प्रहरीले गुन्डागर्दीमा संलग्न एक हजार ८७१ को बनायो सूची
काठमाडौं । काठमाडौं प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्ने समूहको सूची बनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मलेन गर्दै काठमाडौंमा हुने विभिन्न अपराधको तथ्यांक सार्वजनिक गरेको हो । सोही क्रममा प्रहरीले गुन्डागर्दी गर्ने समूहको समेत सूची तयार पारिएको परिसरका एसपी पवन भट्टराइले जानकारी दिए । प्रहरीले एक हजार ८७१ जनाको सूची तयार पारेको जनाएको छ । कुनै क्षेत्रमा गुन्डागर्दीका घटना भइहालेमा त्यस्ता व्यक्तिहरूको पहिचान गर्न सहज हुने भएकाले सूची तयार पारेको प्रहरीले जनाएको छ । प्रहरीले गएको एक वर्षमा काठमाडौंमा दुई हजार ३२५ वटा साइबर ठगीको उजुरी परेको उल्लेख गरेको छ ।
संविधान, गणतन्त्र र भूराजनीतिक जोखिमप्रति प्रदीप ज्ञवालीको चिन्ता
काठमाडौं । नेकपा (एमाले) का पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक संवैधानिक, राजनीतिक तथा भूराजनीतिक रूपमा जटिल मोडमा पुगेको दाबी गरेका छन् । उनले संविधान संशोधनका नाममा भइरहेका गतिविधि, संसद्को शक्ति सन्तुलन तथा सरकारको भूमिकाले संविधान र गणतान्त्रिक व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले प्राप्त उपलब्धिहरू जोगाउन नागरिक सचेत हुनुपर्ने आवश्यकता औँल्याए । उनले झन्डै सात दशकको राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धि सङ्कटमा परेको दाबी गर्दै प्रधानमन्त्रीको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘हामीले एउटा यस्तो प्रधानमन्त्री पाएका छौँ, जसले फेसबुकमा पोस्ट गर्न सक्नुहुन्छ । तर गणतन्त्र दिवसका दिन गणतन्त्रको शुभकामना दिन सक्नुहुन्न । खुला मञ्चमा जानुहुन्छ, तर गणतन्त्रको पक्षमा बोल्नुहुन्न,’ उनले भने । ज्ञवालीले संविधान संशोधनको बहसलाई लिएर मुलुक अप्ठ्यारो अवस्थातर्फ धकेलिएको टिप्पणी गरे । संविधान निर्माणमा निर्णायक भूमिका खेलेका प्रमुख राजनीतिक शक्तिहरू एक ठाउँमा उभिँदा पनि प्रतिनिधिसभाको वर्तमान शक्ति सन्तुलनका कारण प्रतिकूल संशोधन रोक्न कठिन हुने अवस्था रहेको उनको भनाइ थियो । ‘प्रतिनिधिसभामा हाम्रो एकतिहाइ सङ्ख्या छैन । संविधान निर्माणमा मुख्य भूमिका खेलेका तीन दल एक ठाउँमा हुँदा पनि प्रतिकूल संशोधनका प्रयास रोक्न सक्ने अवस्था छैन । राष्ट्रिय सभाले केही सन्तुलन कायम गर्ला भन्ने आशा छ,’ उनले भने । उनले संविधानको मूल मर्मविपरीत हुने संशोधन रोक्न सक्ने राजनीतिक हैसियत कमजोर बन्दै गएको समेत उल्लेख गरे । भूराजनीतिक अवस्थाबारे पनि चिन्ता व्यक्त गर्दै ज्ञवालीले नेपाललाई बाह्य शक्ति प्रतिस्पर्धाको केन्द्र बनाउने प्रयास भइरहेको आरोप लगाए । पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सैन्य अधिकारीहरूको निरन्तर भ्रमण, फ्री तिब्बत सम्बन्धी गतिविधि तथा दलाई लामाको जन्मोत्सवलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुलुक संवेदनशील भूराजनीतिक परिस्थितिमा प्रवेश गरिरहेको दाबी गरे । त्यस्तै, प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले पनि नेपालको भूराजनीतिक अवस्था थप जटिल बन्न सक्ने उनको टिप्पणी थियो । उनले सरकारलाई राष्ट्रिय हित र संवैधानिक व्यवस्थाको संरक्षणमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन आग्रह गरे ।
