विकासन्युज

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका बाघखोर भञ्ज्याङमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनलाई पालना गर्दै कम्पनीले तोकिएको ठाउँमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले फागुन १४ गतेबाट फागुन १६ गतेसम्म गाईघाट शाखाका कर्मचारीहरु नन्दन कुमार चौधरी र चन्दन मल्ल ठकुरीहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बराह पोखरी गा.पा.बाघखोर भञ्ज्याङ गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराको अध्यक्षता तथा प्रमूख अतिथी, बिशेष अतिथी उपाध्यक्ष भुवलराज राई,बिशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत दिल कूमार अधिकारी अतिथिहरु वडा नंं १ का वडा अध्यक्ष ढक बहादुर कार्की, वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर मगर, वडा नं.३ का वडा अध्यक्ष तारा कुमार राई, वडा नंं.४ का वडा अध्यक्ष शन्तोष आर्चाय, वडा नं.५ का वडा अध्यक्ष फौदराज राईका साथै वडा नं.६ का वडा अध्यक्ष दुर्गा बहादुर राई, गा.पा पशू शाखा प्रमुख आशिस बन्जरा लगायत गा.पा कृषि शाखाका प्रमुख स्कन्द घिमिरे तथा अन्य पशु कृषि प्रबिधिक वडा सदस्यहरु कृषक, कृषी र्फम संन्चालक सोही गाउका कृषक व्यवसायी तथा अन्य व्यक्तित्वहरु ज्नप्रतिनिधीको उपस्थितिमा बीमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो । पशु तथा कृषि बीमा सम्बन्धि गोष्टि कार्यक्रममा १ नं. वडा देखि ६ नं. वडा सम्मको ३६ जना कृषकहरु सहभागी भएका थिए । यस पशु तथा कृषि बीमा सचेतना गोष्टि कार्यक्रममा कृषकहरुलाई पशु तथा कृषि बीमाको परिभाष,महत्व,दावी प्रक्रिया गर्ने ,लगायत दावी गर्दा आवश्यक कागजातको बिषयमा जानकारी गराई पशु तथा कृषि बीमा सम्बन्धि गोष्टि कार्यक्रम सफल पूर्वक सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

१० हजारभन्दा बढी चिकित्सकले राजीनामा गरेपछि दक्षिण कोरिया तनावमा

काठमाडौं । हजारौं मेडिकल इन्टर्न र अन्य कर्मचारीहरूले जागिर छाडेपछि एक हप्ताभन्दा बढी समयदेखि दक्षिण कोरियाका केही ठूला अस्पताल सञ्चालन प्रक्रिया अवरुद्ध भएको छ । लामो समय यसले निरन्तरता पाए विकराल परिणामहरू निम्तिन सक्ने देखिएको छ । १० हजारभन्दा बढी चिकित्सक र ८० प्रतिशत प्रशिक्षार्थी कर्मचारी जागिर छोडेर हडतालमा गएपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा ठप्प भएको छ । जसका कारण बिरामीहरू मर्कामा परेका छन् । डाक्टरहरूको व्यापक हडताललाई ध्यानमा राख्दै दक्षिण कोरियाली सरकारले उनीहरूलाई गम्भीर चेतावनी दिएको छ । सरकारले हडतालमा रहेका दक्षिण कोरियाका चिकित्सकलाई समयमै हडतालबाट काममा फर्कन भनेको छ । यदि हडताल जारी राख्ने हो भने चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी छ । दक्षिण कोरियाका स्वास्थ्यमन्त्री चो क्यु–होङले स्थानीय एसबीएस रेडियोसँगको अन्तर्वार्तामा (फेब्रुअरी २९) सम्म हडतालमा रहेका चिकित्सकहरू काममा नफर्किए उनीहरुलाई कानुनी कारबाही गरिने बताएका छन् । दक्षिण कोरियामा बिरामीको अनुपातमा चिकित्सकको संख्या निकै थोरै छ । थोरै संख्या र पाका उमेरका मानिसको बढ्दो जनसंख्याका कारण एक दशकपछि कोरियामा चिकित्सकहरूको ठूलो अभाव हुनसक्ने सरकारको भनाइ छ । कोरियाली सरकारले देशमा लामो समयदेखिको चिकित्सकको अभावलाई सम्बोधन गर्न विश्वविद्यालयहरूमा चिकित्साशास्त्रमा थप विद्यार्थीहरू भर्ना गर्ने प्रस्ताव गरेको थियो । सरकारको सोही प्रस्तावको विरोधमा प्रशिक्षार्थी र आवासीय कामदारले यो अभाव उद्योगव्यापी नभएर आपतकालीन हेरचाहजस्ता विशेष सुविधाहरूमा मात्र सीमित रहेको भन्दै विरोध गरका छन् । उनीहरूले सरकारको यो योजनाले समस्या समाधान नहुने बताएका छन् । उनीहरूले भनेका छन्– चिकित्सकको संख्या बढाउँदैमा न्युन तलबमा बढी कामको संरचनागत समस्या समाधान हुँदैन । दक्षिण कोरियामा चिकित्सकहरूको पारिश्रमिक धेरै छ । तर, लामो समय काम गर्नुपर्ने हुँदा कनिष्ठ चिकित्सकहरूले प्रतिघण्टा पाउने पारिश्रमिक सरकारले तोकेको न्यूनतम तलबभन्दा कम हुन जाने उनीहरूले बताएका छन् । दक्षिण कोरियामा धेरै स्वास्थ्य संस्थाहरू निजी भए पनि सस्ता छन् । तर, आन्दोलनरत चिकित्सकहरूले देशमा आकस्मिक, जीवनरक्षा गर्ने शल्यक्रिया तथा विशेषज्ञ उपचारको शुल्क निकै कम निर्धारण गरिएको र कस्मेटिकजस्ता कम आवश्यक उपचारहरूमा धेरै पैसा भएको गुनासो गरेका छन् । केही ठूला अस्पतालहरूका ४० प्रतिशतभन्दा बढी कर्मचारी प्रशिक्षार्थी तथा कनिष्ठ चिकित्सकहरू हुन्छन् । त्यसैले आन्दोलनका कारणले केही अस्पतालहरूमा शल्यक्रिया गर्ने क्षमता आधाले घटेको छ । सेवामा अवरोध हुँदा पहिले नै मिति तोकिएका धेरै प्रक्रियाहरू स्थगित भएका छन् । आकस्मिक उपचारमा थोरै मात्र अवरोध भएको छ । गत शुक्रबार सात अस्पतालले उपचार गर्न नमानेपछि हृदयाघात भएकी एक वृद्धाको एम्बुलेन्समा नै मृत्यु भयो । चिकित्सकहरू हडतालमा गएपछि बिरामीहरूले चिकित्सक पाएका छैनन् भने काममा खटेका स्वास्थ्यकर्मीहरूलाई भार थपिएको छ । नर्सहरूले शल्यक्रिया कक्षमा डाक्टरहरूले नै गर्नुपर्ने काम आफूहरूलाई गर्न बाध्य पारिएको बताएका छन् । सरकारी प्रस्तावमा आगामी वर्ष विश्वविद्यालयहरूमा भर्ना हुने मेडिकल विद्यार्थीको संख्या ३ हजारबाट बढाएर ५ हजार पु¥याइने उल्लेख छ । हडतालमा रहेका चिकित्सकहरूले धेरै डाक्टर उत्पादन गर्दा सेवाको गुणस्तर खस्किने तर्क गरेका छन् । धेरै चिकित्सक उत्पादन हुँदा कम क्षमता भएकाहरूले पनि लाइसेन्स पाउने सम्भावना हुने उनीहरूको डर छ । यो हडतालले चिकित्सक र सरकारबीचको तनाव चर्किएको देखिन्छ । स्वास्थ्य मन्त्रालयले हडतालमा सहभागी चिकित्सकहरूलाई समयसीमा तोकेर काममा नफर्किए मेडिकल कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गर्ने चेतावनी दिएको छ । यदि तोकिएको समयमा काममा नफर्किए चिकित्सकहरूको लाइसेन्स कम्तीमा तीन महिनाका लागि निलम्बन गरिदिने स्वास्थ्य मन्त्रालयले  जनाएकाे छ । (बीबीसीबाट अनुवाद)

