विकासन्युज

हिमाल आरोहीबाट ७५ करोड रोयल्टी संकलन, सगरमाथाबाट मात्रै ६५ करोड

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुको सुरुदेखि हालसम्म हिमाल आरोहीबाट ७५ करोड रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ । पर्यटन विभागका अनुसार ८५ सय आरोहीबाट हालसम्म ७५ करोड ५८ लाख ६८ हजार २८२ रुपैयाँ जम्मा भएको हो । ८५ समूहबाट वसन्त ऋतुमा ७ सय जनाले विभिन्न २५ हिमाल आरोहण गरेका छन् ।  सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथाबाट मात्रै ६५ करोड २६ लाख १५ हजार ६१२ रुपैयाँ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि ३० आरोही समूहबाट २९७ जना त्यसतर्फ गएका छन् । जसमध्ये २३४ जना पुरुष र ६३ जना महिला छन् । सगरमाथापछि मकालु हिमालबाट २ करोड ३६ लाख २९ हजार ४ सय रुपैयाँ रोयल्टी उठेको छ । उक्त हिमालमा आरोहणको लागि ८ आरोही समूहबाट ५४ जनाले अनुमति लिएका छन्। धौलागिरी हिमालबाट १ करोड २५ लाख ६० हजार ८५० रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमालमा आरोहणको लागि ३ जना समूहबाट २८ जनाले अनुमति लिएका छन् । लोत्से हिमालबाट १ करोड ८३ लाख ४६ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ । अन्नपूर्ण हिमालबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ रोयल्टी उठाएको छ । उक्त हिमाल आरोहणको लागि ४ समूहबाट २७ जना आरोहीले अनुमति लिएका छन् ।  आमदवलामबाट १ करोड ४ लाख ३६ हजार ५५० रुपैयाँ संकलन भएको छ । त्यस्तै कञ्चनजंघा हिमालबाट ९७ लाख ६३ हजार ९५० रुपैयाँ राजश्व उठेको छ । यसैगरी, अन्नपूर्ण (आईभी) बाट १९ लाख १८ हजार ४५० रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमाल आरोहणको लागि दुई समूहबाट १३ जनाले अनुमति लिएका छन् ।  अन्य हिमालहरूमा चुलु फार इस्टबाट ६ लाख २१ हजार २५० रुपैयाँ, सारीबुङबाट ६ लाख ७१ हजार ७०२ हजार रुपैयाँ, थ्रोङ पिक ७ लाख २७ हजार ५४५ रुपैयाँ, नुप्से ४२ लाख ९३ हजार ६ सय रुपैयाँ, हिमलुङ हिमालबाट ४५ लाख ६ हजार रुपैयाँ, मनास्लु हिमालबाट ४ लाख ५४ हजार २ सय रुपैयाँ र मकालु १० लाख ३६ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।  प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत्र २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको थियो ।  शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । जटिल किसिमका एक जना बिरामीलाई काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ । शिविरमा लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए । सिन्जा गाउँपालिका ५ की सम्झना रोकायाको शिविरमा आउँदा जलनका कारण उनको हात नचल्ने अवस्थामा थियो ।  शल्यक्रियापछि अब हात सिधा भएको र घर खेतको काम आफै गर्नसक्ने विश्वास पलाएको रोकायाले बताइन् ।  ‘अब अरु कसैको भर पर्नु पर्दैन र आफैले सबै काम गर्न सक्ने भएकी छु भन्ने लागेको छ, मलाई उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।  नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले भने ।  उनले आगामी दिनमा लुम्बिनी र मधेश प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए । फेक्ट नेपालको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई सहितका विशेषज्ञ चिकित्सकको टोलीले कर्णाली प्रदेशका जलनका बिरामीहरु लक्षित शिविरमा शल्यक्रिया गरेका हुन् ।  जलन उपचार शिविर सञ्चालन गर्नु अघि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १६ स्थानमा स्क्रिनिङ क्याम्प राखिएको थियो । स्क्रिनिङ क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहमै पुगेर प्रारम्भिक बिरामीहरुको विवरण लिएका थिए ।  प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. गणेश थापाले कर्णाली प्रदेशमा धेरै मानिसहरू अझै पनि उचित उपचार नपाएर बसिरहेको अवस्थामा शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा राखे ।  बैंकले यसअघि सुदुरपश्चिममा नि:शुल्क जलन शिविर सञ्चालन गरेको थियो । गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीहरूले निःशुल्क उपचार पाएका थिए । 

