विकासन्युज

मोफसलमै खुल्यो ४ अर्ब लगानीकाे टायल्स उद्योग, एभरेष्टसहित यी चार बैंकले दिए ऋण

काठमाडाैं । कजारिया रमेश टायल्सले भैरहवामा चार अर्ब रुपैयाँ लगानीमा टायल्स उद्योग सञ्चालन गरेको छ । सोमबारदेखि सञ्चालनमा आएको उद्योगको वार्षिक उत्पादन क्षमता ५१ लाख वर्गमिटर टायल रहेको कम्पनीले जनाएको छ । कजारिया रमेश टायल्स, रमेश कर्प र भारतको टायल निर्माता कम्पनी कजारिया सेरामिक्सको संयुक्त उत्पादन हो । यसै सहकार्यमार्फत नवलपरासीमा टायल निर्माण कारखाना स्थापना गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कारखाना स्थापनासँगै स्थानीय कच्चा पदार्थ प्रयोग गरी कजारियाले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । उद्योगले नयाँ आधुनिक उत्पादन केन्द्र किल्न लाइट अप अर्थात् भट्टी प्रज्ज्वलनको पनि उद्घाटन गरेको छ । अब बजारको मागअनुसार टायल्स उत्पादन गर्ने उद्योगले जानकारी दिएको छ । ‘नेपालमा नयाँ उत्पादनको केन्द्र स्थापना भएकामा हामी गौरवान्वित छौं,’ कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने, ‘यो आधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ ।’ मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रियामा रहेको कजारिया रमेश टायल्सका अध्यक्ष प्रतीक जलानले बताए । ‘हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौं,’ उनले भने, ‘यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धता हो ।’ उद्योगले स्थानीय अर्थतन्त्रलाई विकास गर्नुका साथै रोजगारी सिर्जना गर्ने समेत विश्वास लिएको जनाएको छ । कजरिया भारतमा ३५ वर्ष पुरानो उद्योग हो । उद्योगमा ५० प्रतिशत कजरिया र ५० प्रतिशत रेमश कर्पको लगानी रहेको बताइएको छ ।उद्योगमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको बताइएको छ । उद्योगका अनुसार एभरेष्ट बैंकको अगुवाईमा ३ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । यो प्रोजेक्टमा सह-वित्तियकरणमा नबिल बैंक, नेपाल बैंक र प्रभु बैंकले ऋण लगानी गरेको बुझिएको छ । कजरियाले ३ अर्ब ४ करोड ऋणको रेटिङ गराएको छ । के हाे कजारिया रमेश टायल्स ? कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो । यसै सहकार्य मार्फत नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने कजारिया रमेश टायल लिमिटेडले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्वाकंक्षा लिएको छ । नवलपरासी स्थित कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्नेछ । कारखाना निर्माणका लागी गरिएको ४ अर्ब नेपाली रुपैयाँको लगानीले अर्थतन्त्रलाई प्रोत्साहन दिने र विश्वस्तरीय कजारिया टायलहरू सस्तो मूल्यमा उपलब्ध गराउने विश्वास कम्पनीकाे छ । कारखानाले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय वृद्धि गर्नुका साथै हजारौं रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा कम्पनीले लिएको छ । कजारिया रमेश टायल्स लिमिटेडले स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउँदै वृद्धि र विकासलाई प्रवर्द्धन गर्ने कम्पनीकाे भनाइ छ ।