नेप्से बढ्दा १५२ कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा पुगेको छ । यस दिन ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा ३५३ कम्पनीका १ करोड ३७ लाख ६९ हजार कित्ता सेयर ७० हजार १५८ पटक खरिदबिक्री भएका छन् । तीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ । एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा पुगेको छ । त्यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४ प्रतिशतभन्दा बढी र सगरमाथा जलविद्युत कम्पनीको सेयर करिब ७ प्रतिशतले बढेको छ । यता, १० प्रतिशत सानिमा बैंक डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ८.९२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो । कम्पनीको ३० करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको करिब २७ करोड ५० लाख रुपैयाँ तथा कुमारी बैंकको २५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढ्दा ६ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ उपसमूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि हरियालीमा रहे । यद्यपि, म्युचुअल फन्ड उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०८ प्रतिशतले घटेको छ।
नेपाली कांग्रेस : एउटै पार्टी, दुई शक्ति केन्द्र
काठमाडौं । नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित छैन । निर्वाचन आयोगमा एउटै पार्टी दर्ता छ । पार्टीको चुनाव चिह्न र संसदीय दल पनि एउटै छ । तर व्यवहारमा भने पार्टीभित्र दुईवटा समानान्तर शक्तिकेन्द्र सक्रिय देखिएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र १४औं महाधिवेशनको नेतृत्वबीच बढ्दो अविश्वास, समानान्तर गतिविधि र निर्णय प्रक्रियामा देखिएको टकरावले कांग्रेसभित्रको आन्तरिक द्वन्द्व झन् पछि झन् गहिरिँदै गएको छ। पार्टी औपचारिक रूपमा विभाजित नभए पनि नेता कार्यकर्ता दुई धारमा स्पष्ट रूपमा बाँडिएको देखिएको छ । एउटै जिल्लामा फरकफरक भेला, समानान्तर निर्देशन, छुट्टाछुट्टै राजनीतिक कार्यक्रम र सार्वजनिक आरोपप्रत्यारोपले कांग्रेसको संगठनात्मक एकता कमजोर बन्दै गएको छ । स्थानीय तहदेखि केन्द्रसम्म कार्यकर्ताहरू कसको निर्देशन मान्ने भन्ने अन्यौलमा परेका छन् । ४४ औं स्मृति दिवशको दिन त पार्टीका धेरै जिल्लामा दुईवटा मञ्चहरू देखिए । यसले कांग्रेसको आगामी दिन सुखद नदेखिएको जरा अभियानको समापन कार्यक्रमका की स्पिकर समेत रहेका प्राध्यापक कृष्ण खनालले बताएका थिए । दुई नेतृत्वबीच बढ्दो दूरी विशेष महाधिवेशनपछि नयाँ नेतृत्वले आफू नै वैधानिक र लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नेतृत्व भएको दाबी गर्दै आएको छ । निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत वैधानिकता दिएकोले विशेष महाधिवेशन र यसवाट निर्वाचित नेतृत्वको वैधानिकता माथि गरिने प्रश्न उपयुक्त नभएको सहमहामन्त्री प्रकाश रसाइलीले बताए । रसाइलीको तर्क छ, ‘पार्टीलाई पुनर्जीवित गर्न, संगठनलाई सक्रिय बनाउन र जनतामाझ नयाँ सन्देश दिन विशेष महाधिवेशन आवश्यक थियो र त्यसबाट आएको नेतृत्वलाई सबैले स्वीकार गर्नुपर्छ ।’ तर १४औं महाधिवेशनबाट बनेको नेतृत्व पक्ष भने विशेष महाधिवेशनको प्रक्रिया र त्यसबाट आएका निर्णयप्रति सुरुदेखि नै असन्तुष्ट रहँदै आएको छ । उनीहरूले राजनीतिक निर्णय गरेर अगाडि बढ्नुपर्नेमा अदालतको फैसलालाई देखाएर पार्टीको महत्त्वपूर्ण जिम्मेवारीबाट पन्छिन नहुने बताउँछन् । पार्टीका पूर्वप्रवक्ता समेत रहेका नेता डा. प्रकाशशरण महतले बीपी स्मृति दिवशकै दिन आफूहरूलाई बेवास्ता गरिएको, पार्टीको संस्थागत परम्परा कमजोर बनाइएको र आन्तरिक सहमति बिना अगाडि बढ्न खोजेको आरोप लगाएका थिए । राजनितिक विश्लेषकहरू भने दुवै पक्षले आफूलाई कांग्रेसको वास्तविक राजनीतिक धारको प्रतिनिधि ठानिरहेका र यही कारणले एउटै पार्टीभित्र दुई विपरीत पार्टीको जस्तो शक्ति प्रदर्शनको प्रतिस्पर्धा बढेको बताउँछन् । एउटै पार्टी, समानान्तर गतिविधि पछिल्ला महिनाहरूमा कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै बैठक, छलफल, प्रशिक्षण, कार्यकर्ता भेला र राजनीतिक अभियान सञ्चालन गरेका छन् । कतिपय जिल्लामा एउटै विषयमा दुईवटा फरक निर्देशन जारी भएका उदाहरण पनि देखिएको विश्लेषक परसुराम घिमिरे बताउँछन् । प्रदेश र जिल्ला तहका नेताहरू समेत कुन पक्षसँग रहने भन्ने दबाबमा छन् । धेरै नेताले सार्वजनिक रूपमा कुनै पक्ष नलिई सन्तुलन कायम गर्ने प्रयास गरिरहेका छन् । कतिपय भने खुला रूपमा एक पक्षको समर्थनमा र अर्को पक्षलाई गाली गर्ने तहमा पनि पुगेका छन् । कांग्रेसका नेताहरूका सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया हेर्दा कार्यकर्ताहरू मानसिकरूपमा छुट्टिन तयार रहेको देखिएको विश्लेषक घिमिरेले जानकारी दिए । यसले संगठनभित्र निर्णय कार्यान्वयनको क्षमता कमजोर बनाएको र कुनै निर्णय कार्यान्वयन गर्न खोज्दा अर्को पक्षले असहयोग गर्ने प्रवृत्ति बढेको प्राध्यापक खनालले एक कार्यक्रममा बताएका थिए । अन्यौलमा कार्यकर्ता सबैभन्दा बढी प्रभाव तल्लो तहका कार्यकर्तामा परेको पालिकास्तरका नेताहरू बताउँछन् । अघिल्लो दिन इतर पक्षको कमलादीस्थित प्रज्ञा भवनमा र अर्कोदिन राष्ट्रिय सभागृहमा भेटिएका एक कायकर्ता आफुहरुलाई असाध्यै मुस्किल भएको बताउँछन् । नाम नलेख्ने सर्तमा उनी भन्छन्, ‘म त सकेसम्म दुवै समूहको कार्यक्रममा पुग्छु । वडा, पालिका, क्षेत्र र जिल्ला तहका कार्यकर्ताहरू कसको निर्देशनलाई आधिकारिक मान्ने भन्ने अन्यौलमा छन् ।’ कुनै कार्यक्रममा सहभागी हुँदा अर्को पक्षबाट आलोचना हुने, एउटा नेतृत्वको कार्यक्रममा जाँदा अर्को पक्षसँग सम्बन्ध बिग्रने र भविष्यको राजनीतिक अवसर प्रभावित हुने चिन्ताले धेरै कार्यकर्ता खुला रूपमा कुनै पक्षमा उभिन हिच्किचाइरहेको ती स्थानीय नेताले बताए । युवा नेता तथा कार्यकर्ताहरू पार्टीभित्रको शक्ति संघर्षले संगठन विस्तार, सदस्यता अभियान, प्रशिक्षण र जनसम्पर्कका कार्यक्रम ओझेलमा परेकोमा चिन्तित देखिन्छन् । नेतृत्वबीचको विवादका कारण जनतामाझ जानुपर्ने ऊर्जा आन्तरिक प्रतिस्पर्धामै खर्च भइरहेको काठमाडौं जिल्ला समिति सदस्यसमेत रहेका एक नेताले बताए । प्रदेश सरकारसम्म फैलियो कांग्रेसको शक्ति संघर्ष कांग्रेसभित्रको आन्तरिक विवाद अब संगठनभित्र मात्र सीमित छैन । यसको प्रभाव प्रदेश सरकारहरूको स्थायित्व र सत्ता समीकरणमा समेत स्पष्ट रूपमा देखिएको छ । पछिल्लो समय केही प्रदेशमा सत्ता समीकरण फेरबदल हुनु, सरकारहरू अस्थिर बन्दै जानुले राम्रो सन्देश नदिएको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको धारणा रहेको छ । कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य कमजोर हुँदै जानुलाई राजनीतिक वृत्तमा कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षसँग जोडेर हेरिएको छ । एउटै पार्टीभित्रका फरक समूहबीच सहमति जुट्न नसक्दा प्रदेश सरकारहरू निरन्तर दबाबमा परेको कार्कीले बताए । राजनीतिक विश्लेषक घिमिरेका अनुसार केन्द्रको नेतृत्व विवाद प्रदेशसम्म फैलिँदा सरकारहरूको स्थायित्वमा प्रश्न उठ्न थालेको छ । विश्लेषकहरूका अनुसार अहिलेको विवाद केवल पदको प्रतिस्पर्धा मात्र होइन, पार्टीको भविष्यको दिशा, नेतृत्व शैली र संगठन सञ्चालनको मोडेलसँग पनि जोडिएको छ । नयाँ नेतृत्व आफूले परिवर्तनको एजेन्डा बोकेको दाबी गर्छ भने पुरानो नेतृत्व संस्थागत निरन्तरता र अनुभवलाई प्राथमिकता दिनुपर्ने तर्क गरिरहेको छ । यही फरक दृष्टिकोणले दुवै पक्षबीचको दूरी झन् बढाएको देखिन्छ । इतिहास दोहोरिन सक्ने नेपाली कांग्रेसको इतिहास पल्टाएर हेर्दा आन्तरिक विवाद नयाँ विषय होइन । विभिन्न समयमा नेतृत्व विवाद, गुटबन्दी र संगठनात्मक मतभेद देखिँदै आएकाले अहिलेको विवादले त्यही विगतको इतिहास दाहोरिने हो कि भन्ने डर कार्यकर्तामा देखिन्छ । तर अधिकांश अवस्थामा पार्टीले अन्ततः सहमतिको बाटो रोजेको इतिहास पनि भएकोले आशा पनि जगाएको कार्यकर्ताले बताउँछन् । यद्यपि औपचारिक विभाजनतर्फ जाने संकेत तत्काल नदेखिए पनि मनोवैज्ञानिक विभाजन भने गहिरिँदै गएको नेताहरूले नै स्वीकार गरेका छन् । नेपाली कांग्रेस अहिले औपचारिक रूपमा एउटै पार्टी भए पनि व्यवहारमा दुई शक्ति केन्द्रबीचको प्रतिस्पर्धाले संगठनलाई असहज अवस्थामा पुर्याएको विश्लेषक घिमिरेले बताए । विशेष महाधिवेशनबाट आएको नेतृत्व र १४औं महाधिवेशनको नेतृत्वबीच विश्वासको संकट समाधान नभएसम्म पार्टीभित्रको द्वन्द्व सहजै अन्त्य हुने संकेत नदेखिएको उनको बुझाइ छ । आगामी दिनमा संवाद, सहमति र संस्थागत प्रक्रियालाई बलियो बनाउन नसके कांग्रेसले केवल आन्तरिक संकट मात्र होइन, आफ्नो राजनीतिक प्रभावसमेत गुमाउने जोखिम सामना गर्नुपर्ने अवस्था देखिएको घिमिरेले बताए ।
