सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व लक्ष्य ५ अर्ब घटाइयो

<p>वीरगञ्ज । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आव २०८१/८२ मा ५ अर्ब रुपैयाँ लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा ५ अर्ब रुपैयाँले लक्ष्य घटाएको हो । भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब [&hellip;]</p>

वीरगञ्ज । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि आव २०८१/८२ मा ५ अर्ब रुपैयाँ लक्ष्य घटाइएको छ ।

कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा ५ अर्ब रुपैयाँले लक्ष्य घटाएको हो ।

भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको बताए ।

‘कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो, आव २०७९/८० को तुलनामा आव २०८०/८१ म पाँच अर्बभन्दा धेरै राजस्व संकलन गर्न सकिएको थियो,’ उनले भने, ‘गत आवमा लक्ष्यानुसारको राजस्व संकलन हुन भने सकेन ।’

भन्सार विभागले आव २०८०/८१ मा कार्यालयलाई ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१.७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व संकलन गरेको थियो ।

विभागले कार्यालयलाई आव २०७९/८० मा पनि रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर, कार्यालयले सो आवमा पनि लक्ष्यको ६२.८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व संकलन गरेको थियो ।

Share News