विकासन्युज

१२६.८७ प्रतिशत बढ्यो शिखर इन्स्योरेन्सको नाफा, ईपीएस १९.३२ रुपैयाँ

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १२६.८७ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क १३.३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेर ९४ करोड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी ४.०६ प्रतिशत बढेर २ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै कम्पनीको कुल खर्च ४.७४ प्रतिशत घटेर १ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ, जगेडा कोष १७.५४ प्रतिशत बढेर १ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ, महाविपत्ती कोष २२.१९ प्रतिशत बढेर १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटी ६.५७ प्रतिशत  बढेर ६० करोड १४ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँ बढेर १९.३२ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४.५९ रुपैयाँ रहेको छ ।

हिमालयन रिको नाफामा ९७.६४ प्रतिशत उछाल, पौने ३ अर्ब गर्याे दाबी भुक्तानी

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ९७.६४ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क ८२.७५ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशत बढेर २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी ६७.०९ प्रतिशत बढेर ६ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९६ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै कम्पनीको कुल खर्च ५५.१२ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ८० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९ करोड ३० लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४९.५७ प्रतिशत बढेर १० अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष १४०.८७ प्रतिशत बढेर १ अर्ब ९ करोड ७३ लाख रुपैयाँ, महाविपत्ती कोष १३६.७८ प्रतिशत बढेर ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटी ५१ प्रतिशत बढेर २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ३.०६ रुपैयाँ बढेर १२.३४ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ रहेको छ ।

बीमा गरेका १ लाख १३ हजार बढीले गरे पोलिसी सरेण्डर, एलआईसी र नेपाल लाइफलाई बढी धक्का

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १३ हजार ९७६ जनाले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीदेखि विविध करणले गर्दा एक वर्षमा उक्त संख्यामा बीमा सरेण्डर भएको हो । यसरी सरेण्डर हुँदा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बीमा कम्पनीहरूबाट बाहिरिएको छ । आघिल्लो आव २०७९/०८० को तुनामा गत आव २०८०/०८१ मा बीमा पोलिसि सरेण्डर गर्नेको संख्या ९.०६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा सरेण्डर गर्नेहरूको संख्या १ लाख ४ हजार ५०६ थियाे । यसैगरी, सरेण्डर रकम भने १.५८ रुपैयाँले बढेको छ । अघिल्लो आवमा १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बरोरको सरेण्डर भएको थियो । संख्याका आधारमा सबैभन्दा धेरै सरेण्डर लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) बाट भएको छ । एलआईसीबाट ३० हजार ३०९ जनाले पोलिसि सरेण्डर गरेका छन् । सरेण्डर रकम भने नेपाल लाइफको उच्च रहेको छ । पोलिसि सरेण्डर हुँदा नेपाल लाइफबाट ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बाहिरिएको छ । एलआईसीबाट भने ४ अर्ब ३० करोड ३९ लाख रुपैयाँ सरेण्डबापत बाहिरिएको छ । नेपाल लाइफमा बीमा गरेका २८ हजार ६२७ जनाले पोलिसी सरेण्डर गरेका हुन् । यता राष्ट्रिय जीवन बीमा कम्पनीबाट १३ हजार ९४१ जनाले पोलिसी सरेण्डर गर्दा १ अर्ब १० करोड ४८ लाख रुपैयाँ बाहिरिएको प्राधिकरणको तथ्यांकले देखाउँछ । यसैगरी हिमालयन लाइफबाट ७ हजार ८१० जनाले सरेण्डर गर्दा १ अर्ब २ करोड ९५ लाख र नेशनल लाइफबाट ७ हजार ५ सय जनाले सरेण्डर गर्दा १ अर्ब १ करोड ८० लाख रुपैयाँ बाहिरिएको छ । कुन कम्पनीको कति सरेण्डर ?

सम्पत्ति छानबिन गर्न माग गर्दै कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । कुलमानको सम्पत्तिसहित विभिन्न विषयमा अनुसन्धानको माग गर्दै खरेलले आयोगमा उजुरी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । कुलमान अर्बौंको मालिक भएको भन्दै १७ वटा बैंक खाता खोलेर एक वर्षमा ठूलो रकम कारोबार गरेको उनको आरोप छ । खरेलले ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको दाबी गरेका छन् । उनले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी पीपीए गरेकोसमेत उल्लेख गरेका छन् । ‘कुलमान घिसिङले ६६ वटा कम्पनीसँग कानुनविपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व गुमेको छ,’ उनले भनेका छन्, ‘कुलमानले २०७५ /२०७६ सालको विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीसँग पावर पर्चेज एग्रिमेन्ट गरेका थिए, उनले ती कम्पनीसँग विद्युत नियमन आयोगको स्वीकृतिबिना पीपीए गर्दा विद्युत नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने यति मोटो रकम गुमाउनुपरेको हो ।’

एक्वा त्रिदेव जारको पानीमा कोलिफर्म भेटियो

काठमाडौं । एक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म (दिसाजन्य पदार्थ) भेटिएको छ । काठमाडौं महानगरपालिकाले पिउनका लागि प्रयाेग हुने एक्वा त्रिदेव कम्पनीको जारको पानी परीक्षण गर्दा पानीमा कोलिफर्म भेटिएको हो । साउन २५ गते महानगरले ५ वटा जार कम्पनीको पानी नमुना परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबमा पठाएको थियो । उक्त ५ कम्पनीमध्ये मंगलबार आएको ल्याब रिर्पोटमा एक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म भेटिएको महानगरले जनाएको छ । महानगरका अनुसार सामान्यतया कोलिफर्म १ सय हुनुपर्नेमा उक्त जारमा ३ सय देखिएको हो ।

सहकारी ठगी प्रकरणमा बिरुवा गाउँपालिकाका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

स्याङ्जा । सहकारी ठगी प्रकरणमा मुछिएका स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाको निवेदनका अनुसार जिल्ला अदालत स्याङ्जाले कुँवरसिहत तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गर्न अनुमति दिएको हो । भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् । उनीहरूविरुद्धको पक्राउ पुर्जीलाई स्याङ्जा प्रहरीले भने सामान्य अनुसन्धानका लागि बोलाउन लागिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत साउन ११ गते सहकारीको बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । यस सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए । त्यसकै आधारमा पक्राउ परेका वाग्लेले नै गाउँपालिका अध्यक्षको नाम पोलेपछि उनलाई पनि अनुसन्धानमा बोलाउन लागिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

काठमाडौंका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

मलेखु । पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका-७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए.एम.एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका-७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए ।

नेपालमा पनि बंगलादेशको अवस्था आउन सक्छ, सजग रहनुस् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउन सक्नेतर्फ सचेत गराए । उनले दुई तिहाइको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए । उनले सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताए । उनले भने, ‘सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने ? त्यसबारेमा सोच्नुपर्छ ।’ उनले छिमेकी मुलुक बंगलादेशको उदाहरण दिँदै दुई तिहाइको सरकार भएको देशको प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आउनु सामान्य घटना नभएको बताए । उनले भने, ‘नेपालमा आर्थिक अवस्था जर्जर छ, राजस्व उठ्छ १०/११ खर्ब, चालु खर्चमा १२/१३ खर्ब हुन्छ, ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ, बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाइको सरकार थियो, त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनै पनि बेला केही हुनसक्छ, त्यतातिर पन सतर्क हुनुस् ।’ नेता कोइरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे ।