एकपछि अर्को हवाई दुर्घटना भएपछि सांसद चिन्तित, गम्भीर भएर लाग्न सरकारलाई आग्रह
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई सुरक्षित बनाउन कानुन आवश्यक भए त्यो पनि शीघ्र तर्जुमा गर्नुपर्नेमा जोड दिइन् । ‘देशको उड्डयन क्षेत्रमा गम्भीर समस्या देखिएको छ, यस क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित सबै निकायलाई आग्रह छ । यो क्षेत्रलाई व्यवस्थित बनाउने कानुन शीघ्र तर्जुमा गरौं,’ सांसद गौतमले भनिन् । सांसद बिना लामाले पछिल्लो समयमा हवाई र सडकयात्रा असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘सडक पनि सुरक्षित छैन, सुरक्षित मानिएको हवाई क्षेत्र पनि असुरक्षित भयो,’ उनले भनिन् ।
‘गिरिबन्धुमा संलग्नलाई कारबाही हुनुपर्छ, विद्युत बक्यौता एक रुपैयाँ पनि छोडिन्नँ’
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले गिरिबन्धुमा संलग्नलाई कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले गिरीबन्धु टी-स्टेट, नक्कली भुटानी शरणार्थी काण्ड, बिजुली बक्यौता र सहकारी ठगीबारे अनुसन्धान गरेर कारबाही हुनुपर्ने धारणा राखे । ‘सरकार फेरियो कुरा फेरिन्छ ? फेरिन्न । यो सदनमा हामी पनि छौं । हामी सत्ता पक्ष र प्रतिपक्षमा बस्दा फरक कुरा गर्दैनौं, सत्तामा बस्दै गर्दा गिरीबन्धु देख्दै नदेख्ने, डेडिकेटेड ट्रंक लाइन देख्दै नदेख्ने, बसेर सहकारी मजाले ठग्ने ? प्रतिपक्षमा बसेपछि सबै देख्ने होइन,’ उनले भने, ‘हामी उता बस्दा पनि त्यही हो यता बस्दा पनि त्यही हो। गिरीबन्धु, भुटानी, डेडिकेटेड ट्रंक लाइन र सहकारीमा ठगलाई पनि अनुसन्धान गर्नैपर्छ ।’ यस्तै, उनले बिजुलीको बक्यौता एक रुपैयाँ पनि कसैलाई छाड्न नसकिने बताएका छन् । सरकारले उद्योगहरूबाट बिजुली बक्यौता उठाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाऊ भनेर कसैले भन्छ ? नउठाउन पाइन्छ ? एक रुपैयाँ पनि छोड्न पाइन्न । एक सुका पनि छोड्न पाइन्न, अरबको कुरा होइन ।’
सेयर बजारमा सामान्य करेक्सन, साढे २१ अर्बको कारोबार
काठमाडौं । लगातार दुई दिन कारोबार रकममा नयाँ रेकर्ड रखेको नेप्से परिसूचक मंगलबार ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा कायम भएको छ । घटेको सेयर बजारमा लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । यो समूह १.५७ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्य बढेको छ भने अन्य समूह घटेको छ । यस दिन सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २.२५ प्रतिशत घटेको छ । चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार कारोबारमा नयाँ रेकर्ड बनाएको सेयर कारोबार मंगलबार भने घटेको छ । मंगलबार २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर बारोबार भएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकममा आधारमा नेपाल फाइनान्स, हिमालयन रि र शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । मातृभुमि लघुवित्त, पिपल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको छ । बैंक र आगन्तुक रिसाेर्ट (धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
भरतपुरका सबै वडामा ‘सिसी क्यामेरा’
चितवन । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपीआर) सहित ४ सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न लागिएको हो । उनका अनुसार छवटा कम्पनीको बोलपत्र परेको छ । महानगरपालिकाले १० करोड ८३ लाख रुपैयाँ बराबरको बजेटको बोलपत्र आह्वान गरेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले सहरी क्षेत्रमा धेरै र ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सिसी क्यामेरा जडान गर्न लागिएको बताइन् । उनले भनिन्, ‘महानगरका सबै वडामा सिसी क्यामेरा जडान गर्दैछौँ ।’ ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ । एकै ठाउँमा कन्ट्रोल रुम रहने गरी महानगर भरी उच्च प्रविधिका सिसी क्यामेरा जडान गर्न लागिएको प्रमुख दाहालको भनाइ छ । नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामेरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो । बोलपत्रको टुंगो लागेपछि सकार्ने कम्पनीसँग सम्झौता गरेको चार महिनाभित्रमा काम सम्पन्न हुने दाहालको भनाइ छ । उनले भनिन्, ‘ढिलोमा यो आर्थिक वर्षभित्रमा महानगरका सबै वडामा सिसी क्यामेराको पहुँच पुग्नेछ ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले महानगरले जडान गर्ने क्यामेराबाट यहाँको शान्तिसुरक्षा र अमन चयनमा सहयोग पुग्ने बताए । शान्तिसुरक्षासँगै यहाँ हुने दुर्घटनाको अनुगमनका लागि क्यामेरा सहयोगी बन्ने छ । उनले भने, ‘कम जनशक्तिमा काम गर्नुपर्दा सिसी क्यामेरा निकै सहयोगी बन्ने छ ।
साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत प्रसारण लाइन, ग्रिड सबस्टेसन क्षमता १३ हजार एमभिए
