विकासन्युज

पन्च ईभीले नेपालमा टाटालाई नम्वर वान बनाइराख्न मद्दत गर्छ-सिजापति

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न नयाँ मोडलहरू सार्वजिक गर्ने भएको छ । सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई नै लक्षित गरेर पन्च ईभी भित्र्याएकाे छ । भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल ल्याउन लागिएको कम्पनीका महाप्रबन्धक शवन्तजंग सिजापतिले बताएका छन् । यसबाहेक अन्य कुन-कुन मोडल उपलब्ध छन् भनेर सिजापतिसँग गरिएको संक्षिप्त कुराकानी : नाडा अटो शोमा टाटाका नयाँ गाडी कुन कुन हुनेछन्  ? नाडा अटो शोमा हामीले पन्च ईभी राखेका छौं । जुन भारतीय बजारमा एकदमै धेरैले रुचाएको र राम्रो बिक्री भइरहेको मोडल हो । त्यसैले यस वर्ष नाडामा हामीले यसलाई लन्च गर्ने तयारी गरेका छौं । यो गाडीको फिचर एकदमै राम्रो छ । हामीले यो गाडीको मूल्य भने नाडा अटो शोमा नै सार्वजनिक गर्ने तयारी गरेका छौं । ‘एक्च्युअल्ली, टाटा डट ईभी प्रेजेन्ट अ नाडा अटो-शो’ । त्यसैले पन्च ईभी हामीले शोमा लन्च गर्दैछौं । त्यसबाहेक टाटाको चर्चित मोडल टियागो पनि नाडा अटो शोमा रहन्छ । मुख्य आकर्षणमा यी दुई मोडल राख्ने सोचेका छौं । त्यसबाहेक बजारमा चलेका अन्य मोडलहरू पनि हुन्छन् । नाडा अटो शोमा अफर के हुन्छ ? अफरको हकमा हामीले हाम्रो कस्टमरहरूलाई जे अफर गरिरहेको हुन्छौं त्यो नै सबैभन्दा बेष्ट हो । सेल्स, सर्भिस र चार्जिङ नेटवर्कमा हामीले हाम्रो कस्टमरलाई कम्प्लिट प्याकेज नै अफर गर्ने हो । नाडा अटो शोमा पनि अझै यसलाई वेटर गर्ने कोशिस रहन्छ । त्यसबाहेक पन्च लन्च भइसकेपछि हामीले अन्य अफर के कति दिन सक्छौं त्यो नाडा अटो शोमा नै थाहा हुन्छ । नेपालमा ईभीको मार्केट कस्तो छ ? ईभीको मार्केट नेपालमा बढ्दो छ । पेट्रोल गाडीबाट बिस्तारै बजार सिफ्ट भएर ईभीतिर आउँदैछ । हामी विगत २ वर्षदेखि निरन्तर नेपालको नम्बर वान ब्राण्डको रूपमा स्थापित भएका छौं । र, पन्च जस्तो मास मार्केट प्रोडक्ट ल्याएपछि अझै हाम्रो पोजिसन राम्रो हुनेछ । पछिल्लो समय ईभी गाडीबारे गुनासा पनि धेरै छन् । खासगरी रिसेल भ्यालु कम भएको, सर्भिसमा समस्या भएकाे, ब्याट्रीमा समस्या हुने गरेको गुनासो सुनिन्छ । तपाईंहरूले यसलाई कसरी समधान गरिरहनुभएको छ ? तपाईंले भन्नुभएका सबै समस्याहरूलाई म स्वीकार्छु । किनकि बजारमा त्यो गुनासो धेरैको छ । म कुनै कम्पनीलाई प्रतिस्पर्धी मानेर भन्न चाहन्नँ । सिप्रदीमा जे छ त्यो मात्रै भन्छु । तपाईंले सबैभन्दा सुरुमा रिसेल भ्यालस भन्नुभयो, त्यसमा सिप्रदीको के छ भने हामीबाट तपाईंले गाडी लिनुभएको छ अथवा तपाईं हाम्रो गाडी लिन चाहानुहुन्छ भने तपाईंले लिएर आएको गाडीमा भ्यालु एड गरेर पुरानो लिएर हामी नयाँ दिन्छौं । त्यसलाई एक्सचेन्ज गर्नका लागि हामीसँग इनहाउस एक्सचेन्ज सुविधा नै उपलब्ध छ । दोस्रो कुरा सर्भिस हाे । यो चाहिँ सबै कन्जुमरहरू आफै पनि अलि प्रोएक्टिभ हुनुपर्छ । हाम्रो पूर्वदेखि पश्चिमसम्म विभिन्न स्थानमा सर्भिस सेन्टरहरू छन् । जहाँ पूर्णरूपमा हामीले दिने सेवा सुविधा दिइरहेका हुन्छौं । त्यसैले टाटामा यो समस्या पनि छैन । र, अर्को भनेको ब्याट्रीको कुरा । नेपालमा आफैले ब्याट्री डागोनोस्टिक एण्ड रिपेयर गर्ने हामी मात्रै एक हौं, जुन बागडोलमा छ । हाम्रो ब्याट्री टेक्नोलोजीलाई मर्मत गर्न र त्यसलाई नेपालभित्र नै कसरी रिपेयर एण्ड मेन्टेनेन्स गर्न सकिन्छ त्यो गर्नका लागि हामीले एक डागोनोस्टिक सेन्टर नै खोलेर राखेका छौं । टाटाको सबै ईभी गाडीको ब्याट्री मर्मत हामी त्यहीबाट गर्छौं । त्यसैले अन्य ब्राण्डहरूमा यी समस्या भए पनि टाटामा यस्ता समस्या  छैनन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई पत्र

काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्नुअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए । उनले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गरे । सो अवसरमा अर्थ मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत उपस्थित थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो । २०७२ साल चैत्र ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भएर २०७३ साल पुस २७ गतेबाट निर्माण कार्य सुरु भएको थियो । २०७९ साल पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । कार्यक्रममा काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा-सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भयो । नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरे । अर्थ मन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीन सरकारको सहयोगका लागि अनुरोध गरे । उपाध्यक्ष याङ वेइहुनले नेपाल सरकारको तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने जानकारी दिएका थिए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङचेयर), सुगम घिमिरे (मेम्बर इन्टिग्रेसन चेयर),निदा दुन मल्ल (मेम्बरसिपचेयर), पुनित अग्रवाल (फाइनान्सचेयर),अंकुर अग्रवाल (नेटवर्क एन्ड कम्युनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एन्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअपचेयर)  निर्वाचित भएका हुन् । सन् २०२३/२०२४ को अध्यक्ष अनुराग गोयल थिए । नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरूलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गरे । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरूलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष अग्रवालले यसमा काम गर्न नयाँ टिमलाई सुझाव दिए । मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने गरी काम गर्ने विश्वास व्यक्त गरे । स्टार्ट–अप र युवा उद्यमीहरूलाई प्रोत्साहनको खाँचो रहेको भन्दै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवाहरूलाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताए । व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आबद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुन् । उनी मञ्चमा सन् २०१९ देखि सक्रिय छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।

स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली कार्यान्वयनमा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागु गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए । बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागु गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागु गरिएको हो । बोर्डले विज्ञहरूको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवासुविधाको नयाँ दररेट कायम गरेको छ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत १ हजार २ सय ९० प्रकारका औषधी छन् । अस्पताल टिकट ५० रुपैयाँ तोकिएको छ । शय्याको प्रतिदिन २ सय ५० रुपैयाँ राखिएको छ । यसअघि साधारण शय्याको २ सय रुपैयाँ थियो । स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत ५ जना परिवारसम्मका लागि ३ हजार ५ सय बराबरको योगदानका आधारमा १ लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य ७ सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाखसम्म तोकिएको छ । बीमा कार्यक्रममा कुल बीमित परिवार संख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल बीमित जनसंख्या ७७ लाख ४१ हजार ४ सय ८३ जना रहेको छ ।

