विकासन्युज

आज एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्ने भएको छ । २१ दिनका लागि राष्ट्र बैंकले तान्ने यो रकम भदौ २३ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले सूचना जारी गर्दै बैंकहरूलाई यसका लागि बोलकबोलमा भाग दिन आग्रह गरेको छ । यसअघि राष्ट्र बैंकले साउन ३० गते ४० अर्ब रकम संकलनको आह्वान गर्दा बैंकहरूले २५ अर्ब ८० करोड रकम राख्न प्रस्ताव हालेका थिए । राष्ट्र बैंकले उक्त समय २३ अर्ब ६० करोड उठाएको थियो । बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजदर माग गरेका थिए । गत साउन ३१ गतेसम्मको तथ्यांकअनुसार राष्ट्र बैंकमा बैंकहरूले विभिन्न उपकरणमार्फत् राखेको तीन खर्ब १२ अर्ब रूपैयाँ पाउन बाँकी छ । बजारमा तरलता अभाव हुँदा राष्ट्र बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपोमार्फत प्रशोचन गर्ने गर्छ ।

गोसाइँकुण्डमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली, बन्यो झिलिमिली

काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत पुर्याएको छ । वत्ति पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । अहिलेसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत प्रयोग गरिरहेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याइएको बताए। कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरणमा जागिर सुरुगर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्धारीमा विद्युत् पुर्याएको थिएँ, अहिले देशलाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाइँकुण्ड,अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्याइरहेका छौं ।’ रसुवाको सदरमुकामबाट गोसाईकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईकुण्डमा पुर्याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २ सय वटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मरलगायतका उपकरणहरु मानिस र खच्चडले ढुवानी गरिएको थियो । गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । वर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने छ । वर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाइँकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले बताए । भट्टराईले गोसाइँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०/५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताए । जोलाङपाटी र लौरीबिनामा केही होटलहरू सञ्चालित छन् । मेलाका यात्रुहरूलाई लक्षित गरी त्यस क्षेत्रमा छाप्राहरू बन्ने गरेका छन् । गोसाइँकुण्डमा विद्युत् पुर्याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब ३ करोड रुपैयाँ रहेको छ ।

देशभरि ५५ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ५५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभरि हैजा संक्रमितको संख्या ५५ पुगेको हो । ललितपुरमा मात्र ४१ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार कैलालीमा ८ जना, काठमाडौंमा ४ जना र प्युठानका २ जनालाई हैजाको संक्रमण पुष्टि भएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीले आग्रह गरेको छ ।

साल्ट ट्रेडिङ्गको नाफा ६ करोड २१ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङ्गले ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १९.७७ प्रतिशत कम नाफा गरेको हो । गत असारसम्म कम्पनीले १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ५२ प्रतिशत बढी आम्दानी गरेको हो । समीक्षा अवधिमा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ अन्य आम्दानी र १ अर्ब ८ करोड ७५ लाख रुपैयाँ कुल नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३९ लाख रुपैयाँ अन्य आम्दानी र ९५ करोड ५८ लाख रुपैयाँ कुल नाफा गरेको थियो । गत वर्ष कम्पनीको प्रशासनिक खर्च १३ करोड ८३ लाख रुपैयाँ र कर्मचारी खर्च २९ करोड ७० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष प्रशासनिक खर्च १६ करोड ३१ लाख रुपैयाँ र कर्मचारी खर्च ३१ करोड १५ लाख रुपैयाँ गरेको थियो । अघिल्लो वर्ष ४४ करोड ५० लाख रुपैयाँ ब्याज खर्च गरेको कम्पनीले गत वर्ष ५८ करोड रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको चुक्ता पुँजी २७ करोड ८८ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ थियो । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दाी पनि घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँबाट घटेर १९.७१ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३९७.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २४८.८४ गुणा रहेको छ ।

काठमाडौंका विद्यालयहरूले शिक्षा र मानविकी संकाय धमाधम बन्द गर्दै, विद्यार्थीको संकट

