काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औं बैठकले नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट अनुमोदन गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत र चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ गरी कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ मध्ये चालु आवमा ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ ।
आयोगका अनुसार आन्तरिक स्रोतबाट विनियोजित रकममध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्च तथा ८ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ ।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा सदस्य–सचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो ।