विकासन्युज

ठमेलमा रात काट्न सास्ती

काठमाडौं । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको हो । सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो । रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् । बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए । ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन् । रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय मर्हजनले सुनाए । ‘क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन, प्रहरीमा कुरा पुर्याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ,’ उनले भने । स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गरे । होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताए । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनी २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको उनले जानकारी दिए । ‘ध्वनि प्रदूषण भयो भनेर पर्यटकहरुको गुनासो आउँछ, जथाभावी मादक पदार्थ सेवन गरेर सिसाका बोतल बाटोमै फाल्छन् । राति अबेरसम्म रमाइलोका नाममा चर्को स्वरमा गीत सङ्गीत बजाउँदा हामीलाई यहाँ रात काट्न सास्ती हुँदै आएको छ,’शर्माले भने । सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेको उनको भनाइ छ । शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन् । कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उनले सुनाए । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष शर्माले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा परिषद्, स्थानीय निकायसँग मिलेर प्रत्येक दुई महिनामा अनुगमन गर्दै आए पनि अहिले त्यस्तो निगरानी कम भएको जिकिर गरे । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिए । ‘यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ,’ उनले भने । अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बोटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए । ‘सुरक्षाका दृष्टिले ठमेल र दरबारमार्ग वृत्तमा थप जनशक्ति खटाएका छौँ, ट्याक्सीले बढी रकम मागे भनेर ग्राहकबाट गुनासो आउने गर्छन् । यस्तो बेला हामी तुरुन्तै प्रहरीले ठगी गर्नेलाई खोजी कारबाही गर्दै आएका छौँ,’ उनले भने । परिषद्ले निर्धारण गरेको रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने, अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, सबै व्यवसायीको व्यापार मूल्यसूचीमा एकरुपता हुनुपर्ने, ग्राहकलाई भ्याटबिल दिनुपर्ने, रातिमा खोलिने व्यवसायीले शौचालयको व्यवस्था र सुरक्षा गार्ड अनिवार्य रुपमा राख्नुपर्ने, सबै व्यवसायी करको दायरामा आउनुपर्नेलगायत बुँदा रहेका छन् । त्यस्तै कलाकारले मौलिकता, संस्कृति झल्किने किसिमका गायन तथा नृत्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ । डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुनेगरी स्वस्थ मनोरञ्जन दिँदै कलाकृति र सुसंस्कृति झल्कने किसिमका देखाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ । ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्री तिमल्सिनाले होटल व्यवसायी र सेवाग्राहीले आचारसंहिता आत्मसात् नगरेको बताए । परिषद्ले समयसमयमा अनुगमन गर्नुका साथै सुरक्षालाई कडाइ गर्न प्रहरी परिचालन गरिरहेको उनले जानकारी दिए । ‘आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउन अभ्यासरत छौँ । आचारसंहिता उल्लेख गरिएका बुँदाको पर्यन व्यवसायीले पालना गरी सहयोग गर्न अनुरोध गर्दछौँ,’ उनले भने ।

दुई दिन घटेको विदेशी मुद्राको भाउ फेरी बढ्न थाल्यो, कुन देशको कति ? 

काठमाडौं । सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ रहेको थियो । हिजोको तुलनामा आज नेपाली बजारमा युरोपियन युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर १४७.९१ रुपैयाँ र बिक्रीदर १४८.५८ रुपैयाँ रहेको थियो भने आज एक युरोको खरिददर १४८.२६ रुपैयाँ र बिक्रीदर १४८.९२ रुपैयाँ कामय भएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.९८ रुपैयाँ कायम भएको छ भने बिक्रीदर १७६.७६ रुपैयाँ कायम भएको छ । सोमबार यस मुद्राको एकको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ रहेको थियो । अष्ट्रेलियन डलर एकको खरिददर ९०.७६ रुपैयाँ र बिक्रीदर ९१.१७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२६ रुपैयाँ र बिक्रीदर ९९.७१ रुपैयाँ तोकिएको छ । यसअघि हिजो अष्ट्रेलियन डलर एकको खरिददर ९०.५७ रुपैयाँ र बिक्रीदर ९०.९८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२२ रुपैयाँ र बिक्रीदर ९९.६७ रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.७६ रुपैयाँ र बिक्रीदर ३०.९० रुपैयाँ तोकिएको छ । यसअघि हिजो सोमबार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९९ रुपैयाँ र बिक्रीदर ३१.१३ रुपैयाँ तोकिएको थियो ।

बालबालिकालाई आम्दानी, खर्च र डिजिटल कारोबार सिकाउने ‘ग्लोबल जुनियर’

