विकासन्युज

सहकारी छानबिन समितिले सोधपुछका लागि रवि लामिछानेलाई बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । लामिछानेलाई भोलि शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको छानबिन समितिका सभापति सूर्य थापाले जानकारी दिए । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि बोलाइएको छ ।

अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद डा. नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको बताए । घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको र पुँजीबजारमा उल्लेखनीय सुधार आएको बताउँदै ‌ओलीले निजीक्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको बताए । ‘सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने छ । राजनीतिमा अस्थिरता र जनतामा निराशा राखेर हामी ती काम पूरा गर्न सक्दैनौँ । ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिल्नुपर्ने कारण यही हो,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता या देखावटी होइन । हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषयबनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुंगोमा पुर्‍याउनुपर्छ । भ्रष्टाचार नियन्त्रण होहल्लाको विषयमात्रै बन्नु हुँदैन, कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।’ प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभव र जनताको इच्छा, आकांक्षा र राष्ट्रको आवश्यकताका आधारमा राजनीतिक दलहरूको सहमतिमा संविधानमा समयानुकूल परिमार्जन गर्न सकिने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीको जवाफ जारी रहेको छ ।

नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ बारे छानबिन सुरु

बाँके । बाँकेको नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठित उपसमितिले रंगशालामा पुगेर छानबिन सुरु गरेको छ । निर्माण गरेको एक महिना नबित्दै सेन्थेटिक ट्र्याक उप्किएको विषय बाहिर सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन उपसमितिले रंगशालामा पुगेर छानबिन गरिरहेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति कार्यालयका प्रमुख महेश चन्दले बताए । उनका अनुसार सेन्थेटिक ट्र्याक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्र्याक उप्कियो सो बारेमा सुक्ष्म अनुसन्धान भइरहेको छ । अध्ययन उपसमितिका संयोजक राखेप सदस्य क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्र्याकको ‘डि एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जमेको पाइएको बताए । ‘हामीले औपचारिक रूपमा अध्ययन गरिरहेका छौँ, यसमा केही कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर प्रतिवेदन तयार पार्छौं,’ उनले भने । निर्माण कम्पनीका प्राविधिक मनिषकुमार शाहले यो नेपालमा यस्तो पहिलो घट्ना भएको जनाउँदै के कति कारणले भयो ? आफूहरूले पनि खोजी गरिरहेको बताए । उनले सेन्थेटिक ट्र्याक निर्माण गुणस्तरीय प्रविधिको प्रयोग गरी गरिएको जनाउँदै कसरी उप्कियो भन्ने विषयमा आफूहरूले पनि बुझ्न नसकेको बताए । राखेपले सेन्थेटिक ट्र्याक निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या–सिन्कोट्स जेभी’ ललितपुरलाई नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो । सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्नेमा ठेकेदार कम्पनीले गत असार मसान्त (जुन १५) मा मात्र काम सम्पन्न गरेको थियो ।

भारतमा चर्चित पन्च ईभी अब नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई लक्षित गर्दै पन्च ईभी भित्र्याएकाे छ । भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल ल्याउन लागिएको कम्पनीका मार्केटिक म्यानेजर आभिरुची गिरीले बताएकी छन् । उनका अनुसार पन्च ईभी भारतमा मासिकरूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । नाडा अटो शोमा लन्च गर्न लागिएको पन्च ईभी नेपालको बहुप्रतीक्षित गाडी भएको कम्पनीको भनाइ छ । पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेको कम्पनीका महाप्रबन्धक शवन्तजंग सिजापतिले बताएका छन् । उनका अनुसार यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको  छ । त्यस्तै, टाटा पन्च ईभीमा दुई वटा ब्याट्री विकल्प छन् । गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । अहिले ३५ किलोवाट ब्याट्री क्षमताको गाडी नेपाल आएको उनले बताए । यस गाडीको मोटर पावर ९० किलोवाटको रहेको छ भने डाएमेन्सन ३.८ मिटर लम्बाइ रहेको छ । त्यस्तै, फुल चार्ज रेन्ज ४२१ किलोमिटर, चार्जिङ टाइम ५६ मिनेटमा फुल र टर्क पावर १९० एनएम रहेको उनले बताएका छन् । सिप्रदी ट्रेडिङले टाटाका गाडी दशकौंदेखि नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ । सिप्रदीले भन्सारबाट गाडी छुटाउनका लागि ४० लाखदेखि ४२ लाख रुपैयाँ मूल्य तोकेको छ । यद्यपि, यो गाडीको आधिकारिक मूल्य भने नाडा अटो शोमा मात्रै सार्वजनिक गर्ने उनले बताए । भन्सारको मूल्यभन्दा केही परिवर्तन हुनसक्ने उनको भनाइ छ । नाडालाई लक्षित गरेर ल्याइएको यो गाडी हाल कम्पनीले टेस्ट ड्राइभको लागि राखेको छ । कम्पनीले हाल ५ कलरमा यो गाडी सार्वजनिक गर्ने भएको छ ।

बाबुको राजीनामा स्वीकृतसँगै छोरो अध्यक्षमा नियुक्त, पब्लिक कम्पनी प्राइभेट जस्तै

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्ष बनाएको हो । यसअघि कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ थिए । स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका थिए । प्रेमबहादुर श्रेष्ठ ध्रुवकुमार श्रेष्ठका बाबु हुन् । सञ्चालक समितिको एउटै बैठकले बाबुको राजीनामा स्वीकृत गरेर छोरालाई अध्यक्षमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । नेपालमा पब्लिक कम्पनी पनि प्राइभेट कम्पनीको शैलीमा सञ्चालन हुने गरेको र यसले कम्पनीको संस्थागत सुशासन कमजोर हुने गरेको भन्दै यस्तो अभ्यासको आलोचना हुने गरेको छ । तर, लगानीका आधारमा सञ्चालक समिति र अध्यक्ष नियुक्त हुने भएकाले जसको बढी लगानी छ उही कम्पनीको निणर्यक पदमा रहने अभ्यासलाई सामान्यरूपमा लिने अभ्यास पनि रहेको छ ।

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाह सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा कम्पनीका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्द्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका छन् । आध्यान्त फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरूको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्वि गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ । आध्यान्तसँगको सहकार्यले उद्यमीहरुूलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास लिएको कम्पनीले बताएको छ । आध्यान्त फण्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीहरुको व्यापार, व्यवसाय विस्तार र उद्यमशीलताको पहुँच विस्तार गर्दै कम्पनीले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

महालक्ष्मी विकास बैंकले टाटाका गाडी किन्न ९.९९ प्रतिशतमै कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको छ । समझदारीपत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनीबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने बैंकले जनाएको छ । कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । सटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ । कम्पनीले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको बताएको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका– ३ मा कम्पनीले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको हो । यसअघि नै कम्पनीले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेतस्थित आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरू सञ्चालनमा ल्याइसकेको छ । धनगढी उपमहानगरपालिका–३ स्थित भवनबाट सुविधा सम्पन्न आधुनिक सुदूरपश्चिम प्रदेश कार्यालयसहित धनगढी शाखासमेत सञ्चालनमा आएको छ । हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका ४ मा सञ्चालनमा रहेको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८०० मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको कम्पनीले बताएको छ । आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिमस्थित धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकका लागि एक कोशेढुंगा भएको बताए । साथै, उनले सुदूरपश्चिम प्रदेश महत्वपूर्ण व्यावसायिक केन्द्र रहेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा सुविधा लिएर आउने बताए । सो अवसरमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी कम्पनीले १० वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।