इजरायलद्वारा दक्षिणी गाजाबाट सेना फिर्ता
काठमाडौं । इजरायलले आईतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ । इजरायल रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्रहरू स्थापना गरेपछि आफूलाई पुनर्गठित गरेको छ । इजरायली सेनाले अब गुप्तचरमा आधारित छापा मार्ने र आवश्यक परेमा गाजामा फर्कने तयारीमा रहेको बताइएको छ । सेनाको प्रस्थान राजनीतिक दबाबसँग सम्बन्धित नरहेको बताइएको छ ।
एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुन् । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने छ । नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।
नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने न्यौपानेको साढे १२ करोड अवैध
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदरकुमार न्यौपानेले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका हुन् । आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनलाई सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । सजाय निर्धारणका लागि विशेष वैशाख १६ गते पेसी तोकिएको छ । २०७८ सालमा न्यौपानेसहित तत्कालिन कलेजका संस्थापकहरूविरुद्ध सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमध्ये प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य ८ जनालाई भने सफाइ दिइएको छ । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको आरोप थियो । उनले कलेजको अबौं सम्पत्ति हत्याउन ठूलो षड्यन्त्र गरेका थिए । त्यसका लागि उनले नेपाल इन्जिनियरिङ कलेज प्रालि नामक नक्कली कम्पनी समेत खडा गरेका थिए । कलेजका संस्थापक अध्यक्ष प्राडा दीपक भट्टराईले लम्बोदर न्यौपानेको सड्यन्त्रको भण्डाफोर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न सरकारी निकायमा उजुरी दिएकोमा लम्बोदरले अख्तियारको उजुरी तामेलीमा राख्न तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकलाई समेत ७८ लाख घुस खुवाएका थिए । सो प्रकरणमा समेत विशेषले उनलाई दोषी ठहर गरिसकेको छ । लम्बोदर न्यौपानेको कर्तुत सार्वजनिक भएपछि संसदको शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार, सम्पत्ति सुद्धिकरण, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो समेतले छानविन गर्दै न्यौपानेले करोडौं सम्पत्ति सुद्धिकरण गरी आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेका थिए । कलेज बचाउन शिक्षा मन्त्रालयले चाँगुनारायण नगरपालिकाका प्रमुखको नेतृत्वमा कलेज सञ्चालक समिति गठन गरेको थियो । हाल कलेज सोही अनुसार सञ्चालन भइरहेको छ । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए । उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षका रूपमा कार्यरत थिए । यस्तै उनको दोस्रो कार्यकाल २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रूपमा कार्यरत थिए ।
मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण
टीकापुर । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो । किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत आठ लाख रुपैयाँ बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ । मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ । किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए । ‘किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो,’ उनले भने, ‘सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ ।’ कालिकापुरमा १ सय १९ किसानले अहिले व्यावसायिक मकैखेती गर्दैआएका छन् । मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकैखेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताए । ‘समूहमार्फत खेती गर्दा सहज भएको छ । समूहमार्फत किसानले कृषियन्त्र प्राप्त गरेका छन्,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष किसानले मकैखेती गर्ने जमिन बढाएका छन् ।
प्रहरीमा दुई डिआइजीको दरबन्दी थप
काठमाडौं । नेपाल प्रहरीमा दुई डिआइजीको दरबन्दी थपिएको छ । साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीको पद राखिएको हो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी डिआइजी राख्न प्रस्ताव गरेको थियो । त्यसैगरी केनाईन महाशाखामा डिआइजीको दरबन्दी राख्नुपर्ने प्रस्ताव गरिएको थियो । साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल तथा केनाइनकी डा. देउती गुरुङलाई बढुवाका लागि विशेष दरबन्दी थप भएको हो । एसएसपी अर्याल र गुरुङको पुगनपुग एक वर्षमात्रै अवधि बाँकी रहेको छ । बढुवा भएका अधिकारीले अवकाश पाएलगत्तै पद खारेज हुने गरी विशेष दरबन्दी थपिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।
सहकारीले घरखेत खायो, १० लाख ऋणको ब्याज साढे २ करोड माथि
नवलपुर । ५५ वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । व्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर, सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ । दीर्घनारायणले भने, ‘चिन्ताले म डिप्रेसनको सिकार भएको छु । औषधि खानुपर्ने बनायो । छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ । यो तनावबाट परिवारै उम्कन सकेका छैनौँ ।’ भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचतकर्ता भए । त्यसको पाँच महिनापछि १० लाख रुपियाँ लगानी गरेर सेयर सदस्य भए । सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो । सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक पुख्र्यौली घर पर्वतका गाउँले भान्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले बताउँदै भने, ‘भान्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपियाँ ऋण लियौँ । अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपियाँ सकिइसकेको छ ।’ २०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपियाँ पुर्याइयो । त्यो ६० लाख असुल गर्नका लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो । उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपियाँ उपलब्ध गराइयो । छिपछिपे सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे नै सनराइज सहकारीको सचिव रहेको जानकारी दिइएको छ । २०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपियाँ पुगेको थियो । त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपियाँ पुर्याइयो । उता सनराइजको ब्याज महिना महिनामा तिरेको ३० लाख र ६ महिना अघिसम्मको जोड्दा थप १ करोड २६ लाख रुपियाँ पुगिसकेको थियो । त्यो ब्याज तिर्नका लागि भुर्तेल परिवार ४ करोड रुपियाँ पर्ने जग्गा २ करोड रुपियाँमै बेच्न बाध्य भयो र सनराइजको बाँकी रहेको १ करोड २६ लाख तथा छिपछिपेको ८५ लाख १६ हजार साँवा ब्याज तिरेर चुक्ता गरिसकेको छ । यहाँसम्म आइपुग्दा भुर्तेल परिवारले सनराइजलाई एक करोड ५६ लाख रुपियाँ र छिपछिपेलाई एक करोड १९ लाख रुपियाँ गरी दुई करोड ७५ लाख रुपियाँ बुझाइसकेको बताएको छ । जसमा २०७२ सालमा छिपछिपेमा राखेको १० लाख रुपियाँबराबरको सेयरको हिसाबकिताब र मासिक बचतको हिसाब कतै देखिन्न । सनराइज सहकारी भने बचतकर्ताको रकम हिनामिना गरेर बन्द भइसकेको छ । नवलपुर प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । छिपछिपेका प्रबन्ध निर्देशक योगेन्द्र पाण्डे, सनराइज सहकारी चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमाल र सहकारीबाट हिनामिना गरिएको रकम व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलाई पक्राउ गरिएको नवलपुरका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिए । ‘सरकारीमार्फत बचतकर्ताको रकम हिनामिनामा ठुलो गिरोह सक्रिय भएको देखिएकाले प्रहरीले अनुसन्धानलाई तीव्रता दिइएको छ,’ उनले भने । फिर्ता भएन धितो २०८० साल भदौ ६ गते सबै रकम तिरिसक्दा पनि २०७७ सालमा छिपछिपेमा धितो राखेको ३, ४ र ९० कित्ता नम्बरको दुई बिघा १८ कट्ठा जग्गाको तीन वटा जग्गा धनीपुर्जा भुर्तेल परिवारले फिर्ता पाउन सकेको छैन । उक्त पुर्जा छिपछिपेले राष्ट्रिय सहकारी बैंकमा धितो राखेर आफैँले ऋण लिएकाले ऋण तिर्न नसक्दा फिर्ता हुन सकेको छैन । राष्ट्रिय सहकारी बैंकका अनुसार छिपछिपेले झन्डै १६ लाख रुपियाँ तिर्न नसकेर भुर्तेल परिवारको जग्गा धनीपुर्जा बन्धक बनेको हो । अनुसन्धान हुँदै छिपछिपेले बचतकर्ताको १० करोड रुपियाँ हिनामिना गरेको शङ्कामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पनि छानबिन गरिरहेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको उजुरीका आधारमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको हो । २०७२ देखि २०७९ सम्म एउटै व्यक्ति ९योगेन्द्र पाण्डे० सहकारीको अध्यक्ष र व्यवस्थापक भएर बचत हिनामिना गरेको छानबिनका क्रममा देखिएको छ । पाण्डेले सहकारीको रकम मिटरब्याजमा समेत लगानी गरेको शङ्कामा सहकारी रजिस्ट्रार र प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएका छन् । गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय प्रमुख भेषराज रिजालले पाण्डेले सहकारीकै रकम झिकेर मिटरब्याजमा लगाएको तथा बिनाधितो आफू र नजिकका व्यक्तिलाई कर्जा प्रवाह गरेकोसमेत छानबिनका क्रममा देखिएको बताए । पाण्डेले चितवनको एउटा सहकारी संस्थामा करिब एक करोड र बर्दियाको सहकारीमा करिब ९० लाख रुपियाँ रकमान्तर गरेको पाइएको पनि उनले बताए । व्यवस्थापक पाण्डेले कावासोती–१६ मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर २०७९ पुसमा सहकारीबाट आफैँले ३२ लाख रुपियाँ ऋण लिएका थिए । सहकारीका वर्तमान अध्यक्ष गोपी शर्माले सञ्चालक समितिको बैठकबिनै जग्गाको नक्कली कागजात बनाएर पाण्डेले मालपोतबाट धितो फुकुवा गराएर अन्तै बिक्री गरिसकेको जानकारी दिए । लामो समयसम्म एउटै व्यक्ति सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापक रहेर तालुकदार निकायमा वर्षौंसम्म हिसाब पेस नगर्दासमेत संस्थाको निगरानी गर्ने प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय बेखबर रहेको बचतकर्ताको आरोप छ । पाण्डेले आफैँ सहकारीको अध्यक्ष र निर्देशक बनेर आफ्नी बहिनी नाता पर्ने (सानीआमाकी छोरी) सुनीताकुमारी न्यौपानेलाई व्यवस्थापक बनाएरसमेत रकम हिनामिना गरेको पाइएको वर्तमान अध्यक्ष शर्माले बताए । पाण्डेले बचतकर्ताको रकममा गम्भीर अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान गरिरहेको र सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनपछि थप प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । गोरखापत्रबाट साभार
एनसीएचएल र नेप्सले डाके विशेष साधारण सभा
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाले विशेष साधारण सभा बोलाएका छन् । दुवै संस्थाको चैत २५ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १३ गते बस्ने गरी छुट्टाटुट्टै साधारण सभा बोलाएका हुन् । उक्त सभामा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ । सभामा मर्जरका विषयमा अहिलेसम्म भएका सबै निर्णय र प्रगति विवरण पारित हुनेछन् । यसैगरी प्राप्ति कार्यपछि परिवर्तन हुने सेयर तथा चुक्तापुँजी वृद्धि गर्ने र सेयर समूह स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ । संस्थाले छुट्टाछुट्टै साधारण सभामार्फत आफ्ना सेयरधनीको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया सम्पन्न गरी एकीकृत कार्य गर्नेछन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको छ भने एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरूलाई सेवा दिँदै आएको छ ।
महुली लघुवित्तको ११औं साधारण सभा आज, के छन् मुख्य एजेन्डा ?
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण प्रस्तुत हुनेछन् । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागी लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले चैत १४ गतेका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीमात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।