स्वावलम्बन विकास केन्द्रले मनायो ३३औं वार्षिकोत्सव

काठमाडौं । स्थानीय श्रोत, सीप, साधन र श्रमको समुचित प्रयोग गरी गरीब तथा विपन्न वर्ग र दूरदराजका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले एक समारोहका बीच ३३औँ वार्षिकोत्सव मनाएको छ । शताब्दी पुरुष तथा वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको सभापतित्व केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै डा. दासले लघुवित्त सेवा पछिल्लो समय सहर र धनीवर्ग केन्द्रित भएको आरोप लागेको सन्दर्भ उल्लेख गर्दै लघुवित्तलाई गरीब र विकट कर्णाली जस्तो दुरदराजमा पुगेर सेवा दिन आग्रह गरे । साथै, उनले सेवा भावले गरेको कार्यले पछिसम्म सन्तुष्टि दिने धारणा राख्दै आफ्नो प्रयासमा २०४८ सालताका स्थापना गरेका वीपी नेत्र प्रतिष्ठान, प्रौढ कल्याण संघ, पूर्वकर्मचारी सेवा परिषद् आदि जस्ता सेवामूलक संस्थाहले अहिले समाजमा निकै राम्रो काम गरेको कारण आफूलाई निकै सन्तुष्टि मिल्ने गरेको जानकारी दिए । सो अवसरमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तलाई सही बाटोमा हिँडाउन र सामाजिक रूपान्तरणको अस्त्रको रूपमा प्रभावकारी बनाउन स्वावलम्बन विकास केन्द्र लागि परेको उल्लेख गरे । यसका साथै पछिल्लो समय लघुवित्तलाई एउटा सामाजिक व्यवसायको अभियानका रूपमा अंगाल्न पहल गर्ने र धनी झन्झन् धनी बन्ने र गरीब झन् गरीब बन्ने अहिलेको अवस्थाको अन्त्य हुने गरी नयाँ सभ्यता विकासमा काम गर्न प्रेरित गर्न सुरुवात गरेको जानकारी दिए । सो अवसरमा उनले चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले पारित गरेको घोषणापत्रको अक्षरशः पालना गरे लघुवित्त पुरानै सुनौलो युगमा फर्कन सक्ने धारणा राखे । सो अवसरमा उनले केन्द्रको ३३ वर्षे यात्राका सहयात्री, सहकर्मी, सहयोगी र साझेदार संस्था तथा व्यक्तिहरुलाई आभार व्यक्त गरे । सो अवसरमा केन्द्रका उपाध्यक्ष महेन्द्रकुमार गिरीले केन्द्रको ३३ वर्षे यात्रा सस्मरण गरेका थिए । सो अवसरमा उनले सुरुका दिनमा कर्णालीका विकट जुम्ला, कालिकोट लगायतका जिल्लाबाट स्वावलम्बन सामुदायिक विकास कार्यक्रम सुरु गरेको, केही पछि पूर्वी तराई तीनवटा जील्लाबाट लघुवित्त कार्यक्रम सुरु गरेको र लघुवित्त कार्यक्रमको सबै दायित्व स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरी हाल केन्द्रले लघुवित्तको विकास र प्रवद्र्धनको लागि राष्ट्रिय सञ्जालको रूपमा काम गरी रहेको जानकारी दिए । समारोहमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्यवाहीक विवरण पनि विमोचन गरिएको थियो । विसं.२०४८ साल साउन २८ मा स्थापना भई पुष १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्लाबाट सामुदायिक स्वावलम्बन विकास परियोजना सञ्चालन गरेर लघुवित्तको सुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुर जिल्लामा स्वावलम्बन बैकिङ कार्यक्रम सुरुवात गरेको थियो । विपन्न र पिछडिएका महिलाहरूमा वित्तीय पहुँच पुर्याउने उद्देश्यका साथ परीक्षणको रूपमा सुरु गरिएको यो कार्यक्रमको सफलतापछि स्वावलम्बन लघुवित्त कार्यक्रम मुलुकभर विस्तार भएको हो । २०५१ सालमा सुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम २०५८ मा ८ जिल्लाका ३५ हजारभन्दा वढी सदस्य र २९ हजार ऋणी सदस्यहरु सहित स्वावलम्बन विकास बैँक (हाल स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि.) प्रवद्र्धन गरी कर्जा सँगै सम्पति दायित्व एवं जनशक्ति हस्तान्तरण गरियो । यसको करिब एक दशकपछि थप १४ जिल्लाका ५८ हजार ४ सय ४१ सदस्य सहित जिन्सी, नगद तथा जनशक्ति स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको थियो । केन्द्रको पहलमा विसं.२०४९ सालमा जुम्लामा ६१ वटा आत्मनिर्भर समूह गठन भएका थिए । त्यसपछि कालिकोट, दाङ, सल्यान र ओखलढुङ्गा जिल्लामा पनि कार्यक्रम विस्तार गरिएको थियो । लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेपछि केन्द्रले आफ्नो कार्यदिशा परिवर्तन गरेको हो । यसले लघुवित्त संस्थाहरूमा स्वच्छ लघुवित्त प्रवद्र्धन र शुद्धिकरणको लागि सक्षम र सकारात्मक जनशक्ति निर्माणमा लागेको छ । साथै, लघुवित्त सेवाग्राही सदस्यहरुको चेतना, क्षमता तथा वित्तीय साक्षरता विकास गर्ने कार्यको पनि संयोजन गर्दै आएको छ । लघुवित्त तथा सहकारी संस्थाहरुसँगको सहकार्यमा केन्द्रले ‘स्वच्छ लघुवित्त निर्माणको अभियान, घरघरमा उद्यम फैलाउने अभियान, साथै स्वरोजगार सृजना गर्ने जस्ता अभियानहरु चलाउदै आएको छ । पछिल्लो समय उद्यमशीलता विकास अभियान, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास अभियान, सामाजिक व्यवसाय तथा युवा उद्यमशीलता विकास लगायतका अभियान पनि सुरु गरेको छ । हाल केन्द्रले गरीबी र बेरोजगारी सँगै वातावरण तथा जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा पनि काम गर्दै आएको छ । यसका लागि लघुवित्त तथा सहकारी संस्थाहरू, विभिन्न स्कुल, कलेजहरू एवं अन्य साझेदार संस्थाहरू सँग सहकार्य गरी तीन शून्य क्लबको गठन तथा प्रवद्र्धन गर्ने, विद्यालयस्तरमा वातावरणीय शिक्षा प्रदान गर्ने जस्ता कार्यको पनि थालनी गरेको छ । साथै, बंगलादेशको यूनुस सेन्टर सँगको सहकार्यमा नेपालमा पनि सामाजिक व्यवसाय प्रवद्र्धनका लागि जनवकालत तथा पैरवी पनि गर्दै आएको छ ।

