काठमाडौंका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
मलेखु । पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका-७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए.एम.एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका-७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए ।
नेपालमा पनि बंगलादेशको अवस्था आउन सक्छ, सजग रहनुस् : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउन सक्नेतर्फ सचेत गराए । उनले दुई तिहाइको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए । उनले सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताए । उनले भने, ‘सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने ? त्यसबारेमा सोच्नुपर्छ ।’ उनले छिमेकी मुलुक बंगलादेशको उदाहरण दिँदै दुई तिहाइको सरकार भएको देशको प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आउनु सामान्य घटना नभएको बताए । उनले भने, ‘नेपालमा आर्थिक अवस्था जर्जर छ, राजस्व उठ्छ १०/११ खर्ब, चालु खर्चमा १२/१३ खर्ब हुन्छ, ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ, बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाइको सरकार थियो, त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनै पनि बेला केही हुनसक्छ, त्यतातिर पन सतर्क हुनुस् ।’ नेता कोइरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे ।
नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत
काठमाडौं । सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । यही साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उक्त बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा धादिङका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले संघीय भूउपयोग परिषद् सदस्यमा डा. रेवतीरमण पौडेल, डा यमुना घले, डा. रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले नेपाल सरकारका नाममा दर्ता रहेको सिरहाको नवराजपुर गाउँपालिका–४ को ०–१९–० विघा जग्गा इलाका प्रहरी कार्यालय, झाँझपट्टीलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले यही साउन २९ देखि ३२ सम्म भुटानमा आयोजना हुने दक्षिण एसियाली निर्वाचन व्यवस्थापनसम्बन्धी निकायको बाह्रौं सम्मेलन सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (अनुमानित रु १४ अर्ब ६३ करोड) सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (अनुमानित रु एक अर्ब ९९ करोड) अनुदान स्वीकारका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरेको छ । बैठकले निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिव इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।
प्रधानमन्त्री ओलीले भने- २० वर्षको आसपासमा बिहे गर्नुस् र छिटो सन्तान जन्माउनुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए । देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गरे । उनले हाल जनसङ्ख्या वृद्धिदर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे । प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने बताए । सम्मेलनबाट पारित घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा नेपालले प्रस्तुत गर्ने वक्तव्यमा पनि घोषणापत्रका विषय समावेश गरिने बताए ।
पारवहनको महाप्रबन्धकमा पोखरेल र खाद्य कम्पनीमा आचार्य नियुक्त, काँग्रेस र एमालेबीच भागवण्डा
काठमाडौं । सरकारले दुई महत्वपूर्ण संस्थाको नेतृत्वमा दुई जनालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल (ईलाम) लाई नियुक्त गरेको छ भने खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस गरेको थियो । जेठ २३ गते आह्वान गरेको विज्ञापनमा आवेदन दिएकामध्ये अन्तर्वार्ता र प्रस्तुतीकरणबाट ३ जना छनोटमा परेका थिए । मन्त्रालयले बैतडीका कर्ण बहादुर कुँवर, काठमाडौंका गोपाल घिमिरे र इलामका प्रकाशप्रसाद पोखरेल सिफारिस गरेको थियो। ती जनामध्येबाट सरकारले पोखरेललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । पाेखरेल नेकपा एमाले निकट मानिन्छन् । उनी यसअघि नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को प्रमुख कार्यकारी अधिकृत थिए । नेफ्स्कुनबाट बाहिरिएपछि उनले विभिन्न ठाउँमा आवेदन पनि दिएका थिए । उनले यसअघि सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि पनि आवेदन दिएक थिए । तर, उनी सर्टलिष्टबाटै बाहिरिएका थिए । यस्तै, खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका आचार्य धादिङका हुन् । उनी नेपाली काँग्रेस निकट रहेको बुझिएको छ । उनी यसअघि नेपाल उद्योग वाणिज्य महासंघमा कर्मचारी थिए । मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्विकार्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
भ्याली पब्लिकका विद्यार्थीलाई क्याम्ब्रिजको प्रमाणपत्र