त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ । कानुन विपरित विश्वविद्यालयको जग्गा विद्यालयकै प्राध्यापक लगायत अन्य व्यक्तिले प्रयोग गरिरहेको प्रतिविेदन सार्वजनिक भएपछि फिर्ताको प्रक्रिया सुरु भएको हो । विश्वविद्यालयले मिचिएको आफ्नो जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न भनेको छ । त्रिवि कार्यकारी परिषद्को मिति २०८२ चैत २३ गतेको निर्णयानुसार ३५ दिने सूचना जारी गरेको छ ।  त्रिविले जारी गरेको सूचनामा भनिएको छ ,‘नेपाल सरकार लगायत दाताहरूले त्रिभुवन विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि विभिन्न समय र अवस्थामा विश्वविद्यालयलाई भोगाधिकारका लागि उपलब्ध गराएका उक्त जग्गा तथा अचल सम्पत्तिहरू यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३५ दिन भित्र खाली गरी/गराई त्रिभुवन विश्वविद्यालयलाई आधिकारिक रूपमा फिर्ता गर्नु/गराउनु अन्यथा नियमानुसार हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’ त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ ले १८ वटा भन्दा बढी संघ-संस्थाले त्रिभुवन विश्वविद्यालय र यस अन्तगर्तका निकायहरूको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिहरू केही व्यक्ति, कम्पनी, सघ संस्था वा निकायहरूले विश्वविद्यालयको ऐन, नियम तथा प्रचलित कानून विपरीत अनधिकृत रूपमा कब्जा गरेको बताएको थियो ।  त्रिविको ५०५०-३-१-१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरूले कब्जा गरेको पाइएको हो । त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरमा १ हजार ५०० रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको छ । कीर्तिपुरको मात्र ३ हजार ६१३ रोपनी जग्गाको लालपुर्जा त्रिविसँग भए पनि मुस्किलले २ हजार ५०० रोपनी जमिन त्रिविले भोगचलन गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले उपत्यका बाहिर पनि त्रिविको जग्गा खोजबिन गर्नुपर्ने औंल्याएको छ । आंगिक क्याम्पसहरूको समेत जग्गाको यकिन गर्नुपर्ने भनिएको छ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ ले त्रिभुवन विश्वविद्यालय र यस अन्तगर्तका निकायहरूको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिहरू केही व्यक्ति, कम्पनी, सघ संस्था वा निकायहरूले विश्वविद्यालयको ऐन, नियम तथा प्रचलित कानून विपरीत अनधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गरिरहेको औंल्याएको छ ।

ओलीका विश्वासपात्र ढकाल पूर्वराष्ट्रपति भण्डारीको कार्यालयमा

काठमाडौं । नेकपा एमालेका सचिव भानुभक्त ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनको सम्पर्क कार्यालयमा पुगेका छन् ।  ढकालसहित विभिन्न जनसंगठनका शीर्ष नेताहरूको टोली पूर्वराष्ट्रपति भण्डारीसँग भेट गर्न नयाँ बानेश्वर पुगेका हुन् ।  ढकाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीका नजिकका नेता मानिन्छ । उनी एमालेका तत्कालीन महासचिव तथा पति मदन भण्डारी स्मृतिको स्मृति दिवस मनाउने विषयमा छलफल गर्न नयाँ बानेश्वरस्थित भण्डारीको कार्यालय पुगेको भण्डारीको सचिवालयले जनाएको छ ।  मदन भण्डारीको ३२ वर्ष पहिले दासढुङ्गामा गाडी दुर्घटनामा परी निधन भएको थियो । उनी एमालेले अँगालेको जनताको बहुदलीय जनवादका प्रतिपादक हुन् ।

नियम विपरीत वितरण भएका शिक्षक लाइसेन्स खारेज हुने, फिर्ता गर्न आग्रह

काठमाडौं । शिक्षा मन्त्रालयले निम्नमाध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । वितरणमा अनियमितता देखिएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस्तो चेतावनी दिएको हो ।  केन्द्रले एक  सूचना जारी गर्दै  निम्न माध्यमिक तहको शिक्षक बन्नका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको वा २०० पूर्णांकको शिक्षा विषय अध्ययन गरेको हुनुपर्ने व्यवस्था रहेकोमा केही विद्यालयले कक्षा १२ मा १०० पूर्णांक मात्र शिक्षा विषय अध्यापन गर्ने गरेको र सोही आधारमा कतिपय उम्मेदवारलाई स्थायी अध्यापन अनुमति पत्र वितरण भएको पाइएको भन्दै लाईसेन्स खारेज गर्ने उल्लेख छ । केन्द्रले यसरी नियम विपरीत वितरण भएका अध्यापन अनुमति पत्रहरू सम्बन्धित इकाइमा फिर्ता गर्न आग्रह गरिएको छ । साथै २०० पूर्णांकको शिक्षा विषय अध्ययन नगरेका तथा आवश्यक प्रक्रिया पूरा नगरेका उम्मेदवारले प्राप्त गरेका सबै स्थायी अध्यापन अनुमति पत्र स्वतः रद्द हुने स्पष्ट पारिएको छ ।