अर्थतन्त्रमा सुधार, भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्न कार्ययोजना तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत निर्यातका लागि मार्गचित्र तथा कार्ययोजना तयार रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद नारायणप्रकाश साउदले सोधेको प्रश्नको जवाफ दिँदै उनले भारतमा विद्युत निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार पारेको बताए । प्रधानमन्त्रीले उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१/९२ सम्म करिब १३ हजार ५ सय मेगावाट विद्युत आन्तरिक माग पूर्तिका लागि र करिब १५ हजार मेगावाट विद्युत छिमेकी मुलुक भारत र बंगलादेशमा निर्यात गरिने उल्लेख रहेको बताए । साथै, सो अवधिसम्म नेपालको कुल विद्युत उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिइएको र उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषदमा पेस भइसकेको उनले बताए । हाल नेपालको कूल विद्युत उत्पादन क्षमता करिब तीन हजार २ सय ४० मेगावाट पुगेको र आव २०९०/९१ सम्ममा करिब २६ हजार मेगावाट विद्युत थप उत्पादन हुने प्रक्षेपण सहितको कार्ययोजना तयार भएको उनले जानकारी दिए । कार्ययोजनामा विद्युत खरिद सम्झौता सम्पन्न भएका आयोजनाबाट ५ हजार ८ सय ७३ मेगावाट, विद्युत खरिदको प्रक्रियामा रहेका आयोजनाबाट ३ हजार २ सय ५ मेगावाट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाबाट ३ हजार १ सय ८ मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण छ । त्यसैगरी कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाबाट ५ हजार ६ सय ४८ मेगावाट तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीबाट अध्ययन सम्पन्न भएका ठूला प्रकृतिका तथा विद्युत खरिद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाबाट ४ हजार ४ सय ३१ मेगावाट र भारतीय कम्पनीबाट प्रवर्द्धन भइरहेका आयोजनाबाट ३ हजार ६ सय ७९ मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको प्रधानमन्त्रीले उल्लेख गरे । आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत व्यापारका लागि आवश्यक उच्च भोल्टेज स्तरका विभिन्न अन्तरदेशीय विद्युत प्रसारण लाइन विकासका क्रममा रहेको उनले बताए । ‘ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको पहिलो नेपाल–भारत अन्तरदेशीय विद्युत प्रसारण लाइन सन् २०१६ देखि सञ्चालनमा छ, अरुण–३ जलविद्युत आयोजनाको प्रवरद्धक भारतीय कम्पनी सतलजजल विद्युत निगम लिमिटेडबाट निर्माण भइरहेको २ हजार ५ सय  मेगावाट विद्युत प्रसारण क्षमताको ढल्केबर–सितामढी ४०० केभी अन्तरदेशीय विद्युत प्रसारण लाइन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने । प्रधानमन्त्री ओलीले २ हजार ५ सय मेगावाट विद्युत प्रसारण क्षमताको बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय विद्युत प्रसारण लाइन सन् २०२५ सम्म सम्पन्न हुने गरी निर्माण भइरहेको बताए । त्यसैगरी, पाँच सय मेगावाट विद्युत प्रसारण क्षमताका थप दुई वटा ४०० केभी अन्तरदेशीय विद्युत प्रसारण लाइन इनरुवा–पूर्णिया र लम्की–बरेली कार्यान्वयनका चरणमा छन् । यी अन्तरदेशीय विद्युत प्रसारण लाइन सन् २०२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी नेपाल र भारतबीच सहमति भएको उनको भनाइ छ । ‘नेपाल र भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइनबाट १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्न नेपालको आन्तरिक विद्युत प्रसारण प्रणाली पनि सबल र सक्षम हुनुपर्ने हुन्छ,’ उनले भने, ‘यसका लागि हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्डको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने हेटौडा–ढल्केबर खण्डको निर्माण कार्य अन्तिम चरणमा छ ।’ त्यसैगरी, लफ्सीफेदी–रातामाटे–न्यू हेटौडा र रातामाटे–न्यू दमौली–न्यू बुटवल ४०० केभी विद्युत् प्रसारण लाइन निर्माण कार्य छिट्टै सुरु गरिने उनले जानकारी दिए । ‘यी प्रसारण लाइनका सवस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । साथै, खिम्ती–बाह्रबीसे–काठमाडौं ४०० केभी, मर्स्यांदी करिडोर २२० केभी र चिलिमे–त्रिशूली २२० केभी विद्युत प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी विद्युत प्रसारण लाइन र देशका प्रमुख लोड केन्द्र भएर जाने साउथ करिडोर विद्युत प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइएको बताए । ‘उत्पादन तथा प्रसारण आयोजना सम्पन्न हुँदा नेपाल–भारत बीच सम्पन्न दीर्घकालीन विद्युत व्यापारका सम्झौतामा उल्लिखित परिमाणको विद्युत निर्यात गर्न सकिने तथा नेपालको आन्तरिक खपत समेत बढाउन सकिनेछ,’ उनले भने । नेपालले भारतीय विद्युत ग्रीड प्रयोग गरी बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्न सम्झौता सम्पन्न गर्ने तयारी कार्य अन्तिम चरणमा रहेको पनि उनले जानकारी दिए । ‘गत साउन १३ गते नेपाल, भारत र बंगलादेशका ऊर्जा मन्त्रीहरूको उपस्थितिमा काठमाडौंमा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभेलप्मेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडबीच विद्युत बिक्री सम्झौता (पीएसए) हस्ताक्षरको तयारी भएको थियो, तर बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उक्त कार्यक्रम स्थगित भयो,’ उनले भने । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको ६ वर्षपछि सार्थकता पाउन लागेको विद्युत निर्यातसम्बन्धी सम्झौता नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उनले स्पष्ट पारे । बंगलादेश सरकारले समेत नेपालबाट आयात गरिने विद्युतको मूल्य स्वीकृत गरी सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरिसकेको उनले बताए । बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमपछि भर्खरै अन्तरिम सरकार गठन भएको सन्दर्भमा नेपाल सरकारको परराष्ट्रमन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उपर्युक्त सम्झौता यथाशक्य छिटो सम्पन्न गर्न पहल भइरहको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले निकट भविष्यमा उक्त समझदारीमा हस्ताक्षर भई नेपालबाट प्रथम पटक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुने र यो दक्षिण एसियामा उप–क्षेत्रीय ऊर्जा सहकार्यको रूपमा पहिलो महत्वपूर्ण उपलब्धि हुनेमा विश्वास व्यक्त गरे । यस्तै, उनलेृ अर्थतन्त्रमा सुधार भएको पनि बताएका छन् । वर्तमान सरकार गठनपश्चात छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका हुन् । उनले जनतामा विद्यमान निराशा चिर्न र आशाको सञ्चार जगाउन दुई ठूला दल मिलेर सरकार बनेको उल्लेख गर्र्दै गत वर्षको तुलनामा साउनमा राजस्व परिचालन र पुँजीगतखर्चमा वृद्धि भएको बताए । “घरजग्गा कारोबार सुधार क्रमशः हुँदै गएको छ । पुँजी बजारमा उल्लेखनीय सुधार आएको छ । अर्थतन्त्रको बाह्य चक सुविधाजनक अवस्थामा छ भने लगानी गर्न निजी क्षेत्रको मनोवल उत्साहित देखिएको मैले पाएको छु”, उनले भने ।

