सिद्धबाबा सुरुङमार्गको ७० प्रतिशत काम सम्पन्न, दशैंपछि गाडी गुड्ने
काठमाडौं । नागढुंगा सुरुङमार्ग सोमबार (भोलि) देखि औपचारिक रुपमा सञ्चालनमा आउँदै गर्दा नेपालको अर्को निर्माणाधीन सुरुङमार्ग सिद्धबाबामा पनि काम धमाधम भइरहेको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने पाल्पा–बुटवल खण्डको सिद्धबाबामा निर्माणाधीन उक्त सुरुङमार्गको ७० प्रतिशत भौतिक काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख नवराज बास्तोलाले सुरुङ खन्ने (ब्रेकथ्रु) र भित्री सिभिल संरचना निर्माणको काम सकिएसँगै अब ३० प्रतिशत काम मात्र बाँकी रहेको जानकारी दिए । उनका अनुसार हाल सुरुङभित्र रङ-रोगन र प्राविधिक भवनहरूको निर्माण कार्य भइरहेको छ । ११० मिटर लम्बाइको यस सुरुङमार्गलाई सुरक्षित र आधुनिक बनाउन अब इलेक्ट्रो-मेकानिकल सामानहरू जडान गर्ने तयारी थालिएको छ । यसअन्तर्गत सुरुङभित्र भेन्टिलेसन (हावा ओहोरदोहोर गर्ने प्रणाली), अग्नि नियन्त्रण उपकरण, सीसीटीभी क्यामेरा र विद्युतीय बत्ती जडान गर्न बाँकी रहेको बास्तोलाले विकासन्युजलाई जानकारी दिए । यसका साथै सुरुङको बाहिरी भागमा पहिरो र ढुङ्गा खस्नबाट जोगाउन रक सेड, रकफल ब्यारियर र स्लोप प्रोटेक्सन जस्ता सुरक्षा संरचनाहरूको निर्माण कार्य पनि अघि बढाइएको छ । निर्माण कार्यमा प्रगति भए तापनि केही प्राविधिक र प्राकृतिक चुनौतीहरू भने कायमै छन् । वर्षायाम सुरु भएसँगै खस्ने ढुङ्गा र पहिरोका कारण काममा बेलाबेला अवरोध पुग्ने गरेको छ । साथै सुरुङका लागि आवश्यक धेरैजसो प्राविधिक सामानहरू चीनबाट ल्याउनुपर्ने र केरुङ नाकातर्फको बाटो खराब भएका कारण ती सामग्रीहरू समयमै निर्माण स्थलसम्म आइपुग्न कठिन भइरहेको आयोजनाले जनाएको छ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको यस आयोजनालाई आगामी दसैं अर्थात् अक्टोबरको अन्त्यसम्ममा परीक्षण सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यदि सामानहरू समयमै उपलब्ध भएमा निर्धारित समयभित्रै काम सकेर सुरुङमार्गलाई सञ्चालनमा ल्याइने बास्तोलाले दावी गरे । आयोजनाका अनुसार बर्सेनि वर्षायाम सुरु हुनासाथ पहिरो खस्ने, सडक अवरुद्ध हुने र यात्रुले सास्ती भोग्ने अवस्था दोहोरिरहेपछि २०७५ सालमा स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) ले विस्तृत अध्ययन गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । त्यसपछि मात्रै आयोजना निर्माणले औपचारिक गति लिएको हो । २०७८ जेठ ९ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको आयोजना सोही वर्ष फागुन २५ गते चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड रुपैयाँमा निर्माण सम्झौता गरिएको थियो । सुरुमा करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रतिस्पर्धात्मक बोलपत्रमार्फत झण्डै ३ अर्ब रुपैयाँ कम लागतमा ठेक्का लागेको थियो । यद्यपि सम्झौतापछि विभिन्न प्राविधिक तयारी, डिजाइन तथा प्रक्रिया पूरा गर्नुपरेकाले वास्तविक सुरुङ खन्ने काम २०७९ सालको अन्त्यतिरबाट मात्रै सुरु भएको थियो । अहिले भने आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख बास्तोलाका अनुसार साढे १० मिटर चौडा र करिब ७ मिटर अग्लो सुरुङको सेकेन्डरी लाइनिङ तथा इन्भर्ट निर्माण सम्पन्न भइसकेको छ । अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, पंखालगायत अत्याधुनिक विद्युतीय तथा सुरक्षा उपकरण जडानको काम तीव्र गतिमा भइरहेको छ । यससँगै पहुँच