विकासन्युज

अलैँची र सुन्तला उत्पादन बढाउन सुपर जोन कार्यक्रम

सङ्खुवासभा । कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो । उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागू गरिएको उनले बताए। सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गरे । परियोजनाका लागि चालु आर्थिक वर्षमा पूँजीगततर्फ २० लाख र चालुतर्फ चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उनले जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताए । सिँचाइ पूर्वाधार निर्माण गर्न ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनी चिस्यान केन्द्र स्थापना कार्यक्रमका लागि रु २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा रु २१ लाख विनियोजन गरिएको उनले जानकारी दिए। चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् । अलैँची सुपर जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पुर्‍याउँदै आएको छ ।

उद्योगमन्त्रीले गरे हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

मकवानपुर । उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा संघीय सरकारलाई अवगत रहेको बताए। उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिँदै उनले संघीय सरकारले चरणबद्ध रुपमा गृहकार्य गरिरहेको बताए । हेसिउली उद्योग व्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिइकाई लागत न्यूनीकरण गरी प्रतिस्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिए । समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मेशिनरी हटाएर नयाँ प्रविधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए । अध्यक्ष भण्डारीले हेटौंडा सिमेन्ट उद्योगको उत्पादनको साख उपभोक्ता माझ कायमै रहेकाले उद्योगलाई कुनै पनि हालतमा निरन्तर सञ्चालनमा ल्याउन सरकारको सहयोगको अपेक्षा रहेको बताए। उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक संकटका कारण पटकपटक बन्द गर्नुपरिरहेको बताउँदै उत्पादनलाई थप वृद्धि गर्न पुराना प्रविधिका मेशिनबाट काम लिन नसकिने अवस्था रहेकाले नयाँ प्रविधिका मेशिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने मन्त्री भण्डारीसमक्ष माग गरे । मन्त्री भण्डारीले आजै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि वर्तमान अवस्थाका बारेमा निरीक्षण गरेका छन् । कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिंदै मन्त्री उनले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताए । हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले आज नै अवलोकन गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको छ । मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने जानकारी दिए। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक संगीता कुँवर, हेसिउली व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले मयुरधाप औद्योगिक क्षेत्रको हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए । आजै मन्त्री भण्डारीले मकवानपुर उद्योग वाणिज्य सङ्घमा उद्योगी तथा व्यवसायीसँग वर्तमान समसामयिक समस्याका बारेमा छलफल गरेका छन् । उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरपालिकाका विभिन्न शीर्षकका करका दर एक सय ५३ प्रतिशतसम्म बढाएर उद्योगी व्यवसायीलाई दुःख दिएको सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मन्त्री भण्डारीसमक्ष गुनासो राखे ।

भारतले रुससँग किन्यो पौने ३ अर्ब डलरको कच्चा तेल

काठमाडौं । भारत आफ्नो कच्चा तेलको आवश्यकता परिपूर्तिका लागि आयातमा निर्भर छ । उसले आफ्नो आवश्यकताको ८० प्रतिशत आयात गर्छ । कच्चा तेल खरिद गर्ने हिसाबले भारत तेस्रो ठूलो देश हो। भारतले सबैभन्दा बढी तेल रुसबाट खरिद गरेको छ । विश्वको तेस्रो ठूलो तेल उपभोक्ता तथा आयातकर्ता भारतले जुलाईमा रुसबाट २ अर्ब ८० करोड अमेरिकी डलरको कच्चा तेल खरिद गरेको छ । रुसबाट तेल आयात गर्नेमा भारत चीनपछि दोस्रो स्थानमा छ । एक रिपोर्टका अनुसार रुसमा भारत कच्चा तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा उभिएको छ। यो तेल रिफाइनरीहरूमा पेट्रोल, डिजेल जस्ता इन्धनमा परिणत हुन्छ । फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि केही युरोपेली देशहरूले रुसबाट खरिद नगरेपछि रुसी तेल छुटमा उपलब्ध भएको थियो। युक्रेन युद्धअघि रुसबाट कच्चा तेल आयात कुल आयातित तेलको एक प्रतिशतभन्दा कम थियो। यो अहिले भारतको कुल तेल खरिदको करिब ४० प्रतिशत हो। सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) ले एक प्रतिवेदनमा चीनले रुसको कच्चा तेल निर्यातको ४७ प्रतिशत, भारत ३७ प्रतिशत, युरोपेली संघ ७ प्रतिशत र टर्कीले ६ प्रतिशत खरिद गरेको उल्लेख छ । तेल मात्र होइन, चीन र भारतले रुसबाट कोइला पनि किनेका छन् । प्रतिवेदन अनुसार ५ डिसेम्बर २०२२ देखि जुलाई २०२४ को अन्त्यसम्म चीनले रुसको कुल कोइला निर्यातको ४५ प्रतिशत किनेको छ । त्यसपछि भारत १८ प्रतिशत, टर्की १० प्रतिशत, दक्षिण कोरिया १० प्रतिशत र ताइवानले ५ प्रतिशतले खरिद गरेका छन् । एजेन्सी

