प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताए । ‘प्रहरी साथीहरूलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुपर्यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,’ उनले भने । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिए । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उनले उल्लेख गरे । ‘यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले प्रदान गर्ने सेवा मध्ये प्रहरीले प्रदान गर्ने महत्वपूर्ण सेवा हो,’ गृहमन्त्री लेखक भने । उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पारे । ‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौँ भनेर बनेको होइन । विसं २०७९ को चुनावपछिको समय सरकार बनाउने र भत्काउनेमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,’ उनले भने, यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।’ कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गरे । ‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबीच भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरी छाड्नेछौँ,’ उनले भने । गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीलाई समानुकल, गतिशील, व्यावसायिक, सबल र सक्षम बनाउने नेपाल सरकारको नीति अनुरूप नै नयाँ भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिने बताए । यसबाट नेपाल प्रहरीको मनोबल बढ्नुका साथै सेवाग्राहीलाई समेत सहज हुने उनको भनाइ थियो । कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले भविष्यमा प्रहरीका अन्य भौतिक संरचना पनि विस्तारै व्यवस्थित गर्दै लैजाने बताए । व्यवस्थित संरचनाका कारण प्रहरीले आमसेवाग्राहीलाई सहज र व्यवस्थित रुपमा सेवा दिन मद्दत पुग्ने उनले उल्लेख गरे ।
अनुत्पादक क्षेत्रमा खर्च हुँदै ‘रेमिट्यान्स’
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का वसन्त रानाभाटको २०८० फागुन १३ गते दुबईमा मृत्यु भयो । उनको मृत्यु भएपछि श्रीमती लक्ष्मी केसी रानाभाटले नगरपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिइन् । नगरपालिकाको रोजगार शाखाले उनलाई सात लाख रुपैयाँ क्षतिपूर्ति दियो । सन्धिखर्क नगरपालिका–७ का मधुकुमार केसीको २०८० पुस ८ गते मृत्यु भयो । उनकी श्रीमती निमकला केसीले पनि क्षतिपूर्ति माग गरी सन्धिखर्क नगरपालिकामा निवेदन दिइन् । उनले पनि सात लाख रुपैयाँ प्राप्त गरिन् । अर्घाखाँचीका ५५ हजारभन्दा बढी मानिस श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएका छन् । युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा जाने युवायुवतीको सङ्ख्या यसमा समावेश गरिएको छैन । गैरकानुनी ढङ्गले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरुको तथ्याङ्क कतै भेटिँदैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सुरक्षित आप्रवासनका लुम्बिनी प्रदेश संयोजक जियाउल हकका अनुसार पछिल्लो तीन वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अर्घाखाँचीका ४७ जनाले ज्यान गुमाएको तीमध्ये नौजनाको यसै वर्ष मृत्यु भएको हो । ७४ जना गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका छन् । अर्घाखाँचीबाट आर्थिक वर्ष २०७९÷८० मा छ सय ३३ महिलासहित नौ हजार पाँच सय २६ जना रोजगारीका लागी विदेश गएका थिए । चालु आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म आठ हजार एक सय ७५ जनाले वैदेशिक रोजगारीका लागि देश छाडेको सुरक्षित आप्रवासनका अर्घाखाँची शाखाका सहजकता अम्बिका बेल्वासेले बताए । अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारीसम्बन्धी ठगीका १० वटा उजुरी परेका छन् । यीमध्ये चार उजुरीको छिनोफानो भएको छभने छवटा प्रक्रियामा रहेका छन् । ठगी गर्नेहरुबाट १० लाख ४६ हजार रुपैयाँ पीडितलाई फिर्ता गराइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । आव २०६३÷६४ सालयता गएको वैशाख मसान्तसम्म ७७ लाख २० हजार सात सय आठजनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । गत आव २०७९÷८० मा सात लाख ७१ हजार तीन सय २७ जना रोजगारीका लागि विदेश गएका थिए । यो संख्या गएको १७ वर्षयताको उच्च हो । चालु आवको ज्येष्ठ मसान्तसम्म छ लाख नौ हजार छ सय ९९ जना कामका लागि विदेश गएका थिए । अहिलेसम्म विदेश जानेहरुमध्ये ९३ प्रतिशत मलेसिया तथा खाडी मुलुकमा गएका छन्भने बाँकी सात प्रतिशत जापान, बहराइन, कोरिया, क्रोएसियालगायत देशमा छन् । विदेशबाट पठाएको पैसाको ७२ प्रतिशत रकम घर खर्चमा गएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यस्तै, १५.