काठमाडौं । ग्लोबल आइएमई बैंकका हेड अफ ट्रान्जेक्सन प्रकाश पौडेल डिजिटल रूपान्तरण अभियानमा छन् । उनी फ्रन्टलाइनमै रहेर डिजिटल गतिविधिमा सक्रिय छन् । उनी हरेक कारोबार डिजिटलबाटै गर्छन् र अरूलाई पनि डिजिटल माध्यमबाटै गर्न प्रेरित गरिरहेका छन् । हरेक कारोबार डिजिटलबाट गर्ने उनी घरभित्र भने नगदमै काराेबार आएका थिए । उनका छाेराछाेरीलाई पैसा चाहियो भने नगदै दिन्थे । यदि नगद छैन भनेपनि एटीमएबाट झिकेर छाेराछाेरीलाई दिने गरेका थिए । सबै कारोबार डिजिटलबाट गर्ने उनी घरभित्रको कारोबार किन डिजिटल हुँदैन ? उनले सोच्न थाले । यदि डिजिटल रूपान्तरण गर्नुछ भने घरभित्रैबाट बालबालिकालाई पनि डिजिटलमा अभ्यस्त गर्नुपर्छ भन्ने सोचका साथ ‘ग्लोबल जुनियर एप’को अवधारणा ल्याए । ग्लोबल आइएमई बैंकले पहिलो डिजिटल कारोबार घरभित्रैबाट हुनुपर्छ र बालबालिकालाई भविष्यको ग्राहक बनाउनुपर्छ भन्ने अवधारणाका साथ आज ‘ग्लोबल जुनियर एप’ सार्वजनिक गरेको छ । ‘डिजिटल रूपान्तरणमा विभिन्न गतिविधि भइरहेका छन्, म आफैं पनि डिजिटल कारोबारको प्रमोट गरिरहेको छु । तर, घरभित्रको कारोबार भने नगदमै हुन्छ, मेरो १२ वर्षको छोरी छिन्, छोरीलाई पैसा आवश्यक पर्याे भने नगद दिन्थें, यदि नगद छैन भने एटीएमबाट झिकेर दिन्थें,’ उनले भने, ‘हामी किन घरभित्रबाट डिजिटल कारोबार गर्न सक्दैनौं ? म र मेरो छोरीबीचको कारोबार किन डिजिटल हुन सक्दैन ? किनभने छोरीको व्यवहारलाई सुहाउने एप बैंकिङ क्षेत्रमै थिएन, जसले गर्दा मेरो र छोरी कारोबार नगदमै हुने गरेको थियो, चाहे १ हजार होस् वा चाहे १ सय रुपैयाँ होस्, त्यसैले ‘ग्लोबल जुनियर एप’को अवधारणा बनेको हो ।’ घरभित्रको कारोबार पनि डिजिटलबाट गर्नुपर्छ भन्ने हेतुले ‘ग्लोबल जुनियर एप’ ल्याइएको उनले बताए । केही महिनादेखि आफूले अभ्यास गरिरहेको र बालबालिकाको तर्फबाट कसरी काम गर्छ भनेर अध्ययन गरेर नै यो एप सार्वजनिक गरिएको उनको भनाइ छ । १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप ल्याइएको उनले जानकारी दिए । ‘बालबालिकाको आवश्यकतालाई हेरेर ल्याइएको हो, यो उमेर समूहलाई डिजिटल प्लेटफर्ममा ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘परिवारको मोबाइलबाटै बालबालिकालाई ग्लोबल जुनियर एपमा जोड्न सकिन्छ ।’ उनका अनुसार एक जना परिवारले २ जना बच्चालाई ग्लोबल जुनियर एपमा आवद्ध गराउन सकिने र परिवारले नै नियन्त्रण गर्न सक्नेछन् । एक दिनमा अधिकतम ५ हजार रुपैयाँ र मासिक १० हजार रुपैयाँसम्म कारोबारको सीमा ग्लोबल जुनियर एपमा राखिएको छ । परिवारले चाहेको अवस्थामा कारोबारको सीमा घटबढ गर्न सकिने उनले बताए । ‘ग्लोबल जुनियर एपमा बचत खाता सरह ब्याजदर निर्धारण गरिएको छ, यो एपमार्फत बालिबालिकाले गरिरहेको कारोबारलाई समेत परिवारले सहजै कहाँ के सामान खरिद गरेको छ भनेर हेर्न सक्नुहुन्छ,’ पौडेलले भने । ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा नेपालमा अग्रणी स्थानमा रहन बैंकले विभिन्न कार्य गर्दै आएको बताउँछन् । भौतिक कारोबार कम गर्न यस एपले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । ‘यो एपलाई परिवारले नै ह्यान्डल गर्न सकिन्छ, बालबालिकालहरूले भबिष्यमा सहज रूपमा कारोबार गर्न सकिन्छ, बिना सीम यो एप चलाउन सकिन्छ,’ उनले भने, ‘बैंकको नारा अनुरुप बालबालिकालाई पनि सेवा दिन यो एप ल्याइएको हो ।’ यो प्रडक्ट नेपालको बैंकिङ क्षेत्रमा युनिक प्रडक्ट भएको बताउँदै उनले भने, ‘वित्तीय साक्षरतामा सहज हुनेछ, कसरी कमाउने, कमाउन कति दुःख हुन्छ, कमाएको पैसा कसरी बचत गर्ने, कसरी खर्च गर्ने भनेर बालबालिकालाई यो एपले शिक्षा दिनेछ, बालबालिकालाई सानैदेखि सिकाउनेछ, मिहिनेत गर्न सिकाउनेछ, पैसाको महत्व बुझाउनेछ ।’ ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरेन्द्रराज रेग्मी सबैको लागि बैंक भन्ने नारा बमोजिम बालबालिकालले समेत सहज रूपमा बैंकिङ कारोबार गर्न ग्लोबल जुनियर एपले मद्दत पुर्याउने बताउँछन् । ‘बैंकको नारा नै छ, सबैका लागि बैंक, यही नाराबमोजिम साना बालबालिकालाई पनि बैंक चाहिन्छ भन्ने सुरुवात गरेका छौं, अधिकांश सूचकमा ग्लोबल आइएमई बैंक अग्र स्थानमा छ, यसलाई निरन्तरता दिन डिजिटलमा जोड दिएको हो, सबैलाई डिजिटल इको सिस्टममा ल्याउन ग्लोबल जुनियर एपले भूमिका खेल्नेछ,’ उनले भने, ‘आजको बालक भोलिको कर्णधार हो, त्यसैले बालबालिकालाई भविष्यमा सहज बैंकिङ कारोबार गराउन यस एपले योगदान गर्नेछ ।’ उनका अनुसार बैंकको ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको र यसलाई बढाएर सतप्रतिशत गर्ने रणनीति बैंकको रहेको छ । साथै ठूलो बैंक भएकाले पनि डिजिटल काराेबारमा दायित्व हुने उनले बताए । नेपाल राष्ट्र बैंकले भविष्यमा ल्याउने डिजिटल करेन्सीलाई समेत ग्लोबल जुनियर एपले सहजीकरण गर्ने उनको दाबी छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ग्लोबल जुनियर सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार परिवार र बालबालिकाबिच हुने नगद कारोबारलाई डिजिटल गराउनु यो एपको उद्देश्य हो ।