स्वास्थ्यमन्त्रीको निर्णयपछि कति भयो सरकारी अस्पतालको सुधार ?

काठमाडौं । सरकारी अस्पतालमा सेवाग्राहीको भीड हुँदा प्रभावकारी व्यवस्थापन नभएको भन्दै पटक–पटक आलोचना हुन्छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न संघीय अस्पतालमा बिरामीको भीड हुँदा सेवा पाउन मुस्किल हुने गरेको आम नागरिकको गुनासो छ । सरकारी अस्पतालमा दिनभर लाइनमा बसेर साँझ पालो नपाएर घर फर्किनु पर्ने बाध्यता पनि छ । काठमाडौंका ठूला अस्पताल वीर, टिचिङ, थापाथली र शुक्रराज अस्पतालमा अप्रेसनको लागि महिनौ कुर्नुु पर्ने बाध्यता छ । आम नागरिकको यो गुनासोलाई सम्बोधन गर्न भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल सेवा सुधारको सुरुवात गरेका गरिने प्रतिबद्धता गरेका थिए । उनले स्वास्थ्यमन्त्रीको सपथ लिएकै दिन अस्पतालको भीड व्यपस्थापन गर्ने निर्णय गरेका थिए । अहिले उनी स्वास्थ्य मन्त्री बनेको एक महिना भएको छ । आफ्नो पहिलो निर्णयअनुसार मन्त्री पौडेलले सेवाग्राहीलाई सहजरूपमा सेवा प्रदान गर्न संघीय अस्पताल र प्रतिष्ठानका प्रमुखसँग छलफल पनि गरेका छन् । उनले आफूले गरेको पहिलो निर्णयको कार्यान्वयन र प्रभावकारिताको विषयमा पनि सोधखोज गरेका छन् । अस्पतालहरूले पनि एक महिनाको अवधिमा धेरै सुधार भएको धारणा राखेका छन् । कुन अस्पतालको कस्तो सुधार ? शुक्रराज ट्रपिकल काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भीडभाड कम गर्न ओपीडी सेवा दुई सिफ्टमा गर्न थालेको छ भने चार वटा टिकट काउन्टर टोकन प्रर्णाली, अनलाइन टिकेटिङको व्यवस्था गरेको जानकारी दिएको छ । अस्पतालले शैया अभावमा भर्ना नपाउने अवस्थाको अन्त्य भएको, स्वास्थ्य बीमा मार्फत प्राप्त हुने फार्मेसीमा ९० प्रतिशतभन्दा बढी औषधी उपलब्ध गराइएको र चौबीसै घण्टा सोधपुछका लागि साहयता कक्ष सञ्चालन गरेको बताएको छ । यस्तै, अस्पतालमा पीउने पानी, शौचालयको सफाइमा ध्यान दिनेदेखि नियमित कामका लागि अस्पताल प्रमुखलाई पर्खन नपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । परोपकारी प्रसूती तथा स्त्रीरोग अस्पताल यो अस्पतालले भीड व्यवस्थापनका लागि अनलाइन टिकेटिङ प्रभावकारी बनाएको जानकारी दिएको छ । अस्पतालका निर्देशक श्री अधिकारीले जनरल ओपीडी सेवा ९ बजेदेखि ४ बजेसम्म र अपरेशन सेवा पनि १ घण्टा बढाइ ९ बजेदेखि ४ बजेसम्म राखेको जानकारी दिए । यस्तै, विस्तारित अस्पताल सेवा अन्तर्गत ओपीडी सेवा ४ बजेदेखि ६ बजेसम्म, गर्भमा भएको बच्चाको मुटु इकोकार्डियोग्राफी, नवजात शिशु तथा बालरोगको विस्तारित ओपीडी सेवा ४ बजेदेखि ६ बजेसम्म दिने गरेको छ । आमा सुरक्षा र नवजात शिशु निःशुल्क उपचार सेवा र औषधीको कमी हुन नदिन कर्मचारीलाई जिम्मा दिइएको, सोधपुछ÷सहायता कक्ष व्यवस्था, गुनासो सुन्ने कार्य प्रभावकारी बनाइ सरसफाईमा ध्यान दिरहेको अस्पतालले जनाएको छ । वीर अस्पताल नेपालकै सबैभन्दा जेठो अस्पताल हो वीर अस्पताल । यो अस्पतालमा सेवा लिन निकै कठिन हुने गरेको बिरामीको पनि गुनासो हुन्छ । स्वास्थ्य मन्त्री पौडेलको निर्देशनपछि वीर अस्पतालले ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ भने जनशक्ति थप्दै अझ सुधार गर्ने निर्णय गरेको छ । अस्पतालले साउन १३ गतेदेखि इएचसी सेवा लागु गरेको छ भने तीन स्थानमा फार्मेसी