सडक, सुरक्षा संरचना र अन्य सहायक पूर्वाधार निर्माणको काम पनि समानान्तर रूपमा अघि बढाइएको छ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टल निर्माण यसअघि नै सम्पन्न भइसकेको छ । नेपालमै पहिलोपटक ‘रकसेड’ प्रविधि सुरुङमार्गबाट बाहिर निस्किएपछि पनि माथिबाट पहिरो खस्ने जोखिम रहने भएकाले सिद्धबाबा क्षेत्रमा नेपालको सडक पूर्वाधार इतिहासमै पहिलोपटक ‘रकसेड’ प्रविधि प्रयोग गर्न लागिएको छ । यो प्रविधिअन्तर्गत पहिरो धेरै खस्ने स्थानमा सडकमाथि आरसीसी ढलान वा बलियो स्टिलको भिरालो छाना निर्माण गरिन्छ । जसले माथिबाट खस्ने ढुंगा सिधै सडकमा पुग्न नदिई यात्रुको सुरक्षा सुनिश्चित गर्छ । यसका लागि ७८० मिटर लामो रकसेड निर्माणको डिजाइन स्वीकृत भइसकेको आयोजनाले जनाएको छ । रकसेडमा प्रयोग हुने उच्च क्षमताको सुरक्षा जालीले ५ हजार किलोग्राम (५ टन) सम्म तौल भएका विशाल ढुंगासमेत रोक्न सक्ने आयोजनाको भनाइ छ । सिद्धबाबा सुरुङमार्ग ‘इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)’ मोडलमा निर्माण भइरहेको आयोजना हो । यस मोडलअनुसार डिजाइनदेखि निर्माण सम्पन्न गर्ने दायित्व निर्माण कम्पनीकै भएको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भएपछि पनि कम्पनीले ५ वर्षसम्म सुरुङ सञ्चालन, मर्मतसम्भार तथा सुरक्षा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आफैं वहन गर्नुपर्ने बताइएको छ । यस व्यवस्थाले सुरुङको गुणस्तर, नियमित मर्मतसम्भार र सुरक्षित सञ्चालन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी र बाग्लुङलगायत जिल्लाका हजारौं सवारीसाधन दैनिक आवतजावत हुने गरेका छन् । सुरुङ सञ्चालनमा आएपछि वर्षेनी दोहोरिने पहिरोका कारण हुने सडक अवरोध, यात्रुको जोखिम र आर्थिक क्षतिमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ ।
राजीनामाको मागबीच उपकुलपति जोशीको अडान– जिम्मेवारीबाट पछि हट्दिनँ
काठमाडौं । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलराज जोशीले आफू विश्वविद्यालय सञ्चालनको जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारेका छन् । उनको राजीनामाको माग गर्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी धनगढीमा २४औं आमरण अनशनमा रहेका बेला जोशीले सामाजिक सञ्जालमार्फत आफ्नो अडान सार्वजनिक गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उपकुलपति जोशीले सुदूरपश्चिमका नागरिकबाट प्राप्त समर्थन र विश्वासप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले विश्वविद्यालयलाई सफलतापूर्वक सञ्चालनमा ल्याउने आफ्नो संकल्प अझ बलियो बनेको उल्लेख गर्दै लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेशका सम्पूर्ण आदरणीय जनसमुदायबाट प्राप्त अपार माया, अटुट समर्थन र विश्वासप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । यहाँहरूको स्नेह र साथले यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्ने हाम्रो दृढ संकल्पलाई अझ सशक्त बनाएको छ ।’ जोशी विश्वविद्यालयको उपकुलपतिमा दुई पटक नियुक्त भएका व्यक्ति हुन् । विश्वविद्यालयका लागि पटक–पटक आवेदन आह्वान गर्दा पनि योग्य उम्मेदवार नपाइएपछि उनलाई पुनः उपकुलपतिको जिम्मेवारी दिइएको थियो । यसअघि तत्कालीन सरकारले उनलाई पदबाट हटाएको थियो भने पछि फेरि सोही पदमा नियुक्त गरिएको थियो । विश्वविद्यालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेका बेला डा. केसीले जोशीको नियुक्ति खारेज गर्नुपर्ने मागसहित आमरण अनशन थालेका छन् । केसीको मुख्य मागमध्ये गेटास्थित विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने विषय पनि रहेको छ । यता, विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढ्न लागेका बेला त्यसलाई अवरोध गर्न खोजिएको भन्दै सुदूरपश्चिमका केही स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । धर्मशालामा अनशनरत डा. केसीमाथि दबाब बढेपछि उनलाई सेती प्रादेशिक अस्पताल सारिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हाल उनी अस्पतालको आईसीयूमा उपचाररत छन् । सरकारी वार्ता टोली र डा केसी पक्षबीच छलफल जारी प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको टोलीले वार्ता गरिरहेको छ । डा. केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उनका प्रतिनिधि डा अमृत जैसी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिए । पहिलो चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँ हुने निष्कर्षअनुसार डा. केसीसँग थप वार्ता हुने उनले बताए । डा. केसी विभिन्न पाँचबुँदे माग राखेर गत बिहीबारदेखि अनशनमा छन् । स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको छ । डा. केसीले गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी भएका नियमविपरितका नियुक्ति बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेजीको माग गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुका साथै विगतमा सरकारसँग भएका लिखित सहमतिहरूको पालना, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार तथा सेवा प्राथमिकताका साथ विस्तार गर्नुपर्ने माग गरिएको छ । यसैगरी गत भदौ २३ र २४ गते भएका जघन्य हत्या, आगजनी, लुटपाटलगायत घटनाका दोषीलाई कारबाही तथा २०४६ सालदेखि हालसम्मका उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने डा. केसीको माग छ ।
आईफोन नदिएको रिसमा साथीमाथि निर्घात कुटपिट, ज्यान गएपछि शव लुकाए
काठमाडौं । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । जन्मदिन मनाउने क्रममा साथीहरु मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरीको थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले बताए। ‘लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरुबीच एकापसमा झगडा भएको देखिन्छ,’ उनले भने, ‘कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टा दूरीमा शव लुकाएर राखेको अवस्था भेटिएको छ ।’ जन्मदिन मनाउने क्रममा सात जना रहे पनि अरु घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्तस्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए । साउन १ गत राति २ः३० बजेसम्म लजिनका साथीहरु मिलेर स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसी मदिरा सेवन गरेको प्राररम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । जन्मदिन मनाउने क्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ । हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरालगायतको सहयोगबाट खोजतलास गरेको थियो । नियन्त्रणमा लिएकाहरुलाई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंको धुम्रबाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि घर आएका थिए । साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरुबाट हत्याको सिकार भएका छन् ।
मोबाइल नदिएको निहुँमा साथीको हत्या गरेपछि...
