विकासन्युज

माओवादी घटकलाई एकताबद्ध बनाउँछौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताएका छन् । पार्टी सम्वद्ध रुकुमपश्चिम-काठमाडौं सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा उनले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको बहसले झनै एकताबद्ध बनाएको उनले बताए । अध्यक्ष दाहालले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखितरूपमा राखेको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताए । उनले सम्पूर्ण माओवादी घटकलाई एकताबद्ध बनाउन लागिएको र पार्टीलाई झन् बलियो बनाउने दृढता व्यक्त गरे । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताका पक्षमा काम गरेको बताए । पार्टीमा बहस गर्न आफू सधै क्रियाशील रहिरहने तथा पार्टी बलियो बनाउनु निरन्तर खटिने उनको भनाइ थियो । उनले पार्टीभित्रको बहसले पार्टीलाई अझ बलियो बनाएको विचार राखे । पार्टी बनाउने एजेण्डामा छलफल गर्दा आफूमाथि प्रश्न उठाइएकामा असन्तुष्टी व्यक्त गर्दै उहाँले स्थायी समितिको निर्णयअनुसार आफू निरन्तर पार्टी बढाउन लागिरहने उल्लेख गरे । नेत्र विक्रम चन्दलाई पार्टी नछोड्न आफूले बारम्बार आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘अन्य वामपन्थी दलसँग एकताको कुरा चलिरहेको अवस्थामा विप्लवलाई माओवादीमा आउन रोक्यो भनेर अनर्गल प्रचार भयो ।’ सो अवसरमा अध्यक्ष दाहालले सम्पर्क समितिमा रहेर जनताको सेवामा क्रियाशील तथा समितिलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले रुकुम सधैं क्रान्ति र नेतृत्वको पक्षमा उभिएदै आएको बताए । उनले अझै जनताका सपना पूरा नभएको एवम् समाजवादी क्रान्तिका लागि पार्टी फेरि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । नेता शर्माले पार्टीलाई सुदृढ बनाउन गम्भीर समीक्षा गर्नुपर्ने, पार्टीभित्र बढ्दै गएको मतभेद कम गर्न आत्मसमीक्षा गर्नुपर्ने एवम् सिंगो मुलुक माओवादीको एजेण्डामा अघि बढिरहँदा पनि माओवादी कमजोर हुनुमा सबैले जिम्मेवारी लिनुपर्ने बताए । उनले भने, ‘जनताका बीचमा गएर आत्मसमीक्षा गरौँ, गाउँ फर्कौ, आधार इलाका जाऊँ, समाजवादी क्रान्तिका लागि जनताका बीचमा जानैपर्छ ।’

कुलमानलाई ऊर्जामन्त्रीको जवाफ- उद्योगको लाइन काट्नु घाँटी काट्नु सरह हो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् । शनिबार नेपाल विद्युत प्राधिकरणको ३९औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत काट्नु नहुने बताएका हुन् । उनले सरकारले उद्योगीहरूले विद्युत उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्ने कुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले बक्यौता रकम नतिर्ने उद्योगहरूलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत काट्नु नहुने बताए । उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए । मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरूप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए । उनले विद्युतको बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने जिकिर गरे । विद्युतको उपभोगलाई बढाउनका लागि बढी उपभोग गर्नेहरूलाई सहुलियत दिनुपर्ने उनको भनाइ थियो । उनले देशका सबै ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने भन्दै नीतिगत रूपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताए । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताए । उनले विद्युत् प्रसारण गर्ने तार कहीँ कतै पनि सिधा नदेखिएको भन्दै कसको कमजोरी हो ? भनेर प्रश्न गरे । विद्युतका खम्बाहरू पनि अव्यवस्थित रूपमा गाडिएको बताउँदै तामाङले विद्युत्को तार र खम्बाहरू अव्यवस्थित रूपमा राखिएको पाए सम्बन्धित शाखाका कर्मचारीहरूलाई विभागीय कारबाही गर्ने चेतावनी दिए । उनले विद्युत प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न पनि प्राधिकरणलाई आग्रह गरे ।

