नेपालमै पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, ५०० बढी कन्टेन्ट क्रिएटर प्रतिस्पर्धामा
काठमाडौं । नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ । नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले आयोजना गर्न लागेको हो । आयोजकका अनुसार प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना हुनेछ । गत जेठ महिनामै आवेदन आह्वान गरिए अनुसार देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यो प्रतियोगितामा सहभागिता जनाउन आफ्नो कन्टेन्टहरु उपलब्ध गराइसकेका छन् । निर्णायक समुहले यो प्रतियोगिताका लागि प्राप्त कन्टेन्टको मूल्यांकनको आधारमा उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउने छन् । आयोजक संस्थाले निर्णायकको निर्णयका आधारमा आगामी साता मनोनयन सूचि सार्वजनिक गर्दैछ । ग्राण्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिने छ, जसका लागि हरेक विधामा १०/१० क्रिएटरलाई मनोनयनमा समावेश गरिने छ । प्रतियोगिताको मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका अनुभवी चार जना निर्णायक (जज) रहने छन् । निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन् । कार्यक्रमको ग्राण्ड फिनाले हुने स्थान भने पछि घोषणा गरिने छ । प्रतियोगिताको सम्पूर्ण समन्वय तथा व्यवस्थापन स्पर्श मिडिया इन्टरटेन्मेन्टले गरिरहेको छ । आयोजकका अनुसार यो कार्यक्रमले नेपालमा डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नयाँ प्रतिभाहरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ । सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेका बेला कन्टेन्ट क्रिएटरहरूको मेहनतलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले ल्याइएको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ नेपालकै पहिलो प्रकारको अवार्ड कार्यक्रमका रूपमा रहेको आयोजकको दावी छ । कार्यक्रमबारे विस्तृत जानकारी, निर्णायकहरूको परिचय, विभिन्न विधा तथा आवेदन प्रक्रियासम्बन्धी विवरण आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ ।
नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित
काठमाडौं । चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको आकस्मिक सेवा गरिएको छ । आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूमाथि शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि आजदेखि आकस्मिक सेवा बन्द गरेका हुन् । आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् । अस्पताल स्रोतका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नरहेको भन्दै सेवा बन्द गरेका हुन् । शनिबार वीरगञ्ज महानगरपालिका(२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राम गम्भीर घाइते भएका थिए । उनको सोही अस्पतालकै सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ । यसैबीच, नेपाल चिकित्सक सङ्घले आज विज्ञप्ति जारी गरी वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेको छ । संघले मेडिकल अफिसर डा राममाथि शनिबार बेलुका ४०/५० जनाको अनियन्त्रित समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै उक्त घटनाको भत्र्सना गर्दै कानुनबमोजिम कारबाहीको माग गरेको हो ।
पार्टी एकता सहमतिउन्मुख छ: सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन् । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आइतबार (आज) यहाँ भएको भेटमा उनले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बनाएका हुन् । सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभएको दबाब अभियानका संयोजक ढुङ्गानाले जानकारी दिए । सभापति थापाले पार्टी एकताका लागि दबाब अभियानले यही साउन १६ मा आयोजना गर्न लागेको राष्ट्रिय भेलासमेत स्थगित गर्न आग्रह गरेका थिए । उनले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सुष्मरूपले सहमतिको खाका बनाउन दुई जना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल एक(दुई दिनभित्र बन्ने जानकारीसमेत गराउनुभएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए । भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताबिना गाउँमा जनातालाई आशावादी बनाउन नसिकने र पार्टीको साख फर्काउन नसिकने बताएका थिए । उनीहरूले तत्काल पार्टी एकता गरेर आमजनतामा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिइएको भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए । सभापति थापाले पार्टी एकता सहमतिमा भई कांग्रेस एक हुनेमा आश्वस्त तुल्याउनुभएको तिलागुफा नगरपालिकाका नगरप्रमुख शङ्कर उपाध्यायले जानकारी दिए । “हाम्रो खबरदारी जारी रहन्छ, भेला के गर्ने भन्नेबारे साथीहरू थप छलफल गरेर निर्णय गर्छौं”, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीलेभने । आज भएको भेटमा संघका अध्यक्ष ढुङ्गाना, गाउँपालिका महासङ्घका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख कार्की, तिलागुफाका नगरप्रमुख उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन, दबाब अभियान प्रचारप्रसार समितिका संयोजक सरोज अधिकारीलगायतको सहभागिता थियो ।
फिर्केखोला संरक्षणमा महानगरको सुस्तताप्रति महाअभियानको ध्यानाकर्षण, संरचना हटाउन पुनः ताकेता
