विकासन्युज

सरकारद्वारा सिफारिस राजदूतविरुद्ध सार्वजनिक उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा मंगलबार भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सरकारले यही साउन १४ गते डा शंकर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा. शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलंका) र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा. शैल रुपाखेती (जर्मनी), जङ्गबहादुर चौहान (रुसी महासंघ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा. नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेललाई (पोर्चुगल) लाई सिफारिस गरेको छ । नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

‘महिन्द्रा युभो टेक प्लस’ ट्याक्टर नेपालमा

काठमाडौं । नेपालका लागि महिन्द्राको डिलर अग्नी ग्रुपले नयाँ प्रविधिको ट्याक्टर भित्र्याएको छ । महिन्द्राको युभो टेक प्लस ट्याक्टर नेपालमा सार्वजनिक भएको हो । कृषि क्षेत्रमा उपयोग हुने यस्ता ट्याक्टरको विराटनगर, दमक, जनकपुर, विरगंज, चितवन र नेपालगन्जमा रहेका ६ वटा अग्नी शाखा र डिलरबाट एक साथ बिक्री सुरु भएको कम्पनीले जनाएको छ । युभो टेक प्लस ट्याक्टरहरूका १२ वटा स्पिड रेन्ज अप्सन र ३ वटा रिभर्ससहितको गियरबक्स उपलब्ध छ । यसका रहेको गियरलाई माटोको प्रकार र खेती अनुसार गियर र गति चयन गरेर चलाउन सकिन्छ । खेतीमा काम गर्ने भएर पनि आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । युभो टेक प्लस सिरिजको उद्घघाटन समारोहमा बोल्दै एफइएसका अन्तर्राष्ट्रिय अपरेसन प्रमुख केदार आप्टेले भने, ‘खेती र जीवनलाई समृद्ध बनाउने हाम्रो उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न हामी प्रतिबद्ध छौं, यी ट्याक्टरमा नयाँ उन्नत इन्जिन, गियरबक्स र हाइड्रोलिक प्रविधि छ , त्यसैले उत्कृष्ट उत्पादनशीलता, आराम र आम्दानी प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’ ‘परिवर्तित समयसँगै नेपालको किसानहरू विकसित हुँदैछन् र कृषि उत्पादकत्व र त्यसैले आम्दानी बढाउनको लागि सबैभन्दा अगाडि टेक्नोलोजीको साथ उच्चस्तरको सशक्तिकरण खोजिरहेको अवस्थामा हामीले युभो टेक प्लस ट्याक्टर ल्याएका छौं । यसको लाभ उपभोक्ताले पाउने छन्’, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने ।

भ्रष्टाचार मुद्दामा हदम्याद स्वीकार्य छैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘भ्रष्टाचारमा हदम्याद राख्ने कुरा स्वीकार्य छैन । भ्रष्टाचारमा हदम्याद राखेर विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा छ । त्यो स्वीकादैनौं,’ उनले भने । साथै, पार्टीले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने तयारी गरेको परियारले बताए । उनले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ, त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ, जलनसम्बन्धी विधेयक अन्तिम छलफल हुँदै छ र सम्भवतः आज नै दर्ता गछौं ।’ यस्तै, विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्ने उनको भनाइ छ ।

चौतर्फी विरोधपछि मधेशका मुख्यमन्त्रीले गरे ८ राज्यमन्त्री बर्खास्त

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई पत्राचार गरिएको छ । साथै, उनीहरूलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो । यही साउन २२ गते गठित मन्त्रिपरिषदमा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेको उक्त कार्यालयले जनाएको छ । मधेसमा २० सदस्यीय मन्त्रिपरिषद गठन भएकामा चौतर्फी विरोध भएको थियो ।

दमौली अस्पताललाई एक करोडको उपकरण हस्तान्तरण

तनहुँ । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड रुपैयाँ मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ । विभागले हेमाटोलोजी एनालाइजर, अटोमेटेड युरिन एनालाइजर,फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो । पूर्वमन्त्री शंकर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरेका हुन् । नयाँ उपकरण जडान भएसँगै अब दुई घण्टामा बिरामीले ‘ल्याब रिपोर्ट’ पाउने छन् । यसअघि त्यस्ता विवरण प्राप्त गर्न पाँच घण्टाभन्दा बढी समय लाग्दैआएको थियो । उपकण हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाही, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ मिश्र लगायत सहभागी थिए । यसैबीच, प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारीले अस्पतालको स्तरोन्नतिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छा् ।

