विकासन्युज

संसदीय समितिमा एमाले र नेकपालाई मतदान गर्न कांग्रेसको उर्दी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई सघाउन उर्दी जारी गरेको छ । कांग्रेसले आज हुने निर्वाचनका लागि सांसदहरुलाई उर्दी जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा नेकपा (एमाले)का उमेदवार गुरु बरालका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।  यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) सभापतिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार मदनकुमारी शाहका पक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।  प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पद भने प्रतिपक्षलाई दिइने परम्परालाई रास्वपाले नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो । नेकपा, एमाले र नेकपाले पनि सार्वजनिक लेखा समितिमा कांग्रेसलाई सघाउने निर्णय गरेका  थिए  । सो निर्णयपछि कांग्रेस एमाले र नेकपालाई मतदान गर्न तयार भएको हो ।  यस्तै, कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरेको समितिले सांसदहरूलाई छलफलका निम्ति बोलाएको छ । शुक्रबार दिउँसो ३ बजे दलको नेताबारे छलफल गर्न सांसदहरूलाई बोलाइएको सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।   

वैदेशिक लगानी कृषिमा आकर्षित

काठमाडौं । पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी आउने क्रम बढिरहेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । गत साउनदेखि चैत मसान्तसम्म ६१५ परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको हो, जसमार्फत २२ हजार ३१६ जनालाई रोजगारी दिने पनि प्रतिवद्धतामा आएको छ ।  विभागका अनुसार पछिल्लो चैत महिनामा मात्र विभिन्न ६१ वटा परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।  उद्योग विभागका अनुसार परियोजनाका आधारमा सबैभन्दा बढी कृषिमूलक परियोजनाका लागि वैदेशिक लगानी भित्रिएको छ । विभागले चैत मसान्तसम्म यस क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको जनाएको छ । पर्यटन उद्योगको क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । सेवामूलक क्षेत्रमा ४७ वटा परियोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्र (औद्योगिक) तर्फ ३८ वटा परियोजनाका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, सूचना तथा प्रविधिको क्षेत्रमा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्राप्त भएको छ । यसैगरी, समीक्षा अवधिमा ऊर्जा क्षेत्रमा हालसम्म दुई वटा परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । भने खनिजमूलक क्षेत्रमा पनि दुइवटा परियोजनाका लागि जम्मा ११ करोड ५० लाख रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

गृहमन्त्रीको काँधमा प्रहरीको शव परेपछि...

काठमाडौं । काठमाडौंको स्वयम्भूमा शुक्रबार धेरैका आँखा एउटा दृश्यले तान्यो । आँखाभरि आँसु निकालेका मलामीहरू आश्चर्यमा परे । धुवाँ उडिरहेको घाटमा त्यो दृश्यले धेरैलाई नियालिरहन बाध्य पार्यो ।  राजनीतिक पदको औपचारिकता बिर्सेर देशका गृहमन्त्रीले प्रहरी अधिकृतको शव आफ्नै काँधमा बोके । धेरैले त्यसलाई आश्चर्य माने । तर, एउटा युवक र एउटा सामाजिक अभियन्ताका लागि त्यो विषय सामान्य बन्यो । र, आर्यघाटमा पुर्याइएका प्रहरी निरीक्षक स्व.अभय लामाको शव उनले उनले काँधमा राखे र बोके । एउटा युवा, जो आफू सकसमा हुँदा वा अरु सकसमा हुँदा सरकारले सहयोग र उद्वार गरिदियोस् भन्ने चाहन्थ्यो । तीन महिनाअघि, एउटा टेलिभिजन अन्तर्वार्तामा सुधन गुरुङले आफ्ना बाल्यकालका ती अपूरा आकांक्षा सुनाएका थिए । उनले भनेका थिए, ‘मलाई कसैले हात समाइदियोस्, मेरो दुःख बुझिदियोस् भन्ने लाग्छ । त्यो वाक्य व्यक्तिगत पीडाको प्रस्फुटन थिएन, उनको सामाजिक चेतना बुझाइ थियो । त्यही एउटा युवा अहिले देशको गृहमन्त्री बन्दा उनले आफूलाई गृहमन्त्री सम्झेनन् । दुःख र पीडामा परेका परिवारलाई ढाडस दिए । ‘म तपाईंहरुसँगै छु’ भन्ने सन्देश दिए ।  विगतमा कुनै पनि गहृमन्त्रीले एउटा सर्वसाधारण, राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीको मलामी बनेर आर्यघाटमा पुग्दा यसरी शब काँधमा बोकेको घटना छैन । तर, गृहमन्त्री सुधन गुरुङले त्यो हिम्मत, त्यो साहस र त्यो भावना बुझ्दै सहजै शव काँधमा राखेर अगाडि लागे ।  आज, उनी देशको आन्तरिक सुरक्षा र प्रशासन सम्हाल्ने जिम्मेवारीमा छन् । हजारौं प्रहरी र करोडौं नागरिकका लागि उनी अभिभावकजस्तै बनेका छन् । कहिल्यै अरुको सहाराको अपेक्षा गर्ने एउटा युवा अहिले आफैं सहारा बनेर उभिएको छ ।  त्यसैले पनि उनी अन्य मन्त्रीहरूभन्दा फरक देखिन्छन् । चर्चामा पनि छन् । बिग्रिएका सडकमा पुगेर निर्देशन दिने, पीडितको घरमै पुगेर ढाडस दिने, प्रहरी कार्यालयहरूमा पुगेर मनोबल बढाउने जस्त सक्रियताले उनको वाहवाही पनि भएको छ । त्यसमा उनको काम गर्ने हुटहुटी बुझिन्छ । भावना र चिन्तन देखिन्छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएपछि उनको परिवा र सिंगो ट्राफिक प्रहरी अहिले शोकमा छ । त्यो शोकमा रहेको परिवार र प्रहरीलाई ढाडस दिन गृहमन्त्री गुरुङ अगाडि बढे । विदेशमा रहेका परिवारका सदस्य कुर्दा ढिला भएपछि शुक्रबार उनको अन्त्येष्टि गरिएको हो । र, त्यही क्षणमा गृहमन्त्रीको उपस्थितिले परिवारलाई ढाडस मिल्यो ।  यो पहिलो पटक भने होइन, दुई साताअघि एक राजनीतिक दलका कार्यकर्ताबाट दुव्र्यवहारमा परेका वृद्धलाई भेट्न उनी आफैं घर पुगेका थिए । तत्कालै साथ दिएको भन्दै ती वृद्धले गृहमन्त्रीलाई धन्यवाद दिएका थिए । भूकम्पपछि सुरु भएको उनको सामाजिक यात्रा अहिले सिंहदरबारसम्म आइपुगेको छ । ‘हामी नेपाल’ अभियानमार्फत उनले देशभर सामाजिक चेतना फैलाउने प्रयास गरे । त्यही यात्राले उनलाई अब केवल नेता होइन, संवेदनशील हस्तीको रूपमा चिनाएको छ । गृहमन्त्री गुरुङको सचिवालयले सडक दुर्घटनामा निधन भएका प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली व्यक्त गरेको बताएको छ । गुरुङले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत निरीक्षकको राष्ट्रप्रति समर्पित सेवा र योगदानको सम्मान गर्दै काँधमा शव बोकेको बताएको छ ।   

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ । स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट   ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एक, चितवनको रत्ननगर नगरपालिका–११ बटर टोलबाट एक,  रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ हात्तीसुडबाट दुई, झापाको कनकाई नगरपालिका–३ सुरूङगाबाट पाँच  र सोही नगरपालिकाको टप्पु चोकबाट दुई जनालाई पक्राउ गरिएको छ ।  यसैगरी, मोरङको विराटनगर महानगरपालिका–११ बाट दुई, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट दुई र दाङको राप्ती गाउँपालिका–१ बाट दुई जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो ।

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन्।  बैंकको सञ्चालक समितिको बिहीबार (वैशाख ३) मा बसेको ३७१ औं बैठकले मानन्धरलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  मानन्धरको कार्यकाल आगामी २०८३ जेठ १ गतेबाट लागू हुने बैंकले जनाएको छ । हाल बैंकमा कार्यरत सीईओ प्रद्युमन पोखरेलको कार्यकाल २०८३ वैशाख मसान्तमा समाप्त हुने भएपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो ।  मुक्तिनाथ विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंक हो । 