संसदीय समितिहरूले पाए पूर्णता, अधिकांशमा रास्वपाको वर्चस्व

काठमाडौं । संघीय संसद् अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन् । शुक्रबार १२ वटा संसदीय समितिको सभापति चयन भएसँगै समितिहरूले पूर्णता पाएका हुन् । शुक्रबार १० वटा समितिमा सर्वसम्मत रूपमा सभापति चयन भएको घोषणा गरीएको हो । दुई वटा समितिले भने मतदान प्रक्रियाबाट नेतृत्व टुंग्याएका छन् । सर्वसम्मत रूपमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापति आकृति अवस्थी निर्वाचित भए । संसदीय सुनुवाइ समिति सभापतिमा बोधनारायण श्रेष्ठ, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्निमा उदास तथा अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी सर्वसम्मत चयन भएका छन् । यी सबैै निर्वाचित सभापतिहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु हुन् । सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । रास्वपाको समर्थन प्राप्त गरेका खड्काको एकल उम्मेदवारी परेको थियो । बाँकी दुई समितिमा भने प्रतिस्पर्धा भएको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिका लागि रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह गरिमा बीच प्रतिस्पर्धा भएकोमा रास्वपाको बहुमतका आधारमा कार्की निर्वाचित भएका हुन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो । यसमा पनि रास्वपाकै बहुमतका कारण शेरचन विजयी भइन् ।

धनगढी उपमहानगरपालिकाले सुरु गर्यो विद्यार्थी भर्ना अभियान

काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्देशन पर्ख नगरी शुक्रबार अर्थात् वैशाख ४ गते देखि नै शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तहलाई वैशाख १५ गतेदेखि मात्र भर्ना अभियान सुरु गर्न पत्राचार गरे पनि धनगढीले भने विद्यार्थीको पढाइ प्रभावित हुने भन्दै अग्रिम रूपमा अभियान थालेको हो ।  उपमहानगरपालिकाका अनुसार केन्द्रको निर्देशन पालना गर्दा शैक्षिक गुणस्तर र वार्षिक कार्यघण्टामा असर पर्ने देखिएकाले यस्तो निर्णय लिइएको हो ।  उपमहानगरले जारी गरेको सूचनामा वैशाख १५ मा भर्ना र २१ गतेदेखि मात्र पठनपाठन सुरु गर्दा विद्यार्थीको पढाइमा ढिलाइ हुने, पाठ्यक्रमले तोकेको वार्षिक न्यूनतम कार्यघण्टा पुरा नहुने र यसले शिक्षाको गुणस्तरमा ह्रास ल्याउने, विद्यालय, अभिभावक र शिक्षा क्षेत्रका सरोकारवालाहरूबाट यथाशिघ्र विद्यालय सञ्चालन गर्न दबाब आएकोलगायत उल्लेख छ ।  धनगढी उपमहानगरको नयाँ कार्यतालिका नगर शिक्षा समितिको वैशाख ३ गतेको बैठकले सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि भर्ना अभियान सञ्चालन वैशाख ४ गतेदेखि ११ गतेसम्म तथा नियमित पठनपाठन सुरु वैशाख १४ गतेदेखि गर्ने भनेको छ ।  ‘वैशाख १५ बाट भर्ना गरेर २१ गतेबाट मात्रै कक्षा कोठामा पुग्दा विद्यार्थीको महत्त्वपूर्ण समय खेर जाने भएकाले हामीले वैशाख १४ बाटै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेका हौं,’ उपमहानगरले भनेको छ । यस निर्णयसँगै धनगढीका सम्पूर्ण विद्यालयहरूमा अहिले भर्नाको चहलपहल सुरु भएको छ । 

कांग्रेस संसदीय दलको नेता चयनमा छलफल तीव्र, सहमतिमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरू संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार अपराह्न बसेको बैठकमा पार्टीका प्रतिनिधि सभातर्फका सांसदहरूले सामूहिक छलफलमा जुटेका हुन् । प्रतिनिधि सभामा कांग्रेसका कुल ३८ जना सांसद रहेका छन् । पार्टीले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । यसका लागि सहमहामन्त्री प्रकाश रसाइली (स्नेही) को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । सोही समितिले सांसदहरूसँग आवश्यक परामर्श र छलफललाई तीव्रता दिएको हो । भर्खरैवाट छलफल सुरु भएको साँसद नरेन्द्र कुमार केरुङले जानकारी दिए । छलफलका क्रममा नेताहरूले संसदीय दलको नेता सहमतिमै चयन गर्ने प्रयास भइरहेको बताएका छन् । यद्यपि सहमति जुट्न नसकेमा निर्वाचन प्रक्रिया अघि बढाइने र चुनावी कार्यक्रम सार्वजनिक गरिने तयारी रहेको सँयोजक रसाइलीले जानकारी दिए । निर्वाचन समितिले सहमति निर्माणका लागि आकांक्षी नेताहरूसँग पनि छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेको छ । संसदीय दलको नेता बन्नका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे लगायतले आकांक्षा देखाएका छन् ।