नेपाली कांग्रेस : एउटै पार्टी, दुई शक्ति केन्द्र

काठमाडौं । नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित छैन । निर्वाचन आयोगमा एउटै पार्टी दर्ता छ । पार्टीको चुनाव चिह्न र संसदीय दल पनि एउटै छ । तर व्यवहारमा भने पार्टीभित्र दुईवटा समानान्तर शक्तिकेन्द्र सक्रिय देखिएका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र १४औं महाधिवेशनको नेतृत्वबीच बढ्दो अविश्वास, समानान्तर गतिविधि र निर्णय प्रक्रियामा देखिएको टकरावले कांग्रेसभित्रको आन्तरिक द्वन्द्व झन् पछि झन् गहिरिँदै गएको छ।

पार्टी औपचारिक रूपमा विभाजित नभए पनि नेता कार्यकर्ता दुई धारमा स्पष्ट रूपमा बाँडिएको देखिएको छ । एउटै जिल्लामा फरकफरक भेला, समानान्तर निर्देशन, छुट्टाछुट्टै राजनीतिक कार्यक्रम र सार्वजनिक आरोपप्रत्यारोपले कांग्रेसको संगठनात्मक एकता कमजोर बन्दै गएको छ । 

स्थानीय तहदेखि केन्द्रसम्म कार्यकर्ताहरू कसको निर्देशन मान्ने भन्ने अन्यौलमा परेका छन् । ४४ औं स्मृति दिवशको दिन त पार्टीका धेरै जिल्लामा दुईवटा मञ्चहरू देखिए । 

यसले कांग्रेसको आगामी दिन सुखद नदेखिएको जरा अभियानको समापन कार्यक्रमका की स्पिकर समेत रहेका प्राध्यापक कृष्ण खनालले बताएका थिए । 

दुई नेतृत्वबीच बढ्दो दूरी

विशेष महाधिवेशनपछि नयाँ नेतृत्वले आफू नै वैधानिक र लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नेतृत्व भएको दाबी गर्दै आएको छ । निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत वैधानिकता दिएकोले विशेष महाधिवेशन र यसवाट निर्वाचित नेतृत्वको वैधानिकता माथि गरिने प्रश्न उपयुक्त नभएको सहमहामन्त्री प्रकाश रसाइलीले बताए । 

रसाइलीको तर्क छ, ‘पार्टीलाई पुनर्जीवित गर्न, संगठनलाई सक्रिय बनाउन र जनतामाझ नयाँ सन्देश दिन विशेष महाधिवेशन आवश्यक थियो र त्यसबाट आएको नेतृत्वलाई सबैले स्वीकार गर्नुपर्छ ।’

तर १४औं महाधिवेशनबाट बनेको नेतृत्व पक्ष भने विशेष महाधिवेशनको प्रक्रिया र त्यसबाट आएका निर्णयप्रति सुरुदेखि नै असन्तुष्ट रहँदै आएको छ । उनीहरूले राजनीतिक निर्णय गरेर अगाडि बढ्नुपर्नेमा अदालतको फैसलालाई देखाएर पार्टीको महत्त्वपूर्ण जिम्मेवारीबाट पन्छिन नहुने बताउँछन् । 

पार्टीका पूर्वप्रवक्ता समेत रहेका नेता डा. प्रकाशशरण महतले बीपी स्मृति दिवशकै दिन आफूहरूलाई बेवास्ता गरिएको, पार्टीको संस्थागत परम्परा कमजोर बनाइएको र आन्तरिक सहमति बिना अगाडि बढ्न खोजेको आरोप लगाएका थिए ।

राजनितिक विश्लेषकहरू भने दुवै पक्षले आफूलाई कांग्रेसको वास्तविक राजनीतिक धारको प्रतिनिधि ठानिरहेका र यही कारणले एउटै पार्टीभित्र दुई विपरीत पार्टीको जस्तो शक्ति प्रदर्शनको प्रतिस्पर्धा बढेको बताउँछन् ।

एउटै पार्टी, समानान्तर गतिविधि

पछिल्ला महिनाहरूमा कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै बैठक, छलफल, प्रशिक्षण, कार्यकर्ता भेला र राजनीतिक अभियान सञ्चालन गरेका छन् । कतिपय जिल्लामा एउटै विषयमा दुईवटा फरक निर्देशन जारी भएका उदाहरण पनि देखिएको विश्लेषक परसुराम घिमिरे बताउँछन् ।

प्रदेश र जिल्ला तहका नेताहरू समेत कुन पक्षसँग रहने भन्ने दबाबमा छन् । धेरै नेताले सार्वजनिक रूपमा कुनै पक्ष नलिई सन्तुलन कायम गर्ने प्रयास गरिरहेका छन् । कतिपय भने खुला रूपमा एक पक्षको समर्थनमा र अर्को पक्षलाई गाली गर्ने तहमा पनि पुगेका छन् । कांग्रेसका नेताहरूका सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया हेर्दा कार्यकर्ताहरू मानसिकरूपमा छुट्टिन तयार रहेको देखिएको विश्लेषक घिमिरेले जानकारी दिए ।

यसले संगठनभित्र निर्णय कार्यान्वयनको क्षमता कमजोर बनाएको र कुनै निर्णय कार्यान्वयन गर्न खोज्दा अर्को पक्षले असहयोग गर्ने प्रवृत्ति बढेको प्राध्यापक खनालले एक कार्यक्रममा बताएका थिए ।