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतनले शिक्षा संकायमा विद्यार्थी पाउन सकेको छैन । सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयको छवि बनाएको यस विद्यालयलाई शिक्षा संकायमा भर्ना हुने विद्यार्थी पाउन मुस्किल परेको हो । शिक्षा संकायमा आवश्यक संख्या ३० जनालाई मात्र छुट्याएको भए पनि विद्यालयले १० जना पनि विद्यार्थी नआएपछि अब यो संकाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताएको छ । मानविकी संकायमा पनि विद्यार्थीको संख्या अझै अपुग रहेको विद्यालयले जानकारी दिएको छ । ५० जना विद्यार्थीका लागि छुट्याइएको मानविकी संकायमा पनि अहिलेसम्म मुस्किलले ३० जना विद्यार्थी मात्रै भर्ना भएका छन् । यस विद्यालयमा विज्ञान र व्यवस्थापन संकाय पढ्ने विद्यार्थीको संख्या भने थेगी नसक्नु छ । प्रधानाध्यापक हेरम्बराज कँडेल विज्ञान संकायमा ४ सय ५० जना विद्यार्थी भर्ना गर्ने योजना भए पनि ५ सय ७५ जना विद्यार्थीलाई भर्ना गरिसकेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । उनका अनुसार व्यवस्थापनमा झण्डै ६ सय विद्यार्थी भर्ना भएका छन् । विज्ञानमा ४ सय ५० को कोटामा प्रवेश परीक्षा दिन दुई हजार विद्यार्थी सहभागी भएका थिए । प्रधानाध्यापक कँडेल भन्छन्, ‘शिक्षा र मानविकी संकायमा विद्यार्थी पाउन समस्या छ, विज्ञान र व्यवस्थापनमा संख्या पुगेर विद्यार्थीलाई फर्काउनु परेको छ ।’ काठमाडौंको वाफलमा रहेको ज्ञानोदय माविले पनि शिक्षा र मानविकी संकायमा विद्यार्थी भर्ना नलिने निर्णय नै गरेको छ । यो संकायमा पढ्ने विद्यार्थी नै नआउने भएपछि संकाय नै बन्द गरिएको विद्यालयले जानकारी दिएको छ । ज्ञानोदयमा कक्षा ११ मा विज्ञान, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानून अध्ययन गराइन्छ । जसमध्ये कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्टमा विद्यार्थीको चाप बढी छ । स्कुलले साइन्स, सिभिललाई निश्चित कोटा छुट्याएको छ अर्थात एउटा कक्षामा ४० देखि ५० विद्यार्थीलाई भर्ना गरिन्छ । यसमा विद्यार्थीको संख्या पुरा भइसकेको छ । प्रधानाध्यापक विष्णु घिमिरे रिमाल विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरे रिमाल विद्यार्थी र अभिभावकले सकीनसकी भएपनि विज्ञान र व्यवस्थापन पढ्न खोज्दा शिक्षा र मानविकीमा विद्यार्थी नपाएको बताउँछिन् । काठमाडौंको मध्यबानेश्वरमा रहेको रत्नराज्य लक्ष्मीमा पनि समस्या उस्तै छ । शिक्षा, मानविकी व्यवस्थापन, विज्ञान, व्यवस्थापन र कम्प्युटर साइन्स पढाइ गराउँदै आएको विद्यालयले शिक्षा र मानविकीमा विद्यार्थी पाउन नसकेको जानकारी दिएको छ । यो विद्यालयले सबै संकायमा गरी ३ सय ५० जना विद्यार्थीमात्र भर्ना लिने योजना बनाएको छ । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले शिक्षा संकायमा ४० जना विद्यार्थी कोटा भएपनि अहिलेसम्म २२ जना विद्यार्थीमात्र भर्ना भएको बताए । बाँकी अरु संकायमा भने विद्यार्थीको संख्या बढी छ । प्रधानाध्यापक रामाशिष यादव दरबार हाइस्कुलले पनि शिक्षा संकायमा अध्ययन गर्ने विद्यार्थी पाएको छैन । गथवर्ष विद्यार्थी नहुँदा शिक्षा संकाय सञ्चालन नै भएन । यो वर्ष पनि अहिलेसम्म विद्यार्थी भर्ना हुन नआएको स्कुलका सहायक प्रधानाध्यापक पदम बटालाले बताए । व्यवस्थापनमा भने विद्यार्थीको चाप छ । चारवटा सेक्सनमा २ सय विद्यार्थी भर्ना गर्ने योजना अनुरुप अहिले भर्ना कार्य जारी रहेको विद्यालयले जनाएको छ । बागबजारमा रहेको पद्मदोय माविमा पनि शिक्षा संकायमा विद्यार्थीको संख्या निकै कम छ । अन्य संकायमा विद्यार्थीको चाप भएपनि शिक्षामा विद्यार्थी नै भर्ना नभएको स्कुलकी प्रधानाध्यापक शर्मीला पोखरेलले बताइन् । सामुदायिक विद्यालयमा मात्र होइन् । निजी विद्यालयमा पनि कक्षा ११ मा अहिले भर्ना भएका विद्यार्थीको रुचि शिक्षा र मानविकी संकायमा घट्दो छ । एसईईपछि विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा लगायतका