निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु
काठमाडौं । निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्जबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहेका नेपालीहरूले सुरक्षित र सहजरूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरूको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । हाल कुवेतमा हजारौँ नेपालीहरू आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् । कुवेतमा रहेका नेपालीहरूले अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाबाट छिटो र प्रभावकारीरूपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोबारहरू निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुने कम्पनीले जनाएको छ । साथै, नगदमा पठाइएको कारोबार पनि निओ मनि ट्रान्सफरका नेपालभरि रहेका १५,००० भन्दा धेरै शाखाहरूबाट सजिलै प्राप्त गर्न सकिनेछ । नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘हामी अब अल–एक्तसाद युनाइटेड एक्सचेन्ज सँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरूको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’
मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघबीच सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच महासंघसँग आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्यसहित सझौता भएको छ । एक कार्यक्रमबीच भएको उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र महासंघका तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताबमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आबद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताका लागि सहकार्य गर्ने छ । महासंघकी अध्यक्ष शोभा ज्ञवालीले यस सम्झौता भएपछि महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई आर्थिक विकास गर्न र व्यवसायिक तथा वित्तीय साक्षारताको क्षेत्रमा थप टेवा पुग्ने कुरामा विश्वास व्यक्त गरिन् । साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
सुमेरु सहकारीका सेयर सदस्य राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान
काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्था, पुल्चोकका सेयरधारक राजबहादुर सिंहको बयान लिएको छ । बयानका क्रममा सिंहले आफूले सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्न निजी सम्पत्तिबाट व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । सिंह, पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ हुन् । उनले पहिलो पटक यस्तो बयान दिएको बताएका छन् । समितिका सभापति सूर्य थापाका अनुसार सिंहले सहकारीलाई पुनः सञ्चालनमा ल्याउन नयाँ सञ्चालक समूहसमेत तयार भएको जानकारी दिएका छन् । सहकारीमा बचत रकम दुरुपयोगको घटनाको विस्तृत छानबिनका लागि ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । समितिले सहकारी संस्थामा भएको अनियमितताको सत्य तथ्य पत्ता लगाउन सिंहसहित अन्य सम्बन्धित व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको छ ।
नेप्सेमा दोस्रो दिन पनि नयाँ रेकर्ड : २७ अर्ब नाघ्याे कारोबार, नेप्से ३० महिनाकै उच्च
काठमाडौं । सेयर बजारले काराेबार रकममा लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेकाे छ । साताको दोस्रो कारोबार दिन सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो । यसअघि आइतबार मात्रै नयाँ रेकर्ड बनेको थियो । आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार सेयर बजार नेप्से परिसूचक ७०.८१ अंकले बढेर २,९३१.६५ को विन्दुमा अडिएको छ । सोमबार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । लगानीकर्ताहरू साेमबार पनि लाइफ इन्स्योरेन्स समूहमा झुमिएका छन् । सो समूहमा ५.८५ प्रतिशतले बढेको छ । सूचीकृत समूहमध्ये लगानी र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । हिमालयन रिको सेयर १ करोडभन्दा माथि कारोबार भएको छ । सोमबार १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली, आँखुखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै कुथेली ब्रुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।
