अण्डा भण्डारण गरेकालाई एक पुलिङ भनिन्छन् । केही वर्षयतादेखि अहिले अण्डा भण्डारण गर्नेको संख्या बढेको छ । महिलामा अण्डाको संख्या कम छ भनेर कसरी थाहा पाउने ? यो थाहा पाउने धेरै तरिका हुन्छ । एन्टी मुलेरियन हर्मोन (एमएच) जाँच हुन्छ । यो जाँच गर्दा ३ हजार रुपयाँ लाग्छ । जुनसुकै ल्याबमा यो जाँच गर्न सकिन्छ । अर्को त्यो हर्मोनसँगै मेल खान्छ कि खाँदैन भनेर ट्रान्सवेजाइनल अल्ट्रासाउण्ड गरेर दुवै डिम्बाशयमा कतिवटा अण्डा छ गन्ने काम हुन्छ । यसो गर्दा अण्डाको क्वालिटी र मात्रा कति छ भन्ने थाहा हुन्छ । यसरी भण्डारण गरिएका अण्डा र शुक्रकीटबाट बच्चा जन्माउने प्रक्रिया कस्तो हुन्छ ? कुनै पनि महिलाले भण्डारण गरेर राखेको अण्डाबाट बच्चा जन्माउनुपरेमा महिनावारी भएको दुई दिनमा आउनुपर्छ । त्यसपछि पाठेघरमा ध्यान दिनुपर्छ । पाठेघरमा बच्चा बस्न मिल्ने गरी हर्मोनको औषधी दिनुपर्छ । यो औषधीले पाठेघर बाक्लो बनाउने काम गर्छ । हर्मोन प्रयोग गरेको १२ देखि १४ दिनमा ८.१० मलिमिटर बाक्लो बनाइसकेपछि इन्जेक्सन वा यौनीमा राखिने जुनै पनि माध्यमबाट प्रोजेस्टिन औषधी दिइन्छ । यो औषधी प्रयोग गरेको दिन डाक्टरले महिलाले भण्डारण गरेर राखेको अण्डालाई निकालेर न्याचुरल स्टेटमा ल्याएर महिलाको श्रीमानको शुक्रकीटसँग मिक्स गरेर बच्चा बन्न छोडिन्छ । यसरी राखेको तीन वा पाँच दिनपछि बच्चा पाठेघरमा राखिन्छ । यो फ्रटिलिटीबाट अण्डा भण्डारण गरेर १०-१२ जना महिलाले बच्चा जन्माइसकेका छन् । यसको पाइदा के हो ? यो प्रक्रिया ढिलो बिहे गर्न चाहनेहरूका लागि राम्रो हो । हामीले समय रोक्न सक्दैनौँ तर, यो पद्धतिले समय रोके सरह काम गर्छ । २४ वर्ष हुँदा अण्डा भण्डारण गर्दा ४० वर्षपछि पनि अण्डाको गुणस्तर २४ वर्षकै रहनु भनेको राम्रो हो । कति उमेरमा भण्डारण गर्दा राम्रो ? ३२ वर्षभन्दा अगाडि अण्डा भण्डारण गरेको सबैभन्दा राम्रो हुन्छ । अहिले अण्डा भण्डारणको कुरा सुनेर ३५ देखि ४० वर्ष पुगेका महिलाहरू पनि आउने गरेका छन् । ४० वर्षका महिलाहरूमा अण्डाको मात्रा पनि कम हुन्छ भने क्वालिटी पनि कम हुन्छ । यो उमेर समूहका महिलाको सय वटा अण्डा फ्रिज अथवा भण्डार गरिएको छ भने सय वटै अण्डा राम्रो अवस्थामा नआउन पनि सक्छ । अण्डा भण्डारण जति कम समयमा गर्याे त्यति गुणस्तर पनि राम्रो हुन्छ । खर्च कति लाग्छ ? यो भनेको आइभिएफ (कृत्रिम गर्भाधान) प्रक्रिया जस्तै हो । यसका लागि तीन लाखदेखि साढे तीन लाख रुपैयाँसम्म खर्च लाग्छ । यो भण्डारणका लागि भने अस्पताल पिच्छे फरक चार्ज पनि हुन सक्छ । तर, प्रायः वार्षिक ५० देखि ६० हजार लाग्छ । यसरी जन्माइएका बच्चा कति स्वस्थ हुन्छन् ? यसरी जन्माइएका बच्चा स्वस्थ हुन्छन् भन्ने विषयमा रिसर्च नै भएको छ । नेपालमा पनि टेस्टट्युब बेबी गरेर आइभिएफमार्फत जन्माएको बच्चा स्वस्थ र बुद्धिमान भएका छन् । डिम्बजस्तै शुक्रकीटमा कमी आउने समय हुन्छ ? महिलाहरूको जन्मजातै डिम्बाशयमा अण्डाको स्टोर हुन्छ । त्यो नचलेर बसेको हुन्छ । जब महिनावारी हुन सुरु हुन्छ तब डिम्बाशयमा रहेका अण्डाहरू सक्रिय हुन थाल्छन् । स्टोरमा रहेका अण्डाहरू उत्पादन हुँदै बाहिर आउने भएकाले उमेर बढ्दै गएपछि अण्डाको स्टोर