सीईओहरूको रहस्यमय बहिर्गमन, तीनै पक्ष तै चुप मै चुप
काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनै पनि संस्थाको व्यवस्थापन प्रमुख हो । सरकारसँग तुलना गर्ने हो भने सीईओ भनेको प्रधानमन्त्रीजस्तै अधिक कार्यकारी अधिकार भएको पात्र हाे । नीति, नियम र नियामकले पनि बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई व्यापक अधिकार दिएको छ । तर, पछिल्लो समय बैंक तथा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूको बहिर्गमन रहस्यमय बन्दै गएको छ । उनीहरूको बहिर्गमनबारे न कम्पनीहरूले प्रष्ट पारेका छन्, न छोड्ने व्यक्तिहरूले मुख नै खोलेका छन् । पछिल्लो समय हिमालयन एभेरेष्ट इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह र आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको बहिर्गमन यस्तै रहस्यमय बन्याे । गत असार १२ गते हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत शाहलाई पदबाट हटाउने निर्णय लियो । कम्पनीले १३ गतेदेखि नै शाहलाई हाजिर गर्न दिएन । शाहले आफूलाई स्पष्टीकरण सोध्ने मौका समेत नदिइ सञ्चालक समितिले पदमुक्त गरेको भन्दै साे निर्णयविरुद्ध बीमा प्राधिकरणमा निवेदन दिए । एक महिनासम्म पदमुक्त सीईओ र सञ्चालक समिति बीमा प्राधिकरणमा आफू सही भएको दाबी गर्दै आफ्नो पक्षमा नियामकीयले हस्तक्षेपका लागि लविङ गरे । अन्त्यमा, सञ्चालक समितिले गल्ती स्वीकार गर्यो र पदमुक्त सीईओ शाहलाई लाभ र सम्मानजनक बहिर्गमनको प्रस्ताव गर्यो । त्यसलाई शाहले स्वीकार गरे । उच्च स्रोतका अनुसार सञ्चालक समितिले पदमुक्त गरेको सीईओ शाहले डेढ महिनापछि राजीनामा दिए र सञ्चालक समितिले त्यसलाई स्वीकृत गर्यो । पब्लिक कम्पनीभित्र भएको यी सबै घटना गोप्य राखिएको छ । सञ्चालक समिति र शाहबीच के कस्ता विषयमा सहमति भयो र पदमुक्त गरिसकेका सीईओसँग राजीनामा पत्र लिने र सम्मानजनक बिदाई गर्ने बाटो रोजे भन्ने विषय रहस्यमय नै छ । ‘दुई पक्षबीच सहमति भएको सुनेका छौं, दुवै पक्ष बीमा प्राधिकरण आउन छोडेका छन्, यो विषय त्यत्तिकै सेलायो’ प्राधिकरणका उच्च अधिकारीले भने, ‘शाहलाई किन हटाइयो भन्ने पनि स्पष्ट छैन, पछि के-केमा सहमति भयो त्यो पनि जानकारी छैन ।’ भदौ ९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको कार्यकाल समाप्त भएको जानकारी प्राप्त भएको भन्दै कम्पनीको पत्र सार्वजनिक गर्यो । पत्रमा फुयाँलको कार्यकाल भदौ ६ गते सकिएको उल्लेख छ । पत्रको भाषाअनुसार ७ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल सकिएको जनाकारी नेप्सेलाई गराउने निणर्य लिएको देखिन्छ । यसअघि साउन २९ मा सीईओमा फुयाँल पुन: नियुक्ति भएको समाचार प्रकाशित भएका थिए । उनलाई पुर्ननियुक्तिका लागि बीमा प्राधिकरणले स्वीकृति पनि दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निणर्यानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निणर्य गरेको थियो । उक्त निणर्य स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट २०८१ श्रावण २८ गते स्वीकृति दिएको थियो । पहिला कार्यकाल थप्ने निर्णय भएको र पछि कार्यकाल समाप्त भएको समाचार प्रकाशित भएलगत्तै बीमा प्राधिकरणले कवि फुयाँलसँग टेलिफोनमा सोधखोज गरेको थियो । उक्त सम्वादमा फुयाँलले पदबाट राजीनामा दिएको बताएको प्राधिकरणका उच्च अधिकारीले विकासन्युजलाई बताए । ‘फुयाँलको दोस्रो कार्यकाल ७ गतेदेखि सुरु हुने हो । फुयाँलले नै दोस्रो कार्यकालको जिम्मेवारी लिन्न भनेको अवस्थामा कम्पनीले पहिलो कार्यकाल समाप्त भएको सूचना नियामकलाई दिनु सामान्य प्रक्रिया हो,’ प्राधिकरणका ती अधिकारीले भने । फुयाँल अर्को जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर जान