बन्दीपुर शिव महिम्नाहा उत्सव सम्पन्न, एकैदिन ६ हजार बढी सहभागी

काठमाडौं । पर्यटकीय एवं धार्मिक ग्राम बन्दीपुरमा साउन १ देखि सञ्चालनमा रहेको शिव महिम्नाहा उत्सवको  समापन भएको छ । खचाखच भरिएको ६ हजारभन्दा बढीको उपस्थितिकाबीच व्यास आश्रमका संरक्षक कीर्तन शिरोमणि शान्ति स्वरूपानंद दामोदर बाबाले गरेका थिए । समापन मन्तव्यमा उनले वनदेवीको मुख्य आश्रम स्थल बन्दीपुरमा नै रहेको र भगवान् शिवजीले वनदेवीलाई प्रेरणाको स्रोतको रूपमा लिने गरेकोले बन्दीपुर धार्मिक पर्यटनको केन्द्र बन्नुपर्ने बताए । समापनको समारोहमा एक दिने शिव पुराण पण्डित दीपक सापकोटाले सङ्गीतमय ढंगबाट प्रस्तुत गरेर भक्तजनलाई भरपुर आनन्द तुल्याएका थिए । समारोहको सभापतित्व शिव महिम्नाहा उत्सवु मूल आयोजक समितिका संयोजक किरण पोखरेलले गरेकोमा सञ्चालन चिन्तामणि शर्माले गरेको कार्यक्रममा भक्तजनहरूलाई कृष्णराज अधिकारीले स्वागत गरेका थिए । त्यस्तै सन्ध्याकालीन आरती भने साउन ३२ सम्म सिद्धेश्वर महादेव मन्दिर केबलकार चोकमा चलिरहने छ। साउन महिनाभरि चलेको महामहिमा यात्रा सम्पन्न गर्न बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले मुख्य प्रायोजन गरेको थियो भने समग्र इभेन्ट व्यवस्थापन आरकेडि होल्डिङ्ग लिमिटेडले गरेको कार्यक्रममा सहयोगीका रूपमा बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्ग देवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था र तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका छन् ।