अब टी-२० दीपेन्द्र र ओडिआई रोहितले सम्हाल्ने, को-को परे टिममा ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई वटा सिरिज खेल्ने खेलाडीको नाम घाेषणा गरेकाे छ । क्यानले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको छ भने टी-२० का लागि दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टीम घोषणा गरेको छ ।  आईसीसी विश्वकप लिग २ मा रोहितसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् । खेलका लागि हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई रिजर्भमा राखिएका छन् ।  नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुनेछ । शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन दुई–दुई पटक आपसमा भिड्ने तालिका छ । यस्तै, यूएईसँगको दुई खेलको टी–२० सिरिजका लागि क्यानले ठूलो फेरबदल गरेको छ  । यो सिरिजलाई कप्तान रोहित परेका छैनन् । दीपेन्द्रले याे खेलकाे नेतृत्व गर्नेछन् । सो खेलका लागि दीपेन्द्रसँगै सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्शन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउँद, हेमन्त धामी, साहव आलम र शेर मल्ल परेका छन् । खेलको रिजर्भमा प्रतिश जिसी, नारायण जोशी र रसिद खान परेका छन् ।   नेपालले २० र २१ अप्रिलमा यूएईसँग दुई खेलको टी-२० सिरिज खेल्दैछ । उक्त खेल फ्लडलाइटमा हुने क्यानले जनाएको छ । क्यानले अब एक दिवसिय र टी-२० काे छुट्टै टिम बनाएर खेलाउने तयारी गरेको बुझिन्छ ।

माछापुच्छ्रे बैंकले ल्याउँदै नेपालपे कार्ड, डिस्कभर र आरयूपे कार्ड पनि चल्ने

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ ।  एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरे ।  एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस ) सँग इन्टिग्रेट भइसकेकाले उक्त सम्झौतापश्चात माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकह?का लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ । साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र आरयूपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्नेछ ।  पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटीएम र ३००० भन्दा वटा पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको अक्वायरिङ्गका लागि इनेबल गर्नेछ भने क्रमिक रूपमा उक्त कार्ड आफ्नो ग्राहकह?लाई जारी समेत गर्नेछ । एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायीक रोलआउट सुरू गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवकमार्फत नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ ।  नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डह? पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।  एनसीएचएलको इएफटी सर्भिसेसमार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाह?ले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरू प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीचबीचको इन्टिग्रेसनसँगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो ।  इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् । हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक वित्तीय संस्थाहरू आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । नेपालपे कार्ड कार्यान्वयनमा आइसकेको छ र हाल २ वटा कमर्सियल बैंकहरूले कार्ड इस्यू गर्न सुरू गरिसकेका छन् भने तीनवटा कमर्सियल बैंकले अक्वायरिङ्ग पनि गर्दै आइरहेका छन् । नेपालका अग्रणी बैंकहरूमध्येको माछापुच्छ्रे बैंकले हाल १८ लाखभन्दा बढी ग्राहकहलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समयदेखि बैंक डिजिटलाइजेसनतर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रूपमा रूपान्तरण गर्दै आइरहेको छ ।  देशभर बैंकका १६५ वटा शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९९ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् । बैंकका हालसम्म ४ लाख भन्दा बढी कार्डहोल्डर ग्राहक रहेका छन् । 

सिटिजन लाइफलाई अन्तर्राष्ट्रिय पहिचान, आईएसओ ९००१ : २०१५ प्रमाणीकरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१ : २०१५ प्रमाणीकरण प्राप्त गरेको छ । उक्त प्रमाणीकरण युनाइटेड रजिस्ट्रर अफ सिस्टम (यूआरएस) तथा यूकेएएस म्यानेमेन्ट सिस्टममार्फत प्रदान गरिएको हो । यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणीकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुरूप सञ्चालन गरिरहेको पुष्टि गर्दछ । यस प्रमाणीकरणले कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको संस्कृतिलाई संस्थागत बनाउँदै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई सुदृढ बनाएको छ ।  विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा उच्च स्तरको अनुशासन र एकरूपता कायम गर्न यो उपलब्धिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ । यस उपलब्धिले कम्पनीको सेवा गुणस्तर र स्थिरतालाई थप सुदृढ बनाउनुका साथै ग्राहक सन्तुष्टि र विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु‍र्याउने कम्पनीले जनाएको छ ।  यसका अतिरिक्त, नियामक निकायहरूको मापदण्डसँग थप सुसंगतता कायम गर्दै संस्थागत सुशासनलाई मजबुत बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचान र विश्वसनीयता अझ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।