काठमाडौं । नेकपा (एमाले) का पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक संवैधानिक, राजनीतिक तथा भूराजनीतिक रूपमा जटिल मोडमा पुगेको दाबी गरेका छन् । उनले संविधान संशोधनका नाममा भइरहेका गतिविधि, संसद्को शक्ति सन्तुलन तथा सरकारको भूमिकाले संविधान र गणतान्त्रिक व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले प्राप्त उपलब्धिहरू जोगाउन नागरिक सचेत हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले झन्डै सात दशकको राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धि सङ्कटमा परेको दाबी गर्दै प्रधानमन्त्रीको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।
‘हामीले एउटा यस्तो प्रधानमन्त्री पाएका छौँ, जसले फेसबुकमा पोस्ट गर्न सक्नुहुन्छ । तर गणतन्त्र दिवसका दिन गणतन्त्रको शुभकामना दिन सक्नुहुन्न । खुला मञ्चमा जानुहुन्छ, तर गणतन्त्रको पक्षमा बोल्नुहुन्न,’ उनले भने ।
ज्ञवालीले संविधान संशोधनको बहसलाई लिएर मुलुक अप्ठ्यारो अवस्थातर्फ धकेलिएको टिप्पणी गरे । संविधान निर्माणमा निर्णायक भूमिका खेलेका प्रमुख राजनीतिक शक्तिहरू एक ठाउँमा उभिँदा पनि प्रतिनिधिसभाको वर्तमान शक्ति सन्तुलनका कारण प्रतिकूल संशोधन रोक्न कठिन हुने अवस्था रहेको उनको भनाइ थियो ।
‘प्रतिनिधिसभामा हाम्रो एकतिहाइ सङ्ख्या छैन । संविधान निर्माणमा मुख्य भूमिका खेलेका तीन दल एक ठाउँमा हुँदा पनि प्रतिकूल संशोधनका प्रयास रोक्न सक्ने अवस्था छैन । राष्ट्रिय सभाले केही सन्तुलन कायम गर्ला भन्ने आशा छ,’ उनले भने ।
उनले संविधानको मूल मर्मविपरीत हुने संशोधन रोक्न सक्ने राजनीतिक हैसियत कमजोर बन्दै गएको समेत उल्लेख गरे ।
भूराजनीतिक अवस्थाबारे पनि चिन्ता व्यक्त गर्दै ज्ञवालीले नेपाललाई बाह्य शक्ति प्रतिस्पर्धाको केन्द्र बनाउने प्रयास भइरहेको आरोप लगाए । पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सैन्य अधिकारीहरूको निरन्तर भ्रमण, फ्री तिब्बत सम्बन्धी गतिविधि तथा दलाई लामाको जन्मोत्सवलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुलुक संवेदनशील भूराजनीतिक परिस्थितिमा प्रवेश गरिरहेको दाबी गरे ।
त्यस्तै, प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले पनि नेपालको भूराजनीतिक अवस्था थप जटिल बन्न सक्ने उनको टिप्पणी थियो । उनले सरकारलाई राष्ट्रिय हित र संवैधानिक व्यवस्थाको संरक्षणमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन आग्रह गरे ।