पातीचौर-लप्सीबोट सडक अवरुद्ध, स्थानीयलाई सास्ती

पर्वत । प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ । जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वडालाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने पातीचौर– लप्सीबोट सडक अझै खुल्न नसकेको हो । गत असार २६ गतेको भिषण वर्षाका कारण सडक खण्डअन्तर्गत मोदीको वडा नं २ कोरूङ्गामा गएको ठूलो पहिरो पन्छ्याउन नसक्दा उक्त क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन् । झण्डै दुई किलोमिटर पक्की सडक पहिरोले पुरिनुका साथै संरचनासमेत भत्किएको स्थानीय भूमिराज शर्माले जानकारी दिए। यो सडक खण्डअन्तर्गत जरुवा, पानी खोल्सा, कोरूङ्गा लगायतका स्थान पहिरोले पुरिएको छन् भने कतै बाढीले सडक नै बगाएको उनले बताए । एक महिनाभन्दा बढी समय भइसक्दा पनि सो सडक खुलाउने कुनै प्रयास हुन सकेको छैन । सडक सञ्चालनका लागि गाउँपालिकाले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । लामो समय सडक अवरुद्ध हुँदा यात्रुलाई निकै सास्ती हुनुका साथै अत्यावश्यक सामान ढुवानीमा समस्या भएको वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए । सडककै कारण भुकताङ्ले र लप्सीवोटमा सञ्चालित दुई दर्जन बढी घरबास ९होमस्टे०समेत सुनसान बनेका छन् । यहाँबाट हम्पाल, मोहोरेडाँडा, नागी, लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई समेत समस्या भएको उनको भनाइ छ । उक्त क्षेत्रमा सञ्चालन हुने दर्जनौं सवारी साधन महिनादिनदेखि कोरुङ्गामा थन्किएका छन् । त्यहाँबाट झण्डै दुई किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता स्थानीयको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको अभावमा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउनसमेत नसकिएको स्थानीय सन्तोष तिमिल्सिनाले बताए । उनका अनुसार गाउँमा एम्बुलेन्स जाने अवस्था छैन । सिकिस्त बिरामी, गर्भवती र सुत्केरीलाई डोकोमा बोकेर अस्पताल लैजानुपरेको तिमिल्सिनाले बताए । दैनिक कार्यालय तथा विद्यालय जाने कर्मचारी र शिक्षकले पनि उस्तै सास्ती व्यहोरेका छन् । आफ्ना सवारी साधन पातिचौरमा थन्क्याएर उकालो हिँड्नुपरेको उनीहरुको गुनासो छ । पहिरोले क्षतिग्रस्त भएको सडक तत्काल सञ्चालन गर्न कठिन भएको वडा नं २ का वडाध्यक्ष बेलबहादुर कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार वैकल्पिक मार्गको रूपमा बेतेनी–गौडा–राहाले सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रयास थालिएको छ । उक्त वैकल्पिक सडक निकै चिप्लो र हिलो भएका कारण सवारी साधन सञ्चालनमा समस्या आउने सवारी चालकहरुले बताएका छन् । ‘वैकल्पिक सडकबाट सवारी साधन लिएर आउँछन्, तर सडक पार गर्न निकै कठिन हुने गरेको छ, कति त फर्किएर जान्छन्,’ स्थानीय मिठु चापागाईंले भने । स्थानीय राजेश गिरीले करिब डेढ किलोमिटरको सडक दुई चार ठाउँमा सामान्य मर्मत गरी नियमित गाडी चल्नसक्ने अवस्था हुँदाहुँदै पनि बेवास्ता गरिएको गुनासो गरे । वैकल्पिक मार्गलाई पक्की सडकका रूपमा स्तरोन्नति गर्नसके बर्खाको समयमा यात्रुले सास्ती झेल्न नपर्ने उनले बताए। थोरै लगानीमा धेरै काम दिने छोटो दुरीको सडक निर्माणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले लगानी गर्नुपर्ने उनहरुको माग छ । कमजोर भूधरातलका कारण उक्त सडकमा वर्षेनी समस्या आउने गरेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताए । अवरुद्ध सडक खुलाउनका लागि तत्काल प्रयास गरिने उनको भनाइ छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत विगत पाँच वर्षअघि कालोपत्र गरिएको उक्त सडक खण्ड वर्षेनी आउने पहिरोका कारण जीर्ण बनेको छ । उक्त कार्यालयसँगको परामर्शमा सडक मर्मत थालिने अध्यक्ष शर्माले बताए ।