लागेको भन्ने अनौपचारिक सन्देश पनि बजारमा फैलिएको छ । वास्तविकता बुझ्न फुयाँलसँग सम्पर्कको प्रयास सफल भएन । यसरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूको बहिर्गमन हुँदा न नियामकले औपचारिक रूपमा बोलेको छ, न कम्पनीहरूले वास्तविकता खुलाएका छन्, न पद गुमाएको प्रमुख कार्यकारी अधिकृतहरूले मुख खेलेका छन् । शंकाले लंका पिर्छ भने झैं तीन पक्ष तै चुप मै चुप हुँदा कर्पोरेट क्षेत्रमा शंका र संशय बढ्दै गएको छ । यस प्रवृतिले पब्लिक कम्पनीको पारदर्शितामाथि पनि प्रश्न उठाएको छ ।
गौरा पर्वमा नेताविरुद्ध नाराबाजी, प्रधानमन्त्रीले भने- नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लाग्यो
काठमाडौं । सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वसाधारणले नाराबाजी गरेका छन् । सर्वसाधारणले नाराबाजी गरेपछि उनी केहीबेरमै फर्किएका छन् । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि छोटो मन्तव्य राखेर फर्किएका हुन् । युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेन । त्यसपछि प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको बताए । त्यसपछि बोलेका भीम रावलको खासै विरोध भएन । रावलपछि देउवाले बोल्दा झनै धेरै नाराबाजी भएको थियो । त्यसपछि देउवाले दर्शकलाई भने, ‘‘कार्यक्रम बिथोल्ने, लाज छैन, यही हो नेपालको चलन ?’
प्रसूतिगृहबाट एक वर्षमा ३० हजार महिलाले सेवा लिए
काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा कुल ३० हजार ९ सय ५२ महिलाले सेवा लिएका छन् । प्रसूतितर्फ २५ हजार १ सय १६ तथा स्त्री रोगतर्फ ५ हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालले आज ६५औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा यहाँ आयोजना गरिएको कार्यक्रममा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गत आवमा नवजात शिशु सघन उपचारतर्फ २ हजार ७ सय ८७ र मातृ सघन उपचारतर्फ ४ सय ५४ जना भर्ना भएका जानकारी दिए । बहिरंग सेवातर्फ एक लाख ९४ हजार ४ सय ९० जनाले सेवा लिएको उनले बताए । विसं २०१६ भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट स्थापना भएको उक्त अस्पतालमा हाल चार सय ८९ शय्या सञ्चालनमा छन् । निर्देशक डा अधिकारीले अस्पतालको वार्षिक गतिविधि बारे प्रकाश पार्दै प्रसूतितर्फ भर्ना भएका २५ हजार एक सय १६ मध्ये २२ हजार तीन सय ७९ जना प्रसूति डेलिभरी भएको उल्लेख गर्दै उनीहरुले २२ हजार ६ सय १३ शिशुलाई जन्म दिएको बताए । उनले भने, ‘कुल डेलिभरीमध्ये ९ हजार ६ सय ५२ जना (४३ प्रतिशत) को शल्यक्रिया गरिएको थियो । सो संख्या गत आवको तुलनामा ४ प्रतिशतले बढी हो ।’ गत आवमा ९ हजार ११ निःसन्तान सम्बन्धी सेवग्राहीले ओपिडिबाट सेवा लिएका थिए । जसमध्ये २ सय २२ महिलाले आइयुआई सेवा र २० निःसन्तान सेवाग्राहीले आईभिएफ सेवा लिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपालमा नै पहिलोपटक ‘नियोनेटल स्क्रिनिङ टेष्ट’को कार्य सो अस्पतालमा यही साउन २९ गतेदेखि सुरुवात गरिएको छ । साथै, अस्पतालले हालै मानसिक स्वास्थ्य सेवा समेत सुरु गरेको छ । वार्षिकोत्सवको अवसरमा जन्मिएदेखि ४५ दिनसम्म, ४५ दिनदेखि ६ महिनासम्म र ६ महिनादेखि एक वर्षसम्मका स्वस्थ शिशुलाई पुरस्कृत गरिएको थियो ।
बागमती नदीले सतर्कता तह पार गर्यो
काठमाडौं । काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ । आज दिउँसोदेखि काठमाडौं उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ । यस्तै, पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । मेलम्ची, इन्द्रावती, र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
४९ प्रतिशतले घट्यो निर्माण कर्जा, कसरी हुन्छ पुनरुत्थान ?
