आज यी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे बुलेटिनमा उल्लेख छ । सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । कोशी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।
प्रभु महालक्ष्मी लाइफले घोषणा गर्याे १०.५२ प्रतिशत लाभांश
काठमाडौं । प्रभु महालक्ष्मी लाइफले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको भदौ ७ गते बसेको सञ्चालन समितिको बैठकले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामि वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव किशोर प्रसाद लामिछानेले जानकारी दिए ।
युरोको मूल्यले बनायो नयाँ रेकर्ड, यस्तो छ विदेशी मुद्राको भाउ
काठमाडौं । युरोपियन युरोको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ १० गतेका लागि युरोपियन युरो एकको खरिददर १४९.८९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १५०.५६ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.९६ रुपैयाँ र बिक्रीदर १७७.७५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.९९ रुपैयाँ र बिक्रीदर ९१.३९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.१५ रुपैयाँ र बिक्रीदर ९९.५९ रुपैयाँ तोकिएको छ । अमेरिकी डलरसहित खाडी मुलुकको विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ तोकिएको छ ।
आज मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको श्रीकृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मङ्गलबार निकाल्ने गरिन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यसबाट बालबालिकामा यस पर्वको महत्व बुझ्न सहयोग पुग्ने गरेको छ ।
गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन
काठमाडौं । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची-महाकाली यात्रामा निस्कनुभएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छिन् । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन आज पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् । परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन् । ‘संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ, उनले भनिन् । झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गरेका थिए ।
२५ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन
झापा । मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोनाकालमा निर्मित एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको छ । कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा १ हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा २५ करोडको लागतमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको थियो । चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न सकिने पाइपलाइन समेत जडान गरिएको छ । त्यहाँ २२ वटा शौचालय, १५ वटा डाइनिङ हल, एउटा प्रशासनिक भवन र दुईवटा भान्सा घर निर्माण गरिएका छन् । हाल उक्त होल्डिङ सेन्टरको सुरक्षा र रेखदेख नेपाली सेनाको चारआलीस्थित अरिदम गणले गरिरहेको छ । यति धेरै संरचना निर्माण भएर प्रयोगविहीन रहँदै आएकोमा सर्वत्र चिन्ता व्यक्त हुँदै आएको छ । मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले करोडौँ लगनी गरेर बनाएको होल्डिङ सेन्टरलाई उपयोगविहीन नबनाउन सरकारसँग पटकपटक आग्रह गरेको बताए । ‘यस्ता संरचनाहरू प्रयोग नगरी नाशिने अवस्थामा पुग्न दिनुहुँदैन,’ नगरप्रमुख बुढाथोकीले भने, ‘यसको उपयोगका बारेमा धेरै कोणबाट सुझाव आएका छन् । लागु औषधको सुधारगृह बनाउनु पर्छ भन्ने विकल्पमा धेरैको सकारात्मक धारणा छ । जसरी हुन्छ यसको सदुपयोग हुन्छ ।’ कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले झापा र मोरङमा रहेको होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको बताए ।
चर्को विवादबीच डेडिकेटेड र ट्रंकलाइनबारे सार्वजनिक लेखा समिति निर्णयविहीन
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको विवादका विषयमा लेखा समितिमा बसेको बैठक अनिर्णीत भएको छ । बक्यौता नउठाएकामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने सभापति ऋषिकेश पोखरेलको प्रस्तावमा प्रमुख प्रतिपक्षी माओवादी लगायतका सांसदले आपत्ति जनाएपछि लेखा समितिको बैठक अनिर्णित भएको हो । बैठकमा सभापति ऋषिकेश पोखरेलले २२ अर्ब भन्दा बढीको बक्यौता उठाउने र समयमै बक्यौता उठाउन नसक्ने पदाधिकारीहरूलाई पनि कारबाही गर्नुपर्ने ब्यहोराको निर्णय गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको प्रमुख प्रतिपक्षी माओवादीका सांसदहरूले आपत्ति जनाएका थिए । उनीहरूले बक्यौता उठाउने विषयमा मात्र निर्णय गर्नुपर्ने अडान राखेका थिए । तर, सभापतिसहित एमाले सांसदहरूले निर्णय नै गरेर जानुपर्ने अडान लिएपछि बैठकमा चर्काचर्की भएको थियो । कांग्रेस सांसदहरूले तत्कालै प्रस्ताव अनुसारको निर्णय नगर्ने खालको आशय प्रकट गरेपछि सभापति पोखरेलले निर्णय नै नगरी बैठक स्थगित गरेका थिए ।
चितवनमा ८ सय बढी उद्योग तथा व्यावसाय बन्द
चितवन । जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायिक फर्महरू बन्द भएका छन् । गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यावसायिक फर्मतर्फ ४८० बन्द भएका हुन् । उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायीक फर्मभन्दा खारेज हुनेको संख्या बढेको हो । गत आर्थिक वर्षमा यहाँ उद्योगतर्फ ४३९ वटा दर्ता भएका छन् भने व्यावसायिक फर्मतर्फ ४५१ वटा दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा १ सय ७७ वटा कृषि तथा वनजन्य उद्योग छन् । यस्तै, उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खानालले जानकारी दिए । गत आर्थिक वर्षमा २ हजार १ सय ९ वटा उद्योगहरू नवीकरण गरिएको छ । वाणिज्यतर्फ २ हजार ६ सय ८९ वटा व्यवसाय नवीकरण भएको उनले जानकारी दिए । जिल्लामा हालसम्म १६ हजार तीन सय ५० उद्योगको अभिलेख रहेको र २० हजार १ हजार ४१ वटा व्यावसायिक फर्म रहेका छन् ।