विकासन्युज

सिद्धार्थ बैंकका ग्राहकलाई बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले पोखराको लेकसाइडस्थित बर पीपल रिसोर्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच सम्झौता भएको बैंकले जनाएको छ । सम्झौताअनुसार बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका अनुसार यो सहकार्यले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ । यस सम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

बागमती फनपार्क भ्रष्टाचारमा तत्कालीन अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयाेगले सर्लाहीको बागमती नगरपालिकाको ‘बागमती फनपार्क एण्ड रिसोर्ट’ निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेको हो । बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, मधेश प्रदेशका तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, तत्कालीन उपप्रमुख लीला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन उपसचिव उद्धवराज न्यौपाने तथा बिकोई–धुलिखेल जेभी र उसका प्रतिनिधि युवराज पोखरेलविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार बागमती नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा फनपार्क निर्माणको पहिलो चरण सुरु गरेको थियो । तर पहिलो चरणको काम पूरा नहुँदै दोस्रो चरणका नाममा नयाँ डीपीआर बनाएर अनियमितता गरिएको अनुसन्धानबाट खुलेको छ । आयोगले पहिलो डीपीआरमा नभएका काम थपेर राज्यलाई अनावश्यक आर्थिक भार पारिएको, निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया मिलाइएको, बजेट सुनिश्चित नगरी लागत स्वीकृत गरिएको र ठेक्कामा फर्जी कागजातसमेत प्रयोग गरिएको आरोप लगाएको छ । यस प्रकरणमा तत्कालीन अर्थमन्त्री साह र तत्कालीन अर्थसचिव ठाकुरसँग जनही ३५ करोड रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । तत्कालीन नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पोखरेल तथा बिकोई–धुलिखेल जेभी र उसका प्रतिनिधि युवराज पोखरेलसँग जनही ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ १३ पैसा बिगो असुल गर्न माग गरिएको छ । यस्तै, तत्कालीन उपसचिव उद्धवराज न्यौपानेसँग २० करोड रुपैयाँ बिगो असुल गर्न माग गरिएको आयोगले जनाएको छ । अख्तियारले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही र बिगो असुलउपरको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पृथ्वीतर्फ आउने क्षुद्रग्रहलाई बीच आकाशमै ध्वस्त पार्ने चीनको महायोजना

काठमाडौं । चीनले पृथ्वीलाई भविष्यमा क्षुद्रग्रह (एस्टेरोइड)को सम्भावित ठक्करबाट जोगाउने उद्देश्यसहित महत्त्वाकांक्षी अन्तरिक्ष मिसनको तयारी थालेको छ । यसअन्तर्गत चीनले आफ्नो पहिलो ‘प्लानेटरी डिफेन्स टेस्ट’ सञ्चालन गर्दै ध्वनिको गतिभन्दा २६ गुणा (म्याक–२६) बढी वेगमा चल्ने अन्तरिक्षयानलाई एउटा क्षुद्रग्रहसँग ठोक्काउने योजना बनाएको हो । यो मिसन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको डबल एस्टेरोइड रिडाइरेक्शन टेस्ट (डीएआरटी) भन्दा अझ उन्नत हुने बताइएको छ । नयाँ अनुसन्धानपत्रअनुसार यो परीक्षण सन् २०३० अघि नै गरिने लक्ष्य राखिएको छ । नासाको डीएआरटी मिसनले सन् २०२२ मा एउटा क्षुद्रग्रहको कक्षामा सामान्य परिवर्तन गरेर अवधारणा (प्रुफ अफ कन्सेप्ट) सफल भएको प्रमाणित गरेको थियो । तर चीनले यसपटक अझ व्यावहारिक परीक्षण गर्दै पृथ्वीतर्फ आउन सक्ने क्षुद्रग्रहको दिशा परिवर्तन गर्न वा आवश्यक परे त्यसलाई टुक्राउन सकिन्छ कि सकिँदैन भन्ने परीक्षण गर्न खोजेको हो । चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) का प्लानेटरी डिफेन्स प्रमुख वैज्ञानिक ली मिङताओ नेतृत्वको टोलीका अनुसार यस मिसनको मुख्य उद्देश्य पृथ्वीसँग सम्बन्धित क्षुद्रग्रहको कक्षालाई प्रत्यक्ष रूपमा परिवर्तन गर्नु वा आवश्यक परे त्यसको संरचनालाई नै भत्काउनु हो । यसबाट भविष्यमा पृथ्वीतर्फ आउने खतरनाक क्षुद्रग्रहलाई समयमै रोक्न सकिने अपेक्षा गरिएको छ । अनुसन्धानपत्रअनुसार अन्तरिक्षयानले सन् २०२९ वा २०३० मा पृथ्वीबाट करिब ७० लाख किलोमिटर दूरीमा पुग्ने बेला आफ्नो लक्ष्यसँग ९ किलोमिटर प्रति सेकेन्डभन्दा बढी गतिमा ठोक्किनेछ । नासाको डीएआरटी अन्तरिक्षयान भने ६.१ किलोमिटर प्रति सेकेन्ड गतिमा ठोक्किएको थियो । यस हिसाबले चीनको अन्तरिक्षयान करिब ५० प्रतिशत बढी गतिमा क्षुद्रग्रहमा ठोक्किनेछ । यस मिसनको लक्ष्य ‘२०१५ एक्सएफ २६१’ नामको पृथ्वी नजिकको क्षुद्रग्रह हो । यो क्षुद्रग्रह पहिलो पटक सन् २०१५ मा पत्ता लागेको थियो । यसको आकार करिब ३० मिटर रहेको अनुमान गरिए पनि वास्तविक आकार अझै निश्चित भइसकेको छैन । यो क्षुद्रग्रह सन् २०२९ वा २०३० मा पृथ्वीबाट करिब ७० लाख किलोमिटर दूरी हुँदै गुज्रिने अनुमान गरिएको छ । यसको घुम्ने गति र भित्री संरचनाबारे पर्याप्त जानकारी नभए पनि यो ठोस चट्टान वा निकै बलियो संरचनायुक्त वस्तु हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । यो मिसनमा दुईवटा अन्तरिक्षयान एकैपटक प्रक्षेपण गरिनेछ । पृथ्वीको कक्षा छोडेपछि ती दुई अलग हुनेछन् । पहिलो अन्तरिक्षयान ‘इम्प्याक्टर’ हुनेछ, जसले सीधै क्षुद्रग्रहसँग ठोक्किने काम गर्नेछ । दोस्रो ‘अब्जर्भर’ हुनेछ, जसले ठक्करअघि, ठक्करका क्रममा र त्यसपछि क्षुद्रग्रहको कक्षा, सतह, उडेको मलबा र भित्री संरचनामा आएका परिवर्तनको विस्तृत अध्ययन गरी वैज्ञानिकहरूलाई तथ्यांक पठाउनेछ । चीनको यो योजना नासाको डीएआरटी मिसनभन्दा धेरै पक्षमा फरक छ । नासाले एउटा ठूलो क्षुद्रग्रहको परिक्रमा गरिरहेको सानो उपग्रह (डाइमोर्फोस) को कक्षा परिवर्तन गरेको थियो भने चीनले सूर्यको परिक्रमा गरिरहेको स्वतन्त्र क्षुद्रग्रहको पृथ्वीसँग सम्बन्धित कक्षा परिवर्तन गर्ने परीक्षण गर्न लागेको हो । यस्तै, नासाले अवलोकनका लागि पछि युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) को हेरा मिसन पठाएको थियो । तर चीनले एउटै प्रक्षेपणमा इम्प्याक्टर र अब्जर्भर दुवै अन्तरिक्षयान पठाएर सम्पूर्ण प्रक्रिया एकै अभियानमा पूरा गर्ने योजना बनाएको छ । चिनियाँ वैज्ञानिकहरूका अनुसार यदि यो प्रयास सफल भयो भने यो चीनको पहिलो ‘एन्ड–टु–एन्ड प्लानेटरी डिफेन्स’ प्रदर्शन हुनेछ । यसमा क्षुद्रग्रह पहिचान गर्ने, त्यसको दिशा परिवर्तन गर्ने र ठक्करपछि आएको परिणाम पुष्टि गर्ने सम्पूर्ण प्रक्रिया समेटिनेछ । ठक्करपछि क्षुद्रग्रहबाट अवशेष तथा टुक्राहरू उडे पनि वैज्ञानिकहरूले त्यसको कक्षामा आएको सानो परिवर्तन मापन गर्नेछन् । साथै दिशा परिवर्तन अपेक्षाअनुसार सफल भयो वा भएन भन्ने सुनिश्चित गर्न लामो समयसम्म त्यसको निगरानी पनि गरिनेछ ।  यस्तो प्रविधि भविष्यमा पृथ्वीलाई खतरनाक क्षुद्रग्रहको सम्भावित ठक्करबाट जोगाउन उपयोगी हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।

राधिका दासीलाई अन्तर्वार्तामा केसीले के भनेकी थिइन् ?

