स्रोत नखुलेको रकमसहित पक्राउ परेका उपसचिव तामाङ रिहा

काठमाडौं । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख एवं उपसचिव मिक्मार तामाङ रिहा भएका छन् ।

सरकारी वकिल कार्यालयको हाजिरी जमानीमा उनी छुटेको मोरङ प्रहरीले जनाएको छ । तामाङ बिहीबार रिहा भएका हुन् । गत आइतबार स्रोत नखुलेको ६ लाख ६६ हजार रुपैयाँ नगदसहित विराटनगर विमानस्थलबाट उनी पक्राउ परेका थिए । 

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका थिए। नियमित सुरक्षा जाँचका क्रममा उनले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको १ हजार दरका ५ सय ७५ थान र ५ सय दरका ३ सय थान गरी ६ लाख ६६ हजार रुपैयाँ फेला परेको थियो।

उनलाई बाहिर राखेर अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । उनले पैसाको स्रोत भने अरु कसैलाई पठाउन लगिएको पैसा भनेर कागजपत्र पेश गरेको प्रहरीले बताएको छ।

Share News