विदेशका १८ इन्जिनियरिङ उपाधिलाई नेपाल इन्जिनियरिङ परिषद्को मान्यता
काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले भारत र बंगलादेशका विभिन्न विश्वविद्यालयबाट प्रदान गरिने १८ वटा इन्जिनियरिङ विषयका शैक्षिक योग्यता तथा उपाधिलाई नेपालमा आधिकारिक मान्यता दिएको छ । परिषद्को निर्णयसम्बन्धी सूचना पूर्वाधार विकास मन्त्रालयमार्फत नेपाल राजपत्रमा प्रकाशित गरिएको हो । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २१ को उपदफा १ बमोजिम परिषद्ले गरेको निर्णयअनुसार ती शैक्षिक योग्यता तथा उपाधिलाई मान्यता प्रदान गरिएको मन्त्रालयले जनाएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार भारतका विभिन्न विश्वविद्यालयबाट प्रदान गरिने विद्युत इन्जिनियरिङ, कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, कम्युनिकेसन इन्जिनियरिङलगायत विभिन्न विषयका स्नातक तहका उपाधिलाई मान्यता दिइएको छ । साथै बंगलादेशको एक विश्वविद्यालयबाट प्रदान गरिने इन्जिनियरिङ उपाधिलाई पनि परिषद्ले मान्यता प्रदान गरेको छ ।
बजेटका आर्थिक सुधार ‘मिसन मोड’ मा अघि बढाउन अर्थमन्त्री वाग्लेको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा गर्नुपर्ने आर्थिक सुधारका नीतिगत तथा कानुनी विषय कार्य तालिकाबद्ध बनाएर प्रत्येक मन्त्रालयले काम अघि बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो । बजेटमा घोषणा गरिएका आर्थिक सुधारका धेरै कार्यक्रममध्ये अधिकांश कार्यक्रम उद्योग मन्त्रालयमा रहेको भन्दै उनले त्यसको उल्झन फुकाउन दुई मन्त्रालयबिचको सहकार्य बढाउने पनि बताए । ‘बजेटमा सुधार गर्ने भनिएका नीतिगत र कानुनी कामहरू उद्योग मन्त्रालयले तदारुकताका साथ अघि बढाओस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘विज्ञ, स्रोतसाधन वा अर्थ मन्त्रालयले अरू के–के सहयोग गर्नुपर्ने हो भन्नुहोस् ।’ लगानीमैत्री वातावरण निर्माण, व्यापार सहजीकरण र विदेशी लगानी आकर्षित गर्न तत्काल गर्नुपर्ने कानुनी कामहरू केही साताभित्रै सक्नुपर्ने पनि उनले बताए । छलफलमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले बजेटका सुधार योजना अघि बढाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताए । मन्त्रालयको क्षेत्राधिकारमा पर्ने काममा अर्थ मन्त्रालयबाट पनि प्राविधिक सहयोग लिएर आपसी समन्वय गर्न जरुरी रहेको उनको भनाइ छ । ‘उद्योग मन्त्रालयमातहत बजेटका ८ वटा सुधारका कार्यक्रम छन्,’ उद्योगमन्त्रीले भने, ‘केहीमा काम थालेका छौं, केही अगाडि बढाउने चरणमा छौं ।’ चालु आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहत आठ वटा कानुनी तथा नीतिगत सुधारका योजनाहरू घोषणा भएका छन् । जसमा कम्पनी ऐन, दामासाहीसम्बन्धी ऐन संशोधनदेखि उधारो असुली ऐन, बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन बनाउनेसम्मका छन् । नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै अर्थ मन्त्रालयले अब नियमित रूपमा बजेटमा घोषणा भएका कार्यक्रमको कार्यान्वयनबारे जिम्मेवार मन्त्रालयसँग छलफल र प्रगति विवरण लिने गरी कार्यतालिका बनाएको छ।