काठमाडौं । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका-१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जन्मदिन मनाउने क्रममा साथीहरु मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरीको थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले बताए । ‘लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरुबीच एकापसमा झगडा भएको देखिन्छ’, उनले भने, ‘कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टा दूरीमा शव लुकाएर राखेको अवस्था भेटिएको छ ।’ जन्मदिन मनाउने क्रममा सात जना रहे पनि अरु घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्तस्थलमा पुगी आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए । साउन १ गत राति २ः३० बजेसम्म लजिनका साथीहरु मिलेर स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसी मदिरा सेवन गरेको प्राररम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । जन्मदिन मनाउने क्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ । हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरालगायतको सहयोगबाट खोजतलास गरेको थियो । नियन्त्रणमा लिएकाहरुलाई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंको धुम्रबाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि घर आएका थिए । साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरुबाट हत्याको सिकार भएका छन् ।
कांग्रेस इतरमा तीन धार, गगन नेतृत्वमाथि बढ्दो दबाब
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टी नेतृत्व परिवर्तनसँगै आन्तरिक राजनीतिक शक्ति समीकरणलाई पनि पूर्ण रूपमा फेरिदिएको छ । लामो समयसम्म पार्टी भित्र संस्थापनको रूपमा चिनिएको समूह अहिले इतर समूहको भूमिकामा पुगेको छ । त्यही इतर समूह स्वयं पनि अहिले एउटै राजनीतिक धारमा देखिएको छैन । कांग्रेसका नेताहरू, केन्द्रीय सदस्यहरू र पार्टीसँग निकट स्रोतहरूसँग गरिएको कुराकानीले इतर समूह अहिले कम्तीमा तीनवटा फरक राजनीतिक धारमा विभाजित भएको देखाउँछ। बाहिरबाट एउटै समूहजस्तो देखिए पनि उनीहरूको रणनीति, नेतृत्वप्रतिको दृष्टिकोण र आगामी राजनीतिक लक्ष्य फरक फरक रहेको स्रोतको दाबी छ । एउटा पक्ष सभापति गगनकुमार थापाको नेतृत्वलाई चुनौती दिने तयारी गरिरहेको छ । अर्को पक्ष सम्मानजनक शक्ति सन्तुलन खोजिरहेको छ भने एउटा पक्ष सहकार्यको ढोका बन्द गर्न नहुने निष्कर्षमा पुगेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यही विभाजनले इतर समूहको सामूहिक प्रभाव घटाउँदै गएको छ । सभापति थापाको राजनीतिक व्यवस्थापन क्षमताको पनि परीक्षा लिइरहेको छ । विशेष महाधिवेशनअघि कांग्रेसभित्र शक्तिकेन्द्र पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा वरिपरि केन्द्रित थियो । नेतृत्व परिवर्तनसँगै पार्टीको कमान्ड थापाले सम्हालेपछि पुरानो संस्थापन शक्ति अहिले नयाँ समीकरण खोज्ने अवस्थामा पुगेको छ । तर त्यो खोज एउटै दिशामा देखिएको छैन । एक केन्द्रीय सदस्य भन्छन्, ‘पहिले साझा नेतृत्व थियो । अहिले साझा असन्तुष्टि छ, तर साझा रणनीति छैन । यही कारण इतर समूहको बैठकमा समेत एउटै निष्कर्ष ननिस्कने अवस्था बनेको छ ।’ मीन र मोहन भिड्ने मुडमा पार्टीभित्र सबैभन्दा आक्रामक धार पूर्वमन्त्री मोहनबहादुर बस्नेत र पूर्वप्रवक्ता मीन विश्वकर्मा निकट नेताहरूको मानिन्छ । यो समूह सभापति थापाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्ने पक्षमा नरहेको कांग्रेसका एक पदाधिकारी बताउँछन् । उनीहरू संगठनमा वैकल्पिक शक्ति निर्माण गरेर नेतृत्वमाथि निरन्तर दबाब कायम राख्ने रणनीतिमा रहेको दाबी गरिएको छ । यस समूहमा कान्छा लामा लगायतका नेताहरू सक्रिय छन् । पूर्वतरुण नेता तथा सांसद जितजंग बस्नेत यस समूहका पप्रभावशाली नेताका रूपमा हेरिएका छन् । पार्टीका एक नेता भन्छन्, ‘उहाँहरू अहिले नै सहमतिभन्दा पनि आफ्नो शक्ति देखाउने पक्षमा हुनुहुन्छ । सभापति थापासँग नमिल्ने र पार्टीनै फुटाउनु परे पनि अगाडि वढ्ने तयारीमा यो समूह रहेको छ ।’ यस समूहलाई पूर्वउपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह निकट नेताहरूको पनि सहानुभूति रहेको कांग्रेस स्रोतहरूको भनाइ छ । खड्काको सन्तुलन राजनीति इतर समूहभित्र सबैभन्दा व्यवस्थित र संस्थागत समूहका रूपमा पूर्णबहादुर खड्का नेतृत्वको धारलाई हेरिएको छ। खड्का लामो समयदेखि कांग्रेसभित्र टकरावभन्दा वार्ता र सहमतिका राजनीतिज्ञका रूपमा चिनिन्छन् । उनी निकट एक नेताका अनुसार उनीहरू विभाजन नभई सम्मानजनक भूमिका चाहन्छन् । यही कारण यो समूह सुरुदेखि नै प्रत्यक्ष विद्रोहभन्दा वार्गेनिङको राजनीतिमा विश्वास गर्ने गरेको पाइएको छ । पार्टीका एक पदाधिकारीका अनुसार खड्का समूह अहिले पनि अन्तिम समयमा सहमति हुने विश्वासमै छ । तर सभापति थापाले राजनीतिक रूपमा उपेक्षा गरे विभाजनको जोखिम बढ्न सक्ने उनीहरूको बुझाइ छ । एक पूर्वपदाधिकारी भन्छन्, ‘सभापति थापाले एकता चाहँदासम्म यो समूह लचक बन्न सक्छ । अहिले बेलुन फुलेजस्तै फुलेका थापाले यो समूहको राजनितिक र वैचारिक धारलाई कति समेट्न सक्लान् ? संशय नै रहेको छ।’ विश्लेषकहरूका अनुसार कांग्रेसको इतिहास हेर्दा निर्णायक क्षणमा खड्का समूह प्रायः शक्ति सन्तुलन कायम गर्ने भूमिकामा देखिएको छ । यसपटक पनि अन्तिम निर्णय यही समूहले गर्ने सम्भावना बलियो रहेको उनीहरूको आँकलन छ । कोइराला समूह मिसिन आतुर वरिष्ठ नेता डा. शेखर कोइरालाले नेतृत्व गरेको समूह अहिले सबैभन्दा संयमित देखिएको छ । विशेष महाधिवेशन विरोधीधार भए पनि अहिले यो समूह लामो समयसम्म विवादमा रहन नहुने निष्कर्षमा पुगेको बताइन्छ । नेता कोइराला, पूर्वसहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरू सक्रिय रहेको यो समूह सभापति थापाबाट सकारात्मक राजनीतिक सन्देश आउने प्रतीक्षामा रहेको स्रोतहरू बताउँछन् । कोइराला निकट एक नेताले भने, ‘पार्टीलाई कमजोर बनाउने गरी आन्दोलन गर्नु हाम्रो उद्देश्य होइन । सम्मानजनक सहकार्य सम्भव भए त्यो नै पहिलो विकल्प हो ।’ तर उनीहरूले संगठन, विभाग, भातृ संस्थाको नेतृत्व र निर्णय प्रक्रियामा उचित प्रतिनिधित्व खोजिरहेको पनि स्रोतहरूको भनाइ छ । कांग्रेसभित्रका नेताहरूका अनुसार तीनवटै समूहको साझा समस्या एउटै भए पनि समाधानको बाटो फरक छ । एक समूह शक्ति प्रदर्शनमार्फत दबाब दिन खोजिरहेको छ । अर्को समूह अन्तिम समयसम्म वार्ता गर्नुपर्ने तर्क गरिरहेको छ । शेखर पक्ष सहकार्यबाटै आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न सकिने निष्कर्षमा पुगेको छ । यही कारण इतर समूहले संयुक्त रणनीति बनाउन नसकेको विश्लेषण गरिएको छ । पार्टीका एक वरिष्ठ नेता भन्छन्, ‘असन्तुष्टि साझा छ, तर नेतृत्वको विकल्प साझा छैन ।’ सभापति थापाको चुनौती एक केन्द्रीय सदस्य अहिले सबैभन्दा ठूलो चुनौती सभापति गगन थापासामु रहेको बताउँछन् । ‘नेतृत्व जित्नु एउटा कुरा हो, नेतृत्व टिकाउनु अर्को । यदि उनले असन्तुष्ट समूहलाई समेट्न सके कांग्रेस लामो समय स्थिर रहन सक्छ,’ उनले भने। निर्णय प्रक्रिया केही नेतामा मात्र सीमित भयो भने अहिलेका तीन धार अझ स्पष्ट गुटमा परिणत हुन सक्ने विश्लेषण ती नेताको छ । त्यसैले सभापति थापा ती समूहका नेता छनौट गर्दै आफ्नो समूहमा ल्याउने दाउमा छन् । ‘पार्टीभित्र विभाग गठन, भातृ संस्था, प्रदेश नेतृत्व, केन्द्रीय समितिको जिम्मेवारी बाँडफाँट र आगामी राष्ट्रिय राजनीतिक निर्णयहरूले पनि शक्ति सन्तुलन निर्धारण गर्नेछ,’ ती नेताले भने । थापा पक्षीय ती नेताका अनुसार उनीहरू अलग–अलग रणनीतिमै रहे सभापतिको नेतृत्व अझ बलियो बन्ने सम्भावना पनि उत्तिकै छ । नेपाली कांग्रेस अहिले नेतृत्व परिवर्तनपछिको संक्रमणकालमा छ । कांग्रेस राजनीति एउटै प्रश्नमा केन्द्रित हुँदै गएको छ त्यो हो, सभापति थापाले असन्तुष्ट समूहलाई कसरी समेट्नेछन् भन्ने । यस प्रश्नको उत्तरले कांग्रेसको मात्र होइन, आगामी राष्ट्रिय राजनीतिक समीकरणको दिशा पनि निर्धारण गर्ने धेरै नेताहरूको आकलन छ ।
पटेल मृत्यु प्रकरणमा छानविन गर्न समिति गठन
वीरगञ्ज । नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए । आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण मृत्यु भएको दाबी गरेका छन् । छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम, नारायणी अस्पतालका ड। निरजकुमार सिंह, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रोनियार सदस्य रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक समितिको संयोजक रहेका छन् । अस्पतालले घटनाका बेला उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले समितिले एक साताभित्र प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि आवश्यक कारबाही गरिने बताए ।
एमबीएसको प्रश्नपत्र लिक गर्नेहरू पक्राउ, उच्चस्तरीय छानबिन समिति पनि गठन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरु आज बिहान पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ । यही साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय डिनको कार्यालयले पनि ‘साइबर ब्यूरो’लाई अनुसन्धान एवं कारबाहीका लागि पत्राचार गरेको थियो । आजै परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ । समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा रहेका छन् । समितिलाई छानबिन सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
