महालक्ष्मी विकास बैंकले टाटाका गाडी किन्न ९.९९ प्रतिशतमै कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको छ । समझदारीपत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनीबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने बैंकले जनाएको छ । कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । सटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ । कम्पनीले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको बताएको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका– ३ मा कम्पनीले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको हो । यसअघि नै कम्पनीले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेतस्थित आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरू सञ्चालनमा ल्याइसकेको छ । धनगढी उपमहानगरपालिका–३ स्थित भवनबाट सुविधा सम्पन्न आधुनिक सुदूरपश्चिम प्रदेश कार्यालयसहित धनगढी शाखासमेत सञ्चालनमा आएको छ । हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका ४ मा सञ्चालनमा रहेको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८०० मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको कम्पनीले बताएको छ । आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिमस्थित धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकका लागि एक कोशेढुंगा भएको बताए । साथै, उनले सुदूरपश्चिम प्रदेश महत्वपूर्ण व्यावसायिक केन्द्र रहेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा सुविधा लिएर आउने बताए । सो अवसरमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी कम्पनीले १० वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
समृद्धि फाइनान्सको जनकपुर शाखाले मनायो दोस्रो वार्षिकोत्सव
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको जनकपुर शाखा कार्यालयले दोस्रो वार्षिकोत्सव मनाएको छ। शाखाले बुधार स्थानीय व्यापारी, बचतकर्ता, बुद्धिजीवी आदिको उपस्थितिमा दोस्रो वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा शाखाका शाखा प्रबन्धक अमरकुमार चौधरीले उपस्थितहरूलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनमा पनि फाइनान्सले उच्च साथ सहयोगको अपेक्षा राखेको बताए । कार्यक्रममा विभिन्न व्यक्तिहरूले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेको शाखाले जनाएको छ । समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निः शुल्क प्रदान गरिरहेको छ ।
झिनो अंकले बढ्यो नेप्से, १९ अर्बको कारोबार
काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्से ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा अडिएको छ । आइतबार करेक्सन देखिएको सेयर बजारमा सोमबार र मंगलबारको सार्वजनिक बिदापछि बुधबारको बजार झिनो अंकले मात्रै बढेको थियो । बिहीबार पनि निरन्तरता दिँदै झिनो अंकले बजार बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि केही बढेको छ । बिहीबार ३३३ कम्पनीको १९ अर्ब १६ करोड रुपैयाँ बराबारको कारोबार भएको छ । बुधबार १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको कारोबार भएको थियो । यस दिन १३२ कम्पनीको सेयरमूल्य बढ्दा १०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा स्थिर रहेको छ । सूचीकृत १३ उपसमूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ । सर्वाधिक बढ्नेमा विकास बैंक समूह रहेको छ । यस समूह ४.५२ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूह १.५५ प्रतिशतका दरले घटेको हो । सात कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
१९ हजार बढीले लिए भरतपुरबाट लाइसेन्स, ८८ करोड २० लाख राजस्व संकलन
चितवन । यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले विसं २०८० वैशाख ४ गतेदेखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरूले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन । कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईका अनुसार कार्यालयबाट सवारी चालक अनुमतिपत्र प्रदान तथा नवीरण गर्दै आएको छ । सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमतिपत्र नवीकरण गरेको उनले बताए । यस कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जीप, ट्याम्पो, ई रिक्सा, ट्याक्टर, मिनिबस, बस÷ट्रक, एक्साभेटर र व्याकुलोडर लगायतको सवारी चालक अनुमतिपत्र दिइने गरिएको छ । उनले भने, ‘यहाँबाट अत्याधिक मात्रामा मोटरसाइकल, स्कुटर र कार, जीपको सवारीचालक अनुमतिपत्र लिने गरेका छन् ।’ यस जिल्लामा अध्ययन वा रोजगारीको सिलसिलामा आएका जो कोहीले पनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेको उनले बताए । अधिकृत चपाईका अनुसार सवारी साधनको प्रमाण पुर्जाको प्रतिलिपि ७१ जनाले लिएका छन् । गत आर्थिक वर्षमा सवारी दर्ता १३ हजार ९०९ वटा भएको छ । सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यस कार्यालयबाट हालसम्म २९ हजार ११ जनाले सवारी साधन दर्ता गराएका छन् । कार्यालयले गत आर्थिक वर्षमा ८८ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
