ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो
म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो । विसं २०८१ को साउनमा पाँच सय ८१ जना नेपाली पर्यटकहरूले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताए । ‘आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,’ उनले भने, ‘२०७९/०८० मा पर्यटक प्रवेश शुल्कबाट ९ लाख ८३ हजार २ सय रुपैयाँ राजस्व संकलन भएकोमा २०८०/०८१ मा १९ लाख ३३ हजार ७ सय रुपैयाँ पुगेको छ ।’ आर्थिक वर्ष २०७९/८० मा ७ हजार ६ सय ४५ जना पर्यटक भित्रिएको ढोरपाटनमा २०८०/८१ मा १५ हजार ५ सय ७३ जनाले भ्रमण गरेका छन् । सार्क राष्ट्रका चार, अन्य देशका १०२ र १५ हजार ४ सय ६७ जना नेपाली ढोरपाटन आएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ९ हजार ९ सय १९, २०७७/०७८ मा ६ हजार ७०३ र २०७६/०७७ मा ३२० जनाले ढोरपाटन घुमेका थिए । ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५ सय र अन्य देशकाले ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ । सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको सिकार बाहेकको आकर्षण र विशेषता हो । आर्थिक वर्ष २०८०/०८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट ४ करोड २६ लाख ८८ हजार ७ सय राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र ८ झारल, २०७७/७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो । स्पेन, अमेरिका, रसीया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउने गरेका सिकार कम्पनी ग्लोबल सफारी काठमाडौंका सिकार गाइड मानबहादुर पुनले बताए । बसन्त र सरद याममा सिकारी आउँछन् । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पक्षीहरू छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । विसं २०६७र६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा १ हजार २ सय ९० नाउर भेटिएका थिए । १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पुर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।
नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६६ जनाको नाम सार्वजनिक
काठमाडौं । नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो । बैंकले एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । उनीहरूलाई बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ । सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
नेशलन हाइड्रोपावरको नाफा साढे २ करोड ऋणात्मक
काठमाडौं । नेशलन हाइड्रोपावर कम्पनीको गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासमा खुद नाफा २ करोड ४९ लाख रुपैयाँ ऋणात्म रहेको छ । अघिल्लो वर्ष ४ करोड ८३ लाख रुपैयाँ नाफा गरेको कम्पनी गत वर्ष भने नोक्सानीमा गएको हो । गत असारसम्म कम्पनीको कुल नाफा ७७ लाख ५६ हजार रुपैयाँ रहेको छ । जबकी अघिल्लो वर्ष कम्पनीको कुल नाफा २ करोड ३ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष ४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष भने घटेर ४ करोड २ लाख रुपैयाँ मात्रै गरेको छ । कम्पनीको सञ्चालन नाफा ७० लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । अघिल्लो वर्ष ७२ लाख ३४ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ६२ लाख ७२ हजार रुपैयाँ गरेको छ । २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष जगेडा कोष ९८ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा छ । सेयर प्रिमियममा भने १ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १६१.०६ गुणा ऋणात्मक छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्दै
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै ५ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय नेपाल सरकारको ५ वर्षे विकास ऋणपत्र–२०८६ भदौ ५ गते बोलकबोल मार्फत बिक्री गर्नेछ । साथै भदौ ६ गते निष्कासन गरिने कार्यालयले जनाएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् । यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ ।
भक्तपुर नगरपालिकाले बिक्रीमा राख्यो २९ वटा घडेरी, न्यूनतम मूल्य ४७ लाख रुपैयाँ
काठमाडौं । भक्तपुर नगरपालिकाले साढे ५२ करोड बढीको घडेरी बिक्रीमा राखेको छ । भक्तपुर नगरपालिकाबाट सञ्चालित देको–मिठा–इतापाके जग्गा एकीकरण आयोजनाले ५२ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरका २९ वटा घडेरी बिक्रीमा राखेको हो । विकसित घडेरी प्लटहरू गोप्य सिलबन्दी बोलपत्रको माध्यमबाट बढाबढ मूल्यमा बिक्री गरिने आयोजनाले जनाएको छ । इच्छुकले ३० दिनभित्र आयोजना कार्यालयमा ३ हजार रुपैयाँ रकम बुझाई बोलपत्र फाराम खरिद गरी आफूले खरिद गर्न चाहेको प्लट कित्ता जग्गाको मूल्य उल्लेख गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । आयोजनाले उक्त २९ वटा घडेरीको न्यूनतम मूल्य ४७ लाख ४१ हजार रुपैयाँदेखि अधिकतम १३ करोड ७१ लख रुपैयाँसम्म तोकिएको छ ।
सरकारले माग्यो युवा वैज्ञानिक
काठमाडौं । सरकारले युवा वैज्ञानिक मागेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटारले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो । यस प्रज्ञा–प्रतिष्ठानबाट चालु आर्थिक वर्ष २०८१/८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिहरूलाई २१ दिनभित्र अनुसन्धान प्रस्ताव पेस गर्न आग्रह गरेको हो । आवेदन दिँदा अन्तिम म्यादसम्ममा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने बताइएको छ । अनुसन्धान अनुदानका लागि बजेटको अधिकतम सीमा व्यक्ति÷समूहगतको अनुसन्धानका लागि ५ लाख रुपैयाँ, संस्थागतको लागि १० लाख रुपैयाँ र बहु विधागतको लागि १२ लाख रुपैयाँसम्म रहेको छ । माध्यमिक विद्यालय स्तर (विज्ञान कक्षा १२) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानका लागि ५० हजार रुपैयाँ, र क्याम्पस स्तर (विज्ञान तथा प्रविधि विषयमा स्नातक) विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि १ लाख रुपैयाँ र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि १ लाख रुपैयाँसम्म अधिकतम बजेट सीमा रहेको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट गत आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिएको अनुसन्धान अनुदानको बाँकी किस्ता रकम भुक्तानी दिनुपर्ने भएकोले सोको व्ययभार र प्रशासनिक खर्च कटाई बाँकी रकमबाट अनुसन्धान अनुदान प्रदान गरिने प्रज्ञा प्रतिष्ठानले बताएको छ । विद्यालय स्तर र क्याम्पस स्तरका विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि अनिवार्यरूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र क्याम्पसको सिफारिस पेस गर्नुपर्नेछ । अनुसन्धान प्रस्ताव पेस गर्दा अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि र अपडेटेड बायोडाटा अनिवार्यरूपमा पेस गर्नुपर्नेछ ।
यस्तो छ आजको विदेशी विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६१ रुपैयाँ र खरिददर १३४.०१ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४७.२८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.९४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.९२ रुपैयाँ र बिक्रीदर १७३.६९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.८४ रुपैयाँ र बिक्रीदर ८९.२४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५९ रुपैयाँ र बिक्रीदर ९८.०२ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२४ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ तोकिएको छ ।
इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन
काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार काठमाडौंमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो । इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल तथा गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए । उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए । नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको राजदूतको आवासीय कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरु मध्येको ठूलो अर्थतन्त्र भएको मुलुक हो । नेपाल र इन्डोनेसिया बिचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् । झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।