मध्यावधि चुनाव नजिकिँदै, ट्रम्पको बहुमत संकटमा
काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपब्लिकनले प्रतिनिधिसभाको बहुमत गुम्न नदिन र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न कठिन प्रतिस्पर्धाको सामना गरिरहेका छन् । ट्रम्प नोभेम्बर ३ मा हुने मतदानमा उम्मेदवार नबन्ने भए पनि मध्यावधि चुनावको परिणाम उनका लागि महत्त्वपूर्ण हुनेछ । डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली समितिको नेतृत्व र अनुसन्धान तथा छानबिनका लागि समन अधिकार पाउनेछन् । यसले ट्रम्प प्रशासनमाथि दुई वर्षसम्म व्यापक अनुसन्धान हुनसक्ने र उनीविरुद्ध तेस्रो महाभियोगको प्रयाससमेत अघि बढ्न सक्ने सम्भावना छ । रिपब्लिकन यसपटक ऐतिहासिक रूपमा साँघुरो प्रतिनिधिसभा बहुमत, राष्ट्रपतिको कमजोर अनुमोदन दर तथा जीवनयापनको बढ्दो लागत र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टिबीच चुनावी मैदानमा उत्रिएका छन् । अमेरिकी चुनावसम्बन्धी वेबसाइट डिसिजन डेस्क मुख्यालयले डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने सम्भावना ५९ प्रतिशत रहेको आकलन गरेको छ । उसले डेमोक्र्याटको सम्भावित बहुमत २२४–२११ हुने प्रक्षेपण गरेको छ । राष्ट्रपतिको दलले सामान्यतया मध्यावधि चुनावमा सिट गुमाउने गरेको छ । यसपटक केही सीमित सिटमा हुने परिवर्तनले प्रतिनिधिसभाको नियन्त्रणमा प्रभाव पार्न सक्ने देखिएको छ । इरानसँगको युद्धले ऊर्जा बजारमा असर पारेको, मुद्रास्फीति अझै उच्च रहेको तथा ब्याजदर बढिरहेकाले अमेरिकी अर्थतन्त्रप्रति मतदाताको असन्तुष्टि बढेको छ । पेट्रोलको मूल्यसमेत प्रतिग्यालोन चार डलरभन्दा माथि पुगेको छ । डेमोक्र्याटले उद्धृत गरेका विभिन्न सर्वेक्षणले मुद्रास्फीति, स्वास्थ्य सेवा र आप्रवासनका विषयमा मतदाताको विश्वास रिपब्लिकनभन्दा डेमोक्र्याटतर्फ बढेको देखाएको दाबी गरेका छन् । हाउस डेमोक्र्याटिक नेता हकीम जेफ्रीजले बिहीबार किराना सामान, पेट्रोल, आवास र स्वास्थ्य सेवाको मूल्यलाई केन्द्रमा राखेर आफ्नो पार्टीको चुनावी अभियान घोषणा गर्दै ट्रम्प र रिपब्लिकनले अमेरिकी जनतालाई निराश पारेको आरोप लगाए । ‘सामान्य बौद्धिकता’ विरुद्ध प्रगतिशील एजेन्डा रिपब्लिकनले भने आगामी चुनावलाई प्रतिनिधिसभाका सभामुख माइक जोनसनले भनेझैं ‘सामान्य बौद्धिकता’ र बढ्दो प्रगतिशील डेमोक्र्याटिक पार्टीबीचको छनोटका रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन् । उनीहरूले डेमोक्र्याटिक उम्मेदवारलाई ‘समाजवादी वामपन्थी’सँग जोडेर प्रस्तुत गर्ने तथा सीमा सुरक्षा र कर कटौतीलाई प्रमुख चुनावी मुद्दा बनाउने योजना बनाएका छन्। ट्रम्पले पनि रिपब्लिकनका लागि उपलब्ध सबै राजनीतिक लाभ उठाउने प्रयास गरिरहेका छन् । उनले चुनावी धोखाधडी रोक्न आवश्यक रहेको भन्दै ‘सेभ अमेरिका ऐन’ पारित गर्न कङ्ग्रेसका रिपब्लिकन