पोर्चुगलको भिसा सेन्टर नेपालमै उपलब्ध गराउन पहल गर्छु : राजदूत पौडेल
काठमाडौं । पोर्चुगलका लागि प्रश्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताएका छन् । हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदूत भएर गए पहल गर्ने उनको प्रतिवद्धता थियो । सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदूत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताए । राजदूत पदलाई मार्केटिङ म्यानेजरको रुपमा चित्रण गर्दै उनले अन्य देशहरुमा नेपालको उत्पादनको बजार खोजी गर्नु र बिस्तार गर्ने काममा आफू लागिपर्ने बताए । उनले भने, ‘पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौं । त्यहाँ रहेका नेपालीहरुको डाटा कलेक्सनको काममा पनि लाग्नेछु । दुई देशबीचको द्विपक्षीय संयन्त्रलाई पनि एक्टिभ बनाउनुपर्नेछ । व्यापार घाटा कम गराउने काम पनि गर्नेछु । राजदूत भनेको मार्केटिङ म्यानेजर हो ।’ प्रश्तावित राजदुत पौडेलले दुई देशबीचको संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न पनि आफूले ध्यान दिने बताए ।
एमबीबीएसको प्रवेश परीक्षामा गम्भीर त्रुटि, आर्थिक चलखेल भएको भन्दै विद्यार्थी सडकमा
काठमाडौं । सिराहका जीवन सिंहले एमबीबीएस पढ्न चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा दिए । उनी यो पटक राम्रो नम्बर ल्याएर पास हुने आशामा थिए । जब आयाेगले परीक्षाको नतिजा सार्वजनिक गर्यो, उनलाई नतिजामा चित्त बुझेन । नतिजामा उनको जम्मा ७८ नम्बर आएको थियो । जबकि उनले यो पटक सयभन्दा बढी नम्बर ल्याउने तयारीका साथ परीक्षा दिएका थिए । ७८ नम्बरमात्र आएपछि उनलाई अप्टिकल मार्क रिकग्निसन (ओएमआर) सीट’ र ‘एन्सर की’ हेर्न मन लाग्यो । किनकि गएको वर्ष एमबीबीएस परीक्षा दिँदा उनले ८२ नम्बर ल्याएका थिए । ‘मलाई अझै राम्रो अंक ल्याएर एमबीबीएस पढ्न मन थियो, त्यसैले गएको वर्ष ८२ नम्बर ल्याउँदा पनि पढिनँ, अझै तयारी गरी यो वर्ष परीक्षा दिएँ तर नतिजा यस्तो आयो,’ उनले गुनासाे गर्दै भने, ‘मलाई जसरी भए पनि प्रश्न र मेरो उत्तरपुस्तिका हेर्न मन छ, त्यो हेर्न पाइनँ भने यो आन्दोलन जारी रहन्छ ।’ विद्यार्थी, जीवन सिंह जीवन नतिजा हेर्नेबित्तिकै चिकित्सा शिक्षा आयोगमा गए । तर, आयाेगले उनलाई ओएमआर सीट’ र ‘एन्सर की’ हेर्न नपाइने बतायाे । ‘मैले आफूले परीक्षामा लेखेको कुरालाई फेरि एक पटक हेर्न पाउँ भन्न पनि आन्दोलन नै गर्नुपर्ने ? जीवनले प्रश्न गरे, ‘आयोगले विद्यार्थीको जीवनमाथि खेलवाड गर्दैछ, कि हामीले हेर्न पाउनुपर्यो नभए आन्दोलन रोक्दैनौँ ।’ बझाङका प्रदीप बिकको सपना सानैदेखि डाक्टर बन्ने थियो । कक्षा १० सम्म गाउँकै सरकारी विद्यालयमा पढेका उनी डाक्टर बन्ने सपना देखेर काठमाडौं पसे । उनलाई काठमाडौंमा सहज थिएन । तर, सपनाले उनलाई हार खान दिएन । एसईई पास गरेर आएका उनी लैनचौरमा रहेको निस्ट कलेजमा भर्ना भए । मिहिनेत गरेर प्लसटु पास गरे । त्यसपछि उनले एमबीबीएसको तयारी गरे । प्रदीप बिक । निम्स इन्स्टिच्युटमा तयारी कक्षा लिए । ‘अन्य इन्स्टिच्युटमा पढ्न धेरै महंगो थियो, घरको आर्थिक अवस्था पनि राम्रो छैन,’ उनले भने, ‘पिछडिएको क्षेत्र, त्यसैमाथि दलित, छात्रवृत्तिबाट भए पनि नाम निकाल्छु भन्ने योजना थियो । तर, नतिजामा मेरो नाम नै छैन, हुन सक्छ नम्बर कम या बढी जति आएको होला । तर, किन मेरो नाम नतिजामा छैन मलाई यसको जवाफ चाहिएको छ ।’ जुम्लाका दीपक बुढा पनि हातमा पर्चा पम्पलेट समाउँदै आइतबार माइती घरमा बसेका थिए । जुम्लाबाट ठूलो सपना बोकेर काठमाडौं आएका उनी पहिलो गासमै ढुंगा लागेको बताउँछन् । ‘बिरानो शहर पढ्नकै लागि आएँ, बा आमाले सकिनसकी पैसा पठानुभयो, होस्टेलमा बसेर मिहिनेत गरेँ, तर नतिजामा मेरो नाम नै आएन,’ उनले भने, ‘मेरो तीन वर्ष बढीको मिहिनेत नै खेर गयो, किन मेरो नाम आएन मलाई एक पटक जान्न मन छ । ’ दीपक बुढा । कतिपय विद्यार्थीको नाम र नम्बरसमेत गलत आएको, कतिपयको पहिले र अहिले फरक-फरक नम्बर आएको भन्दै उनले परीक्षामा आयोगले ठूलो गल्ती गरिरहेको बताए । आयोगको नियतमै आशंका रहेको बताउँदै उनले आफूले दिएको प्रश्नपत्र र एन्सर कि एक पटक हेर्न पाउनुपर्ने बताए । माइतीघरमा विद्यार्थी जीवन, दीपक र नवराज लगायतका सयौं विद्यार्थी माइतीघरमा आन्दोलनमा छन् । कसैले परीक्षामा लेखे अनुसारको नतिजा नआएको भनेका छन् भने कतिपयले नाम नै नरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएका छन् । माइतीघरमा जम्मा भएका विद्यार्थीले ओएमआर सीट र एन्सर की हेर्न पाउनुपर्ने माग राखेका छन् । नतिजामा आयोगले गम्भीर त्रुटी गरेको बताउँदै विद्यार्थीले आन्दोलन थालेका छन् । उनीहरूले आफूहरूले भनेको कुरामा आयोग गम्भीर नदेखिए अझै शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्यार्थीको जीवनमाथि खेलवाड चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका केही विषयको एकीकृत प्रवेश परीक्षाको नतिजामा गम्भीर त्रुटी गरेको पाइएको छ । आयोगको यो गल्तीले सयौँ विद्यार्थीको जीवनमाथि नै खेलवाड गरेको अभिभावकहरूको भनाइ छ । अभिभावक महेन्द्र यादव विद्यार्थीले परिक्षा दिइसकेपछि प्रश्नपत्र घर लिएर आउन पाउनुपर्ने बताए । यसो हुँदा पारदर्शी हुने भन्दै उनले विद्यार्थीले जबर्जस्ती हेर्न पाउँभन्दा पनि किन नदेखाउनु गम्भीर कुरा रहेको बताए । उनले भने, ‘प्रश्नपत्र विद्यार्थीले घर ल्याउन पाउनुपर्छ र नतिजा सार्वजनिक हुँदा एन्सर की पनि हेर्न पाउनुपर्छ, यसो हुँदा विद्यार्थी पनि ढुक्क हुन्छन् र पारदर्शी पनि हुन्छ ।’ विद्यार्थीले आफैंलाई स्व मूल्यांकन गर्ने भएकाले आन्दोलन गर्नुपर्ने आवस्था नआउने उनको भनाइ छ । यस विषयमा विद्यार्थीले आवाज उठाउँदा आयोगले मेरिट सूची निकालेको छ । यो सूची आफूलाई मान्य नहुने आन्दोलनरत विद्यार्थीले बताएका छन् । यो सूची राख्दा सयौँ विद्यार्थीको नतिजा नै परिवर्तन भएको छ । आयोगले भदौ १३ गने निकालेको एमबीबीएस र शनिबार निकालेको जनस्वास्थ्यको नतिजामा त्रूटी देखिएको छ । एमबीबीएसका विद्यार्थीले समान अंक प्राप्त गर्दा क्यामेस्ट्रि, बायोलोजी, गणीत र फिजिक्समा प्राप्त अंकका आधारमा हुनुपर्नेमा रोलनम्बरका आधारमा सूची प्रकाशित गरेको छ । जनस्वास्थ्यका विषयमा देखिएको त्रुटी सच्याइए पनि एमबीबीएसको नतिजामा समस्या देखिएको छ । आयोगले भने यो समस्या समाधान कसरी गर्ने भन्ने छलफल भइरहेको जवाफ दिएको छ । आम्नाको सपना डाक्टर बन्ने नम्बर आयो ९ मात्र बाराकी आम्ना खातुनकी दिदी बेला बेला बिरामी भइरहन्थिन् । गाउँमा भनेजस्तो उपचार सम्भव थिएन । सामान्य उपचारका लागि काठमाडौं आउनुपथ्र्यो । उनलाई यो अवस्था देख्दा आफू एकदिन डाक्टर बन्नुपर्छ भन्ने लाग्थ्यो । प्राय मुस्लिम समुदायमा छोरीलाई विद्यालय गएर पढ्ने स्वतन्त्रता त्यति हुँदैन । आजभोलि केही सोचमा परिवर्तन आए पनि भनेजति सहज हुँदैन । आम्ना खातुन । तर, उनलाई पढाइमा खासै समस्या भएन । उनलाई जसरी हुन्छ पढेर उपचार नपाएर छटपटाउनुपर्ने बाध्यता भएकाहरूको सेवा गर्न डाक्टर हुन मन लाग्यो । उनलाई डाक्टर बन्ने विज्ञान विषयमा राम्रो गर्नुपर्छ भन्ने