अन्यौलमा कार्यकर्ता

सबैभन्दा बढी प्रभाव तल्लो तहका कार्यकर्तामा परेको पालिकास्तरका नेताहरू बताउँछन् । अघिल्लो दिन इतर पक्षको कमलादीस्थित प्रज्ञा भवनमा र अर्कोदिन राष्ट्रिय सभागृहमा भेटिएका एक कायकर्ता आफुहरुलाई असाध्यै मुस्किल भएको बताउँछन् । 

नाम नलेख्ने सर्तमा उनी भन्छन्,  ‘म त सकेसम्म दुवै समूहको कार्यक्रममा पुग्छु । वडा, पालिका, क्षेत्र र जिल्ला तहका कार्यकर्ताहरू कसको निर्देशनलाई आधिकारिक मान्ने भन्ने अन्यौलमा छन् ।’

कुनै कार्यक्रममा सहभागी हुँदा अर्को पक्षबाट आलोचना हुने, एउटा नेतृत्वको कार्यक्रममा जाँदा अर्को पक्षसँग सम्बन्ध बिग्रने र भविष्यको राजनीतिक अवसर प्रभावित हुने चिन्ताले धेरै कार्यकर्ता खुला रूपमा कुनै पक्षमा उभिन हिच्किचाइरहेको ती स्थानीय नेताले बताए ।

युवा नेता तथा कार्यकर्ताहरू पार्टीभित्रको शक्ति संघर्षले संगठन विस्तार, सदस्यता अभियान, प्रशिक्षण र जनसम्पर्कका कार्यक्रम ओझेलमा परेकोमा चिन्तित देखिन्छन् ।

नेतृत्वबीचको विवादका कारण जनतामाझ जानुपर्ने ऊर्जा आन्तरिक प्रतिस्पर्धामै खर्च भइरहेको काठमाडौं जिल्ला समिति सदस्यसमेत रहेका एक नेताले बताए ।

प्रदेश सरकारसम्म फैलियो कांग्रेसको शक्ति संघर्ष

कांग्रेसभित्रको आन्तरिक विवाद अब संगठनभित्र मात्र सीमित छैन । यसको प्रभाव प्रदेश सरकारहरूको स्थायित्व र सत्ता समीकरणमा समेत स्पष्ट रूपमा देखिएको छ । 

पछिल्लो समय केही प्रदेशमा सत्ता समीकरण फेरबदल हुनु, सरकारहरू अस्थिर बन्दै जानुले राम्रो सन्देश नदिएको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको धारणा रहेको छ । 

कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य कमजोर हुँदै जानुलाई राजनीतिक वृत्तमा कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षसँग जोडेर हेरिएको छ । एउटै पार्टीभित्रका फरक समूहबीच सहमति जुट्न नसक्दा प्रदेश सरकारहरू निरन्तर दबाबमा परेको कार्कीले बताए । राजनीतिक विश्लेषक घिमिरेका अनुसार केन्द्रको नेतृत्व विवाद प्रदेशसम्म फैलिँदा सरकारहरूको स्थायित्वमा प्रश्न उठ्न थालेको छ ।

विश्लेषकहरूका अनुसार अहिलेको विवाद केवल पदको प्रतिस्पर्धा मात्र होइन, पार्टीको भविष्यको दिशा, नेतृत्व शैली र संगठन सञ्चालनको मोडेलसँग पनि जोडिएको छ ।

नयाँ नेतृत्व आफूले परिवर्तनको एजेन्डा बोकेको दाबी गर्छ भने पुरानो नेतृत्व संस्थागत निरन्तरता र अनुभवलाई प्राथमिकता दिनुपर्ने तर्क गरिरहेको छ । यही फरक दृष्टिकोणले दुवै पक्षबीचको दूरी झन् बढाएको देखिन्छ ।

इतिहास दोहोरिन सक्ने

नेपाली कांग्रेसको इतिहास पल्टाएर हेर्दा आन्तरिक विवाद नयाँ विषय होइन । विभिन्न समयमा नेतृत्व विवाद, गुटबन्दी र संगठनात्मक मतभेद देखिँदै आएकाले अहिलेको विवादले त्यही विगतको इतिहास दाहोरिने हो कि भन्ने डर कार्यकर्तामा देखिन्छ । तर अधिकांश अवस्थामा पार्टीले अन्ततः सहमतिको बाटो रोजेको इतिहास पनि भएकोले आशा पनि जगाएको कार्यकर्ताले बताउँछन् ।

यद्यपि औपचारिक विभाजनतर्फ जाने संकेत तत्काल नदेखिए पनि मनोवैज्ञानिक विभाजन भने गहिरिँदै गएको नेताहरूले नै स्वीकार गरेका छन् ।

नेपाली कांग्रेस अहिले औपचारिक रूपमा एउटै पार्टी भए पनि व्यवहारमा दुई शक्ति केन्द्रबीचको प्रतिस्पर्धाले संगठनलाई असहज अवस्थामा पुर्याएको विश्लेषक घिमिरेले बताए । 

विशेष महाधिवेशनबाट आएको नेतृत्व र १४औं महाधिवेशनको नेतृत्वबीच विश्वासको संकट समाधान नभएसम्म पार्टीभित्रको द्वन्द्व सहजै अन्त्य हुने संकेत नदेखिएको उनको बुझाइ छ ।

आगामी दिनमा संवाद, सहमति र संस्थागत प्रक्रियालाई बलियो बनाउन नसके कांग्रेसले केवल आन्तरिक संकट मात्र होइन, आफ्नो राजनीतिक प्रभावसमेत गुमाउने जोखिम सामना गर्नुपर्ने अवस्था देखिएको घिमिरेले बताए ।

Share News