सार्वजनिकस्थलको सुन्दरताका लागि काठमाडौं महानगरपालिमा भित्ते चित्र राखिने, बजेट ५० लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ । यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तरराष्ट्रिय विमानस्थल बाहिरको पर्खालका साथै मीनभवन र लैनचौरस्थित समाजकल्याण परिषद्को पर्खालमा भित्ते चित्र बनाउनका लागि स्वीकृति दिइसकिएको कामपा सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले जानकारी दिए । स्वीकृत भएका नमूनाबमोजिम ती स्थानमा प्रतिष्ठानले भित्ते चित्र बनाउने भएको छ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने प्रमुख शाक्यले भने । भित्ते चित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ । चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी दिने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि कामपाले रु ५० लाख उपलब्ध गराउनेछ । सम्झौता भएपछि ६० प्रतिशत (रु ३० लाख) र कार्यसम्पन्न भइसकेपछि ४० प्रतिशत (रु २० लाख) प्रदान गरिने बताइएको छ । सम्पदा चिनारीका लागि क्यूआर कोड कामपाले नन्दीकेशर मन्दिर, शङ्करकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिन क्यूआर कोड राखेको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका स्मारक घुम्न आउने आगन्तुकले सजिलै जानकारी पाउन सकुन् भनेर वडा कार्यालयले प्रविधिको प्रयोग थालेको हो, वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भनेर यस किसिमको व्यवस्था गरिएको हो ।’ क्यूआर कोडमा नेपाली, अङ्ग्रेजी, जर्मनी, हिन्दी, फ्रेन्च, चिनियाँ, कोरियाली, स्पेनी, जापानी र अरेविक गरी १० भाषामा अडियो सुन्न सकिन्छ । वडा नं १ मा चारवटा प्राचीन ढुङ्गेधाराका साथै नागपोखरी, हिटीपोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साइ केन्द्र, सोराहिटी, जमल विहार, लाल गणेशजस्ता सांस्कृतिक सम्पदा छन् । रासस

सरकारको कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट, माइलस्टोन ३६ प्रतिशत मात्रै सम्पन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काम कारबाहीप्रति आफैँले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरुअनुसार काम हुन नसकेको बताएका हुन् । उनले योजना तथा कार्यक्रमहरु निर्धाराण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको बताए । उनले मनोगत ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताए । प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रुपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताए । माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त शुरु नै हुन नसकेको अवस्था रहेको बताउँदै उनले चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै शुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमताामाथि नै प्रश्न उठेको जनाए । ‘हाम्रा प्रतिवद्धताहरु अर्को ठाउँमा छन् । हामीले गएको श्रावण महिनामा आफैँले तयार पारेका माइलस्टोनहरु जसरी तोकियो, त्यो त हामीले नै बसेर तोकेको हो । त्यतिबेला पर्याप्त वस्तुगत र वस्तुवादी हुन सकेनौँ । अलि बढी मनोगत भयो । ती माइलस्टोनहरु अहिले हेर्दा परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको छ । हामीले जसरी लक्ष्य निर्धारण गर्नुपर्ने हो, त्यो लक्ष्य निर्धारण गर्ने कुरामा पनि मनोगत भएका छौँ । यथार्थ धरातलसँग त्यति मिलेका छैनन् भन्नेकुरा देखियो । पुँजी निर्माण नभइ विकासले गति लिँदैन भन्नेकुरा सबैलाई थाहा छ । अर्थतन्त्र पनि त्यो स्थितिमा चलायमान हुन सक्दैन । आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हाँसिल हुन सकेन हामीसँग अहिले पनि चित्तबुझ्दो उत्तर छैन ।’ उनले भने । प्रधानमन्त्री दाहालले माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताए । पुँजीगत खर्च त २४ प्रतिशत भन्दा कम भएको भएको भन्दै पुँजी निर्माण नभइ विकासले गति नलिने स्पष्ट पार्दै उनले सो स्थितिमा अर्थतन्त्र चलायमान नहुने जिकिर गरे । आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हाँसिल हुन सकेन भन्ने प्रश्नको उत्तर चित्तबुझ्दो नभएको समेत उनले बताए ।