काठमाडौं । पोखरा महानगरपालिकाका-१८ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्केखोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले माग गरेको छ । पोखरामा आज पत्रकार सम्मेलन गरी महाअभियानले फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदलमार्ग र साइकल लेनसहितको फिर्केखोला करिडोर निर्माण गर्नुपर्नेमा जोड दिएको हो । महानगरपालिकाले फिर्केखोला खोलाघरका अतिक्रमित संरचना हटाउने कार्य स्थगन गरेकामा महाअभियानले ध्यानाकर्षण भएको जनाएको छ । महाअभियानका संयोजक रामबहादुर पौडेलले फिर्केखोलामा अतिक्रमण हटाउन महानगरपालिकाले लिएको पहल सकारात्मक भएपनि कतिपय संरचना अझै नहट्नुमा महानगरपालिका र सम्बन्धित वडाको कमजोरी रहेको बताए । बढ्दो अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापरबाहीले फिर्केखोलाको प्राकृतिक स्वरुप र अस्तित्वमाथि नै चुनौती थपिएको महाअभियानको ठहर छ । जैविक विविधता र पर्यावरणीय सन्तुलनका लागि फिर्केखोलालाई प्राकृतिक रुपमै बहन दिनुपर्नेमा जोड दिइएको छ । पोखरा-१८ अँधेरीकुनाबाट वडा नं. २, ४, ५, ८, ७, १७ र ६ हुँदै फिर्केखोला फेवातालमा मिसिन्छ । महाअभियानले वडा नं. ४, ५, ८ र ७ स्थित फिर्केखोला खोलाघरमा विभिन्न संरचना हटाउन बाँकी रहेकाले तिनलाई पूर्ण रुपमा हटाउन महानगरपालिकासँग माग गरेको छ ।
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पु¥याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो । काठमाडौंको बूढानीलकण्ठ, बनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले जानकारी दिए । यसैबीच, डिडिसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा आजदेखि नयाँ सजावटसहितको ‘आउटलेट’ सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटको महाप्रबन्धक पाण्डेले उद्घाटन गरे । आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन सहजै प्राप्त गर्न सक्नेछन् । डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको छ । डिडिसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी, फ्रेस दूधलगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ । निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ । डिडिसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्रीवितरण गर्ने योजना अघि सारेको छ । केही दिनभित्र अनलाइन मार्केटिङ सुरु हुने महाप्रबन्धक पाण्डेले जानकारी दिए । ‘हामी अनलाइन डिजिटल मार्केटिङमा जाँदैछौँ, ‘सब्सक्रिप्सन’ गरेका भरमा अनलाइनबाट डिडिसीका उत्पादन पाउन सकिन्छ, यो सेवा दुई÷चार दिनमा सुरु हुन्छ’, उनले भने, ‘सहज ढङ्गबाट डिडिसीको उत्पादन उपभोक्ताको घरमै पुर्याउने उद्देश्यका साथ काम भइरहेको छ ।’
डलर साटिदिने भन्दै ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-३ घर भई हाल गोकर्णेश्वर नगरपालिका-६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा र ३७ वर्षीय विजय तामाङ रहेका छन् । उनीहरुको साथबाट तीन लाख ८४ हजार, अमेरिकी डलर ५० दरको एक थान, सुनको बेरुवा औँठी एक थान, ब्रासलेट एक थान, रिङ एक थान र तिलहरी एक थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । पक्राउ परेकामध्ये धनबहादुरविरुद्ध विभिन्न मितिमा ठगीसम्बन्धी कसुरमा छ वटा मुद्दा दर्ता र लोकबहादुरविरुद्ध विभिन्न मितिमा खोटा चलन, अभद्र व्यवहार, ठगी मुद्दा दर्ता भएको र बैङ्किङ कसुर मुद्दामा फरार देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
माइतीघर डुबानको मुख्य दोषी इन्जिनियरिङ त्रुटि, अतिक्रमण र कङ्क्रिटकरण
काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ । झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि यही साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनपछि कार्यवाहक प्रमुख डङ्गोलले सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् । उक्त निर्देशनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसी संयोजकत्वको समितिले आज स्थलगत प्रतिवेदन तयार बुझाएको हो । प्रतिवेदनअनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको सो प्रतिवेदनमा उल्लेख छ । यसबाहेक, टुकुचा खोलाको सतह बढेकाबेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ । भौतिक पूर्वाधारबाहेक वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारण प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औंल्याएको छ । विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गर्थ्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालयलगायत ठूला भवन निर्माण भएपछि जमिन कङ्क्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ । अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचना निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिटी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ । यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डङ्गोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन् । प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदम सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले वर्षाको पिक समयमा आउने पानीलाई केहीबेर भण्डारण गरेपछि बिस्तारै निकास दिन सहयोग पुग्नेछ । त्यस्तै, टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जिआइएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाका आधारमा ढलको क्षमता पुनःडिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ ।
भदौ अन्तिम सातादेखि सडकमा उत्रिँदै प्रजातान्त्रिक पार्टी
काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ । आइतबार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय समितिको बैठकबाट आन्दोलनको औपचारिक निर्णय गरिनेछ । उनले बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर रूपमा छलफल भएको पनि बताए । अध्यक्ष लुइँटेलले प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री बालेन्द्र साहले विदेशीले बोकाइदिएको भारी बोकिरहेको आरोपसमेत लगाए । उनले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध भइरहेको कारबाही प्रभावकारी हुन नसकेको पनि बताए । उनले भ्रष्टाचार नियन्त्रण, संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र तथा धार्मिक स्वतन्त्रतासहित सर्वधर्म समभावको बर्खा सकिने बित्तिकै पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिए ।