एचआईडीसीएलको नाफा डेढ अर्ब रुपैयाँ, ईपीएस कति ?
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ५१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीको आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३.०४ प्रतिशत घटेर २ अर्ब ८ करोड ५८ लाख रुपैयाँमा झरेको छ । कम्पनीको अन्य आम्दानी १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३१ पैसा बढेर ६.३५ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११३.९५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ०.४३ प्रतिशत बढेर २२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ र जगेडा कोष ३६.५९ प्रतिशत बढेर ३ अर्ब १९ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।
डलरको मूल्यमा बन्यो नयाँ रेकर्ड, यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज साउन २९ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६६ रुपैयाँ र खरिददर १३४.०६ रुपैयाँ तोकेको छ । मंगलबार तोकिएको अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च हो । आज युरोपियन युरो एकको खरिददर १४६.४१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.०६ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.०९ रुपैयाँ र बिक्रीदर १७१.८६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.४७ रुपैयाँ र बिक्रीदर ८८.८७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.६७ रुपैयाँ र बिक्रीदर ९८.११ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.०९ रुपैयाँ र बिक्रीदर ३०.२२ रुपैयाँ तोकिएको छ ।
ठूला रेमिट्यान्स कम्पनी मर्ज हुँदै, कारोबार मासिक ३० अर्ब बढी
काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिटको साउन ३० गते एकीकृत कारोबार हुने भएको छ । आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेपछि अब दुई कम्पनी एक भई आइएमई लिमिटेडको नामबाट कारोबार हुने भएको हो । बैकिङ क्षेत्रमा सबैभन्दा धेरै र ठूला मर्ज गराउन सफल चन्द्रप्रसाद ढकालले रेमिट्यान्स क्षेत्रमा पनि पहिलो मर्ज गराउन लागेका हुन् । मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ । रेमिट्यान्स कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान छ । आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो । मर्जपछि कम्पनीले १० प्रतिशत सेयर सार्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि गइसकेको छ । सेबोनले अनुमति दिने वित्तिकै कम्पनीले आईपीओ ल्याउने बताएको छ । यी दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार हुने भएको हो । नेपालमा रेमिट्यान्सको माध्यमबाट ठूलो योगदान दिँदै आएको आइएमई लिमिटेड इन्टर नेशनल मनि एक्सप्रेसको दुनियाँमा पर्यावाची नै बनेको छ । नेपालमा दुई दशकदेखि रेमिट्यान्स सेवा दिंदै आएको यस कम्पनीले हजारौंलाई रोजगारी दिएको छ । यस कम्पनीको अध्यक्ष हाल चन्द्रप्रसाद ढकाल छन् । एकीकृत कारोबार पछि भने सो कम्पनीको अध्यक्ष हेमराज ढकाल बन्नेछन् । आईएमईले प्राथमिक सेयर (आईपीओ) पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नेपालको पहिलो रेमिट्यान्स कम्पनी, देश तथा विदेशमा सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा धेरै सेवाग्राही, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित यो कम्पनीको व्यवस्थापकिय नेतृत्व खिलेन्द्र पौडेलले गरिरहेका छन् । पछिल्लो समय यस कम्पनीले रेमिट्यान्स सेवासँगै डिजिटल प्रविधिमा पनि प्राथमिकता दिइरहेको छ । डिजिटल प्रविधिको विकास, प्रयोग तथा प्रतिस्पर्धाले लागतलाई अझ कम गर्ने रणनीतिलाई आत्मसात गर्दै कम्पनीले सेवाग्राहीहरूलाई कम लागतमै रेमिट्यान्स पठाउने तथा प्राप्त गर्ने अवस्था सिर्जना गर्न काम गरिरहेको बताएको छ । जीएमई रेमिट पनि विप्रेषणको बजारमा छोटो समयमा ठूलो फड्को मारेको कम्पनीमध्ये पर्छ । विदेशमा रहेका लाखौं नेपालीको रेमिट्यान्सलाई सहज रुपमा नेपाल भित्र्याउनका लागि यस कम्पनीले ठूलो भूमिका खेलिरहेको छ । विश्वका विभिन्न रेमिट कम्पनीहरुसँग समझदारी गरेर जीएमईले पनि आफ्नो बजारलाई थप विस्तार र प्रभावकारी बनाउँदै आएको छ । जीएमईले बहराइन, साइप्रस, हङकङ, अष्ट्रेलिया, अमेरिका, यूएई, कतार र कुवेतमा आफ्नो व्यापार तथा नेटवर्क विस्तार गरेको छ । हाल जीएमईको व्यवस्थापकीय नेतृत्व दिवाकर पौडेलले गरिरहेका छन् भने सञ्चालक समितिको नेतृत्व अर्जुन पौडेल शर्माले गरिरहेका छन् । अब आइएमई र जीएमई एक भएर थप प्रभाकारी ढंगले काम गर्ने रणनीति बनाएका छन् ।