८ प्रतिशत रकम ऋण तिर्न, ४.६ प्रतिशत छोराछोरीको अध्ययन र १.९ प्रतिशत रकम घरजग्गामा खर्च भएको छ । यसको १.९ प्रतिशत रकम बचत गरिएको छ । नेपालभरका ५६ प्रतिशत घरपरिवार र लुम्बिनी प्रदेशका ८९.६ प्रतिशत घरपरिवारले ‘रेमिट्यान्स’ प्राप्त गर्छन् । अर्घाखाँची विदेशबाट पैसा आउने जिल्लामध्ये अग्रपङ्क्तिमा आउँछ तर त्यो पैसा उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा श्रम बेच्ने मानिस उत्पादन गर्ने काम मात्र भइरहेको छ । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्षअघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिट्यान्स (विप्रेषण) को ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ । स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यान्सको पैसो बाहिर जाने गरेको छ । केही गर्ने खालको युवा जनशक्तिलाई अर्काको देश पठाएर आएको पैसोको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको छैन । वार्षिक झन्डै साढे सात अर्ब रुपैयाँ अर्घाखाँची भित्रने गरेको छ । त्यसमध्ये तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, लत्ताकपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ । ४० प्रतिशत रकम अर्थात् तीन अर्ब उत्पादन नहुने क्षेत्र अर्थात् घडेरी र घरमा खर्च हुने गरेको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए । उनका अनुसार जिल्ला सदरमुकाम, कपिलवस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडौँमा घर घडेरी किन्नेमा खर्च भएको छ । विदेशबाट आएको रकमको २० प्रतिशत मात्र कृषिफार्म, सानाहोटल, किरानापसल र ट्याक्सी तथा बस जस्ता उत्पादनशील क्षेत्रमा खर्च भइरहेको छ । तर, यस्तो व्यवसाय गर्नेहरुले पनि बीचैमा व्ववसाय छाडने गरेका छन् । वैदेशिक रोजगारीमा गएका युवाले कमाएको पैसा विलासिता र दैनिक उपभोग्य सामग्रीमा खर्च भएकाले उक्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्नुपर्ने खालको नियम नै बनाएर अगाडि बढ्न सकेमा मात्र उत्पादनशील क्षेत्रमा खर्च हुने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । वैदेशिक रोजगारीमा युवाहरुलाई जानबाट रोक्न स्थानीय सरकारहरुले पनि काम गरिरहेका छन् । विदेशबाट फर्किएर गाउँमै कृषि र पशुपालन गर्ने युवाहरुलाई नगरपालिकाले प्राविधिक सहायताका साथै विभिन्न अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । परम्परागत कृषि पेसालाई आधुनिक र प्रविधियुक्त बनाउन मिनीटिलर, कुटानी-पिसानी मिललगायत सामग्रीहरु किसानलाई हस्तान्तरण गरेको छ । विभिन्न तरकारीका बीउ, मल आदि पनि प्रदान गर्दै आएको छ । अर्घाखाँचीको शितगङ्गा नगरपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र भौतिकपुर्वाधारलाई प्राथमिकतामा राखेर आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आगामी आव २०८१÷८२ को लागि रु ८६ करोड ८६ लाख ९० हजारको बजेट ल्याएको नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । शितगङ्गा कृषि, पशुपालनको लागि सम्भावना राम्रो भएको नगर हो । तराईका जिल्लासँग सिमाना जोडिएको यहाँको उत्पादन बुटवल, कपिलवस्तु, दाङसहित भारतीय सीमानाका कृष्णनगर हुँदै भारत निर्यात हुन्छ । जङ्गली मौवाको फूल, स्थानीय रैथाने बाली र फलफूलबाट बनाइने रक्सीको ब्रान्डिङ गरिने लक्ष्य रहेको योजना अधिकृत नुमलाल खनालको भनाइ छ । शितगङ्गा नगरपालिकाले कृषिजन्य वस्तु उत्पादन र बजारीकरणका लागि नयाँ योजना सञ्चालन गरेको छ । प्रत्येक वडामा कृषि सङ्कलन केन्द्र निर्माण गरिने पालिकाले जनाएको छ ।
टाउको र ढाड दु्ख्ने समस्याबाट कसरी मुक्त हुने ? न्यूरो सजर्न डा. काफ्लेसँगको कुराकानी
विराटनगरको कञ्चनबारीमा अवस्थित नोबेल मेडिकल कलेज पूर्वी नेपालको प्रतिष्ठित स्वास्थ्य संस्था हो । बिरामीलाई गुणस्तरीय सेवा दिँदै आएको यो अस्पतालमा दैनिक सयौं बिरामी उपचारका लागि आउने गर्छन् । तीमध्ये धेरैजसो बिरामी टाउको र ढाड दुख्ने समस्या लिएर आउँछन् । पूर्वी नेपालमा मात्र होइन अहिले देशभरि टाउको दुख्ने र नसा च्यापिएको समस्या भएर अस्पताल आउने बिरामीको संख्या बढ्दो छ । न्यूरोको समस्या के हो ? यसको उपचार नेपालमै सम्भव छ वा छैन ? यी र यस्तै विषयमा पूर्वी नेपालमा रहेर करिब एक दशकदेखि न्यूरो सर्जनका रूपमा काम गरिरहेका र विद्यार्थीलाई पनि अध्यापन गराउँदै आएका नोबेल मेडिकल कलेजका न्यूरो सर्जरी विभाग प्रमुख तथा सहप्राध्यापक डा. प्रकाश काफ्लेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् । पछिल्लो समय न्यूरोसम्बन्धी समस्याका बिरामीहरू बढेको भन्ने सुनिन्छ, न्यूरोसम्बन्धी समस्या के हो ? न्यूरोसम्बन्धी समस्या भन्नाले मष्तिष्क (ब्रेन)र स्पाइनल कर्ड (ढाड) को समस्या हो । न्यूरो सर्जरीमा ब्रेन र स्पाइन (मेरुदण्ड) पर्दछ । न्युरोसर्जन डाक्टरको ट्रेनिङ सुरु भएदेखि नै यो विषयमा अध्ययन गराइन्छ । त्यो दिनदेखि नै यि विषयमा तालिम लिएर त्यससम्बन्धी समस्याका बारेमातालिम दिन्छ । ब्रेन र स्पाइनमा के के रोगहरूको उपचार पर्छ ? भर्खर जन्मिने बच्चादेखि वयस्क, वृद्धलाई न्युरो सम्बन्धी समस्या हुन सक्छ । बच्चाहरूमा मष्तिष्कमा पनि जम्ने, मासुको डल्ला पलाउने जन्मजात ढाडको पछि मासुको फोका हुनेदेखि लिएर,ब्रेनमा टिभी हुने,इन्फेक्सन हुने, रगतको नसा सम्बन्धी समस्या , छारे रोग , Movements disorders (शरीर काप्ने रोग), र ब्रेनमा ट्युमर हुने हुन्छ भने बयष्क र बृद्धमा ब्रेनको नसा फुलेर फुट्ने रोग प्राय Brain Aneurysm , Arteriovenous Malformation(AVM), ब्रेन ट्युमर र अन्य धेरै रोगहुन्छ भने स्नायुसम्बन्धी रोगको कुरा गर्दा ढाडको नसा च्यापिएका स्पाइनमा स्पाइनको ट्युमर, स्पाइनल इन्जुरी, नसामा ट्युमर पलाएको हुन्छ, ढाडमा पनि नलीहरूको समस्या हुन्छ । उमेर बढ्दै गइसकेपछि डिजेनेरेटिभ स्पाइनल हुन्छ, त्यस्ता समस्या पनि हामी हल गछौँ । यसका लागि विभिन्न तरिका छन् । पौराणिक तरिकाबाट खोलेरभन्दा पनि अहिले नयाँ प्रविधिको विकाससँगै दुरविनबाट गरिने अप्रेसन छन् । जुन हामीले अहिले यो सेवा दिरखेका छौँ । काठमाडौं बाहिर सायद थोरै संस्था मा मात्र यो प्रविधि उपलब्ध छ । कुनै संस्थामा सामान छ म्यानपावर (जनशक्ति) छैन, कसैमा जनशत्ति छ सामान छैन । हाम्रो अस्पतालमा सामान र जनशत्तिदुवै छ । दुरविनबाट ढाडको नसा च्यापिएको समस्यादेखि लिएर , ब्रेनको धेरै खाले रोग जस्तै दिमागमा पानी जमेको, रगत जमेको र ब्रेनकै नसा पनि च्यापिएको ब्रेन ट्युमरको पनि अप्रेसन गरिन्छ । अहिले नोबेल अस्पतालमा यस्ता बिरामी कात्तिको आउँछन् ? हाम्रो अस्पतालको न्युरो सर्जरी ओपीडिमा दिनमा ४०देखि ६० जना जति बिरामी आउँछन् । त्यसको आधा जति बिरामी डाढ दुख्यो, टाउको दुख्यो भनेर आएका हुन्छन् । हामी के कारणले भइरहेको छ भन्ने कारण पत्ता लगाउँछौँ । सबै टाउको दुखेका बिरामीलाई ब्रेन ट्युमर हुँदैन । हामी सामान्य टाउको दुख्नेबित्तिकै गुगलमा सर्च गर्छौँ । त्यहाँ सबैभन्दा पहिले ब्रेन ट्युमर भनेर देखाउँछ । त्यसैले धेरै गुगल गर्नु हुँदैन । किनकि थाह नभएको कुरालाई गुगलले अनावश्यक देखाइदिन्छ र मान्छे झन आत्तिन्छन् । टाउको दुख्ने धेरै कारण कध्ये एउटा मानिसक तनाब, उच्चरक्तचाप देखि आँखा, पिनास, दाँतलगायत सयौं कारणले टाउको दुख्छ । यस्तै, टाउको ब्रेन ट्युमर, ब्रेनको नसा फुटेको या पानी जमेको कारणले पनि दुखेको हुन सक्छ । टाउको दुखाइ भनेको रोगको लक्ष्ण हो कारण होइन । कारण पत्ता लगाउन जाँच गर्न आवश्यक पर्छ । ब्रेन ट्यमुरको लक्षण कस्तो हुन्छ ? यसमा टाउको दुखाइको समय हुन्छ । तपाईंलाई बिहान, राति या दिनभरि टाउको दुख्छ यसलाई विचार गर्नुपर्छ । प्रायः बिहान उठ्दा टाउको दुख्नु अलि