र खाजाको समयमा पनि टिकट काउन्टर खुला राखी सेवा दिएको अस्पतालले जानकारी दिएको छ । राष्ट्रिय ट्रमा सेन्टर यो अस्पतालले पनि ओपीडी दुई सिफ्टमा सञ्चालन गरेको छ । बिहान साढे ८ बजेदेखि साढे ४ बजे र इएचसी, ओपीडी अपरान्ह साढे ४ बजेदेखि दिन सुरु गरेको छ । यस्तै, विस्तारित अस्पताल सेवा कार्यक्रम व्यवस्थित गरेको, आकस्मिक शल्यक्रिया २४ सै घन्टा सञ्चालन गरिएको र नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको ७ दिनभित्र र ओपीडी अन्तर्गतका बिरामीको १ महिना भित्रमा शल्यक्रियाको पालो आउने व्यवस्था मिलाइएको जानकारी दिएको छ । अस्पतालको स्वास्थ्य बीमा औषधी पर्याप्त राख्ने र दुई फार्मेसी सञ्चालन, दइटा टिकट काउन्टर तथा अनलाइन टिकटको व्यवस्था गरेको अस्पतालले जानकारी दिएको छ । भक्तपुर क्यान्सर अस्पताल यो अस्पतालले पनि ओपीडी दुई सिफ्टमा र विस्तारित स्वास्थ्य सेवा सुरू गरेको छ । अस्पतालका अनुसार इएचसी सेवा थप गरी सर्जरी र रेडियोलोजी लगायत अन्य विभागमा लागु गरेको छ । अस्पतालमा बिरामी भर्ना, खाली बेड वेवसाइटबाटै जानकारी दिने र ५ वटा शल्यक्रिया कक्षमा शल्यक्रिया हुने व्यवस्था गरेको छ । अस्पतालका अनुसार ९० प्रकारका केमोथेरापी औषधी र अन्य औषधी बीमा फार्मेसीमा उपलब्ध गराइने, टिकट काउन्टरमा टोकन र क्युआर भुक्तानी प्रणाली लागु गरिएको जानकारी दिएको छ । मोनमोहन कार्डियोथोरासिक भास्कुलर यो अस्पतालले ओपीडी टिकट बिहान साढे ११ बजेसम्म उपलब्ध गराई दिउसो परामर्श दिने कार्य सुरु गरेको छ । शल्यक्रिया र उपचारको लागि एक महिनाभन्दा कम समय दिइने, अनलाइन टिकट मोबाइल एपबाटै लिन सकिने र ल्याब रिपोर्ट अनलाइनबाटै प्राप्त गर्ने योजना यस अस्पतालले राखेको छ । कान्ती बाल अस्पताल बालबालिकालाई सेवा दिने यो अस्पतालले ओपीडी दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । विस्तारित अस्पताल सेवा लागु गर्ने, चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज समय व्यवस्थापन गर्ने, ३ बेड पीआईसीयू थप, ३ एनआइसीयू बेड र २० अब्जरवेसन बेड थप गर्ने तयारी अस्पतालले गरेको छ । यस्तै, स्वास्थ्य बीमा मार्फत् प्राप्त हुने ८० प्रतिशत औषधी उपलब्ध गराउने, टिकट काउन्टर संख्या थप, अनलाइन टिकट र विद्युतीय भुक्तानी प्रणाली सुचारु गरी भीड व्यवस्थापनका लागि टोकन प्रणाली थप व्यवस्थित गरिने अस्पतालले जानकारी दिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान यो अस्पतालले भीड व्यवस्थापनका लागि जर्नल पेइङ्ग क्लिनिक प्रणालीको व्यवस्था गरेको छ । यस्तै, विस्तारित सेवा प्रवाहका लागि पीपीपी सेवा थप व्यवस्थित गर्ने, चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज समय व्यवस्थापन, डिजिटल विलिङ भाद्र १ देखि लागु गर्ने, बिदाको दिनमा समेत ओपीडी एवं शल्यक्रिया सेवा सञ्चालन गर्ने योजना बनाएको छ । आयुर्वेद चिकित्सालय आयुर्वेद चिकित्सालय अस्पतालले ओपीडी र काउन्टर सेवा बिहान साढे ८ देखि दिउँसो २ बजे र बेलुका साढे २ देखि ५ बजेसम्म सञ्चालन गर्ने, विस्तारित स्वास्थ्य सेवा कार्यक्रम लागु गर्ने तयारी गरेको छ । अस्पतालले चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज सेवा सुधार, टोकन र विद्युतीय भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।