काठमाडौं । भ्याली पब्लिक स्कुलका विद्यार्थीलाई विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भ्याली पब्लिक स्कुलमा आयोजित एक कार्यक्रमबीच क्याम्ब्रिज कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । भ्याली पब्लिक स्कुलले विगत एक वर्षदेखि आफ्ना कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीलाई बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा आधारित एनसीसीआई बेलायतको कोर्सको अङ्ग्रेजी र डीजी कम्प्युटर गरी दुईवटा विषय अध्यापन गराउँदै आएको छ । विद्यालयले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका निम्ति गत वर्षदेखि कक्षा १ देखि ६ सम्मका ३८३ जना बालबालिकालाई सो विषय अध्यापन गराउँदै आएको भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको भनाइ छ । ती विद्यार्थीमध्ये ६५ प्रतिशत विद्यार्थी पाँच सिल्ड अर्थात् उत्कृष्ट नतिजा ल्याउन सफल भएको अधिकारीको भनाइ छ । क्याम्ब्रिजबाटै डिजाइन भएको सो विषय विद्यार्थीको दैनिकीसँग मेल खाने, विद्यार्थीले क्याम्ब्रिजबाटै प्रमाणपत्र पाउने भएकाले बेलायती नागरिकका छोरीछोरीले पाउने अन्तर्राष्ट्रियस्तरको शिक्षा भ्याली पब्लिकले आफ्ना विद्यार्थीलाई प्रदान गरेको अधिकारीको दाबी छ । भ्याली पब्लिक स्कुलका विद्यार्थीलाई विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भ्याली पब्लिक स्कुलमा आयोजित एक कार्यक्रमबीच क्याम्ब्रिज कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । भ्याली पब्लिक स्कुलले विगत एक वर्षदेखि आफ्ना कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीलाई बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा आधारित एनसीसीआई बेलायतको कोर्सको अङ्ग्रेजी र डीजी कम्प्युटर गरी दुईवटा विषय अध्यापन गराउँदै आएको छ । विद्यालयले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका निम्ति गत वर्षदेखि कक्षा १ देखि ६ सम्मका ३८३ जना बालबालिकालाई सो विषय अध्यापन गराउँदै आएको भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको भनाइ छ । ती विद्यार्थीमध्ये ६५ प्रतिशत विद्यार्थी पाँच सिल्ड अर्थात् उत्कृष्ट नतिजा ल्याउन सफल भएको अधिकारीको भनाइ छ । क्याम्ब्रिजबाटै डिजाइन भएको सो विषय विद्यार्थीको दैनिकीसँग मेल खाने, विद्यार्थीले क्याम्ब्रिजबाटै प्रमाणपत्र पाउने भएकाले बेलायती नागरिकका छोरीछोरीले पाउने अन्तर्राष्ट्रियस्तरको शिक्षा भ्याली पब्लिकले आफ्ना विद्यार्थीलाई प्रदान गरेको अधिकारीको दाबी छ । अन्य विद्यालयको तुलनामा फरक र परिस्कृत शिक्षा प्रदान गर्ने अभियान भ्याली पब्लिक रहेको र त्यसकै नतिजास्वरूप आफ्ना ३ सय ८३ जना विद्यार्थीले क्याम्ब्रिजबाट शैक्षिक प्रमाणपत्र प्राप्त गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङको भनाइ थियो । क्याब्रिजले नै बनाएको पाठ्यक्रम भएकाले यो विषय बालबालिकाका लागि निकै सजिलो, व्यावहारिक, बालबालिका निम्ति प्रयोगात्मक तथा उनीहरूको लेखाइमा, बोलाइमा, पढाइमा यस विषयले ठूलो सहयोग पुग्नुका साथै भविष्यमा यो सर्टिफिकेटको सहयोगमा विद्यार्थी विश्वभरका विश्वविद्यालयबाट छात्रवृत्ति उपलब्ध हुनुका साथै विदेश जाँदा अङ्ग्रेजी भाषा परीक्षासमेत दिनु नपर्ने अधिकारीको भनाइ छ ।
प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले मंगलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपालको संघीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको प्राप्तिलाई प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न क्रियाशील रहेको बताए। उनले दुई ठूला दलबीचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए। राजदूत फेनले संक्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुंगो लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र संघीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने बताए । उनले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातमा सघाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
मन्थलीमा मोटरसाइकल चोरीका घटना वृद्धि
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको छ । विगतमा मोटरसाइकल चोरी कहिलेकाहीँ मात्रै हुने गरेको यहाँ छ महिनाभित्र दुईवटा मोटरसाईकल हराउनुको साथै तीनवटा मोटरसाइकलको पार्टपूर्जा हराएको छ । यसअघि पटक–पटक मोटरसाइकल चोरी प्रहरीबाटै भएको तथ्य फेला परेपछि चोरी गर्ने प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । गत हप्ता पुनः मोटरसाइकलको पाटपुर्जा चोरी भएको र चोरीमा प्रहरीनै संलग्न भएको स्थानीयको आरोप छ । जिल्ला सदरमुकाम मन्थलीमा पार्किड गरिराखेको मोटरसाइकलको पाटपुर्जा रातिको समयमा चोरी भएको र चोरी गर्ने प्रहरी भएको भनेर किटानी जाहेरी दिँदा प्रहरीले अनुसन्धान नगरेको स्थानीय नारायण बस्नेतले बताए । गत हप्ता भएको मोटरसाइकल चोरीमा प्रहरी संलग्न हुनसक्ने सिसीटिभीको फुटेजबाट अनुमान गरिएको स्थानीय बताउँछन् । गत असार २० गते राति मन्थली बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल मन्थली बजारबाट चोरी भएकोमा हालसम्म फेला परेको छैन । यही साउनमा मात्रै मन्थली बजारको रेडक्रस लाइनमा पार्किङमा राखिएको बा७४ प ३१२ नम्बरको एफजेड मोटरसाइकलको दुई वटा पाटपुर्जा चोरी भएको थियो । पार्किङमै राखिएको बा प्रदेश-०२–०४४ प७५५० नम्बरको एफजेड भि–२ मोटरसाइकलको पनि राती पार्टपूर्जा हराएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले प्रहरीले चोरीका घटना हुन नदिन मन्थली बजारमा विशेष निगरानी बढाएको बताए । उनले चोरीका घटना हुन नदिन रातको समयमा नियमित गस्ती बढाउनुको साथै मन्थली बजार क्षेत्रमा मदनआश्रित चोक क्षेत्र र बसपार्क, विमानस्थल हेर्ने गरी दुई वटा प्रहरी पोष्ट थप गरिएको जानकारी दिए । चोरी भएको मोटरसाइकल खोजी भइरहेको र फेला पार्न सिसिटिभी फुटेज हेरेर प्रयास गरिरहेको प्रहरीले जनाएको छ । गत साता मोटरसाइकलको पार्टपुर्जा चोरी भएको सम्बन्धी जाहेरी परेपछि सो सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेको पाइएपछि घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस भई पठाउने तयारी भइरहेको पनि प्रनाउ सिंहले बताए ।