जीवनभर राप्ती नदीको डर

बाँके । बाँकेको राप्ती सोनारी–७ फत्तेपुरको पिप्रहवा गाउँ निवासी दुर्गाप्रसाद पाण्डेको उमेर अहिले ६० वर्ष कटिसकेको छ । उनी जान्ने भएदेखि अहिलेसम्म राप्ती नदीको बाढी गाउँमा पसेर डुबाउने चिन्ताले छोडेको छैन । ‘मैले जान्ने भएदेखि राप्ती नदीको बाढी, डुबान र कटानको समस्या झेल्दै आएको छु, यो समस्या कम भएको छैन झन् बढ्दै गएको छ’, पाण्डेले भने, ‘पहिला नदी टाढा थियो, चिन्ता अलि कम थियो अहिले नदी नजिकै आएर कटान गरिरहेको छ, चिन्ता झन् बढ्दै गएको छ ।’ नदीको कटान नियन्त्रणका लागि बनाइएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएर बगाएपछि अहिले नदीले खेतीयोग्य जमिन कटान गर्दै गाउँतिर सोझिएको उनले बताए । दुई वर्षअघि बाढीले भत्काएको तटबन्ध पुनःनिर्माण हुन नसक्दा नदीमा ठूलो बाढी आउँदा गाउँमा पस्ने खतरा बढ्दै गएको उनको भनाइ छ । राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्तीका शङ्कर यादवले बताए । ‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ’, यादवले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।’ दिउँसो नदीमा बाढी आएको थाहा हुने भए पनि रातिको समयमा भने धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ । राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला राप्ती सोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गङ्गापुर, सोनवर्षालगायत गाउँका करिब एक हजार परिवार राम्रोसँग निदाउन नसकेको यादवले बताए । राप्ती नदीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि त्रासमा राख्दै आएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डे दीपुले बताए । ‘राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ’, पाण्डेले भने, ‘नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ ।’ राप्ती नदीमा तटबन्ध नबन्दा तल्लो तटीय क्षेत्रका नागरिकको जीवन राप्तीमा आउने बाढीको डरसँगै बित्दै आएको छ । दीर्घकालीन रुपमा समस्या समाधानका लागि नदीको दुवै किनारामा पक्की तटबन्ध नबन्दासम्म नदी छेउका नागरिकको दुःख जीवनभर रहने पाण्डेको बुझाइ छ । ‘दिउँसोको समयमा बाढी आए भागदौड गर्न सकिएला तर रातको समयमा आए हाम्रो ठूलो धनजनको क्षति हुने भएकाले राज्यले ध्यान दिन जरुरी छ’, उनले भने, ‘तटबन्ध भत्किएको दुई वर्ष भइसक्दा पनि राज्यले हाम्रो समस्यालाई गम्भीर रूपले नलिएको हुँदा थप चिन्तित छौँ ।’ राप्ती नदीले वर्षायाम सुरु हुनासाथ राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगञ्ज र राजपुर क्षेत्रमा डुबान र कटान गर्ने गरेको छ । ‘नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ’, स्थानीय अगुवा रामदास थारूले भने, ‘नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई हामीले आग्रह गर्दै आए पनि चासो नदिँदा कृषियोग्य जमिन तीव्र रुपले नदीको कटानमा परिरहेको छ ।’ राप्तीपारि बैजापुर, बिनौना क्षेत्रमा तटबन्ध निर्माण भएपछि राप्ती नदीको भँगालो कचनापुर क्षेत्रतिर फर्केर कटान गर्न थालेकाले राप्ती नदीको कटान नरोकिए मानव बस्तीसमेत जोगाउन कठिन हुने उनले बताए । ‘नदीले अहिलेसम्म खेतीयोग्य जमिन कटान गरिरहेको छ । कटान नरोकिए यहाँको बस्ती नै बगाउने खतरा छ’, उनले भने, ‘खेतीयोग्य जमिन कटान गरेर नदी गाउँनजिक आइसकेको छ, हाम्रो पीडा सुनिदिने निकाय कोही भएन ।’ बस्ती जोगाइदिन माग राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्धन निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । उक्त क्षेत्रको अवलोकन तथा जनताको गुनासो सुन्न पुग्ने जनप्रतिनिधि र प्रहरी प्रशासनका अधिकारीसँग डुबान प्रभावित क्षेत्रका नागरिकले यो वर्ष तटबन्धन निर्माण नभए ठूलो बाढी आउनासाथ राप्ती नदीले गाउँ डुबान गर्ने भएकाले तत्काल पहल गर्न माग गर्दै आएका छन् । बाँके–१ का प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विभिन्न दलका नेताले निरीक्षण गरे पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकामा स्थानीयवासी दुःखी छन् । ‘सांसददेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण गरेर फर्किए तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । बेलैमा काम अगाडि नबढे धेरै क्षति हुने निश्चित छ’, नरैनापुर–६ गङ्गापुरका अगुवा सोहनलाल यादवले भने, ‘डुबानबाट बस्ती जोगाइदिन हामीले सबैसँग हारगुहार गर्यौँ तर हाम्रो दुःख राज्यले सुनेन ।’ राप्ती नदीको कटान नियन्त्रण गर्न निर्माण भएको तटबन्ध भत्काएर नदीले सडक कटान गरे पनि यसको रोकथामका लागि राज्यले अहिलेसम्म कुनै चासो नदिएको यादवले बताए । राज्यले बेलैमा तटबन्ध निर्माण नगर्दा राप्ती सोनारी गाउँपालिका–६ र ७ र नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेको उनको भनाइ छ । तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्ती जोखिममा रहेका छन् । बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा ठूलो क्षति हुने अवस्था आएको वडा नं ७ का अध्यक्ष रामलखन थारूले बताए । यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्बार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको वडाध्यक्ष थारूको गुनासो छ । बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयले हरेक वर्षको बर्खायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको राप्ती सोनारी गाउँपालिका–६, जरैयाका स्थानीय भक्तिराम पाण्डेले बताए । गत सालको बाढीले आफ्नो एक बिगाहा जमिन नदीले कटान गरेर लगेको पाण्डेले बताए । उनले बाँकी रहेको एक बिगाहा जमिनतिर नदी सोझिएकाले कतिबेला त्यो पनि लैजान्छ भनेर हेर्नुको विकल्प नभएको गुनासो गरे । राप्तीसोनारी गाउँपालिका–६ स्थित नटीको किनारमा पर्ने खल्लाटेपरी, जरिया र ढलेया बाढीबाट अत्यन्तै जोखिममा रहेको वडाध्यक्ष लवराज खरेलले जानकारी दिए । खल्लाटेपरीमा जनता तटबन्धको ड्याम भए पनि बाढीले तारजालीसमेत भत्काउँदा अत्यन्तै जोखिममा रहेको उनको भनाइ छ ।  बाँकेमा राप्ती नदीले गर्दै आएको कटान नियन्त्रणका लागि तय भएको पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरु नहुँदा कटान तथा डुबानको समस्या यथावत् रहेको छ । आयोजनाअन्तर्गत राप्ती नदीको कटान नियन्त्रणका लागि करिब ३५ किलोमिटर तटबन्ध र अन्य संरचनाहरु प्रस्ताव गरिएको छ । भारत सरकारको जल संसाधन, नदी विकास एवं गङ्गा संरक्षण विभागसँगको सम्झौताअनुसार नेपाल सरकारले आयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको हो । आर्थिक वर्ष ०८४/८५ मा सम्पन्न गर्ने गरी दश अर्ब ४४ करोड ८१ लाख रुपैयाँको लागतमा आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा राप्ती नदीमा बायाँतर्फ १५ दशमलव चार सय ६२ किलोमिटर र दायाँतर्फ १९ दशमलव तीन सय ७१ किलोमिटर गरेर जम्मा ३४ दशमलव आठ सय ३३ किलोमिटर तटबन्ध गरिने तयारी रहेको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताए । पानीको प्राकृतिक प्रवाह नै अवरुद्ध हुनेगरी भारतले बाँकेको होलिया नजिकै एकतर्फी रूपमा १३ किलोमिटर लामो कलकलवा तटबन्ध निर्माण गरेपछि नेपालबाट दक्षिण बग्ने खोलानालाको प्राकृतिक प्रवाह रोकिँदा नेपाली भूमि डुबानमा पर्दै आएको छ । नेपाल सरकारका तर्फबाट पटक–पटकको प्रयासपछि डुबान, कटान र पटानले संकट निम्त्याउँदै आएको बाँके जिल्लास्थित राप्ती नदीमा पक्की तटबन्ध निर्माण गर्न भारत सरकार गत वर्ष सहमत भएको थियो । सोही सहमतिअनुसार नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने प्रारम्भिक कार्य सुरु गरेको प्रतिनिधिसभा सदस्य ढकाल बताउँछन् । खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्कालका लागि अस्थायी तटबन्ध निर्माणका लागि राज्यको ध्यानाकर्षण गराएको उनको भनाइ छ । रासस