खतरनाक हुन सक्छ । त्यसबाहेक अरुबेला पनि एकदमै टाउको दुख्ने, सिटामोल खादा पनि दुखिरहन्छ भने पनि सचेतनाको घण्टी हुन सक्छ । यसको लागि आफै चेक जाँच गर्नुपर्छ । यसका लागि सिटीस्क्यान, एमआरईलगायत अरु जाँच गर्न सकिन्छ । तर, सबैलाई टाउको दुख्नेबित्तिकै एमआरआई, सिटीस्क्यान गराउनै पर्छ भन्ने छैन । हामी आफू चढ्ने गाडी, मोटरसाइकललाई त समय समयमा सर्भिसिङ गराउँछौँ भने आफ्नो शरीरलाई कत्तिको जाँच गराइरहेका छौँ त यो पनि सोच्नुपर्छ । नियमित जाँच गर्न एकमदम आवश्यक छ । ब्लड प्रेसर, सुगर, शरीरमा बोसोको मात्र कति छ, म स्वस्थ छु कि छैन, मेरो तौल अनावश्यक रूपमा बढेको छ कि छैन यस्ता कुरामा ध्यान दिनुपर्छ । ब्रेनमा समस्या आयो भने शरीरका अन्य भागमा कस्तो असर पर्छ ? ब्रेन भनेको शरीरका सबै ठाउँ कन्ट्रोल गर्ने ठाउँ हो । हामीले औँला चलाउँछौ हाम्रो ब्रेनमा सिग्नल जान्छ, हात अथवा कुनै ठाउँमा चिमोट्दा दुख्यो भन्ने फिल ब्रेनकै कारण हुन्छ भन्ने हामीलाई थाह हुन्छ । ब्रेनको कुन भागमा समस्या छ त्यही अनुसारको समस्या देखापर्छ । म एउटा उदाहरणका लागि जस्तो आँखाको नसा भनेको ब्रेनको आफ्नै भाग हो । ब्रेनको त्यो भागमा चोट लाग्यो भने तपाईं अन्धो हुन सक्नुहुन्छ । त्यो भाग कतैबाट थिच्चियो भने हामी त्यसलाई ब्रेनमा पिट्युटरी ट्युमर भन्छौँ जुन दिमागको मध्य भागमा हुन्छ, आँखाको जुन नसा छ त्यो नसाको बीचमा हुन्छ त्यसले गर्दा आँखा छेउछाउमा नदेखिने हुन सक्छ । कहिलेकाहीँ दिमागमा पानीको भाग बढ्यो त्यसले गर्दा पनि समस्या हुन्छ ।’ ब्रनेको अगाडिको भागमा केही समस्या आयो भने तपाईं क्याल्कुलेसन गर्न नसक्ने, मानव चेतनशील प्राणीजस्तो हुन नसक्ने, असामान्य रूप देखाउने हुन्छ । दिमागको देब्रेपट्टीको भागमा चोट लाग्यो स्मरणशक्ति हराउने, दिमागको पछाडिको भागमा चोट लाग्दा वस्तु नदेख्ने, देखे पनि ठम्मयाउन नसक्ने हुन्छ । दिमागको पछाडीपट्टी हामी सानो दिमाग पनि भन्छाैं, त्यसमा समस्या आयो भने हिँड्न नसकिने हुन्छ । दाहिने भागले दिमागले देब्रे भागलाईको कन्टोल गर्छ भने देब्रेले दाहिने भागलाई कन्ट्रोल गर्छ । कतिपय बिरामीसँग कुरा गर्दा समस्या दाहिनेतिर हुन्छ । उहाँहरू देब्रेतिर समस्या देखाउनुहुन्छ । त्यसले बुझाउन पनि गाह्राे हुन्छ । कसैको ट्युमर पलायो भने कान नसुन्ने, महिनावारी नियमित नहुनेसममको समस्या हुन्छ । यो थाहा पाउने भनेको जाँचबाट मात्र हो ? हो, जाँच गरिसकेपछि मात्र यो समस्या के हो भन्ने थाहा हुन्छ । त्यसैले तपाईंलाई भइरहेको भन्दा केही फरक समस्या आयो भने चिकित्सकीय सल्लाह लिनैपर्छ । सोही सल्लाहअनुसार जाँच गर्दा के भयो भन्ने थाहा हुन्छ । टाउको जस्तै ढाड दुखेको समस्या पनि धेरैलाई भएको सुन्छौं, यो के कारणले हुन्छ ? यो समस्या धेरै जसो मांशपेशीका कारणले हुने गर्दछ करिब ९० प्रतिशत बिरामीको ढाड दुख्ने मांशपेशीका कारण हुन्छ । १० प्रतिशत कारण नसा च्यापिएर तथा अरु कुनै असमान्य कारणले । कहिलेकाँही महिलाहरूमा पाठेघरको समस्याका कारण पनि ढाड दुख्ने हुन्छ । कसैलाई उमेर ढल्कदै जाँदा हड्डी खिइएर गए समस्या हुन्छ भने बाथरोगका कारण पनि ढाड दुख्छ । नसा च्यापियो भने ढाडको तल्लो भाग दुख्यो भने खुट्टा चलाउन नसकिने, प्यारालाईसिस हुने, पैतला नउठ्ने जस्ता समस्या हुन्छ । यसलाई अप्रेसन गर्नुपर्ने अवस्था छ कि छैन भनेर एमआरआई गरेपछि थाह हुन्छ । तर, जनमानसमा एउटा भ्रम के छ भने ढाडको अप्रेसन गर्दा प्यारालाइसिस हुन्छ भन्ने भ्रम छ । कस्तो अवस्थामा प्यारालाइसिस हुन्छ भने ढाडको नसाबाटै ट्युमर आएको छ अथवा यसका कारण अस्पताल आउनुभन्दा अगाडि नै प्यारालाइसिस भएको छ भने यो निको नहुन सक्छ । कतिपय प्यारालाइसिस भएर आएकाहरू पनि निको भएर जान्छन् । अप्रेसन गर्नुपर्ने भए पनि औषधि खाएर बस्छौँ भन्नेहरू धेरै हुन्छन् । आजभोलि दिनभरि कार्यालयमा बसेर काम गर्दा पनि यो समस्या आउँछ भन्ने सुनिन्छ नि ? ढाड दुख्नु, नसा च्यापिनु दुई, तीन कारण हुन्छन् । त्यसमध्ये बसेर काम गर्दा पनि हो । किनकि हामी बस्दा कसरी बस्ने भन्ने धेरैलाई थाहा छैन र थाहा भएकाहरू पनि बस्दैनन् । हामी