७६ हजारभन्दा बढी बिक्री भएको दिपल निभो क्यु०५ अब नेपालमा
काठमाडौं । एमएडब्लु वृद्धिले नेपालमा दिपल ब्रान्डको नयाँ इलेक्ट्रिक एसयुभी दिपल निभो क्यु०५ ल्याउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय पुरस्कार विजेता डिजाइन, फराकिलो इन्टेरियर र स्मार्ट प्रविधिका कारण यो मोडल नेपाली बजारमा बहुप्रतीक्षित बनेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार क्यु०५ आकर्षक डिजाइन, आरामदायी केबिन, आधुनिक प्रविधि र व्यवहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको इलेक्ट्रिक एसयुभी हो । नेपालमा उपलब्ध हुने भेरियन्ट र स्पेसिफिकेसन सार्वजनिक नभए पनि यसले प्रतिस्पर्धी इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । क्यु०५ को डिजाइन अन्तर्राष्ट्रिय अटोमोबाइल डिजाइनर क्लाउस जिसिओराको नेतृत्वमा तयार गरिएको हो । यसले सन् २०२६ को प्रतिष्ठित गोल्ड ए डिजाइन अवार्ड समेत जितिसकेको छ । २,७३५ एमएम ह्विलबेस भएको क्यु०५ मा यात्रुका लागि फराकिलो केबिन र पर्याप्त लगेज स्पेस उपलब्ध हुने कम्पनीले जनाएको छ । सहरी सडकमा सहज रूपमा चलाउन मिल्ने आकारका कारण यसले परिवारमुखी ग्राहकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार क्यु०५ मा सिएटिएलको ब्याट्री, फास्ट चार्जिङ सुविधा र इन्टेलिजेन्ट ड्राइभिङ प्रणाली समावेश गरिएको छ । चीनको याकेशी क्षेत्रमा गरिएको परीक्षणमा यसले बरफयुक्त सडकमा समेत सफल प्रदर्शन गरेको बताइएको छ । चीनमा यो मोडल आफ्नो सेग्मेन्टकै लोकप्रिय कम्प्याक्ट इलेक्ट्रिक एसयुभीमध्ये एक बनेको छ । कम्पनीका अनुसार जुनको अन्त्यसम्म क्यु०५ का ७६ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन् । नेपालमा उपलब्ध हुने भेरियन्ट, फिचर, मूल्य र अन्य प्राविधिक विवरण भने आधिकारिक लन्चका क्रममा सार्वजनिक गरिने एमएडब्लु वृद्धिले जनाएको छ ।
स्रोत नखुलेको रकमसहित पक्राउ परेका उपसचिव तामाङ रिहा
काठमाडौं । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख एवं उपसचिव मिक्मार तामाङ रिहा भएका छन् । सरकारी वकिल कार्यालयको हाजिरी जमानीमा उनी छुटेको मोरङ प्रहरीले जनाएको छ । तामाङ बिहीबार रिहा भएका हुन् । गत आइतबार स्रोत नखुलेको ६ लाख ६६ हजार रुपैयाँ नगदसहित विराटनगर विमानस्थलबाट उनी पक्राउ परेका थिए । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका थिए। नियमित सुरक्षा जाँचका क्रममा उनले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको १ हजार दरका ५ सय ७५ थान र ५ सय दरका ३ सय थान गरी ६ लाख ६६ हजार रुपैयाँ फेला परेको थियो। उनलाई बाहिर राखेर अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । उनले पैसाको स्रोत भने अरु कसैलाई पठाउन लगिएको पैसा भनेर कागजपत्र पेश गरेको प्रहरीले बताएको छ।