थाहा थियो । त्यहीअनुसार उनी तयारी गर्थिन् । उनी एसईई पास गरेर त्यसैका लागि काठमाडौं आइन् । हिमालयन ह्वाइट हाउसमा उनले विज्ञान विषय पढिन् । कक्षा १२ पास गरे पनि उनले एमबीबीएसको तयारी गरिन् । दुई वर्ष पहिले पहिलो पटक उनले एमबीबीएसको परीक्षा दिइन् । तर, उनको नाम नै आएन । उनलाई पहिलो वर्ष अंक पनि कम आयो होला, अथवा केही भयो होला भन्ने लाग्यो । उनले राम्रोसँग तयारी पनि नपुगेको भन्दै त्यत्तिकै थामथुम पारिन् । फेरि उनले आफ्नो तयारी बढाइन् । यो वर्ष कडा मिहिनेत गरेर परिक्षा दिएकी उनको जम्मा ९ नम्बर मात्र आयो । जबकि उनले १ सयको हल गरेकी थिइन् । उनलाई कसरी ९ नम्बर मात्र आयो भन्ने कुरा जान्न आफूले दिएको प्रश्नपत्र र उत्तरपुस्तिका हेर्न पाउनुपर्ने बताएकी छन् । आर्थिक चलखेल भएको आशंका हरेक वर्ष एमबीबीएस परीक्षाको नतिजामा ठूलो चलखेल हुने गरेको कुरा बेला बखत बाहिर आउँछ । नाम निकाल्न नतिजा हैन, पैसाको बार्गेनिङ चल्छ भन्ने हल्ला सुनिन्छ । उसो त बेलाबेला एमबीबीएस परीक्षाको प्रश्नपत्र नै बाहिरएका समाचार पनि आइरहेकै हुन्छन् । जनक शिक्षा सामाग्रीमा प्रश्न छापिँदै गर्दा प्रश्नपत्रमा मोलमोलाई भइसकेको हुन्छ । केही वर्षअघि यस्तै घटनामा शिक्षा मन्त्रालयका एकजना उपसचिव नलिम्बित नै भएका थिए । यसमा शिक्षा मन्त्रालयकै कर्मचारी संग्लग्न भएका घटना बाहिरिन्छन् । प्रश्नपत्र नै किनबेच भइरहने यो परीक्षामा नतिजामा कति चलखेल हुँदो हो यो सोझै अनुमान लगाउन सकिने विद्यार्थीको आरोप छ । चिकित्सा शिक्षा आयोगले गरिरहेको नतिजाको अपडेटबाट पनि विद्यार्थी यही निचोडमा पुगेका छन् । उनीहरू भन्छन्, ‘यहाँ जे भइरहेको छ त्यो निष्पक्ष छैन ।’ विद्यार्थी जीवन सिंह भन्छन्,‘ रिजल्ट निस्केदेखि अहिलेसम्म पटक-पटक नतिजा तलमाथि भएको छ, कसैको नाम र रोल नम्बर मिलेको छैन, कसैको नाम र थर फरक आएको छ, किन यस्तो भइरहेको छ थाहा छैन । ’
सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने कार्यक्रम ‘सिटिजन हिरोज कनक्लेभ’ को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरसहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेको आधारमा केही एजेन्सी म्यानेजरहरुलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ । छनोट भएका सिनियर एजेन्सी मेनेजरहरुको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा उच्च अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट सक्षम बनाउने यस कार्यक्रमको उद्देश्य रहेको थियो । यस्तो कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । सिटिजन लिडर्सहरुलाई नियमित कार्यशैली भन्दा नयाँ र फरक ढङ्गले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने विगतको अनुभवले देखाएको छ । यसै क्रमलाई कम्पनीले मध्यनजर गर्दै उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सहरुलाई तालिम प्रदान गरिएको छ । साथै यसै कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम पनि संचालन गरेको थियो । उक्त तालिममा गैरकानुनी आम्दानी र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।
बालबालिकालाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल जुनियर एप
काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल्ली गराउनु यो एपको उद्देश्य हो । साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न यो एपले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने बैंकको दाबी छ । ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताउँछन् । भौतिक कारोबार कम गर्न यस एपले पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । ‘यो एपलाई परिवारले नै ह्यान्डल गर्न सकिन्छ, बालबालिकालहरूले भबिष्यमा सहज रूपमा कारोबार गर्न सक्नुहुन्छ, बिना सीम यो एप चलाउन सकिन्छ,’ उनले भने, ‘बैंकको नारा अनुरुप बालबालिकालाई पनि सेवा दिन यो एप ल्याइएको हो ।’
आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्वमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग भेट गरेको छ । उक्त भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए । ‘महासंघको आग्रहमानया चरणको सुधारकालागिआयोग गठन हुनु सकारात्मक छ’, उनले भने । यसैगरी निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्यालसमक्ष अध्यक्ष ढकालले आग्रह गरे । यसैगरी सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउन पनि आवश्यक रहेको उनले औँल्याए । निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुनहरु बनेकोतर्फ अध्यक्ष ढकालले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरे । भेटमा मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटोछिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउनेसम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे । महासंघ कार्यसमितिले सोमबार मुख्य सचिवअर्यालसंग भेट गरेको हो ।
अस्ट्रेलियामा तीव्र हावाका कारण हजारौँ बिजुलीविहीन
काठमाडौं । अस्टेलियाको दक्षिणपूर्वी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् । अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) का अधिकारीहरूले खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । यसै क्रममा अर्का एक व्यक्तिलाई चोट लागेकाले नजिकैको अस्पतालमा उपचारका लागि लगिएको उनीहरूले बताएका छन् । अस्ट्रेलियाको भिक्टोरिया राज्यका केही भागमा आइतबार राति एक सय ४६ किलोमिटर प्रतिघन्टाको हावा रेकर्ड गरिएको राज्य आपत्कालीन सेवाले जनाएको छ । मौसम विज्ञान ब्यूरोले सोमबार भिक्टोरियाका लागि अझ तीव्र हावाको पूर्वानुमान गर्दै मङ्गलबार अवस्था सहज हुनुअघि असिना र आँधीबेहरी आउने आकलन गरेको छ । बिजुली प्रदायक युनाइटेड इनर्जीले प्रभावित राज्यमा बिजुली पुनः निर्माण गर्न धेरै दिन लाग्न सक्ने चेतावनी दिएको छ । भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले सोमबार बिहान पत्रकार सम्मेलनमा केही क्षेत्रमा प्रभावित बिजुलीको मर्मत गर्नु धेरै खतरनाक रहेको बताएका छन् । आइतबार दक्षिण अस्ट्रेलियामा सात हजार घर बिजुली प्रभावित भएको थिए भने टापू राज्य तस्मानियामा बाढी चेतावनी जारी गरिएको थियो ।
नाडा अटो शोको ‘ह्याप्पी इन्डिङ’, १५ अर्बको कारोबार
काठमाडौं । अटो व्यवसायीहरूकोे कुम्भ मेलाका रूपमा परिचित नाडा अटो शो २०२४ समापन भएको छ । करिब एक सातासम्म चलेको अटो शो आइतबार समापन भयो । यस पटकको नाडा अटो शोमा ८० प्रतिशत विद्युतीय गाडी (ईभी)को बाहुल्यता देखियो । ईभीमा पनि चिनियाँ गाडीको दबदवा रह्यो । अटो शोमा हजारभन्दा धेरैले अवलोकन गरेको नाडा अटो शोले जानकारी दिएको छ । ६ दिनको अवधिमा १५ अर्ब रुपैयाँबराबरका सवारी साधनहरू बुकिङ भएको नाडाले जानकारी दिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ६ दिनमा ४ हजार २ सय सवारी साधन बुकिङ भएको र करिब १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बताए । उनका अनुसार ३ हजार ६ सय चार पाँग्रे र ६ सय दुई पाँग्रे सवारी साधन बुकिङ भएका छन् । आयोजकले यस