विकासन्युज

प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर बिक्रीपछि नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्ने कम्पनीले जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ । बोलपत्र फाराम साउन २९ गतेदेखि भदौ ६ गते कार्यालय समयभित्र पेस गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । सेयर खरिदका लागि बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरू शंखमूल नयाँबानेश्वर, बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा बुझाउन सकिनेछ ।

मातृभूमि लघुवित्तको सेयर कारोबार आजदेखि, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । साविक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय सेयर आजबाट कारोबारमा आउने भएको छ । साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १:०.८८३४ सेयर अनुपात कायम हुने गरी आपसमा मर्ज भएका थिए । मर्जरको कारण रोक्का रहेको सेयर आजबाट फुकुवा भएको हो । मर्जरपछि लघुवित्तको कुल ६२ लाख ८३ हजार कित्ता सेयर मातृभूमि लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएको छ । मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले मातृभूमि लघुवित्तलाई प्रतिकित्ता १२७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

आईएमई लाइफले सातै प्रदेशमा गर्यो बीमा साक्षरता अभियान

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स सातवटै प्रदेशमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन कम्पनीले सो कार्यक्रम गरेको हो । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सोमबार सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको जानकारी दिएको छ । कम्पनी स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । कम्पनीले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय, क्याम्पसमा अध्ययनरत विद्यार्थी र विभिन्न संस्थाहरुमा कार्यारत कर्मचारीहरुलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जनाएको छ । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले उल्लेख गरेको छ । महेन्द्रनगर स्थित कञ्चनपुर गर्ल्स होस्टेल, भिमादस्थित रिसिङ पाटन, चापागाँउ स्थित देवि बहुमुखी क्याम्पस, डडेल्धुरा स्थित भिमदत्त बहुमुखी क्याम्पस, सातदोबाटो स्थित सशस्त्र प्रहरी बल, टिकापुर स्थित टिकापुर बहुमुखी क्याम्पस, अत्तरिया स्थित होलिल्याण्ड उच्च मावि, कैलाली स्थित लम्की बहुमुखी क्याम्पस, तनहुँ स्थित भानुभक्त बहुमुखी क्याम्प्स, लगायत मुलुकभर विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा उक्त बीमा साक्षरता जागरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त बीमा साक्षरता कार्यक्रममा बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।

५ अर्बमा बनेको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्की । पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ । ‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ’, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने । ‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताए । उनले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताए । उनले भने, ‘जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोर्डिका छन् । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।’ सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब रुपैयाँ बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए । सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताए । रासस

सुनसरीमा फरार प्रतिवादीबाट एक वर्षमा ६ करोडभन्दा बढी राजस्व

इनरुवा । गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा छ करोड रुपैयाँमाभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा छ करोड ६६ लाख ३० हजार नौ सय ९१ रुपैयाँ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक सय ४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा एक सय ९३ वर्ष छ महिना छ दिन कैद भुक्तानी भएको छ भने राजस्व तथा जरिवानाबाट छ करोड ६६ लाख ३० हजार नौ सय ९१ रुपैयाँ असुल भएको प्रनाउ भण्डारीले जानकारी दिए ।

बी एण्ड बी अस्पतालमा सुरु भयो रोबोटिक शल्यक्रिया

काठमाडौं । बी एण्ड बी अस्पतालले नेपालमा पहिलो रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । ललितपुरमा रहेको बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको हो । अस्पतालका अनुसार यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको छ जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने छ भने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्नेछ । ‘बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको शुरुवातले नेपालमा चिकित्सा अभ्यासको अग्रभागमा अत्याधुनिक प्रविधि ल्याएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउँछ, रिकभरी समय कम गर्छ र बिरामीका लागि छिटो स्वास्थ्यलाभ हुन्छ ।’ उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको बताइएको छ । बी एण्ड बी अस्पतालका प्रा. डा. जगदीशलाल वैद्यले भने, ‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौ । यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो। रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ, यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ।’ बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवातले संस्थाको निरन्तर सुधार र चिकित्सा प्रविधिमा अत्याधुनिकता अपनाउने प्रतिबद्धतालाई प्रस्तुत गर्ने अस्पतालको दाबी छ । यो ऐतिहासिक उपलब्धिले नेपालमा स्वास्थ्य सेवाको परिदृश्यलाई रूपान्तरण गर्दै बिरामीहरूलाई अत्याधुनिक शल्यक्रियामा पहुँच प्रदान गर्नेछ कम्पनीले जानकारी दिएको छ ।

आईएमई लाइफका सीईओ फुँयालको दोस्रो कार्यकाल स्वीकृत

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो । उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट २०८१ श्रावण २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको छ ।

सूर्यज्योति लाइफका शाखा कार्यालय गाभिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका शाखा कार्यालय गाभिने भएको छ । कम्पनीका विभिन्न शाखा कार्यालयहरू भदौ २ गते आइतबारदेखि लागू हुने गरी गाभिने भएका हुन् । कम्पनीका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित चनौली शाखा नरायणघाट शाखामा गाभिएर सेवा प्रदान गरिनेछ । यस्तै मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी शाखा हेटौडा उप–महानगरपालिका–४ हेटौडा शाखामा गाभिएर सेवा निरन्तर हुने कम्पनीले जनाएको छ । गाभिने शाखा कार्यालयबाट प्रवाह भइरहेका सम्पूर्ण सेवाहरु गाभिएको शाखाबाट प्रवाह हुने भएकोले सम्पूर्ण बीमित, अभिकर्ता तथा अन्य सेवाग्राहिहरु, नियमनकारी निकायलाई कम्पनीले जानकारी गराएको छ । कुनै कठिनाई उत्पन्न भएमा वा थप जानकारी आवश्यक भएमा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।