विषय अध्ययन गर्ने विकल्प विद्यार्थीलाई हुन्छ । तर, अधिकांश विद्यार्थीको रोजाइ विज्ञान र व्यवस्थापन भइरहेको विज्ञहरू बताउँछन् । काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयले कक्षा ११ मा शिक्षा र मानविकी संकायमा विद्यार्थी पाएका छैनन् । ३० जना सिट संख्या रहेको विद्यालयमा मुस्किलले २० जना पनि पुग्दैनन् । यी संकायमा विद्यार्थी नपाएर धेरैजसो विद्यालयले संकाय नै हटाइसकेका छन् । विकासन्युजले काठमाडौं उपत्यकाका केही विद्यालयमा गरेको खोजअनुसार अधिकांश विद्यालयमा शिक्षा र मानविकी संकायमा विद्यार्थी पाउन मुस्किल छ । मानविकी र शिक्षामा किन विकर्षण ? अहिले विद्यार्थी आफ्नो क्षमता भन्दा देखासिकीले विषय रोज्ने गरेको शिक्षाका जानकारहरू बताउँछन् । साथीले रोजेको विषय रोज्ने, साथीले रोजेको स्कुल पढ्ने हुँदा विद्यार्थीले आफनो रुचि नै भुल्ने गरेको पाइन्छ । समाजले मानविकी र शिक्षा पढ्ने विद्यार्थीलाई कमजोर विद्यार्थीका रुपमा हेर्ने गरेकाले पनि यी संकाय पढ्ने विद्यार्थीको रोजाइमा नपरेको विश्व निकेतनका प्रधानाध्यापक हेरम्ब कँडेल बताउँछन् । ‘उत्कृष्ट पढ्नु प¥यो, मनैदेखि मिहिनेत गरेर पढ्नुप¥यो, जुनसुकै विषयमा पनि स्कोप छ, उनी भन्छन्, ‘शिक्षा विषय पढेको विद्यार्थी भोलिको राम्रो शिक्षक बन्न सक्छ, मानविकी विषय बढेको विद्यार्थी भोलि राम्रो एनजिओ, आइएनजीओको हाकिम बन्न सक्छ, कुनै पनि विषय आफैंमा कमजोर हुँदैन । रत्नराज्य माविका प्रधानाध्यापक यादव पनि शिक्षा र मानविकीलाई कमजोर ठान्नेहरू शिक्षालाइ बुझ्न नसकेको व्यक्ति भन्छन् । उनी अहिले पनि यिनै विषय पढेका दक्ष व्यक्ति बजारमा पाउन मुस्किल हुने भन्दै विद्यार्थीलाई यी विषयमा अध्ययन गर्न आग्रह गर्छन् । गाउँ गाउँमा क्याम्पस काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसमा शिक्षा र मानविकी पढ्ने विद्यार्थी घट्नुको एउटा कारण गाउँगाउँमा विद्यालय खोल्नु पनि भएको कतिपयको भनाइ छ । अहिले गाउँ–गाउँमा कक्षा ११ र १२ सम्म पढाइ हुने धेरै विद्यार्थी छन्, शिक्षा र मानविकी पढ्नेहरू उतै पढछन् । प्राविधिक शिक्षा वा विज्ञान, व्यवस्थापन विषय पढ्न चाहने विद्यार्थीमात्र सहर आउने र बाँकी गाउँमै पढ्ने भएकाले पनि यो संकायमा विद्यार्थी संख्या विद्यालयमा कमी देखिएको हुन सक्ने ज्ञानोदयकी प्रधानाध्यापक विष्णु घिमिरेले बताइन् । कक्षा ११ मा छनोट गरेका विषयले समग्र करियरकै ढोका खुल्ने भएकाले विषय रोज्दा ध्यान दिन उनी विद्यार्थीलाई आग्रह पनि गर्छिन् । व्यवस्थापन र विज्ञान किन रोजाइमा ? कुनैपनि विषय आफंैमा कमजोर हुँदैन । जुनसुकै विषयको विज्ञता अथवा दक्ष जनशक्ति अहिले पनि हरेक क्षेत्रमा आवश्यक छ । शिक्षादेखि चिकित्ससम्मका विशेषज्ञ व्यक्ति पाउनै मुस्किल छ । विभिन्न ठाउँको व्यवस्थापकीय तहमा तथा अन्य उद्योगमा पनि व्यवस्थापन पढेका विद्यार्थीले नेतृत्व गर्ने अभ्यास हुँदा व्यायस्थापन क्षेत्रमा विद्यार्थीको आकर्षण बढेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् । बैंक तथा वित्तिय संस्था रोजगारी र माथिल्लो क्षेत्रमा कम्प्युटर तथा सूचना प्रविधि लगायतका विषय अध्ययन गर्नको लागि पनि विद्यार्थी व्यवस्थापन रोज्ने गरेको उनको भनाइछ । यस्तै, प्लसटुपछि डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थी धेरै भएकाले विद्यार्थीको रोजाई विज्ञान पर्ने गरेको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका पहिलो डीन डा. प्रचण्ड प्रधान अहिले बजारमा व्यापार व्यवसाय, उद्योगधन्दामा पनि कामदारको माग बढी भएकाले विद्यार्थीको झुकाव यतातिर धेरै रहेको बताउँछन् । ‘व्यवस्थापनको क्षेत्र ठूलो छ, त्यहाँ स्माट वर्क गर्न पाइन्छ,’ उनी भन्छन्,‘ आज काम गरेर भोलि आफ्नै कम्पनी निर्माण गर्छु भन्न पनि मिल्ने भएकाले यो क्षेत्रमा विद्यार्थीको रुचि बढेको हो ।’ तर, शिक्षा र मानविकी पढेका राम्रा सक्षम कामदारको महत्व भने अहिले पनि बजारमा रहेको उनी बताउँछन् ।

सुनको भाउ हालसम्मकै महँगो, कति पुग्यो ?

काठमाडौं । सुनको भाउले नयाँ किर्तमान कायम गरेको छ । शुक्रबार तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा ३ हजार बढेर तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । यस दिन चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेर १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार १० ग्राम चाँदीको भाउ १ हजार ५५२ रुपैयाँ तोकिएको छ ।

दुई करोड लागतमा गौरमा अत्याधुनिक पशु तथा कृषि प्रयोगशाला निर्माण हुँदै

रौतहट। रौतहटको सदरमुकाम गौरमा दुई करोडभन्दा बढीको लागतमा आधुनिक पशु तथा कृषि प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहले गौर १ तरकारी बजारस्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भइरहेको जानकारी दिए । भवन निर्माणपछि स्थानीयस्तरमै माटो परीक्षण, पोखरीको पानी परीक्षण, विभिन्न प्रकारको बिउ, मलखाद परीक्षण हुने बताइएको छ । त्यस्तै, पशु प्रयोगशालातर्फ गोबर परीक्षण, पशुको रगत तथा पिसाब परीक्षण, पशुको अपरेसन, कृत्रिम गर्भधारण, पशुको अल्ट्रासाउन्ड, एक्स–रे लगायतका सुविधा उपलब्ध हुने मेयर साहले जानकारी दिए । संघीय सरकारको कुल २ करोड ३० लाख ४० हजारको लागतमा निर्माण भइरहेको भवनको ठेक्का सिएम कन्स्ट्रक्सन जोरपाटी काठमाडौंले लिएको छ । भवनको भुइँ तलामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोस्रो तल्लामा गेस्ट हाउस रहने जनाइएको छ। अगामी २०८२ साल वैशाख मसान्त भित्र भवनको निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको मेयर साहले बताए ।

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो । विसं २०८१ को साउनमा पाँच सय ८१ जना नेपाली पर्यटकहरूले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताए । ‘आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,’ उनले भने, ‘२०७९/०८० मा पर्यटक प्रवेश शुल्कबाट ९ लाख ८३ हजार २ सय रुपैयाँ राजस्व संकलन भएकोमा २०८०/०८१ मा १९ लाख ३३ हजार ७ सय रुपैयाँ पुगेको छ ।’ आर्थिक वर्ष २०७९/८० मा ७ हजार ६ सय ४५ जना पर्यटक भित्रिएको ढोरपाटनमा २०८०/८१ मा १५ हजार ५ सय ७३ जनाले भ्रमण गरेका छन् । सार्क राष्ट्रका चार, अन्य देशका १०२ र १५ हजार ४ सय ६७ जना नेपाली ढोरपाटन आएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ९ हजार ९ सय १९, २०७७/०७८ मा ६ हजार ७०३ र २०७६/०७७ मा ३२० जनाले ढोरपाटन घुमेका थिए । ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५ सय र अन्य देशकाले ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ । सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको सिकार बाहेकको आकर्षण र विशेषता हो । आर्थिक वर्ष २०८०/०८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट ४ करोड २६ लाख ८८ हजार ७ सय राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र ८ झारल, २०७७/७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो । स्पेन, अमेरिका, रसीया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउने गरेका सिकार कम्पनी ग्लोबल सफारी काठमाडौंका सिकार गाइड मानबहादुर पुनले बताए । बसन्त र सरद याममा सिकारी आउँछन् । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पक्षीहरू छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । विसं २०६७र६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा १ हजार २ सय ९० नाउर भेटिएका थिए । १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पुर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।