यातायात कार्यालय मलंगवाले संकलन गर्‍यो ६ करोड बढी राजस्व

सर्लाही । यातायात व्यवस्था कार्यालय मलंगवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत आवमा यस कार्यालयले ६ करोड ३६ लाख ५८ हजार ९१ रुपैयाँबराबर राजस्व संकलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत १४ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, पटके, रुट परमिटलगायत कारबाहीबाट २ लाख ९२ हजार ८ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत १ करोड ४६ लाख ३८ हजार ३ सय १५ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख यादवले बताए । सवारीसाधन करबाट ४ करोड ७३ लाख ११ हजार ४ सय ३६ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको हो । कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा ७० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलंगवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन ७० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख यादवले बताए । ‘हामीले चैत मसान्तमा एकै दिन ७० लाखसम्म राजस्व संकलन गरेका थियौँ,’ उनले भने, ‘राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ, जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल) समेत सुरु गरेका छौँ, यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छभने राजस्व संकलन दायरा फराकिलो भएको छ ।’ विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए । यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।

सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड, तोलाकाे १ लाख ५० हजार ८ सय रुपैयाँ

काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।  मंगलबार प्रतितोला छापावाला सुनको मूल्य २१ सयले बढेर १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो । यस दिन तेजावी सुनको भाउ पनि २१ सयले नै बढेर प्रतितोला एक लाख ५० हजार १ सय रपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम थियो ।

३१ प्रतिशतले बढ्यो नेपाल लाइफको खुद नाफा, यस्ता छन् अन्य सूचकहरू

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा करिब ३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा ५१ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३९ करोड २९ लाख रुपैयाँ थियो । ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुँक्ता पुँजी भएको कम्पनीले गत आवमा ४० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको अन्त्यसम्ममा कम्पनीको दीर्घकालीन लगानी १ खर्ब ९१ अर्ब २७ करोड ६० लाख रुपैयाँ रहेको छ भने अल्पकालीन लागनी १४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२६ रुपैयाँ, पीई अनुपात ९८.८८ र प्रतिसेयर नेटवर्थ १२९.१८ रुपैयाँ रहेको छ । कम्पनीले पुनर्बीमाबापत ७३ करोड ९२ लाख रुपैयाँ, अभिकर्ता कमिसनबापत ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खर्चिएको छ ।

दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि मंगलबार दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए । यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताए ।

प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर बिक्रीपछि नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्ने कम्पनीले जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ । बोलपत्र फाराम साउन २९ गतेदेखि भदौ ६ गते कार्यालय समयभित्र पेस गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । सेयर खरिदका लागि बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरू शंखमूल नयाँबानेश्वर, बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा बुझाउन सकिनेछ ।