बाढी पीडितलाई राहत सामाग्री वितरण जारी : प्राधिकरण

काठमाडौं । सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) कोआर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत तारपोलिन, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, सरसफाइ किट, कपडा, स्लिपिङ ब्याग जस्ता गैरखाद्यन्न सामग्री वितरण गरिएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले मनसुनको दुई महिनामा अहिलेसम्म रेडक्रसमार्फत तारपोलिन २ हजार ५० थान , ब्ल्याङ्केट १ हजार ३० थान , म्याट्रेस ६१०, भाँडाकुँडा ५५५, झुल १५०, सरसफाई किट २२५, कपडा ३ हजार २४५ मिटर, ब्याग ५० थान वितरण भएको जानकारी दिनुभयो । यस्तै गृह मन्त्रालयबाट त्रिपाल १ हजार २० थान, टेन्ट १२० थान, ब्यांकेट ३०० थान, म्याट्रेस १०० थान र स्लिपिङ ब्याग ५० र झुल २०० थान वितरण भएको उनले बताए । उनका अनुसार माग अनुसार राहत सामग्री वितरणको काम जारी छ । प्राधिकरणका अनुसार मनसुनपछिको अहिलेसम्म १३ जिल्लाका विपद व्यवस्थापन कोषमा एक करोड ७६ लाख पठाइसकिएको छ । मनसुन प्रभावित परिवारका लागि तत्काल राहत स्वरुप १५ देखि २० हजार पनि सहयोग गरिएको प्राधिकरणले जानकारी दिएको छ । सङ्कटासन्न परिवारलाई मानवीय सहयोग जारी रहेको आइएफआरसीले जनाएको छ । प्रभावितहरुलाई स्थानीय तहलगायत संघ संस्थाको पहलमा अस्थायी आश्रयस्थलमा राखी खाद्यान्न व्यवस्थापन गरिएको छ । अहिलेसम्म यो दुई महिनामा सबै प्रकृतिका विपदमा परेर २११ ज्नाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । मनसुनी विपद्मा मात्रै परेर १७६ जनाको मृत्यु भइसकेको छ । ३ हजार बढी परिवार प्रभावित भएका छन् ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा शनिबार अपराह्न भएको भेटमा उनीहरूबीच सरकार सञ्चालन तथा भावी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र हजार शय्याको बन्ने

काठमाडौं । भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले तीन सय शय्याको केन्द्र निर्माण पूरा भएपछि अर्को चरणमा केन्द्रलाई एक हजार शय्यामा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । नेपाल र भारतबीच प्रधानमन्त्रीस्तरमा भएको समझदारीअनुसार केन्द्रको तीन सय शय्याको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ । भविष्यमा मुुलुकका निम्ति आवश्यकपर्ने चिकित्सा सेवा एवं अध्ययन अनुसन्धान तीन सय शय्याबाट पर्याप्त नहुने भएकाले त्यसलाई एक हजार शयमा स्तरोन्नति गर्न राष्ट्रपति पौडेलले विशेष जोड दिँदै आएका थिए । सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शय्याको डिपीआरसम्बन्धी संरचना तयार गरी निर्माण पनि तदनुरुप हुनुपर्नेतर्फ उनले नेपाल सरकारका सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दै आएका थिए । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा केन्द्र स्थापना भएको हो । केन्द्रलाई देशको विशिष्ट अस्पताल तथा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य छ ।

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : महासंघ

काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ। महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो । अर्थतन्त्रसम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाइ दीगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो । यसलाई अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकामा अर्थमन्त्री एवं सरकारलाई धन्यवाद दिँदै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले मितव्ययीरूपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको जानकारी दिए ।

