काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा ‘जरा अभियान’ समापन गर्दै नयाँ राजनीतिक अभियानको घोषणा गरेको छ ।
‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ भन्ने नारासहित सुरु गरिएको अभियानमार्फत कांग्रेस अब नयाँ कार्यशैलीका साथ अघि बढ्ने पार्टीले जनाएको छ ।
स्मृति दिवसको कार्यक्रममा अभियान घोषणा गर्दै पार्टी सभापति गगनकुमार थापाले नयाँ अभियानको मुख्य उद्देश्य नागरिकमा कांग्रेसप्रतिको भरोसा पुनः स्थापित गर्नु रहेको बताए ।
उनले कांग्रेसका कार्यकर्ता चुनाव केन्द्रित संरचनामा सीमित हुँदै गएको उल्लेख गर्दै अब त्यसबाट बाहिर निस्किनुपर्ने आवश्यकता रहेको बताए ।
‘हामी चुनावी मेसिनजस्तो मात्र बन्ने होइन, समाजसँग निरन्तर जोडिएको राजनीतिक शक्ति बन्नुपर्छ,’ थापाले भने ।
उनका अनुसार नयाँ अभियान सत्ता केन्द्रित राजनीतिभन्दा समाजसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने, नागरिकका समस्या र अपेक्षासँग जोडिने तथा संगठनलाई जनआधारित बनाउने उद्देश्यका साथ अघि बढाइएको हो ।
कांग्रेसले ‘जरा अभियान’ मार्फत संगठन सुदृढीकरणको प्रयास गरेपछि अब ‘नागरिक भरोसा जागरण’लाई केन्द्रमा राखेर पार्टीलाई नयाँ ढंगले परिचालन गर्ने रणनीति अघि सारेको जनाएको छ ।