घट्दै जान्छ । यो स्टोर बढाउने त्यस्तो कुनै पनि प्रक्रिया र औषधी छैन । त्यसैले ३५ वर्षपछि यो घट्दै जान्छ । ३८ वर्षपछि यो सख्या ह्वात्तै घट्न थाल्छ । त्यसैले पनि महिलाले ३५ वर्ष अगाडि पहिलो सन्तान जन्माइसक्नुपर्छ । पुरुषहरू जब किशोर अवस्थामा हुन्छन् त्यसपछि हरेक दिन शुक्रकीट उत्पादन हुन्छ । महिलाको जस्तो उमेरको हद हुँदैन । तर, खानपानमा राम्रो छैन, तनाव छ, लागुपदार्थ सेवन गर्ने या अण्डकोषमा चोटपटक लागेको छ, बच्चा हुँदा हाँडेरोग लागेको छ वा कुनै भाइरल इन्फेक्सन भएको छ भने यस्तो कारणले पुरुषको शुक्रकीटमा कमी आउन सक्छ । होइन भने महिलाजस्तो पुरुषलाई बच्चा हुन गाह्रो हुँदैन । (प्रसूति तथा स्त्रीरोग एंव निःसन्तानपन विशेषज्ञ डा. स्वस्ति शर्मासँग विकासन्युजकर्मी इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)
उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैन : स्वास्थ्यमन्त्री
ढोरपाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन् । बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्राह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र जनस्वास्थ्य विकास सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दूरदराजमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै गएको बताए । दक्ष जनशक्तिलाई उत्पादन गर्दै सबै ठाउँमा पठाएर नागरिकको उपचार गर्न थालिएको उनको भनाइ छ । चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागिपरेको भन्दै सरकार नागरिकको जीवनरक्षाका लागि गम्भीर भएर लागेको मन्त्री बस्नेतले बताए । पछिल्लो समय धेरै नागरिकमा मिर्गौला फेल हुने समस्या देखिएको भन्दै यसबाट बच्नका लागि जीवनशैली बदल्नुपर्नेमा उनले जोड दिए । उनले डायलायसिस गराइरहनुभन्दा जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताए । ‘अब पैसा नभएर उपचार नपाएर कसैले पनि अकालमा ज्यान गुमाउनुपर्ने छैन, सरकारले सबै क्षेत्रमा स्वास्थ्य सुधार गर्नतर्फ लागेको छ, अब सामान्य उपचारका लागि एक दिन खर्चनुपर्ने बाध्यता हट्दै गएको छ, घर नजिकैसम्म स्वास्थ्य संस्थाहरू सञ्चालनमा आइरहेका छन्, सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन गर्दैछौँ’, मन्त्री बस्नेतले भने, ‘तल्लो तहका सरकारसँग सहकार्य गरेर पहिलेका अञ्चल अस्पताल सुधार गर्दै गइरहेका छौँ, हरेक निजी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई १० प्रतिशत छुट गर्ने व्यवस्था हुन थालेको छ ।’ चिकित्सा शिक्षा ऐन सुधार गरेर धेरै विद्यार्थीलाई पढ्न पाउने व्यवस्था गरिरहेको भन्दै देशका कुनाकाप्चामा नर्सिङ र प्यारामेडिक पढ्न पाउने व्यवस्था मिलाउन थालेको र एक हप्तामा त्यसको टुङ्गो लाग्ने उनले बताए । आम नागरिकले पनि जीवनशैली परिवर्तन गर्नुपर्नेमा उनको जोड थियो । पछिल्लो समय स्वास्थ्यमा ध्यान नदिँदा प्राणघातक रोगको सिकार बन्नुपरेको भन्दै उहाँले जीवनशैली बदल्नुपर्ने, शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने भनाइ राखे । सरकारले आयुर्वेद क्षेत्रको विकास गर्न थालेको भन्दै गण्डकी प्रदेश आयुर्वेद औषधिका लागि उर्वर क्षेत्र रहेको उनको भनइ थियो । रासस