काठमाडौं । राधिका दासीको चरित्रहत्या गरेको वेदिका केसी पक्राउ परेकी छन् । बिहीबार काठमाडौंबाट साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार उनले राधिका दासीको चरित्र हत्या गरेकी हुन् । उनीविरुद्ध दासीले केही दिनअघि ब्यूरोमा दासीले उजुरी दिएकी थिइन् । प्राइम टेलिभिजनमा प्रसारित प्रकाश सुवेदी सोमा उनले दासीविरुद्ध बोलेकी थिइन । उनले दासीको भारतमा अघोषित श्रीमान रहेको दावी गरेकी थिइन् । ‘दासीजस्तो देखिनु हुन्छ, त्यस्तो नभएको’ उनको दावी थियो। दासीले झुट बोल्ने गरेको अन्तर्वार्ताका क्रममा वेदिकाले बताउँछिन् । ‘शास्त्रपालन गर्ने कथावाचिकाले अघोषित राख्न नपाउने तर शास्त्र पालन गर्दिन भन्नुपरो । अघोषित श्रीमान राखेको प्रमाणसमेत देखाउन सक्छु,’ केसीले भनेकी छन् । निम्बार वैष्णवको तीलक लगाउने तर श्रीवैष्णव रहेको उनको भनाइ थियो । श्रीवैष्णवमा चितवनको लङ्कु स्वामीबाट दीक्षित भएको उनले बताएकी छन् ।  अहिले भने निम्बार वैष्णवको तीलक लगाउने तर उनी दीक्षित नभएको केसीले दाबी गरेकी छन् । ‘दीक्षित नभइ तिलक लगाउन पाइँदैन,’ उनले भनेकी थिइन्, ‘ गुरु परम्पराबाट वा सम्प्रदायबाट आएकाले दीक्षित नभइ तिलक लगाउन पाइँदैन ।’ केसीले दासी दीक्षित भए पनि चेलाचेलीलाई मन्त्र र दीक्षा दिने हक अधिकार कसले दियो भनी प्रश्नसमेत गरेकी छन् ।  उनले पानीटंकी तथा इन्डियातिर ११ तले घर छ भन्दै अन्तवार्तामा प्रस्ट बताएकी छन् ।  श्रीमानले दुःख दिएको भन्ने कुरामा कुनै पनि सत्यता नभएको केसीको दावी छ ।  वृन्दावनमा पढेर आएको भने पनि नपढेको उनले दाबी गरेको थिइन । एक स्वामीको छत्रछायाँमा ६ महिनासम्म बसेर कथावाचिका बनेको उनले उल्लेख गरेकी छन् । वृन्दावनमा गएर पढेको भनी झुठ बोल्न नपाइने उनले बताएकी छन् । कथावाचन गर्दा मञ्चमा रजश्वला हुँदा प्याड फेर्दै कथावाचन गर्ने गरेको समेत उनले आरोप लगाएकी छन् । दासीको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई प्रहरीले पक्राउ गरेको हो ।  धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन्।

गोपालमान श्रेष्ठ कांग्रेसका वरिष्ठ नेता नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय गरिएको घोषणा गरेका हुन् । थापाका अनुसार उक्त निर्णय आगामी साउन १२ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराइनेछ । हाल स्वास्थ्य उपचाररत रहेका श्रेष्ठ पार्टीका लामो समयदेखि सक्रिय नेतामध्ये एक हुन् । कांग्रेसले उनको राजनीतिक योगदानको सम्मानस्वरूप वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ ।

‘नागरिक भरोसा जागरण’मार्फत समाजसँग जोडिने कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा ‘जरा अभियान’ समापन गर्दै नयाँ राजनीतिक अभियानको घोषणा गरेको छ । ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ भन्ने नारासहित सुरु गरिएको अभियानमार्फत कांग्रेस अब नयाँ कार्यशैलीका साथ अघि बढ्ने पार्टीले जनाएको छ । स्मृति दिवसको कार्यक्रममा अभियान घोषणा गर्दै पार्टी सभापति गगनकुमार थापाले नयाँ अभियानको मुख्य उद्देश्य नागरिकमा कांग्रेसप्रतिको भरोसा पुनः स्थापित गर्नु रहेको बताए । उनले कांग्रेसका कार्यकर्ता चुनाव केन्द्रित संरचनामा सीमित हुँदै गएको उल्लेख गर्दै अब त्यसबाट बाहिर निस्किनुपर्ने आवश्यकता रहेको बताए । ‘हामी चुनावी मेसिनजस्तो मात्र बन्ने होइन, समाजसँग निरन्तर जोडिएको राजनीतिक शक्ति बन्नुपर्छ,’ थापाले भने । उनका अनुसार नयाँ अभियान सत्ता केन्द्रित राजनीतिभन्दा समाजसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने, नागरिकका समस्या र अपेक्षासँग जोडिने तथा संगठनलाई जनआधारित बनाउने उद्देश्यका साथ अघि बढाइएको हो । कांग्रेसले ‘जरा अभियान’ मार्फत संगठन सुदृढीकरणको प्रयास गरेपछि अब ‘नागरिक भरोसा जागरण’लाई केन्द्रमा राखेर पार्टीलाई नयाँ ढंगले परिचालन गर्ने रणनीति अघि सारेको जनाएको छ ।