२८ अंकले घट्यो बिहीबारको सेयर बजार, सबै समूह राताम्मे

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २८ अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक कारोबार बन्द हुँदा २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार भने बुधबारको तुलनामा बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएको बजारमा बिहीबार २ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३०९ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । बोटलर्स नेपाल (बालाजु) को १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता २१ हजार ६०५ र ७५८ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । राताम्मे देखिएको बिहीबारको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३५०.९० रुपैयाँमा झरेको छ ।

बजेटमा रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकमा सुशासन कायम गरी रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह गरेका छन् । सभाको यही फागुन १४ गतेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सांसदहरूले बजेट कामकाजी हुनुपर्नेमा जोड दिँदै पारित गर्ने समयमा ह्वीप लगाएर बजेट पारित गर्ने र कार्यान्वयन गर्ने समयमा सुझाव पालना नगर्ने प्रवृत्ति सुधार गर्न आग्रह गरे । यस्तै कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइनुपर्ने, स्वास्थ्यकर्मीहरूको सुरक्षा हुनुपर्ने, तीन तहका सेवा प्रवाहको जिम्मेवारी स्पष्ट हुनुपर्ने, नेपालको विद्युत् नेपालमै खपत बढाउने योजना ल्याउनुपर्ने, पुँजीगत खर्च र राजस्व सङ्कलन बढाउनुपर्नेमा पनि जोड दिएका थिए । सांसदहरू प्रकाश पन्थ, दिलकुमारी रावल (पार्वती), डा खिमलाल देवकोटालगायतले सो छलफलमा भाग लिएका थिए । डा देवकोटाले बैठकमा सहभागी हुने भनी जानकारी गराइएका मन्त्रीहरू उपस्थित नभएकामा सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गरे । सभापति राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन कार्यक्रमको प्रतिवेदन, २०८० पनि पेस गरे ।

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यान्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी चार वटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदमा आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर विक्री गर्ने उल्लेख छ । त्यस्तै चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने उल्लेख गरिएको छ । प्रतिवेदनको प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिए ।

राजनीतिसँगै कृषिकर्ममा जमेका पूर्वप्रमुख चौधरी भन्छन् : राजनीति पेसा होइन, सेवा हो

सिरहा । ज्यूँदै मर्‍याको भनि नाम छ कस्को ? उद्यमबिना बित्तछ काल जस्को । आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुन् सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी । विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख हुनुभएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाएका छन् । ‘सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ’, चौधरीले भने, ‘नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु । काम त गरिखानुपर्यो नि सबैले ।’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताएका छन् । उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहनुभएको छ । एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र  घाँस तथा बीउ बेचेर करिब रु १० लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए । ‘राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ’, चौधरी भन्छन्, ‘त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।’ उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए । ‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ’, उनले भने । राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताए । चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ । त्यो खुसीले उजकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ । ‘गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो’, बचकुनदेवीले भनिन्, ‘श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।’ चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोडेका छैनन् । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै हुन् । उत्पादनसँग जोडिऔँ अधिकांश जनता कृषि पेसामा भए पनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ । उनले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए । सोही भावनाअनुसर आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उनले सुनाए । ‘हामीसँग उर्बर माटो छ । अनुकूल वातावरण छ’, उनले भने, ‘सिँचाइ सुविधा, समयमै मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हुने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।’ जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेस गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ । माओवादीले विसं २०६९ माघमा हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यसअनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ । “जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार गर्यो तर नेताहरूले सोअनुसारको व्यवहार अङ्गिकार गर्न सकिएन । हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवाहरू विदेशिइरहेको बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान सुरु गर्नुपर्छ”, उनले भने । राजनीति पेसा होइन, सेवा हो राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेतिथि र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको धारणा राख्छन् । ‘राजनीतिमा उद्योग, व्यापार, जागिर वा आयआर्जनको अरु केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिँदैन’, चौधरी भन्छन्, ‘समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैँले त्यो बाटो रोजिसकेको छु । अरुलाई पनि आह्वान गर्छु ।’ रासस