देशभर ९८ प्रतिशत रोपाइँ सकियो

काठमाडौं । यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष साउनसम्म करिब ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालु आर्थिक वर्षको साउनसम्म आठ प्रतिशतले बढेर रोपाइँ सम्पन्न भएको हो । यस वर्ष देशभर राम्रो वर्षा भएकाले पनि रोपाइँ पनि देशभर राम्रोसँग भएको जनाइएको छ । धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा शत प्रतिशत धान रोपाइँ गरिएको छ भने कोशी प्रदेशमा अन्य प्रदेशभन्दा कम ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांक छ । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत तथा मधेस प्रदेशमा सबैभन्दा कम ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा धान र चामल गरी २१ अर्ब ३४ करोडको आयात गरिएकामा आर्थिक वर्ष २०७९/८० मा ३५ अर्ब ९० करोडको आयात गरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा करिब रु १३ अर्बले आयात घटेको अभिलेख मन्त्रालयसँग छ । यस वर्ष करिब छ प्रतिशतले धानको उत्पादन वृद्धि हुने अनुमान गरिएकाले आयात थप घट्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए।

साढे ६ करोड खर्चेर बन्यो बौदिकाली गाउँपालिकाको भवन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को बौदिकाली गाउँपालिकाले करिब साढे ६ करोड लागतमा प्रशासकीय भवन निर्माण गरेको छ । पालिकाले बौदिकाली-२ डेढगाउँमा ६ करोड ३४ लाखको लागतमा तीन तले प्रशासकीय भवन निर्माण गरेको हो । आफ्नै प्रशासकीय भवन नहुँदा भाडामा बस्दै आएको पालिका यसैसाता नयाँ भवनमा सर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताए । ‘पालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरू नयाँ प्रशासकीय भवनबाट प्रदान गरिनेछ,’ उनले भने, ‘२८ कोठा रहेको भवनमा एउटा आवाससहित कृषि, पशु, पूर्वाधार, स्वास्थ्य, शिक्षा, पञ्जीकरण एवम् पालिकाको सम्पूर्ण शाखा रहनेछन् ।’ भाडाको घरबाट सेवा प्रवाह गर्दा कठिन भइरहेको अवस्थामा आफ्नै भवन निर्माण भएपछि सबै सेवा सहजरूपमा प्रवाह गर्न सकिने उनको भनाइ छ । विसं २०७९ वैशाखमा सम्झौता भएर कामाख्या बिएम जेभी नुवाकोटले निर्माण गरेको भवन म्याद अगावै सकेको गाउँपालिकाका सबइन्जिनियर विजय कँडेलले जानकारी दिए । करिब चार सय ७० वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रशासकीय भवनको सबै काम सकिएको जनाउँदै उनले विद्युत् जडान गर्नमात्रै बाँकी भएको बताए । विद्युत जडान गरेपछि भवनमा सर्ने तयारी गरिएको भए पनि निर्माण कम्पनीलाई एक करोड ५६ लाख रकम तिर्न बाँकी रहेको कँडेलले जानकारी दिए । पालिकाको प्रशासकीय भवन अपाङ्गतामैत्री हुनेगरी निर्माण गरिएको उनको भनाइ छ । ‘पालिकामा सबै प्रकारका सेवाग्राही सेवा लिन आउनुपर्ने हुन्छ,’ उनले भने, ‘प्रायः सार्वजनिक कार्यालय अपाङ्गतामैत्री नभइरहेको अवस्थामा हामीले निर्माण गरेको नयाँ भवन अपाङ्गतामैत्री छ, सबै सेवाग्राहीले सहजरुपमा सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’ भवनमा विद्युत प्रवाह सहज बनाउन एक सय ५० केभीएको ट्रान्सफर्मरसमेत जडान गरिएको उनको भनाइ छ ।

भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा आकर्षित

भोजपुर । भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । यहाँको आमचोक गाउँपालिका २ मा सात कृषक मिलेर व्यावसायिक रूपमा लोठसल्लाको खेती थालेका छन् । बसाइँसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिव तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती विस्तार गरेको कृषक सन्तोष चौलागाइँले बताए । हालसम्म १८ हजार बिरुवा रोप्ने काम सम्पन्न भएको उनले जानकारी दिए। भावी दिनमा यसलाई थप विस्तार गर्ने उद्देश्य रहेको उनको भनाइ छ । ‘सात जना कृषक मिलेर व्यावसायिक रुपमा तीन सय रोपनी जमिनमा लोठसल्ला खेती गरिरहेका छौँ’ उनले भने ,’हालसम्म १८ हजार बिरुवा विस्तार गरिसकेका छौँ । सुरुमा आफ्नै लगानीमा थालेको काममा राज्यको तर्फबाट पनि केही सहयोग पाउँदा खुसी लागेको छ ।’ किसानलाई जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए । भोजपुरमा लोठसल्ला, सतुवा, चिराईतोलगायत जडीबुटीको राम्रो सम्भावना रहेकोले यसको विस्तारमा जोड दिएको उनको भनाइ छ । ‘भोजपुरमा जडीबुटीको निकै राम्रो सम्भावाना छ’ उनले भने,’यहाँको सम्भावनाको पहिचान गरेर लोठसल्ला, सतुवा, चिराईतोको व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएका छौँ ।’ आमचोक क्षेत्रमा किसानहरुले उदाहरणीय रुपमा लोठसल्लाको खेती गरिरहेको कार्यालयको भनाइ छ । किसानले स्वतस्फूर्त थालेको काममा केही प्रोत्साहन गर्ने लक्ष्यले गत आर्थिक वर्षमा बिरुवा खरिदको लागि चार लाख पाँच हजार सहयोग गरेको वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । यहाँका किसानले थालेको लोठसल्ला खेती नमूनायोग्य रहेको उनको भनाइ छ । विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयको भनाइ छ । जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरुको भनाइ छ । यसको पातलाई चियाको रुपमासमेत प्रयोग गर्न सकिने वन कार्यालयको जनाएको छ । लोठसल्ला खेतीको लागि भोजपुरको आमचोक गाउँपालिका, टेम्केमैयुङ १ तिम्मा, वडा नं ५ खावा, वडा नं ९ लेखर्क तथा जिल्लाको माथिल्लो क्षेत्रमा बढी सम्भावना रहेको डिभिजन वन कार्यालयका सहायक बन अधिकृत खुद्रुस मियाले बताए । लोठसल्ला खेतीको लागि समुन्द्री सतहबाट दुई हजारदेखी तीन हजार पाँच सय मिटरसम्मको उचाइ उपयुक्त हुने उनको भनाइ छ । लोठसल्ला बहुउपयोगी औषधीजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताए । किसानले जिल्लामा लोठसल्ला खेतीको लागि गरिरहेको काम नमूनायोग्य रहेको उनको भनाइ छ । यस्ता खालका कार्यक्रमले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने प्रमुख थुलुङले बताए । ‘मैले पनि आमचोकमा भईरहेको लोठसल्ला खेतीको स्थलगत अनुगमन गरे’ प्रमुख थुलुङले भने,’किसानहरुले खेती विस्तारको लागि गरिरहेको काम उदाहरणीय छ । यसले बाँझो जमिनको सदुपयोगसँगै उनीहरूलाई आयआर्जनमा जोड्न टेवा पुग्ने देखिन्छ ।’

बाढीपछि नाम्चेभन्दा माथिको आवतजावत ठप्प

सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उनको भनाइ छ । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए । उनले भने, ‘थामे यतिबेला तनावग्रस्त अवस्थामा छ, यहाँ बत्ती छैन फोन लाग्दैन, टिभी केही छैन सबै बाढीले बगायो, स्थानीयको ज्यानबाहेक सबै बाढीले बगायो, यहाँ असाध्यै गाह्रो छ । पर्यटकीय गाउँ सबै बगायो, देख्दै विरक्ता लाग्दो छ ।’ बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच घरपरिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पाकी मोटरेबल पुलमा सवारी सञ्चालन गर्न नमिल्नेगरी क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । यसैबीच रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ । शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले बगाएको थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौँबाट रक्षामन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली थामे पुगेको हो । निरीक्षण टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसदलगायत रहेका छन् ।