वर्ष २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको भएपनि १५ अर्ब रुपैयाँबराबर कारोबार भएको हो । उनले नाडामा बुकिङ भएका अधिकांश सवारी साधन विद्युतीय रहेको बताए । नाडा अटो शोमा नयाँ सवारी साधन खरिद गर्न चाहनेका लागि बैंकहरुले ८० प्रतिशतसम्म ऋण समेत उपलब्ध गराएका थिए । विभिन्न ७ वटा बैंकको नाडामा स्टल रहेको थियो । बैंकहरूले उपलब्ध गराएको तथ्यांकअनुसार दुई हजार बढी जनाले गाडी खरिदका लागि नाम टिपाएका छन् । यो अवधिमा ८२ हजार जनाले नाडा अटो शो अवलोकन गरेका छन् । शनिबार मात्रै साढे १८ हजार जनाले नाडा अटो शो अवलोकन गरेका थिए । पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए भने दोस्रो दिन त्यसको दोब्बर र तेस्रो दिन १७ हजार मानिसले अटो शोको अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार जनाले अवलोकन गर्न सक्ने अनुमान गरे पनि अवलोकनकर्ताको संख्या अनुमानभन्दा ७ हजारले बढेको हो नाडा अटो शो हेर्न नेता, राजदूत, कलाकार, पत्रकार, उद्योगी र सर्वसाधारणहरूको भीड थियो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङसमेतले नाडा अटो शोको अवलोकन गरेका थिए । कुन गाडी कति बुकिङ ? कम्पनीहरूले सवारीसाधन बुकिङ सम्बन्धमा आ–आफ्नै दाबी गरेका छन् । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ७१२ वटा गाडी बुकिङ भएको बताएको छ । त्यस्तै, एमएडब्लू वृद्धि अटोकर्पले नामी इभी ७१७ वटा गाडी बुकिङ भएको बताएको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदीले पन्च ईभी ४७५ र टियागो ईभी १६९ वटा बुकिङ गराएको दाबी गरेको छ । जेको र ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ३२३ युनिट गाडी बुकिङ भएको दाबी गरेको छ । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १५० गाडी बुकिङ भएको बताएको छ । नेटा ४०, रिडारा २०, एक्स्पेङ ९, आयोन १६, लिपमोटर सी १० को १७६, काइयी ४०, किङलङ १५ र केवाइसी २५ र स्काइवेलको गाडी १२६ वटा बुकिङ भएको दाबी गरेको छ । यस पटकको नाडा अटो शो सफल भएको दाबी नाडाले गरेको छ । नाडा अटो शोमा उत्कृष्ट चार पाँग्रे सवारी साधनको स्टल सीजी मोेटर्स प्रालिको रीडराले जितेको छ भने उत्कृष्ट दुई पाँग्रेतर्फको स्टल बैैद्य इनर्जी प्रालिको एथेरले जितेको छ । लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड एमएडब्लूले जितेको छ भने बेस्ट कम्पोनेन्टको पुरस्कार सत्यदीप इन्टरनेसनल प्रालिको भिडोलले जितेको छ ।
तारा एयरले मंगलबारदेखि पुनः पोखरा-जोमसोम उडान गर्ने, असोजदेखि रामेछाप-लुक्ला उडान नियमित
काठमाडौं । मंगलबारबाट तारा एयरले नियमित उडान गर्ने भएको छ । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको नियमित डान ताराले पुनः सुरु गर्ने भएको हो । उडान पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकोले उडान नियमित हुन लागेको हो । जोमसोमको नियमित उडानका लागि ताराले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्ट बाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एयरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ । यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला–रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकहरूका लागि विभिन्न वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् । यो सिजनका लागि ताराको २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी ताराले दिएको छ । ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।