काठमाडौं । निर्माण क्षेत्रमा मन्दीको अवस्थामा रहेको विषय ऋण लगानीले पनि प्रष्ट पारेको छ । विगतमा साढे तीन खर्बसम्म ऋण उपभोग गर्दै आएको निर्माण क्षेत्रले गत आर्थिक वर्षमा पौने २ खर्बको मात्रै ऋण लिएको छ । जसले निर्माण क्षेत्र अझैं आर्थिक मन्दीको सामना गरिरहेको बुझ्न सकिन्छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण क्षेत्रले कुल १ खर्ब ८२ अर्ब ८६ करोड रुपैयाँ लिएको छ । जुन आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४८.३८ प्रतिशत कम हो । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा कुल ३ खर्ब ५४ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए । यस्तै, २०७९/८० मा कुल १ खर्ब ५६ अर्ब ९९ करोड ७० लाख र आर्थिक वर्ष २०७८/७९ मा कुल १ खर्ब ५४ अर्ब ७२ करोड २० लाख रुपैयाँ ऋण निर्माण क्षेत्रमा प्रवाह भएको छ । विगतका वर्षहरूमा निर्माण क्षेत्रमा तीन खर्ब बढी ऋण प्रवाह हुने भएपनि पछिल्लो वर्षहरूमा भने ऋण घट्दै गएको छ । पछिल्लो दुई वर्षको तुलनामा भने गत आर्थिक वर्षमा केही रकमले ऋण बढेको छ । यसले पछिल्लो केही महिनायता निर्माण क्षेत्र चलायमान भएको होकि भन्ने अनुमान पनि गर्न थालिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि थला परेको निर्माण क्षेत्र सो समयदेखि माथि उठ्न सकेको छैन । यो बीचमा ब्याजदर, महँगी र तरलता र बक्यौता भुक्तानी नहुने लगायतका समस्या निर्माण व्यवसायीले भोगे । लामो समयदेखि बक्यौता भुक्तानीको समस्या भोगिरहेका निर्माण व्यवसायी सरकारलाई भुक्तानी गर्न आग्रह गरिरहेका छन् । पछिल्लो समय सरकारले पनि बक्यौता भुक्तानीको पहल थालेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै साढे ४ अर्ब भुक्तानी भइसकेको जानकारी अर्थमन्त्रालय दिएको छ । निर्माण व्यवसायी महासंघका अनुसार सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भएपश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब र चालु आयोजनाहरूको निर्माण कार्यहरूमा बजेट अपुग तथा निकास नभएको कारण लामो समयदेखि बाँकी भएको करिब २० अर्ब रुपैयाँ गरी व्यवसायीहरूको करीब ६० अर्ब बक्योता रहेको बताउँदै आएका छन् । पछिल्लो समय अर्थमन्त्री विष्णु पौडेलले पनि निर्माण व्यवसायीको भुक्तानीका लागि तदारुकता दिएका छन् । उनले निर्माण व्यवसायीसँग बक्यौता भुक्तानी हुने आश्वासन पनि दिँदै आएका छन् । केही रकम भुक्तानी भएपछि निर्माण व्यवसायीमा पनि आशा पलाएको छ । तथ्यांकअनुसार साउनमा घरजग्गा कारोबार पनि केही बढेको छ । यसले अब निर्माण क्षेत्र चलायमान हुने विश्वास छ ।
इन्दु बर्मा बनिन् प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) को नयाँ ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । कन्सल्टेन्सीले आइतबार पत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराएको हो । कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्सडेर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो । कन्सल्टेन्सीका निर्देशक कृष्ण श्रेष्ठले कप्तान बर्मालाई कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । बर्माले कर्पोरेट क्षेत्रको यो सहयोगले आफ्नो खेल जीवनमा सहयोग पुग्ने बताइन् । नेपाली क्रिकेटमा महिला खेलाडीलाई पनि प्रोत्साहन गर्नका लागि हात अघि बढाएको कन्सलटेन्सीले जानकारी दिएको छ ।
८ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग
डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड ८ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्यांदी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न बन्द गरिएको सडक ८ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनाग्रस्त बस निकाल्न सडक बन्द गरेको थियो । क्रेनको हुक भाँचिएपछि सडक ढिला सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनले भने, ‘बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले सडक खुलाउन ढिला भएको हो । क्रेनको बुम जडान गरिएपछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।’ तनहुँको आबुखैरेनी-२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्यांदी नदीबाट निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधान पूर्णरुपमा बन्द गरिएको हो । ऐनापहरामा भारतीय पर्यटक चढेको बस मर्स्यांदीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए ।