दमकमा भ्यु टावर होइन, सयौं वर्ष प्रतिफल दिने बिजनेस कम्प्लेक्स बनेको हो-प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा भ्यूटावर नभइ बिजनेस कम्प्लेक्स निर्माण भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । ‘दमकमा एउटा बिजनेस कम्प्लेक्स बनेको छ, त्यसको उचाइ ७२ मिटर छ, ५ बिघा जमिनमा बनेको हो, यो नितान्त भ्यूटावर होइन, बिजनेस कम्प्लेक्स हो, अलिक अग्लो छ, त्यसैले भ्यूटावर भनिँदोरहेछ,’ प्रधानमन्त्री ओलीले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘त्यसको लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको छ, त्यसको निर्माण सकिसकेपछि विधिवत् सञ्चालन गरिनेछ, त्यसभित्र व्यापारिक अफिसहरू, सेमिनार हल, प्रदर्शनी कक्षहरू रहनेछन्, हालका लागि त्यसलाई झापा ट्रेड सेन्टरका रूपमा बुझ्दा पनि हुन्छ ।’ उक्त कम्प्लेक्सले सयौं वर्षसम्म प्रतिफल दिने प्रधानमन्त्री ओलीले दाबी गरे । ‘यसले सयौं वर्षसम्म प्रतिफल दिइरहनेछ, यसमा बालुवामा पानी हालेजस्तो गरिएको छैन, यसले आपसापका बजारहरू, स्थानीय जनतालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै सेवाहरू पुर्‍याउन सकिन्छ,’ उनले भने ।