के हुन्छ बाँसबारी जग्गाकाे कराडौंको संरचना ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित जग्गा खाली गर्न निर्देशन दिएको छ । बाँसबारी जग्गामा लगाइएको चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको हो । सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । तर, केही समय माग गरेपछि जग्गा खाली नगरेर फर्किएको महानगर प्रहरी बलका नगर उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार जग्गा खाली गर्नका लागि सात दिनको समय मागेको छ । ‘हामीले दुई दिनभित्र खाली गर्न भनेर अल्टिमेटम दिएका थियौं । तर, समय माग गरेपछि सात दिन थप गरेका छौं,’ उनले भने । उनका अनुसार नगर प्रहरीले उक्त जग्गामा रहेको चाँदवाग स्कुलको सबै संरचना हटाएर खाली गर्न निर्देशनसहित सोमबार माइकिङ पनि गरेको थियो । चप्पल कारखानाको सरकारी जग्गा चौधरी ग्रुपले हडपेको भन्दै अनुसन्धान भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अरूण चौधरीलाई पक्राउसमेत गरेको थियो । सोही जग्गा सरकारले फिर्ता ल्याएसँगै जग्गा खाली गर्न निर्देशन दिएको हो । सो जग्गामा हाल चाँदबाग स्कुल छ । अब सो स्कुलको संरचना के हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन मंसिर तेस्रो साता गर्न निर्वाचन आयोगको सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका थिए । निर्वाचनको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।
समृद्धि फाइनान्सको बनेपा शाखाबाट वृक्षारोपण
काठमाडाैं । समृद्धि फाइनान्सले सोमबार संस्थाको बनेपा शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा विभिन्न फलफूल तथा फूलका बोट लगाई सम्पन्न गरिएको हो । साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखाबाट सम्पन्न भइसकेको र साउन महिनाभित्र फाइनान्सका अन्य शाखाहरूबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ । समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत् नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निःशुल्क प्रदान गरिरहेको छ ।
काठमाडौं-भियतनाम दुई चार्टर्ड उडान हुँदै
काठमाडौं । काठमाडौं-भियतनाम दुई चार्टर्ड उडान हुने भएको छ । रुप्से होलिडेजले नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागेको जानकारी गराइएको छ । यी दुई मुलुकबीच सिधा उडान सुरु भइसकेको छैन । सोहीकारण पर्यटकलाई समूहमा ल्याउन चार्टर्ड उडान गर्न लागिएको हो । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि चार्टर उडान गरिएका थिए । यस वर्ष दशैंलगत्तै अब थप दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्न लागेको कम्पनीले जनाएको छ । आगामी दशैंको टिकालगत्तै ३० असोज अर्थात् १६ अक्टोबरदेखि ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो । भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको कम्पनीले जनाएको छ । नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने भएको छ । नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ । भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरिएको छ । उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।
२० प्रतिशत डाउन पेमेन्टमा टाटा विंगर खरिद गर्न सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धमाकेदार अफर ल्याएको छ । जसअन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा टाटा विंगर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ६ वर्षको चुक्ता भुक्तानी अवधि रहेको छ । सो गाडी खरिद गर्दा ७० प्रतिशत फाइनान्सिङ सुविधा पनि रहेको उल्लेख गरिएको छ । योजना अगस्ट महिनाभरि लागु हुनेछ । मासिक ६० हजार रुपैयाँदेखि सरल किस्तामा सो गाडी खरिद गर्न सकिने छ ।