मोफसलमै खुल्यो ४ अर्ब लगानीकाे टायल्स उद्योग, एभरेष्टसहित यी चार बैंकले दिए ऋण

काठमाडाैं । कजारिया रमेश टायल्सले भैरहवामा चार अर्ब रुपैयाँ लगानीमा टायल्स उद्योग सञ्चालन गरेको छ । सोमबारदेखि सञ्चालनमा आएको उद्योगको वार्षिक उत्पादन क्षमता ५१ लाख वर्गमिटर टायल रहेको कम्पनीले जनाएको छ । कजारिया रमेश टायल्स, रमेश कर्प र भारतको टायल निर्माता कम्पनी कजारिया सेरामिक्सको संयुक्त उत्पादन हो । यसै सहकार्यमार्फत नवलपरासीमा टायल निर्माण कारखाना स्थापना गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कारखाना स्थापनासँगै स्थानीय कच्चा पदार्थ प्रयोग गरी कजारियाले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । उद्योगले नयाँ आधुनिक उत्पादन केन्द्र किल्न लाइट अप अर्थात् भट्टी प्रज्ज्वलनको पनि उद्घाटन गरेको छ । अब बजारको मागअनुसार टायल्स उत्पादन गर्ने उद्योगले जानकारी दिएको छ । ‘नेपालमा नयाँ उत्पादनको केन्द्र स्थापना भएकामा हामी गौरवान्वित छौं,’ कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने, ‘यो आधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ ।’ मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रियामा रहेको कजारिया रमेश टायल्सका अध्यक्ष प्रतीक जलानले बताए । ‘हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौं,’ उनले भने, ‘यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धता हो ।’ उद्योगले स्थानीय अर्थतन्त्रलाई विकास गर्नुका साथै रोजगारी सिर्जना गर्ने समेत विश्वास लिएको जनाएको छ । कजरिया भारतमा ३५ वर्ष पुरानो उद्योग हो । उद्योगमा ५० प्रतिशत कजरिया र ५० प्रतिशत रेमश कर्पको लगानी रहेको बताइएको छ ।उद्योगमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको बताइएको छ । उद्योगका अनुसार एभरेष्ट बैंकको अगुवाईमा ३ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । यो प्रोजेक्टमा सह-वित्तियकरणमा नबिल बैंक, नेपाल बैंक र प्रभु बैंकले ऋण लगानी गरेको बुझिएको छ । कजरियाले ३ अर्ब ४ करोड ऋणको रेटिङ गराएको छ । के हाे कजारिया रमेश टायल्स ? कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो । यसै सहकार्य मार्फत नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने कजारिया रमेश टायल लिमिटेडले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्वाकंक्षा लिएको छ । नवलपरासी स्थित कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्नेछ । कारखाना निर्माणका लागी गरिएको ४ अर्ब नेपाली रुपैयाँको लगानीले अर्थतन्त्रलाई प्रोत्साहन दिने र विश्वस्तरीय कजारिया टायलहरू सस्तो मूल्यमा उपलब्ध गराउने विश्वास कम्पनीकाे छ । कारखानाले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय वृद्धि गर्नुका साथै हजारौं रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा कम्पनीले लिएको छ । कजारिया रमेश टायल्स लिमिटेडले स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउँदै वृद्धि र विकासलाई प्रवर्द्धन गर्ने कम्पनीकाे भनाइ छ ।