काठमाडौं । विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्दछ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष (आव) २०८०÷८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ ६ हजार पाँच सय ७ सर्किट किलोमिटर पुगेको हो । कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी ४ हजार १ सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५ सय १४ सर्किट किलोमिटर छ । ४०० केभी प्रसारण लाइन ६ सय ४४ सर्किट किलोमिटर छ । आव २०७२÷७३सम्ममा २ हजार ९ सय ११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो । आव २०७३÷७४मा ३ हजार ३ सय ६४,आव २०७४÷७५मा ३ हजार ५ सय ३८, २०७५÷७६मा ३ हजार ९ सय ९० र आव २०७६÷७७मा ४ हजार २ सय ६९ सर्किट किलोमिटर प्रसारण लाइन थियो । त्यस्तै, २०७७÷७८मा ४ हजार ८ सय ७४, २०७८÷७९मा ५ हजार ३ सय २९ र २०७९÷८०मा ५ हजार ७ सय ४२ सर्किट किलोमिटर प्रसारण लाइन थियो । ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभिए पुगेको छ । आव २०७२÷७३मा २ हजार २ सय २३ एमभिए मात्र रहेको ग्रिड सबस्टेसन क्षमता गत आवसम्ममा १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसनहरु रहेका छन् । प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन् । प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायहरुबाट सहुलितपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताए । ‘स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झण्झट, सडक पनि नभएका भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘यो अवधिमा ४००, २२० र १३२ केभीका धेरै प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ, १३२ केभी प्रसारण लाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल ४०० केभी र २२० केभीबाट चल्न थालेको छ ।’ घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टरहरु भएर जाने दक्षिण करिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायहरुबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताए । देशका प्रमुख शहरहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरु योजना तयार गरी क्रमिकरुपमा कार्यान्वयनमा लगिएकाो उहाँले उल्लेख गरे । भारतसँगको विद्युत व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । यता नेपाल–भारतबीचको विद्युत आयात निर्यातका लागि आठ वर्ष अघि करिब ३५० मेगावाट विद्युत प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको छ । इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा छन् । साथै, नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बंगलादेशबीचको विद्युत्व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणीसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । यसरी, सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी देश चीनसँगको विद्युत व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाइएको छ । विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फपनि ठूलो लगानी परिचालन गरिएको छ । ग्रिड सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत पुर्याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल २ लाख ९ हजार सर्किट किलोमिटर पुगेको छ । आव २०७२÷७३सम्ममा वितरण लाइन १ लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो । त्यतिवेला ५८ प्रतिशत विद्युतीकरण थियो भने हाल ९९ प्रतिशत पुगेको छ । कुल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन १ लाख ५० हजार सर्किट किलोमिटर रहेको छ । वितरणतर्फको सबस्टेसनको क्षमता २ हजार ५ सय एमभिए पुगेको छ । वितरण सबस्टेसनको सङ्ख्या १ सय ९६ वटा छ । आठ वर्षअघि सबस्टेसनको सङ्ख्या ८० वटा मात्र थियो । क्षमता ६ सय ४० एमभिए मात्र थियो ।
सबै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरूलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अंगदान केन्द्र स्थापनाको विषय समेटिएको बताए । ‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन हुनेछन्,’ उनले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’ भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । सीमित जनशक्ति,पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ । भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए ।
एएफसी च्यालेन्ज लिग प्ले अफ एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटको प्ले अफको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ रंगशालामा २९ साउन मंगलबार साँझ ६ः०० बजे सुरु हुने कम्पनीले बताएको छ । यो खेलका लागि चर्च ब्वाइज युनाइटेड टोलीले राष्ट्रिय टोलीका लकेन लिम्बु, सनिश श्रेष्ठ, आयुष घलानसहित केही विदेशी खेलाडीहरुलाई अनुबन्ध गरेको छ । कम्पनीका अनुसार पारो एफसीले जापानका पूर्व स्टार होन्डालाई टिममा भित्राएको छ । होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्, उनी एसियाकै स्टार खेलाडी हुन् । होन्डा मात्र होइन यो पटक पारोले कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ ।