श्रीलङ्काको राष्ट्रपति चुनावमा आर्थिक एजेण्डा, विदेशी पूँजी भित्राउने मार्क्सवादी नेताको घोषणा
काठमाडौं । श्रीलङ्काका प्रमुख मार्क्सवादी नेता तथा आगामी महिना हुने राष्ट्रपतिका उम्मेदवारले आफू राष्ट्रप्रमुख निर्वाचित भएमा विशेषगरी हरित ऊर्जाका क्षेत्रमा विदेशी लगानीकर्तालाई छानेर स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व कृषिमन्त्री तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायका सन् २०२२ को आर्थिक मन्दीका लागि स्थानीय भ्रष्टाचारबाट आजित मतदातामाझ लोकप्रिय मानिन्छन् । अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीले तत्कालिन राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि सेप्टेम्बर २१ मा पहिलो पटक मतदान हुनेछ ।संसदबाट निर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को २.९ अर्ब अमेरिकी डलरको बेलआउट ऋणलाई निरन्तरता दिने बताइरहेका बेला दिसानायकाले उक्त सम्झौताका विविध बुँदामाथि पुनः वार्ता गर्ने प्रतिवद्धता जाहेर गर्दै भारी कर कटौतीको योजना सार्वजनिक गरेका छन् । ‘हामीसँग ठूलो मात्रामा पूँजी लगानी गर्ने क्षमता छैन । त्यसैले हामी नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा विदेशी कम्पनीहरूलाई आमन्त्रण गर्नेछौं,’ दिसानायकाले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै भने । श्रीलङ्कामा ३९ जना उम्मेदवार चुनावी मैदानमा छन्त । तर, मुख्यतया दिसानायका, विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासाबीच प्रतिस्पर्धा हुने देखिएको छ । विक्रमासिङ्घे र प्रेमदासा दुवै एउटै विचारधारासँग जोडिएका व्यक्ति हुन् । दिसानायकाले सन् २०१९ को राष्ट्रपतीय चुनावमा भाग लिएपनि उनले तीन प्रतिशत मात्र मत प्राप्त गरेका थिए । उनले २२५ सदस्यीय संसद्मा तीन सिट रहेको राष्ट्रिय जनसत्ता गठबन्धनको मुख्य घटक पिपुल्स लिबरेशन फ्रन्ट (जेभीपी) को नेतृत्व गरेका छन् । कर कटौती गर्ने उनको आह्वानलाई धेरैले समर्थन गरेका छन् । जेभीपीले सन् १९७१ र सन् १९८७ मा दुई असफल सशस्त्र विद्रोहको नेतृत्व गरेको थियो । दुवै आन्दोलनमा लगभग ८० हजारको ज्यान गुमेपछि पार्टीले हिंसात्मक बाटोलाई त्यागेको छ । दिसानायकाले श्रीलङ्कामा राष्ट्रपतीय प्रणाली खारेज गरी सन् १९७८ सम्म कायम रहेको बेलायती शैलीको संसदीय लोकतन्त्रमा फर्काउने प्रतिबद्धता जनाइरहेका छन् । विगत तीन दशकमा श्रीलङ्काका प्रायः सबै नेताहरूले शक्तिशाली राष्ट्रपति पद खारेज गर्ने वाचा गरेपनि यसलाई पूरा गर्न असफल भएका छन् ।
चितवनका ५ सय बढीमा डेंगी संक्रमण
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५ सय ८८ जनामा डेंगी संक्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३ सय ९४ जनाको परीक्षण गर्दा ५ सय ८८ जनामा डेंगी संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ सय १७ चितवनका छन्भने १ सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, ‘सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई संक्रमणको जोखिम रहन्छ ।’ साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा २ सय ३६ जनामा डेंगी संक्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा १ सय ७, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र कालिका नगरपालिकामा ८ जनामा संक्रमण देखिएको केसीले जानकारी दिए । उनका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये २ सय २५ महिला र १ सय ९२ जना पुरुष छन् । वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेंगी रोग देखिने गरेको केसीले बताए । उनले भने, ‘अहिले साउनको सुरुआतदेखि सङ्क्रमण देखिन थालेको छ ।’ यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए । यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्यांकी, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले जानकारी दिए । डेंगी रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्ने उनले बताए । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ । यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने केसीले बताए । डेंगी ज्वरो विषाणुका कारण हुने भएकाले यसको निश्चित उपचार भने नहुने उनको भनाइ छ । डेंगीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंमा आज आयोजना गरिएको सुदूरपश्चिम समाजको १५औं साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताए । उनले भने, ‘नेपालको उद्यमसिलता र औधोगिक क्षेत्रको विकास गर्न मैले ध्यान केन्द्रीत गरेको छु ।’ मन्त्री भण्डारीले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले राष्ट्रिय चुनौतीलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको बताए । उनले सुदूरपश्चिमेलीको मौलिक पर्व गौरालाई अन्तराष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा पर्व अहिले देशभर तथा भारत, अमेरिकालगायतका देशमा समेत मनाउन थालिएको छ, यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्छ ।’ गौरा पर्व विगतमा थौरै व्यक्तिले मनाउँदा साँघुरो बाटोमा सीमित भएको र अहिले राजमार्गका रुपमा परिणत भएको उनको भनाइ थियो । गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समेत समावेश गर्नु जुरुरी रहेको तथा यस पर्वको महत्व, गरिमा र सान्दर्भीकता देखाउन सके मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिने मन्त्री भण्डारीको भनाइ थियो । सो अवसरमा मन्त्री भण्डारीले ‘सुदूरकि सोराई गोःरा विशेष’ पुस्तकसमेत विमोचन गरेका थिए । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेषका गौरा पर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा. हरिदत्त पाण्डेयले जानकारी दिए ।
रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समलाई
काठमाडौं । रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समले जितेका छन् । शनिबार राति काठमाडौं सोल्टीमोडस्थित होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले भने, ‘रियलमी मिस्टर नेपाल २०२४ को शीर्ष उपाधी जित्न सफल भएकोमा सन्तोषलाई धेरै-धेरै बधाई दिन चाहन्छौँ । अन्य उपाधी विजेताहरुलाई पनि हार्दिक बधाईका साथै आगामी यात्राको लागि शुभकामना व्यक्त गर्दछौँ । साथै प्रतियोगितामा सहभागि सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ । मिस्टर नेपाल एउटा प्रतियोगिता मात्र नभएर यस्तो प्ल्याट्फर्म हो जहाँ बाहिरी सुन्दरता मात्र नभएर युवाहरूको समग्र व्यक्तित्वको पहिचान र उच्च मुल्यांकन गरिन्छ । युवाहरुको क्षमता पहिचान गर्ने र योग्य प्रतियोगीलाई सम्मान गर्ने यस मिस्टर नेपालको सफलतापुर्वक आयोजना र समापन गरेकोमा आयोजक नेक्स्त मोडल्सको सम्पुर्ण टिम र सम्बद्ध समस्तमा पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।’ प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यस्तै, काठमाडौंका आयुष दुलालले म्यान अफ द वल्र्ड नेपाल चुनिइ म्यान अफ द वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएका छन्। योगेश र आयुष दुवैले ३ लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट र हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप, आयुष बोमजन मस्ट पपुलर, सन्तोष लोक्सम म्यान अफ एलिगेन्स, प्रकाश चौहान मस्ट एक्टिभ, समिर तिमिल्सिना वेस्ट स्किन, आदेश प्रधान पब्लिक च्वाइस, साकार बजिमय मस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ वेस्ट फिजिक, आयुष दुलाल वेस्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ मिस्टर फाटोजेनिक, पियुष श्रेष्ठ मेन च्वाइस, अनिकेत प्रजापति वेस्ट हेयर, अग्रज श्रेष्ठ मिस्टर स्टाइल आइकन, सिजल कपाली मिस्टर फेसनिष्टा र मनोज गुरुङ वेस्ट स्पोर्टस्मेनसिप अर्वाड विजेता भए । प्रशान्त ताम्राकारको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री,मोडल एवं रियलमीको ब्रान्ड एम्बास्डर नीति शाह, पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिस्टर नेपाल डा। रूपक घिमिरे र सन्दीप पोखरेल निर्णायक रहेका थिए । उपाधिका लागि देशभरका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।
पाकिस्तानमा गाडी रोकी २२ जनाको हत्या
काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो । मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भने, ‘पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’ उनका अनुसार पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो । काकरका अनुसार १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् । जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गरेका छन् । यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी (बीएलए)का लडाकू जिम्मेवार रहेको देखिन्छ । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकू पृथकतावादी समूह हो । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ ।
सतप्रतिशत बढ्यो बैंकको गैरबैंकिङ सम्पत्ति, स्ट्याण्डर्ड चार्टर्डको शून्य
काठमाडौं । वाणिज्य बैंकहरूमा गैर-बैंकिङ सम्पत्ति थुप्रिएको छ । बैंकहरूको गैर-बैंकिङ सम्पत्ति सतप्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारसम्म बैंकहरूमा ३० अर्ब १५ करोड ७७ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । जबकी अघिल्लो वर्ष १५ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको गैर-बैंकिङ सम्पत्ति ९७.१४ प्रतिशत बढेको हो । बैंकहरूको खराब कर्जा (एनपीएल) बढेका कारण गैर बैकिङ सम्पत्तिमा वृद्धि हुन पुगेको हो । अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा तिर्न सकेनन् । ऋणीहरूले समयमा कर्जाको साँवा ब्याज तिर्न नसकेपछि धितोका रूपमा राखिएको घरजग्गा, सुन लगायत बैंकहरूले लिलामीमा राख्छन् । उक्त धितो लिलामीमा बिक्री नहुँदा बैंकहरू आफै सकार्न बाध्य भएपछि गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो बढ्न पुग्छ । समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो शून्य छ । तर, अघिल्लो वर्ष शून्य रहेको एभरेष्ट बैंकको गत वर्ष भने ५२ करोड २३ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो पुगेको छ । गत वर्ष कुनै पनि बैंकले गैर बैंकिङ सम्पत्ति घटाउन सकेका छैनन् । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको ४ हजार ६९८.८४ प्रतिशत बढेर ३३ करोड ११ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति पुगेको छ । जबकी अघिल्लो वर्ष बैंकको ६९ लाख रुपैयाँ मात्रै गैर बैंकिङ सम्पत्ति थियो । यस्तै, हिमालयन बैंकको ३०९.८९ प्रतिशत बढेर २ अर्ब ४१ करोड रुपैयाँ, कृषि विकास बैंकको २७९.२८ प्रतिशत बढेर ९४ करोड ३० लाख रुपैयाँ, सानिमा बैंकको २५४.४१ प्रतिशत बढेर ६७ करोड ४४ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकको तथ्यांकमा छ । यस्तै, सिटिजन्स बैंकको २२० प्रतिशत बढेर ८२ करोड १२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १९० प्रतिशत बढेर ५ अर्ब ४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १५८.९३ प्रतिशत बढेर ३ अर्ब १ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ९७.०५प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ गैर बैंकिङ सम्पत्ति पुगेको छ । राष्ट्र बैंकका अनुसार नबिल बैंकको ७८.९० प्रतिशत बढेर २ अर्ब ५७ करोड रुपैयाँ, प्रभु बैंकको ७३.८२ प्रतिशत बढेर ७९ करोड ५३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ६० प्रतिशत बढेर ४ अर्ब ३६ करोड रुपैयाँ, कुमारी बैंकको ५६.६० प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ गैर बैंकिङ सम्पत्ति पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको ५४.४५ प्रतिशत बढेर ३० करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २२.५८ प्रतिशत बढेर १ अर्ब ५६ करोड रुपैयाँ, एनएमबी बैंकको २१.५७ प्रतिशत बढेर ८५ करोड १४ लाख रुपैयाँ, प्राइम बैंकको १६.६० प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ११.१५ प्रतिशत बढेर ७२ करोड ७५ लाख रुपैयाँ र नेपाल बैंकको ३.८५ प्रतिशत बढेर २० करोड ५७ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति पुगेको राष्ट्र बैंकले जनाएको छ । ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्ने हुन्छ । लिलामीमा राखेको धितो कसैले नकिनेपछि बैंकहरू आफैंले सकार्नुपर्छ । अहिले बैंकहरूमा यस्तो सम्पत्ति थुप्रएको हो । गैर बैंकिङ सम्पत्ति बढ्दा वितरणयोग्य नाफामा असर गर्छ । जबसम्म त्यो सम्पत्ति बिक्री हुँदैन तबसम्म उक्त पैसा वितरण गर्न मिल्दैन । त्यसलाई नाफाबाट घटाउनुपर्छ । जस्तो १ अर्ब नाफा र एनबीए ५० करोड रुपैयाँ छ भने त्यो ५० करोड रुपैयाँ नाफाबाट घटाउनुपर्छ । पछिल्लो समय बैंकहरू धमाधम गैर बैंकिङ सम्पत्ति बेचिरहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) महेश शर्मा ढकाल बाध्य भएर गैर बैंकिङ सम्पत्ति सकार्नु परेको बताउँछन् । गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि मात्रै कर्जा असुल भएको मानिने उनको भनाइ छ । ‘लिलामीमा राखेको धितो बिक्री नभएर आफैं सकार्दा यस्तो सम्पत्ति बढ्यो, गैर बैंकिङ सम्पत्तिका रूपमा सकार्नु समस्याको समाधान होइन, बाध्यात्मक व्यवस्था भएर लिनु परेको हो, किनभने पैसा नउठेपछि गैर बैंकिङमा भएपनि लिनुपर्छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि कर्जा नगदमा असुल भए सरह हो, ऋण दिँदा नगद पैसा दिनुपर्छ, त्यसैले बिक्री भएर नगद पछि मात्रै प्रभावकारी रूपमा कर्जा उठेको मानिन्छ ।’
‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै बीपी क्यान्सर अस्पताल
चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकारसँग यससम्बन्धी सम्झौता भइसकेको भन्दै उनले सन् २०२४ को अन्तिमदेखि भवन निर्माण सुरु हुने बताए । गत वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसक्नुभएको निर्देशक डा. पौडेलले जानकारी दिए । सम्झौतामा ‘चीन सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ’ भन्ने उल्लेख छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति भएको उनले बताए । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार चिनिया टोली यहाँ आएर भवन निर्माणस्थलको अनुगमन गरेर गइसकेको छ । उनले हालको प्रशासन भवनको पछाडि रहेको जग्गा छनोट गरिएको बताए । उपनिर्देशक नेपालले ठाउँको छनोट भइसकेको भन्दै उक्त ठाउँको माटो परीक्षणको काम समेत चिनियाँ टोलीले गरिसकेको जानकारी दिए । आफूहरूले स्थान दिने, पानी र बिजुलीको व्यवस्थापनलगायत स्थानीय समन्वय गर्ने बताउँदै उपनिर्देशक नेपालले भने, ‘भवन निर्माणदेखि उपकरण खरिद र जनशक्तिलाई तालिमसम्मको काम चिनियाँ सहयोगमा हुन्छ । भवनको डिजाइन, प्रविधि सबै चिनियाँले गर्ने सहमति भएको छ ।’ नेपालमा फाट्टफुट्ट काठमाडौंमा ‘बोनम्यारो’ प्रत्यारोपणको काम हुने भए पनि छुट्टै युनिट बनाएर गर्न लागिएको यो पहिलो भएको उपनिर्देशक नेपालको भनाइ छ । बोनम्यारो प्रत्यारोपण युनिट पाँच शय्याको हुने उनले जानकारी दिए । कार्यकारी निर्देशक डा. पौडेलले निर्माण सुरु भएको एक वर्षमा भवन सम्पन्न हुने जनाउँदै त्यसलगत्तै सेवा सञ्चालन हुने बताए । उनले भने, ‘चिनियाँ आफैंले निर्माण गर्ने भएकाले काम छिटो हुन्छ ।’ उपकरण खरिद पनि चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाले गर्ने भएकाले झन्झटिलो नहुने भन्दै उनले भवन निर्माण सम्पन्न भएलगत्तै उपकरण जडान गरेर सेवा सञ्चालन हुने बताए । कार्यकारी निर्देशक डा. पौडेलका अनुसार भवन निर्माण र उपकरण खरिदपछि यहाँका जनशक्तिलाई तालिमसमेत चिनियाँ टोलीले उपलब्ध गराउने छ । उनले भने, ‘सम्पूर्ण तयारी पूरा गरेर अस्पताललाई हस्तान्तरण गर्ने हो । यो अस्पतालको निर्माणसमेत चिनियाँ सरकारको सहयोगमा भएको हो ।’
मकवानपुमा ७० जनामा स्क्रब टाइफस पुष्टि
बागमती । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो संख्यामा देखा पर्न थालेको हो । यही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको संख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिए । डेंगी संक्रमणजस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा भेटिएका छन् । हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले बताए । यस्तै मकवानपुरगढीमा नौ, मनहरी गाउँपालिकामा ६, बकैया गाउँपालिकामा ७, भीमफेदी गाउँपालिकामा ४, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक–एकजना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले जानकारी दिए । मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन प्रमुख मिझारले आग्रह गरे । डेंगी संक्रमित बढ्दै पछिल्लो एक महिनामा मकवानपुरमा डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । यही साउन १ गतेदेखि हालसम्म मकवानपुरमा एक सय ४३ डेंगी संक्रमित फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारका अनुसार ७९ महिला र ६४ पुरुष गरी मकवानपुरमा एक सय ४३ जनामा नयाँ डेंगी संक्रमित फेला परेका छन् । जसमध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १०४, मनहरी गाउँपालिकामा १६, मकवानपुरगढी गाउँपालिकामा ८, बकैया गाउँपालिकामा ६, भीमफेदी गाउँपालिकामा तीन, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा एक–एक जनामा डेंगी संक्रमण पुष्टि भएको प्रमुख मिझारले बताए । वर्षायामको समय भएकाले डेंगी संक्रमित अझै बढ्न सक्ने भएकाले स्थानीय तहसँगको समन्वयमा जनचेतनामूलक सन्देश प्रवाह तथा लामखुट्टे मार्ने अभियान अघि बढाइएको प्रमुख मिझारको भनाइ छ । यता डेंगी संक्रमणको उच्च जोखिममा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाले नगरका विभिन्न वडामा लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो । पानी जम्ने ठाउँलाई पुर्ने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, जोखिम क्षेत्रमा स्प्रे गर्ने तथा डेंगीबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले बताए ।