काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनेर भ्रम नछर्न अनुरोध गरेका छन् ।
साेमबार मात्रै नेकपा एमालेको एक टोलीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अदालतको आदेशबारे ध्यानाकर्षण बुझाएको थियो ।
मेयर बालेनले त्यही घटनालाई इंकित गर्दै सामाजिक सञ्जालमार्फत भ्रम छरेको बताएका हुन् । एमालेले अदालतका कारण काठमाडौंका नदीमा दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने अदालती निर्णयको पुनरावलोकन गर्न ओलीसँग अनुरोध गरेको थियो ।
यता बालेनले भने अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकेको बताएका छन् । उनले सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने उल्लेख गरेका छन् ।
‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौं, त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन,’ बालेनले भनेका छन्, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो ।’