सदस्यलाई दबाब दिँदै आएका छन् । डेमोक्र्याटले भने उक्त विधेयकलाई वैध मत दबाउने प्रयासका रूपमा आलोचना गरेका छन् । यसैबीच, दुवै दलले आफ्नो पक्षमा हुने गरी निर्वाचन क्षेत्रको नक्सा पुनःनिर्धारण गर्ने प्रयास गरेका छन् । रिपब्लिकनले यसबाट पाँचदेखि १२ सिटसम्म खुद लाभ लिन सक्ने अनुमान गरिएको छ । यसले अत्यन्तै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको प्रतिनिधिसभाको चुनावमा राष्ट्रिय राजनीतिक वातावरणको प्रभावलाई केही हदसम्म कम गर्न सक्नेछ । जर्ज वासिङ्टन विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक सारा बाइन्डरले यसपटकको निर्वाचन क्षेत्रमा पुनःनिर्धारण विशेष प्रभावकारी भएको बताए । उनका अनुसार प्रतिनिधिसभाका करिब २० निर्वाचन क्षेत्रमा मात्र वास्तविक रूपमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । ‘निर्वाचन क्षेत्र पुनःनिर्धारणले डेमोक्र्याटले ती सिटमा प्रतिस्पर्धा गर्न सक्ने आधारलाई वास्तवमै कमजोर बनाएको छ,’ उनले एएफपीसँग भनिन् । रिपब्लिकनले चुनावी अभियानका लागि आर्थिक लाभसमेत हासिल गरेका छन् । पार्टीका अभियान समिति तथा सहयोगी समूह डेमोक्र्याटिक समकक्षीभन्दा करोडौँ डलर बढी रकमसहित चुनावको अन्तिम चरणमा प्रवेश गरेका छन् । सिनेटमा पनि कडा प्रतिस्पर्धा सिनेटमा पनि प्रतिस्पर्धा उत्तिकै महत्वपूर्ण देखिएको छ । रिपब्लिकनसँग ५३–४७ को बहुमत रहेकाले डेमोक्र्याटलाई नियन्त्रण हासिल गर्न चार सिटको खुद लाभ आवश्यक हुनेछ। डिसिजन डेस्क मुख्यालयले भने ५०–५० को बराबरी भए पनि उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतका कारण रिपब्लिकनले सिनेटमा नियन्त्रण कायम राख्ने सम्भावना रहेको जनाएको छ । ट्रम्पका लागि प्रतिनिधिसभा र सिनेटमा फरक–फरक दलको नियन्त्रण भए पनि बाँकी कार्यकालमा ठूलो प्रभाव पर्नेछ । डेमोक्र्याटले प्रतिनिधिसभा नियन्त्रण गरेमा ट्रम्पको विधायकी एजेन्डा अवरुद्ध हुनसक्नेछ भने उनका अधिकारीले संसदीय छानबिन र सार्वजनिक सुनुवाइको सामना गर्नुपर्नेछ । डेमोक्र्याटले इरानसँगको युद्ध, प्रशासनको नैतिकता तथा निर्वाचन प्रणाली पुनःनिर्धारण गर्न ट्रम्पले गरिरहेका प्रयासलगायतका विषयमा अनुसन्धान अघि बढाउन सक्नेछन्। राजनीतिक विश्लेषक चक टोडले मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा रिपब्लिकन नौ महिनाअघि सिनेटमा ‘स्पष्ट रूपमा अगाडि’ रहेको अवस्थाबाट अहिले ‘झिनो अग्रता’को अवस्थामा पुगेको बताएका छन् । उनका अनुसार प्रतिनिधिसभाको चुनावमा डेमोक्र्याटले १० देखि २५ सिटसम्मको लाभ हासिल गर्न सक्ने सम्भावना छ । इकोनोमिस्ट/युगोभको पछिल्लो सर्वेक्षणमा ट्रम्पको लोकप्रियता पनि न्यून बिन्दुनजिक देखिएको छ । सर्वेक्षणमा ३६ प्रतिशत अमेरिकीले मात्र राष्ट्रपतिका रूपमा उनको कार्यसम्पादनलाई अनुमोदन गरेका छन् । टोडले राष्ट्रपतिको अनुमोदन दर मध्यावधि चुनावको परिणाम अनुमान गर्ने सबैभन्दा महत्त्वपूर्ण सूचक भएको बताउँदै ट्रम्पको कमजोर अनुमोदन दरले रिपब्लिकनले प्रतिनिधिसभामा सिट गुमाउने सम्भावना बढाएको उल्लेख गरेका छन् ।