चन्दा संकलन गरेर कक्षा सञ्चालन

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका अभिभावकले चन्दा संकलन गरेर कक्षा-११ र १२ को कक्षा सञ्चालन गरेका छन् । स्थापना भएको ४४ वर्षसम्म कक्षा-१० सम्मको मात्र पढाइ सञ्चालन हुँदै आएको पाथेकास्थित लुङथुङ कोलडाँडामा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा अभिभावकले चन्दा संकलन गरेर यसै शैक्षिकसत्रदेखि कक्षा-११ र १२ को कक्षा सञ्चालन गरेका हुन् । विसं २०१७ मा स्थापना भएको सरस्वती माविमा कक्षा-११ र १२ सञ्चालनका लागि हालसम्म ३ सय ९८ चन्दादाताबाट ३१ लाख संकलन भएको प्रधानाध्यापक उत्रप्रसाद राईले जानकारी दिए । ‘संकलित रकमबाट दुई शिक्षक तथा पाठ्य सामग्री खरिद गरेर यस वर्षदेखि कक्षा-११ को कक्षा सञ्चालन गर्दैछौँ, अहिले कक्षा-११ का लागि भर्ना अभियान चलिरहेको छ,’ उनले भने, ‘अर्को वर्षदेखि कक्षा-१२ को कक्षा सञ्चालन हुन्छ ।’ कक्षा–११ र १२ सञ्चालन गर्न चन्दा संकलन जारी छ । अभियानअन्तर्गत करिब २ करोड संकलन गर्ने लक्ष्य छ । संकलित रकमलाई खातामा जम्मा गरेर त्यसबाट आएको ब्याजले कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक राईले बताए । भौगोलिकरूपमा विकट तथा विद्यार्थीको सङ्ख्या पर्याप्त भएकाले चन्दा संकलन गरेरै भए पनि कक्षा-११ को कक्षा सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले जानकारी दिए । विद्यालयमा हाल कक्षा-१ देखि कक्षा १० सम्म तीन सय ३० विद्यार्थी अध्ययनरत छन् । पाथेकामा आठ सय २४ परिवार बसोबास गर्छन् । नजिकमा कक्षा-११ र १२ को कक्षा पढ्न विद्यालय छैनन् । केपिलासगढी गाउँपालिकाका दुई वडाका विद्यार्थीसमेत सोही विद्यालयमा अध्ययन गर्न आउँछन् । माथिल्लो कक्षामा शिक्षा, व्यवस्थापन र मानविकी संकायमा अध्ययन गर्न पाउने गरी तीनवटा विषयमा पठनपाठन सुरु गरिएको अध्यक्ष राईले बताए । पाथेकामा कक्षा-११ र १२ सञ्चालन गर्न तीन वर्षअघि नै पहल गरिएको हो । यसअघि कक्षा–११ र १२ अध्ययन गर्न सदरमुकाम दिक्तेल बजार तथा राजधानी काठमाडौं जानुपर्ने बाध्यता थियो । कक्षा-११ र १२ सञ्चालन गर्न सरस्वती माविमा कार्यरत शिक्षक÷कर्मचारीबाट ८ लाख तथा पाथेकाका अन्य विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीबाट १० लाख रुपैयाँ सहयोग संकलन हुने उनले बताए । सरस्वती माविमा प्राथमिक तहमा पाँच, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा तीन शिक्षक कार्यरत छन् । कक्षा-११ र १२ सञ्चालन गर्न विद्यालयका पूर्वप्रधानाध्यापक धनप्रसाद गिरीको संयोजकत्वमा २१ सदस्यीय सञ्चालन तथा समन्वय समिति गठन गरिएको छ ।

विद्युतको बक्यौता उठाइन्छ तर उद्योग चलाएर : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् । उनले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ, विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ, यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।’ उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि प्रष्ट पारेका छन् । उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ, बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ, औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुटो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु, खपत अनुसारको महसुल उठाएरै छोडिन्छ ।’