खाद्य, ऊर्जा र जलवायु संकटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताएका छन् । भारत सरकारद्वारा श्रव्यदृश्यका माध्यमबाट आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरूपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताए । ‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ शीर्षकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा आयोजित उक्त सम्मेलन सामयिक भएको बताउँदै प्रधानमन्त्री ओलीले ग्लोबल साउथको अभिमत अभिव्यक्त गर्नुभएकामा आफ्ना भारतीय समकक्षीको सराहना गरे । विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा संकट जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामुहिक प्रयास अपरिहार्य भएकामा प्रधानमन्त्री ओलीले जोड दिए । प्रधानमन्त्री ओलीले ग्लोबल साउथका १५ राष्ट्र तथा सरकारप्रमुखसँगै सम्मेलनलाई सम्बोधन गरेका हुन् । तुलनात्मक रूपमा न्यून आर्थिक एवं औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन् ।

बेनीमा ‘वर्षे नाच’ को रौनक

बेनी । सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि सुरु भएको वर्षे नाच हरितालिका तीजको दिनसम्म एक महिनाभन्दा बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषामंकाः खलः अन्तर्गतका युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा वर्षे नाच देखाउने गरिएको छ । यस वर्ष लाखे नाच, घोडा नाच, जोग नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रा लगायतका कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताए । अघिल्ला वर्षहरूमा रोपाइँ, धानको बाला, गोरु लगायतका नृत्यसमेत वर्षे नाचमा समावेश गरिएको भए पनि यस वर्ष नाच व्यवस्थापनमा जनशक्ति थोरै भएकाले लाखे, घोडा, जोगीर नागनागिनी नाचलाई प्राथमिकता दिएर देखाउने गरिएको उनको भनाइ छ । पुर्खाले सुरु गरेको परम्परागत नाचलाई तालिम र अभ्यासका माध्यमबाट युवा तथा बालबालिकामा समेत सीप हस्तान्तरण गर्ने गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनी बजारमा दिनहुँजसो साँझपख विभिन्न नाच देखाउन थालेपछी वर्षे नाचको रौनकता बढेको छ । सडक र चोक चोकमा देखाइने वर्षेनाच हेर्न बालबालिका, युवायुवती देखि वृद्धवृद्धासम्म सडकतीर जम्माहुने गर्छन् । वर्षे नाचमा नेवार समुदायका साथै बेनीमा बसोबास गर्ने अन्य जातजातिका युवायुवती र बालबालिकासमेत सहभागी हुने गर्छन् । बेनीकै सांस्कृतिक पहिचानका रुपमा रहेको वर्षे नाचमा नयाँनयाँ कलाकारहरूको आगमनले मौलिक नाचको संरक्षण र निरन्तरतामा सहयोग पुगेको लाखे नाचका संयोजक सन्दिप श्रेष्ठले बताए। परम्परागतरूपमा देखाइदै आएको वर्षे नाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत निरन्तरता दिने गरिएको छ । वर्षे नाचमा समावेश गरिने नागनागिनी नाच नेपालभरमा म्याग्दीमा मात्र देखाउने नाचको रुपमा परिचित छ । जनैपूर्णिमा पर्वको दिनमा वर्षभरी दिवङ्गत भएका नेवार समुदायका व्यक्तिहरूको सम्झनामा सापारु अर्थात् नागनागिनी नाच देखाउने चलन रहेको छ । दुई सय वर्षभन्दा पुरानो वर्षे नाचको निरन्तरताको लागि बेनीमा नयाँ कलाकारलाई तालिम दिने गरिएको छ । परम्परादेखि चलिआएको संस्कृतिको निरन्तरता र मौलिकताको संरक्षणमा युवाहरूको उत्साहजनक सहभागिताले सहयोग पुगेको युवा कलाकार अभिनेश श्रेष्ठले बताए। आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा वर्षे नाचलाई संरक्षण गर्ने दायित्व युवाको काँधमा आएको उनको भनाइ छ । वर्षे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गर्ने चलन छ । खास गरि लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । वर्षे नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।