स्वास्थ्यमन्त्री पौडेलको कार्ययोजना- अस्पतालमा बिरामीको भीड व्यवस्थापन गर्नेदेखि बीमा सेवा बढाउनेसम्म
काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकले सहज उपचार नपइरहेको बेला स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यो सेवालाई थप बढाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब १ महिनाको अनुभवपछि मन्त्री पौडेलले ‘प्राथमिकता तथा कार्ययोजना’ प्रस्तुत गर्दै यस्तो बताएका हुन् । मन्त्रीमा सपथ खाएकै दिन ठूला सरकारी अस्पतालमा भएको बिरामीको भीड व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका पौडेलले स्वास्थ्य बीमा सेवा बढाउनेदेखि स्वास्थ्य क्षेत्रको खरिद प्रणाली पारदर्शी बनाउनेसम्मका योजना प्रस्तुत गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बीमाको हालको दायरा बढाइ कम्तिमा ५ लाख बनाउने गरी प्रस्ताव राखेका छन् । तर, यता अस्पतालमा भने सेवा ग्राहीलाई एक लाखकै सेवा पाउन मुस्किल भइरहेको छ । सेवालाई गुणस्तरीय र आबद्धतालाई द्रुत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र सहभुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन स्वास्थ्य बीमाको नीतिगत र कानुनी व्यवस्थामा वश्यक पुनरावलोकन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ । सरकारले विभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रूपमा स्वास्थ्य सेवा दिइरहेकोमा सबै सेवा र सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई बीमाको छाताभित्र राख्ने पौडेलको योजना छ । योगदानमा आधारित सामाजिक सुरक्षाका कार्यक्रम र अन्य सामाजिक सुरक्षा एवं बिमाका अन्य कार्यक्रमलाई स्वास्थ्य बीमासँग जोड्न पहल गरिने, बीमाको प्रारम्भिक प्रवेश विन्दु र प्रेषण प्रणालीको विद्यमान झन्झटिलो प्रक्रियालाई पुनरावलोकन गरी, बीमा आबद्धता, नवीकरण, प्रारम्भिक प्रवेश विन्दु र प्रेषण लगायतका सन्दर्भमा स्थानीय तह प्रदेश सरकारसँग समन्वय गरिने उनको कार्ययोजनामा छ । बीमामा २८ प्रतिशतमात्र आबद्ध पौडेलले बीमामा आबद्ध नागरिकको संख्या बढाउने योजना बनाइरहेका बेला यता स्वास्थ्य बीमामा भने करिब २८ प्रतिशत नागरिक आबद्ध रहेको पाइएको छ । बीमा बोर्डले ८० प्रतिशत नागरिकलाई आबद्ध गराउने लक्ष्य राखेको छ । स्वाीथ्यमन्त्री पौडेलले बीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी दाबी प्रविष्टिका लागि सबै सेवा प्रदायकको इएमआर प्रणाली लागु गरिने योजना बनाएका छन् । स्वास्थ्य बीमा कार्यक्रमका आबद्ध सरकारी एवं गैरसरकारी स्वास्थ्य संस्थाहरूमा बीमा तथा गैर बीमाका बिरामीको हकमा लाग्ने उपचार तथा निदान शुल्कमा एकरूपता ल्याइनेछ । यसका लागि स्वास्थ्य बीमा कार्यक्रममा आवद्द नागिरकहरुको अनावश्यक जाँच, निदान र उपचारलाई निरुत्साहित गर्न स्वास्थ्य बीमा कार्यक्रममा सह भुक्तानीको व्यवस्थालाई पुनरावलोकन गरिने जनाइएको छ । हाल विद्यमान स्वास्थ्य करकोषबाट थप रकम स्वास्थ्य बीमामा उपलब्ध गराउने व्यवस्था गर्ने, निश्चित मात्राभन्दा बढी चिनीजन्य पदार्थ प्रयोग हुने खाद्य तथा पेय पदार्थमा अनिवार्य सुगर ६याक्स लगाउने र संकलित रकम स्वास्थ्य बीमामा उपलब्ध गराउने योजना मन्त्रीको छ । चिकित्सा शिक्षा मन्त्री पाैडेलले सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषयहरू अध्ययन अध्यापन गराउन विगतमा भएका अध्ययनलाई पुनरावलोकन गरी शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग समन्वय गर्ने योजना सार्वजनिक गरेका छन् । हाल मुलुकमा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालहरूमा नर्सिङ र तीन सय बेडभन्दा माथिका अस्पतालमा मात्र अध्ययन गर्न पाउने कानुन रहेको छ । राज्यका तीन वटै निकाय चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समन्वय गरी अनिवार्य (छात्रवृत्ति) करार सेवा अवधिलाई व्यवस्थित गरिने, नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आवद्ध गर्न आवश्यक प्रबन्ध गरिने उल्लेख छ । लाइन हटाउने योजना उसो त मन्त्री पौडेलले पहिलो निर्णय नै अस्पतालको लाइन घटाउने बनाएका थिए । उनले सार्वजनिक गरेको प्राथिमकता तथा कार्ययोजनामा पनि यो कुरा समावेश गरेका छन् । मन्त्री पौडेलले संघीय अस्पतालको सेवा विस्तार एवं अस्पतालहरूमा शल्यक्रिया क्षमता विस्तार गरी शल्य चिकित्सा सेवामा हुने लामो लाइन घटाउन संघीय अस्पतालहरूको अपरेसन थिएटरमा पूर्वाधार थप गरिने उल्लेख गरेका छन् । सबै प्रकारका स्वास्थ्य संस्थामा सेवाका आधारमा न्युनतम सेवा मापदण्ड निर्धारण र पुनरावलोकन (वर्षभरि निरन्तर रूपमा उपलब्ध सेवाहरू – २४ घन्टा इमर्जेन्सी, ओपीडी, अन्तरंग, भिडियो एक्सरे, फार्मेसी ल्याबुको सेवा, सुत्केरी डेलिभरी र तीनका गुणस्तरका आधारमा वर्गीकरण) गरी सो को कार्यान्वयन र प्रभावकारी सुपरिवेक्षणको व्यवस्था गरिने उल्लेख छ । नीतिगत र कानूनी सुधार मन्त्री पौडेलले यसका लागि औषधी ऐनको प्रतिस्थापन विधेयक तर्जुमा गरिने, स्वास्थ्य सेवाका जनशक्ति व्यवस्थापनका सन्दर्भमा एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमा गरिने, संघ अन्तर्गतका अस्पताल विकास समितिको काम कारबाहीमा एकरूपता ल्याउन आवश्यक कानुनी प्रबन्ध गरिने उल्लेख गरेका छन् । कार्ययोजना सार्वजनिक गर्दै पौडेलले भने,‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि छाता ऐन,स्वास्थ्य बीमा नियमावली संशोधन कार्यान्वयन गरिनेछ ।’ स्वास्थ्य क्षेत्रको खरिद् प्रणालीलाई प्रभावकारी बनाउन सार्वजनिक खरिद नियमावलीमा पुनरावलोकन गर्न आवश्यक पहलकदमी लिइ स्वास्थ्यजन्य सामाग्री खरिद सम्बन्धि मापदण्ड बनाइने उनले बताएका छन् । यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा संशोधन गरी गैरजमानती गिरफ्तार (जेल विदआउट वेल) गर्ने व्यवस्थालाई प्रभावकारी बनाइने, गुणस्तर प्राधिकरण ऐन तर्जुमा गरिने,संक्रामक रोग ऐन, २०२० लाई संशोधन गरिने,तीनै तहका सरकारसँग समन्वय हुने गरी आपतकालीन स्वास्थ्य सेवा व्यवस्थानका लागि कार्यविधि र संरचना बनाइने उल्लेख गरेका छन् । सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ परिमार्जन गर्ने,स्वास्थ्य प्रवर्द्धन तथा संचार रणनीति तयार गरिने पनि मन्त्रीको कार्ययोजनामा छ । निरोगी नेपालको नारा नेपाल सरकारले निरोगी नेपालको नारा ल्याएको छ । कुनै पनि नागरिक अस्वस्थ रहन नदिने गरी ‘आगामी पुस्ता, निरोगी पुस्ता’ कार्यक्रम ल्याइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए । उनले नेपालमा नसर्ने रोगको भार बढ्दो रहेको बताउँदै रोग लागेकाहरूलाई कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा सरकारले चिन्तन गरिरहेको बताए । ‘यो चिन्तन गर्नु आफैमा स्वभाविक छ, नेपालमा सहरीकरण बढ्दो अवस्थामा छ, बसाइँसराइँ बढ्दो अवस्थामा छ, वायुप्रदूषण व्यापक ढंगले बढेको छ भने जलवायु परिर्वतनको प्रभाव दिनप्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘यो कुरालाई ख्याल गरेर उपचार पद्धती जति फराकिलो बनाए पनि राज्यले समस्यामा रहेका सबै नागरिकलाई सहयोग गर्ने स्थिति बन्न सक्दैन, यसैले रोग लाग्ने नागरिक उत्पादन हुन नदिने गरी कसरी नीति बनाउन सकिन्छ भन्ने विषयमा सरकारले यो कार्यक्रम ल्याएको हो ।’ आयुर्वेद र वैकल्पिक चिकित्सा पौडेलले राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएका छन् । यसका लागि बुढानीलकण्ठ नगरपालिकामा निर्माणाधिन ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ को निर्माण गरी सञ्चालनमा ल्याइने, आयुर्वेदिक औषधी उत्पादनमा आत्मनिर्भर हन सिंहदरवार वैद्यखानालाई पुनरसंरचना गरिने, देशमा सञ्चालनमा रहेका सबै आयुर्वेद अस्पतालहरूको संरक्षण गर्दै संरचनागत सुधार गरी थप प्रभावकारी बनाइने उल्लेख छ । यस्तै, प्रत्येक प्रदेशमा निर्माण हुने प्राकृतिक तथा अन्य वैकल्पिक चिकित्सा विधा सहितको एक सय शैयाका आयुर्वेद अस्पतालको निर्माण कार्यलाई तीव्रता दिइने जनाइएको छ । सातवटै प्रदेशमा क्यान्सर रोग सेवा विस्तार गरिने पौडेलले सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने बताएका छन् । सातवटै प्रदेशका अस्पतालमा एनआइसीयू, एचडीयु सहितको प्रसुति तथा बाल स्वास्थ्य केन्द्र र जिल्ला तहका अस्पतालमा सञ्चालन गरिने उल्लेख छ । यस्तै, सातै प्रदेशमा मानव अंग प्रत्यारोपणको सेवा विस्तार गरिने,कैलालीको गेटा अस्पतालको अन्तरंग सेवा तत्काल सञ्चालनमा ल्याइने उल्लेख छ ।
लघु बीमकलाई बाइपास गरेर वैदेशिक रोजगार बीमा पुल प्रणालीमा लैजाने तयारी