टीभीएसले बजारमा ल्यायो ‘अर्बिटर’ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ८१ हजार

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएसअर्बिटर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । एक समारोहका बीच यो नयाँ र आधुनिक स्कुटरको अनावरण गरिएको हो ।  सहरी यात्रालाई लक्षित गरी ल्याइएको यो स्कुटरले एकपटक पूर्ण चार्जमा १५८ किलोमिटरसम्म (आईडीसी) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टीभीएस अर्बिटरमा ३.१ किलोवाट-घण्टा क्षमताको ब्याट्री, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटरको अन्डर-सिट बुट स्पेस तथा कनेक्टेड मोबाइल एपजस्ता सुविधा उपलब्ध छन् । उद्योगमै पहिलो पटक १४ इन्चको अगाडिको ह्विल प्रयोग गरिएको यस स्कुटरले आरामदायी, स्थिर र सहज यात्रा अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । स्कुटरमा कलर एलसीडी डिस्प्ले, इनकमिङ कल सूचना, टर्न-बाइ-टर्न नेभिगेसन, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ, इको र पावर मोड, ओभर-द-एयर (ओटीए) अपडेट, जियोफेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ तथा चोरीसम्बन्धी अलर्टजस्ता स्मार्ट फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ । टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमन कार्गरले नेपालमा टीभीएस अर्बिटरको आगमनसँगै दिगो र स्वच्छ यातायात प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धता थप बलियो भएको बताए । आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक उपयोगिताको संयोजनमार्फत नयाँ पुस्ताका ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यो स्कुटर विकास गरिएको उनले बताए । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस आइक्युबको सफलतापछि टीभीएस अरबिटरले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । देशभर रहेको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराइने उनले बताए । यस्तै, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार टीभीएस अर्बिटरलाई नेपालका विभिन्न सडक र भौगोलिक अवस्थाहरूमा हजारौं किलोमिटर परीक्षण गरिएको छ ।  सहरका व्यस्त सडकदेखि पहाडी उकालो र कच्ची बाटोहरूमा पनि यसको कार्यक्षमता उत्कृष्ट पाइएको उनको दाबी छ । पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा यसको सञ्चालन खर्च करिब १० गुणा कम हुने बताइएको छ । कम्पनीका अनुसार टीभीएसका इलेक्ट्रिक स्कुटरहरूको प्रयोगले नेपालमा हालसम्म करिब १६५० टन कार्बन उत्सर्जन कम गर्न मद्दत पुर्याएको छ । जुन ७५ हजार रुख रोपे बराबरको योगदान हो ।  जगदम्बाको मजबुत नेटवर्कले नेपाली ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गुप्ताले जनाए । नेपालभर रहेका टीभीएसका १२५ भन्दा बढी टच प्वाइन्टहरूबाट यो स्कुटरको बिक्री र सेवा उपलब्ध हुनेछ ।  टीभीएस अरबिटर नियोन सनबर्स्ट, कोस्मिक टाइटानियम र मार्सियन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ । यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

अर्गानिक किसानका लागि खुसीको खबर, प्रधानमन्त्रीले दिए यस्तो आश्वासन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्गानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्गानिक एसोसियसन नेपाल’का पदाधिकारीहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अर्गानिक एसोसियसन नेपालका पदाधिकारीसँग छलफल भएको हो । प्रधानमन्त्रीले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । छलफलका क्रममा पदाधिकारीहरूले अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेका थिए ।  उक्त मागप्रति प्रधानमन्त्री सकारात्मक रहेका छन् । यस्तै, अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भएका छन् । प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्गानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए । प्रांगारिक मल उत्पादनमा सरकारले अनुदान दिनुपर्ने माग पदाधिकारीले राखेका थिए । प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने उनीहरूको मागअनुरूप व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अग्र्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा प्रधानमन्त्री सकारात्मक रहेका छन् । साथै अग्र्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकोमा उक्त समस्या कानुनी पमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उनले बताए । छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरु तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी थिए ।