बस्दा ढाड सोझो बनाएर बस्नुपर्छ । त्यसका लागि छुट्टै कुर्सी पनि पाइन्छ । अर्को कुरा चाहिनेभन्दा बढी एक्ससाइज गर्दा पनि समस्या हुन्छ । कतिपय व्यक्ति चाहिने भन्दा बढी व्यायम गर्नुहुन्छ यो राम्रो होइन । हामीले व्यायम गर्दा आफ्नो वेट स्टक्चर हेरेर व्यायम गर्नुपर्छ । जिममा जाँदा पनि ध्यान पुर्याउनुपर्छ । यस्ता समस्या हाम्रो खानपान, जीवनशैली वा अहिलेको प्रतिकुल मौसमका कारण पनि हुन्छ कि ? खानेकुराले पनि अहिले विभिन्न किसिमका समस्याहरू देखा पर्न थालेका छन् । पोलेको खानेकुरा, स्न्याक्स फुड खाँदा ब्रेनमात्र होइन अरु भागमा पनि यसको असर पर्छ । चुरोट, अल्कोहलजस्ता खानेकुराले पनि ब्रेनमा प्रेसर बढाउने, ट्युमर हुने जोखिम हुन्छ । अनावश्यक तौल बढ्छ, तौल बढ्दा सुगर हुने सम्भावना हुन्छ । सुगर हुँदा एउटा समस्या हुनेबित्तिकै अर्को जोखिम बढ्छ । यो सबैको जड भनेको खानपिन हो । ‘स्वस्थ मष्तिष्क, स्वस्थ्य जिन्दगी’ बनाउन खानाले पनि धेरै भूमिका खेल्छ । अहिले तपाईं कहाँ आउने बिरामी कुन उमेर समूहका बिरामी आउनुहुन्छ ? ब्रेन ट्युमरको समस्या जुनसुकै उमेरकालाई पनि हुन सक्छ । तर, ब्रेन ट्युमर प्रायः ३० देखि ४० भन्दा माथिको उमेर समूहमा हुन्छ भने नसा खिइएको, हड्डी च्यापिएकाे ५० वर्षभन्दा माथिकामा देखिन्छ । योभन्दा मुनिको उमेर समूहमा देखिँदैन भन्ने होइन, खासगरी ५० भन्दा माथिकाहरू समस्या ल्याएर आउँछन् । अब उपचारको कुरा गरौँ, यी सबै समस्याको उपचार नेपालमा कत्तिको सम्भव छ ? म ढुक्कका साथ भन्न सक्छु । नेपालमा ब्रेन र स्पाइनसम्बन्धी सबैखाले उपचार गर्न सकिन्छ । त्यो अनुसारको उपकरण र चिकित्सक नेपालमा छन् । यही समस्याका लागि विदेशिनु पर्देन । नेपाली आमाबाकै छोराछोरीबाट उपचार लिन सक्नुहुन्छ । हुन सक्छ कुनै अस्पतालसँग सबै व्यवस्था नहुन पनि सक्छ । तर, हामीलाई हाम्रो बिरामी उपचारमा कुनै औषधी वा उपकरण केही आवश्यक भयो भने विदेशी संस्थासँग पनि सहयोग मागेर उपचार गछौँ । काम गर्दै जाँदा देशभित्र मात्र हाेइन विभिन्न देशका संस्था चिकित्सकहरूसँगको सहकार्य पनि हामी गर्छौं । नेपाल भित्रै न्यूरो सर्जरी नेपालमै सम्भव छ । कतिपय अवस्थामा नोबेलमै नसकिने भयो अथवा बाहिर रेफर गर्नुपर्यो भने के गर्नुहुन्छ ? बिरामीको ज्यानलाई खतरामा राखेर हामीले काम गर्दैनौँ । यदि त्यो उपचार हाम्रोमा सम्भव छैन भने बाहिरबाट टोली बोलाउँछौँ , त्यसबाट पनि सम्भव भएन भने हामीसँग नभएको टेक्नोलोजी अरुसँग छ भने त्यही रिफर गर्छौैँ । हामीकहाँ आएको बिरामी हामीसँग दक्षता छैन अथवा उपकरण छैन भने बिरामीलाई हामी कहाँ राख्दा पनि राख्दैनौँ र यसरी राख्न पनि पाइँदैन । यो रोग लाग्यो भने यसको उपचारका लागि कति खर्च लाग्छ ? न्यूरो जर्सरी भनेको नयाँ नयाँ प्रविधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्छ । यसका लागि केही महँगो पर्न जान्छ । त्यो भनेर उपचार नै गर्न नसकिने भन्ने होइन । तर, अन्य देशमा गरिने उपचार भन्दा नेपालमा धेरै सस्तो पर्छ । कुनै पनि उपचार दिल्ली , सिंगापुरभन्दा नेपालमा धेरै सस्तो छ । तर, हाम्रो देशमा अवस्था अनुसार महँगो देखिन्छ । कतिपय बिरामी अस्पतालमा पैसा तिर्न नसकेरै आत्महत्या गर्नुपरेको घटना पनि हामीले देख्दै, सुन्दै आएका छौँ । तपाईंले काम गर्दै जाँदा यस्तो अवस्था कत्तिको देख्नुभयो ? कुनै पनि बिरामी अस्पतालमा उपचार गर्न आयो तर आर्थिक अभावका कारण उपचार गर्न नपाएर फर्किने अवस्था हामी सकेसम्म हुन दिदैनौँ । यसका लागि सबैभन्दा पहिले बिरामीलाई हामी रोगको बारेमा भन्छौँ । अनि बिरामीको अवस्था हेर्छौँ । बिरामीको आर्थिक अवस्था बुझेर कस्तो खालको उपचार दिनुपर्ने हुन्छ भन्ने कुरा हामीले अध्ययनकै क्रममा बुझेका हुन्छौँ । लास्ट स्टेजमा पुगेको बिरामी छ जसको उपचार गर्दा पनि लामो समय बाँच्ने अवस्था छैन भने यसमा धेरै भार असपतालले उठाउँदैन । तर, त्यही बिरामी पहिलो स्टेजमा छ, उपचार गर्दा लामो समय बाँच्ने छ, आर्थिक अवस्था न्यून छ भने अस्पताल प्रशासनमा कुरा गरेर हामी उपचार गर्छौं । यसरी धेरैजनाको ज्यान पनि जोगाएका छौँ । तर, कतिपय कुरामा