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुल प्रणालीमा लैजाने सहमति भएको छ । हिजाे आइतबार नेपाल बीमा प्राधिकरणमा भएको छलफलमा उक्त बीमालाई पुल प्रणालीमा लैजाने सहमति भएको हो । छलफलमा जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, संघका पदाधीकारी तथा जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्राधिकरणका उच्चस्थ कर्मचारी उपस्थित थिए । वैदेशिक रोजगार बीमालाई पुलमा लैजाने विषयमा भएको उक्त छलफलमा लघु जीवन बीमा कम्पनीका सीईओहरूलाई बाइपास गरेको पाइएको छ । आइतबार १ बजे प्राधिकरणमा छलफल हुने पूर्वकार्यसूची थियो । प्राधिकरणमा १ बजे छलफल हुन्छ भन्ने कुरा जीवन बीमक संघका पदाधीकारीहरूलाई अघिल्लो दिन नै जानकनरी थियो । तर, लघु जीवन बीमकका सीईओहरूलाई भने जानकारी नदिएको स्रोतले बताएको छ। स्रोतका अनुसार दिउँसो १ बजो हुने कार्यक्रमक लागि लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारीलाई दिउँसो १२ बजेर ४५ मिनेटमा मात्र जानकारी दिइएको स्रोतले जनाएको छ । पूर्वनिर्धारित छलफल कार्यक्रममा कार्यक्रम सुरु हुनुभन्दा १५ मिनेट अगाडि मात्र जानकारी दिँदा जो कोही पनि सो कार्यक्रममा उपस्थित हुन नसक्ने अवस्था हुन्छ । लघु बीमकलाई बाइपस गर्न यसरी ढिला जानकारी दिइएको हुनसक्ने केही लघु बीमकका सीईओहरूले विकासन्युजलाई बताए । १२ बजेर ४५ मिनेटमा जीवन बीमक संघका एक पदाधीकारीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारीलाई फोन गरेर जानकारी दिइएको बुझिएको छ । यसबारे लघु बीमक रुष्ट भएको स्रोतले जनाएको छ । यस बारेमा जानकारी लिन खोज्दा जीवन बीमक संघका अध्यक्ष पौडेल भने बोल्न चाहेनन् । यता प्राधिकरणले भने सबैलाई समेटर अघि बढ्ने प्रयास भइरहेको जनाएको छ । पुलमा जानुपर्ने कारण ? वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय हात पार्न बीमा कम्पनीहरूले म्यानपावर कम्पनीहरुलाई ३० प्रतिशतसम्म कमिसन दिने गरेका थिए । प्रायः सबै कम्पनीहरूले यसरी कमिसन दिन थालेपछि बजार नै अस्वस्थय प्रातिस्पर्धामा धकेलिएको थियो । यति मात्र होइन कम्पनीहरुले कानुनविपरीत काम गर्न थालेका थिए । वैदेशिक रोजगार म्यादी जीवन बीमाको बीमाशुल्क ट्यारिफ रेटअनुसार निर्धारण हुन्छ । ट्यारिफ रेटलाई घटाएर वा बढाएर बेच्न नपाइने कानुनी प्रावधान रहेको छ । सोही कानुनी प्रावधानको खिल्ली उडाउँदै कम्पनीहरूले ३० देखि ५० प्रतिशतसम्म कमिसन म्यानपावर कम्पनीहरूलाई दिने गरेका थिए । सोही विकृति रोक्ने प्रयास प्राधिकरणले गरेको हो । जसको उत्तम विकल्प भनेको पुल प्रणली हो । अब बन्ने पुलको व्यवस्थापन बीमा प्राधिकरणले गर्ने जनाइएको छ ।
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । आगामी भदौ २३ गतेसम्म १ हजार रुपैयाँ नियमित दस्तुरमा र ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने गरी आयोगले फाराम खुलाएको हो । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ । आयोगका अनुसार आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिन सकिनेछ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं तोकिएका कागजातहरू पेस गरेपछि परिवर्तन नगर्न आयोगको सुझाव छ ।
नतिजामुलक काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए । प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरुले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई भने । उनले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरुको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताए । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरुले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने जानकारी दिए । ‘दैनिक मन्त्रालयका मन्त्रीले, सचिवले, सहसचिवले, सिइयोहरुले अधिकृत लेवलभन्दा माथिका सबैको दैनिकीहरु अब सरकारले हेर्नेछ । एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ । आज दिनभरीको कामको परिणाम के आयो ? त्यसको परिणाममुखि कामहरु, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन ? परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोडनुपर्ने हुन्छ’, उनले भने । मन्त्री भण्डारीले सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरुको दैनिक कामको मूल्यांकन गर्ने पनि जानकारी दिए ।