सुनको सिक्री लुटपाट गर्ने ३ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भई बनेपा बस्ने ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-६ घर भई काठमाडौं गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बस स्टपमा अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा हाम्रो टोली र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले निज तीनजनालाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो ।’ पक्राउ परेका अनिलकुमारमाथि यसअघि विसं २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेशमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट तीनपटक र सुरेशमाथि प्रहरी वृत्त बौद्धबाट एकपटक तथा प्रहरी वृत्त गौशालाबाट तीनपटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताए । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
टर्कीमा अर्थतन्त्र सुस्तताको प्रभाव पर्यटनमा, अर्बौं लगानीका होटल सुनसान, घुमघाम ठप्प
काठमाडौं । प्रत्येक वर्ष गर्मीमा टर्कीको समुद्र तटमा यति धेरै भीड हुन्छ कि तौलिया राख्ने ठाउँ हुँदैन । तर, यो वर्ष परिदृष्य अर्कै बनेको छ । सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पर्यटनबाट नाफा बढेको छ । अघिल्लो वर्षको तुलनामा नाफा १२ प्रतिशतले बढेको छ भने पर्यटकको संख्या १५ प्रतिशतले बढेको छ । तर, टर्कीको पर्यटन क्षेत्रको अवस्था यस सरकारी तथ्यांकबाट पूर्णतया फरक छ । त्यहाँको पर्यटन क्षेत्रको गति सुस्त भएको छ । ‘जुलाई महिनामा होटलका कोठाहरू खाली भएको यो वर्षहरूमा पहिलो पटक हो,’ टुकोनफेड, पर्यटन संगठनका मेहमेट जेम भन्छन् । कति घटे पर्यटक ? यसपटक होटलका कुल कोठामध्ये ६० प्रतिशत मात्रै बुकिङ भएको उनले बताएका छन्। टर्कीमा सिजनको समयमा कुल होटल कोठाहरूको ९५ प्रतिशत बुक गरिन्छ । कोरोनापछि विश्वका विभिन्न देशमा पर्यटकको संख्यामा कमी आएको छ । तर, कोरोनासँग सम्बन्धित प्रतिबन्ध फुकुवा भएपछि हरेक वर्ष विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । तर, टर्कीको पर्यटककाे संख्या घटेकाे छ । भूमध्यसागरीय तटमा रहेका अन्य पर्यटकीय स्थलहरूको तुलनामा टर्की भ्रमण गर्ने पर्यटकको संख्या निकै कम छ । विदेशी पर्यटकले अन्य सस्तो गन्तव्य रोज्ने गरेको देखिन्छ । होटलहरूलाई घाटा हुनुको एउटा कारण टर्कीमा मुद्रास्फीति नियन्त्रण बाहिर गएको छ । जसका कारण स्थानीय बासिन्दाहरू देशभित्र समेत घुम्न जान पाएका छैनन् । खेल पर्यटनको प्रभाव टर्कीको पश्चिममा सेजमे नामक ठाउँ छ । नूर दामन यहाँ होटलकी मालिक हुन् । उनी भन्छिन्, ‘हाम्रो होटल समुन्द्रको किनारमा भएकोले मात्रै होटेलका कोठा भर्न सकेको छु, सहरको बिचमा रहेका अन्य होटेल संघर्षरत छन्, हामी सबैले आफ्नो कोठाको भाडा घटाउनुपर्छ, विद्युत महसुल र अन्य खर्च ह्वात्तै बढेको छ ।’ आधिकारिक तथ्यांकअनुसार टर्कीमा मुद्रास्फीति दर ६१.८ प्रतिशत छ । युरोपमा बसोबास गर्ने टर्कीका बासिन्दा पनि यसपटक बिदा मनाउन स्वदेश नआएको नूरको विश्वास छ । टर्कीका सरकारी अधिकारीहरूले खेलकुदसँग सम्बन्धित धेरै ठूला घटना वा प्रतियोगिताहरू युरोपमा भएको विश्वास गर्छन् । जसका कारण पनि टर्की आउनेको संख्या घटेको छ । जर्मनीले युरो २०२४, युइएफए युरोपियन फुटबल च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । जसका कारण थप ६ लाख विदेशी पर्यटक आउने अपेक्षा गरिएको थियो । पेरिस ओलम्पिक तीन हप्तासम्म चलेको थियो र यसका कारण ११ लाखभन्दा बढी पर्यटकले पेरिस भ्रमण गरेका थिए । टर्कीका संस्कृति तथा पर्यटनमन्त्री नुरी एरसोयले सेप्टेम्बरसम्म यही अवस्था रहने र पर्यटकको संख्या बिस्तारै बढ्दै जाने बताएका छन् । उनी भन्छन्, ‘अबटर्की आउने मानिसहरूको संख्या बढ्दै जानेछ, हालको तथ्यांकले यो वर्षको अन्त्यसम्ममा ६ करोड पर्यटक आगमनको लक्ष्य पार गर्ने देखाएको छ ।’ ग्रीसप्रति आकर्षण ग्रीसले टर्कीका नागरिकका लागि भिसा प्रतिबन्धमा छुट दिँदा होटलहरूले पनि घाटा बेहोर्नु परेको दाबी गरिएको छ । यस वर्षको सुरुमा ग्रीस सरकारले भिसा एक्सप्रेस योजना सुरु गरेको थियो । यस योजनामार्फत टर्कीका नागरिकहरूलाई ग्रीसका १० वटा टापुमा पुग्नेबित्तिकै भिसा अन अराइभल अर्थात् भिसा दिने सुविधा दिइएको थियो । जसका कारण स्थानीय जनतामा यी स्थानप्रति आकर्षण बढेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यो पनि भनेका छन्– ‘ग्रीसका टापुहरू टर्किएका टापुहरूभन्दा सस्तो छन् ।’ टर्कीको एर्दोगान सरकारले मुद्रास्फीति नियन्त्रण गर्न प्रयास गरिरहेको त्यहाँका रिपोर्टहरूले बताएका छन् । टर्की पर्यटन संघ टुर्साबका प्रमुख फिरोज बगालिकायाले भने, ‘लागतमा खर्च भइरहेकोभन्दा विनिमय दर छिटो बढेको छ, जसका कारण यात्रा महँगो भएको छ, विशेषगरी होटलको कोठा ।’ बीबीसी
सांसद दाहालको प्रश्न- त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा शिक्षामन्त्रीले सरकारको ध्यानाकर्षण गराएको विषय प्रतिनिधि सभामा पनि पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा छैन भने अन्त कहाँ सुरक्षा छ भन्ने प्रश्न सरकारलाई गरेका छन् । ‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ? सरकार छ भने टीयूमा सुरक्षा देओस्,’ उनले भने, ‘राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ ।’