काठमाडौं । विश्वभरका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापक, प्राज्ञ तथा शोधकर्ताहरूको सहभागितामा नेपालमा १७ औं अन्तर्राष्ट्रिय प्राज्ञिक गोष्ठी आयोजना हुने भएको छ।
हरेक तीनदेखि चार वर्षमा विश्वका विभिन्न मुलुकमा आयोजना हुँदै आएको यो अन्तर्राष्ट्रिय गोष्ठी यसपटक सत्रौं संस्करणका रूपमा नेपालमा हुन लागेको हो ।
काठमाडौं विश्वविद्यालयअन्तर्गतको सेन्टर फर बुद्धिस्ट स्टडिज, राङ्जुङ येशे इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको हो । आगामी भदौको ७ देखि १३ सम्म काठमाडौंमा ‘इन्टरनेसनल एसोसिएसन फर तिब्बती स्टडिज’ को सम्मेलन हुन लागेको हो ।
गोष्ठीको संयोजकमा रहेका प्रा.सागर शर्माले यस अन्तर्राष्ट्रिय सम्मेलनमा चीन, अमेरिका, युरोप तथा एसियाका विभिन्न ३५ देखि ४० भन्दा बढी मुलुकका विद्वान, अनुसन्धानकर्ता तथा विश्वविद्यालयका प्रोफेसरहरू सहभागी हुने जानकारी दिए ।
उनका अनुसार अमेरिकाको हार्वर्ड युनिभर्सिटी र चीनको पेकिङ युनिभर्सिटीजस्ता विश्वका प्राज्ञिक संस्थाका शोधकर्ताहरूले भाग लिने छन् ।
मुख्यतः तिब्बती बुद्धधर्म, बौद्ध दर्शन, भाषा, साहित्य र हिमाली संस्कृतिसँग सम्बन्धित विषयहरूमा ३ देखि ४ दिनसम्म विभिन्न प्यानलहरूमा शोधपत्र प्रस्तुत गरिने उनले जानकारी दिए ।
चार वर्षअघिदेखिनै पूर्वयोजना बनाएर तयारी भइरहेको यो सम्मेलनको अन्तिम कार्यक्रम तालिका इभेन्ट हुनुभन्दा करिब दुई हप्ताअगाडि सार्वजनिक गरिने शर्माले जानकारी दिए ।
विश्वभरका विद्वानहरूबाट प्राप्त शोधसार छनोट र व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ । यस सम्मेलनबाट नेपाललाई ठूलो प्राज्ञिक र पर्यटकीय लाभ मिल्ने आयोजकको भनाइ छ ।
यसैबीच, तिब्बत तथा बौद्ध अध्ययनसँग सम्बन्धित विश्वस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन भएकाले छिमेकी मुलुक चीन, कूटनीतिक वृत्त तथा नेपालका सुरक्षा निकायहरूले समेत चासो व्यक्त गरेका छन् ।
यसबारे उनले यो कुनै राजनीतिक वा नीतिगत थिङ्क ट्याङ्क को भेला नभई विशुद्ध प्राज्ञिक तथा शैक्षिक सम्मेलन भएको प्रष्ट पारेका छन् ।
राज्य तथा छिमेकी मुलुकहरूले यस्ता विश्वचर्चित सम्मेलनबारे सोधपुछ गर्नु र चासो राख्नुलाई आयोजकले स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने उनले बताए ।