आफूसँग छैन भनेजस्तो गर, म पैसा मिनाह गरिदिन्छु भन्ने केही बिचौलिय पनि सक्रिय हुन्छन् । यस्तो अवस्थामा हामी अध्ययन गरेर मात्र उपचार प्रक्रिया थाल्छौँ । नेपालमा धेरै जसो बिरामी निको नहुने अवस्थामा अस्पताल आइपुग्छन् । तपाईं कहाँ आउने बिरामी कस्तो अवस्थामा अस्पताल आइपुग्छन् ? अस्पतालमा आइपुग्ने अधिकांश व्यक्ति अन्तिम अवस्थामा आइपुग्छन् । कतिपय लामो समयदेखि औषधी खाएर बसेको, कतिपय समस्या भएको केही समयमै अस्पताल आइपुग्छन् । सबै स्टेजका बिरामीहरू आउँछन् । नोबेल अस्पतालमा सबै उपकरण पर्याप्त छन् हो ? उपकरणमा हरेक कुराहरू नयाँ थपिदै जाँन्छन् । आइफोनकै कुरा गरौँ ४ देखि अहिले १६ सम्म पुगेको छ । यसमा पनि यस्तै हो । कहिल्यै पर्याप्त भन्ने हुँदैन । दिनहुँ नयाँ नयाँ प्रविधि भित्रिरहन्छन् । प्रविधिमा नयाँ नयाँ कुराको विकास हुँदै जान्छ । जति नयाँ प्रविधि आयो त्यो आवश्यक पर्छ त्यसैले हाम्रो अस्पतालमा अब कुनै पनि प्रविधि आवश्यक छैन भन्ने अवस्था छैन । अब मान्छेको काम एआईले गर्न थाल्यो । डाक्टरको काम पनि गर्न थालेपछि एआईले अब डाक्टरको जागिर खान्छ भन्ने कुरा पनि बजारमा सुनिन्छ । के भन्नुहुन्छ ? यस्तो कहिल्यै हुँदैन । एआई बनाउने भनेको मान्छे हो । यसले धेरैजनाले गर्ने काम उसले सजिलै गरिदिन्छ । अहिले रोबटिक सर्जरी पनि भइरहेका छन् । तर, मान्छेको काम कुनै पनि प्रविधिले गर्न सक्दैन । एआई हाम्रो रिप्लेसमेन्ट होइन, सहयात्री हो । यसलाई हामीले राम्ररी चलाउनुपर्छ । एआई अहिले सबै फिल्डमा आवश्यक छ । यसले डाक्टरलाई सहयोग गर्ने हो तर, जागिर खोस्दैन । किन कि यो मान्छे जस्तो भरपर्दो कुरा होइन । अघि सुरुमै दुरविनबाट अप्रेसन गर्ने कुरा गर्नुभएको थियो यो कसरी गरिन्छ ? मेडिकल भाषामा दुरविन भनेको उउटा सानो इन्डोस्कप लाइट सिस्टम हो । त्यसलाई सानो प्वाल बनाएर मान्छेको दिमागभित्र छिराइन्छ । अथवा ढाडको नसा च्यापिएको छ भने त्यो ठाउँमा छिराइन्छ र त्यसमा सानो चिरा लगाएर औजारलाई भित्र पठाएर त्यो अप्रेसन गर्ने ठाउँलाई ठूलो बनाएर हेर्ने प्रविधि हो । हामीले सुनिरहेका हुन्छौँ, पित्त थैलिको दुरविनले अप्रेसन गरेको हामीले दिमागको अप्रेसन पनि दुरविनबाट सम्भव छ । तपाईं उपचार मात्र होइन अध्यापन पनि गराउँदै आउनुभएको छ । दुवै काम एकसाथ कसरी गर्दै आउनुभएको छ ? उपचार मात्र गर्नका लागि आफूलाई चाहिने चिजमात्र जाने हुन्छ । म एउटा रोगको विशेषज्ञ हो भने मलाई त्यतिमात्र जाने भयो । यति हुँदा राम्रो उपचार गर्न सकिन्छ । तर, विद्यार्थीलाई पढाउँदैछु भने उसको जिज्ञासा धेरै हुन सक्छ । म कक्षाकोठामा जाँदा विद्यार्थीलाई आफूले जानेभन्दा बढी कुरा दिएर जाने गरी तयारी गर्नुपर्छ यो चुनौती हो । तर, मलाई रमाइलो लाग्छ । मैले पढाएका विद्यार्थी अहिले राम्रा डाक्टर बनेका छन्, कोही पीएचडी पढ्दै हुनुहुन्छ, कोही अध्ययन गर्दै हुनुहुन्छ । नोबेल मेडिकल कलेजमा सामान्य टेक्निकल पार्टदेखि स्वास्थ्यसम्बन्धी विशेषज्ञाता सम्म पढाइ हुन्छ । न्यूरोलोजी, न्यूरोसर्जरीको पढाइ हुन्छ । उपचारको साथसाथै देशलाई भोलिका दिनमा चाहिने दक्ष जनशक्ति पनि उत्पादन गरिरहेका छौँ । काम गर्दा मजा चाहिँ पढाउन लाग्छ कि चिरफार गर्न ? दुईटै काम गर्न मजा आउँछ । मलाई ५१ प्रतिशत अप्रेसन गर्न मन लाग्छ भने ५० प्रतिशत अध्ययापन गर्न मन लाग्छ । मैले जानेका सिपहरू भोलिका पुस्तालाई हस्तान्त्रण गर्नुपर्यो, किनकि अबको केही वर्षपछि म अप्रेसन गर्न सक्दिनँ भनेपछि आफूले सिकेको ज्ञान अरूलाई दिनुपर्यो र देशलाई चाहिने म्यानपावर तयार पार्नुपर्यो । एक दिनमा कति अप्रेसन गर्नुपर्छ ? हामी महिनामा कम्तीमा ७० देखि ८० वटा अप्रेसन गर्छौ । दिनमा दुई-तीन, कहिले पाँचसम्म पनि अप्रेसन गर्नुपर्ने हुन्छ । अहिलेसम्म कतिको अप्रेसन गर्नुभयो ? म चिरफार गर्न लागेको करिब एक दशक भयो । अहिलेसम्म कतिको अप्रेसन गरेँ, उपचार गरे भन्ने जोडेर राखेको छैन । तर, १ वर्षमा पाँच सय भन्दा बढी अप्रेसन गर्छु । काम गर्दै जाँदा सबैभन्दा धेरै खुसी कतिखेर हुनुहुन्छ ? सबैभन्दा ठूलो खुरी र उपलब्धि भनेको बिरामीको ओठमा हाँसो देख्दा