नाडा अटो शोमा बीवाइडीका यी मोडल हुनेछन् प्रदर्शन
काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडीले नाडा अटो शोमा एट्टो थ्री र डल्फिन गाडी राख्ने भएको छ । अटो शोलाई लक्षित गर्दै शुक्रबार बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले एट्टो थ्रीको अपडेटेड भर्सन सार्वजनिक गरेकाे हाे । यो अपडेटेड भर्सनसँगै डल्फिन पनि नाडा अटो शोमा राखिने कम्पनीका व्यवस्थापकले बताएका छन् । नाडा अटो शोका लागि विशेष अफरको विषयमा भने शोमा मात्रै थाहा दिइने कम्पनीले जनाएको छ । नेपालमा बीवाईडी एट्टो थ्री माघ २०७९ मा सार्वजनिक भएको थियो । आजका मितिसम्म यो गाडी नेपालमा २५ सय युनिटभन्दा बढी बिक्री भइसकेको कम्पनीको दाबी छ । सोही गाडीको अपडेटेड भर्सन अर्थात् बीवाईडी एट्टो थ्री २०२४ भर्सन ल्याएको हो । कम्पनीका अनुसार यो गाडी एड्भान्स र सुपेरियर गरी दुई ओटा भेरियन्टमा उपलब्ध छ । बीवाईडी एट्टो थ्री २०२४ को एड्भान्स भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, यसैको सुपेरियर भर्सनको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । पहिले नेपाल आएको एट्टो थ्रीमा १२.८ इन्चको स्क्रिन थियो भने नयाँ भेरियन्टमा १५.१६ इन्चको स्क्रिन छ । यो गाडी सर्फ ब्लु, कस्मस ब्ल्याक, बोउल्डर ग्रे र स्कि ह्वाइट गरी चार ओटा कलर भेरियन्टमा खरिद गर्न सकिने कम्पनीले बताएको छ । यसको सुपरेरियर भर्सनमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । त्यस्तै १०० किलोवाट क्षमताको ब्याट्री भएको यस गाडीले उच्चतम ३१० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीको भनाइ छ । एक पटकको चार्जमा यस भर्सनले ४२० किलोमिटर (डब्लूएलटीसी) रेन्ज दिने कम्पनीको दाबी छ । त्यस्तै, नयाँ भर्सनको टेल ब्याज पनि अपडेट गरिएको छ । अहिलेको भर्सनको टेल ब्याजमा बीवाईडी लेखेको देखिन्छ । यसको इन्टेरियरमा डार्क ब्लु र ब्ल्याकको मिश्रण पाउन सकिन्छ । कम्पनीका अनुसार यसलाई मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ । यस गाडीको एड्भान्स भर्सनमा ४९.९२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसमा पनि सुपेरियर भर्सन जस्तै १०० किलोवाट क्षमताको मोटर राखिएको छ । यसले पनि उच्चतम ३१० न्युटन मिटर टर्क उत्पादन गर्न सक्छ । रेन्जको सन्दर्भमा भने यसले एक पटकको चार्जमा ३४५ किलोमिटर रेन्ज दिने जनाइएको छ । त्यस्तै, कम्पनीले बीवाईडी डल्फिनलाई यसवर्ष पनि अटो शोमा राख्ने भएको छ । बीवाईडी डल्फिन ब्राजिलमा २०२३ मा सबैभन्दा धेरै पुरस्कृत हुने विद्युतीय कार बनेको थियो । नाडा अटो शो, २०२३ को पूर्वसन्ध्यामा कम्पनीले बीवाईडी डल्फिन सार्वजनिक गरेको थियो । यस गाडीमा ४४.९ किलोवाट ब्याट्री क्षमता र ७० किलोवाट क्षमताको मोटर राखिएको कम्पनीले बताएको छ । लिथियम-आयन ब्याट्री जडान भएको यस गाडीको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । नेपाली सडक सुहाउँदो ईभी भनिएको बीवाईडी डल्फिनमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गरिएको छ । नवीन टेक्नोलोजीसहित सेफ्टी फिचरलाई विशेष ध्यान दिएर उत्पादन गरिएको बीवाईडी डल्फिन ३९ लाख ८० हजार रुपैयाँमा सार्वजनिक गरिएको थियो । हाल यसको मूल्य ४१ लाख १५ हजार रुपैयाँमा उपलब्ध रहेको कम्पनीको आधिकारिक साइटमा उल्लेख छ । गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्डजस्ता सुविधाहरू रहेका छन् । त्यस्तै, १६ इन्चको अलोय ह्विलमा २ हजार ७ सय एमएमको ह्विलबेस रहेको डल्फिन विभिन्न चार कलरमा उपलब्ध छ ।