आउँछ । अर्धचेत अवस्थामा अस्पताल आएका बिरामी अर्को पटक फ्लोअप गर्न आउँदा हिँडेर आउनुहुन्छ । नसा च्यापिएका बिरामी अस्पताल आउँदा डर, रोग भोग, शोकमा आएका हुन्छन तर अप्रेसनपछि खुसी भएर जानुहुन्छ यो देख्दा आफूलाई पनि खुसी लाग्छ । अन्त्यमा केही भन्नुहुन्छ ? हाम्रो स्वास्थ्य महत्वपूर्ण हो । यसको बेलाबेला जाँच गरिरहनुपर्छ । सुँगर, प्रेसर कन्ट्रोल गर्नुहोस् । स्मोकिङ, अल्कोहल नपिउनुस् र खानेकुरामा पनि सचेत रहनुस् । चाहिनेभन्दा बढी तनाव नलिनुहोस् । तनाव सबैभन्दा बढी हानिकारक हुन्छ । अर्को कुरा परिवारसँग धेरै समय बिताउनुहोस् । किनकि सपरिवार एकै ठाउँ हुँदा तनाव हुँदैन । यति गर्दा पनि केही समस्या देखिहाल्यो भने अहिले नेपालमा सबै रोगको उपचार सम्भव छ । न्यूरो सर्जरीसम्बन्धी उपचारको लागि विदेशिनुपर्ने अवस्था छैन ।
सरकारले अपराधी नसमाऊ, निर्दोष फसाऊ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए । उनले भने, ‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाऊ भन्दैन, निर्दोषलाई फसाऊ भन्दैन र दोषीलाई छाड्दैन ।’ वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए । ‘यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ,’ प्रधानमन्त्री ओलीले भने । प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उनले भने, ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन, तपाईंहरू कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नुस् ।’ प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग १ अर्ब १० करोड ररपैयाँमा १५ रोपनी जग्गा खरिद गरेर १ अर्ब २६ करोड रुपैयाँको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौं २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।
अदालतको आदेशलाई महानगरको निर्देशन भनेर भ्रम नछर्नुहोला : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनेर भ्रम नछर्न अनुरोध गरेका छन् । साेमबार मात्रै नेकपा एमालेको एक टोलीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अदालतको आदेशबारे ध्यानाकर्षण बुझाएको थियो । मेयर बालेनले त्यही घटनालाई इंकित गर्दै सामाजिक सञ्जालमार्फत भ्रम छरेको बताएका हुन् । एमालेले अदालतका कारण काठमाडौंका नदीमा दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने अदालती निर्णयको पुनरावलोकन गर्न ओलीसँग अनुरोध गरेको थियो । यता बालेनले भने अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकेको बताएका छन् । उनले सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने उल्लेख गरेका छन् । ‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौं, त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन,’ बालेनले भनेका छन्, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो ।’
दामोदरकुण्डमा उद्धार गर्न चिठी पठाउँदा…
म्याग्दी । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगिकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी परिन् । टाउको दुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा अन्य दुईजना साथी र सहयोगीसँग बसेकी गौचनको टोलीलाई नेपाली सेनाको हेलिकप्टरले भदौ ६ गते उद्धार गरेको थियो । ‘दामोदरकुण्डप्रतिको आस्थाका कारण नेपालसँगै भारतबाट धैरै तीर्थयात्री आउने यस स्थानमा सञ्चार र स्वास्थ्य सुविधाको अतिआवश्यकता महसुस भयो’, उनले भनिन्, ‘मोबाइल फोन सेवा विस्तार हुँदा समयमै उद्धार र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन सकेमा बिरामी तीर्थयात्रीले समयमा नै उपचार पाउने थिए ।’ प्रदेश सभा सदस्य गौचनको स्वास्थ्यमा सुधार भइरहेको छ । सञ्चार सुविधा अभावमा उद्धारका लागि चिठी लेखेर पठाउँदा ढिलाइ भएको उनले बताइन् । धार्मिक पर्यटनका हिसाबले प्रशस्त सम्भावना भए पनि भौगोलिक विकटताका कारण दामोदरकुण्डमा राज्यको नजर पर्न नसकेको गौचनले बताइन् । दामोदरकुण्डको समस्या र आवश्यकताका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई टेलिफोनबाट जानकारी गराएको प्रदेश सभा सदस्य गौचनले बताइन् । कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुण्ड मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको–४ को भूगोलमा पर्छ । यहाँ स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुका रूपमा पुज्ने गर्दछन् । दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो । मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुन्छ । पाँचवटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैतेदसैँका दिन भक्तजन बढी सङ्ख्यामा जान्छन् । भक्तजनले दुईवटा ठूला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ । कालीगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारीसाधनको यात्रापछि यारागाउँ पुग्न सकिन्छ । यारा गाउँबाट माथि झुमा ठाटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन याराबाट नै घोडाको यात्रा गर्दछन् । याराबाट करिब नौ घण्टा घोडाको यात्रापछि दामोदरकुण्ड पुग्न सकिन्छ । सडक यातायात, सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदरकुण्डको यात्रा जोखिमयुक्त र कठिन भएको काठमाडौंबाट आएका धनीकुमार सापकोटाले बताए । भक्तजनको सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ । असारदेखि साउनसम्म धर्मशालामा निःशुल्क भोजनको व्यवस्था मिलाइएको हुन्छ । कठिन यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःखकष्ट भुलाइदिने उनले बताए । ‘दामोदरकुण्ड साँच्चिकै स्वर्गको टुक्राजस्तो लाग्यो’, उनले भने, ‘धार्मिक र प्रकृतिको सुन्दर सङ्गमस्थलको अनुभूति भयो ।’ दामोदरकुण्ड पुग्न र फर्किन प्रतिघोडा १० हजार खर्च लाग्ने हालै त्यहाँ गएर आएका बेनी नगरपालिका-३ का राम्जी सुवेदीले बताए । पाँच हजार पाँच सय मिटरभन्दा अग्ला दुई पहाड उकालो र ओरालो भिरको बाटो भएर दामोदर पास पार गरेपछि दामोदरकुण्डको समथर भूभागमा पुगिने उनले बताए । वरपरका सेता हिमचुचुराले घेरिएको दामोदरकुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने सुवेदीले बताए ।
नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ । ‘किनकी जीवन अमुल्य’ छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्षदेखि नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जस्तोसुकै परिस्थिति आएपनी बीमालेख सरेन्डर गर्नु हुदैन भन्ने सन्देश दिनको लागि यो भिडियो बनाएको हो । भिडियोमा जीवन र जीवन बीमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पिडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ । मुख्य पात्रको भुमिकालाई अलि पृथक तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीत मार्फत व्यक्त गरिएको छ । काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामना सहित नेपाल लाइफले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिंड्न तथा जीवन बीमा योजनालाई बिचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिंड्न समेत विशेष आग्रह गरेको छ ।
सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व लक्ष्य ५ अर्ब घटाइयो
वीरगञ्ज । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आव २०८१/८२ मा ५ अर्ब रुपैयाँ लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा ५ अर्ब रुपैयाँले लक्ष्य घटाएको हो । भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको बताए । ‘कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो, आव २०७९/८० को तुलनामा आव २०८०/८१ म पाँच अर्बभन्दा धेरै राजस्व संकलन गर्न सकिएको थियो,’ उनले भने, ‘गत आवमा लक्ष्यानुसारको राजस्व संकलन हुन भने सकेन ।’ भन्सार विभागले आव २०८०/८१ मा कार्यालयलाई ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१.७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व संकलन गरेको थियो । विभागले कार्यालयलाई आव २०७९/८० मा पनि रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर, कार्यालयले सो आवमा पनि लक्ष्यको ६२.८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व संकलन गरेको थियो ।