लघुवित्तमा लुटपाटसहित ल्यापटप र महत्वपूर्ण कागजात गायब, ‘वित्तीय क्षेत्रमा मौलायो अराजकता’

काठमाडौं । लघुवित्त विरुद्धको संघर्ष समितिको नाममा अहिले देशका वित्तीय संस्थाहरूमाथि ज्यादती फैलिएको छ । विभिन्न व्यक्ति तथा समुहहरूले लघुवित्त विरुद्धको संघर्ष समिति नाम दिँदै देशका विभिन्न लघुवित्तका शाखाहरूमा पुगेर तोडफोड तथा विभिन्न वस्तुहरू गायब गर्ने अराजकता बढेको हो । यस्तो गलत प्रवृतिको कारण बैंक तथा वित्तीय क्षेत्र तंरङ्गित र त्रसित बनेको छ । देशका विभिन्न लघुवित्तको शाखाहरूमा गएर तोडफोड, लुटपाट, आगजनी लगायतका गतिविधिहरू बढेपछि बैंकरहरूले दुःख व्यक्त गरेका छन् । सोमबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर सरकारको ध्यानआकर्षण गरेका हुन् । ‘विगत केही समयदेखि केही व्यक्ति तथा समूहले आफ्नो निशित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अर्नगल प्रचार गर्ने, विभिन्न वित्तीय संस्थाका शाखा कार्यालय तोडफोड गर्ने तथा अवरोध पु¥याउने, कर्मचारीलाई तर्साउने जस्ता अराजक क्रियाकलाप भइरहेका छन्, विभिन्न शाखाहरुमा तोडफोड गर्ने, लुटमाट गर्ने र आगजनी समेत गर्ने कार्यहरु भइरहेका छन्, यतर्फ सरकारको ध्यान जान आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ । यस्ता गतिविधिले बैंकिङ क्षेत्रलाई जोखिम उत्पन्न गरी ग्रामिण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने विज्ञप्तिमा उल्लेख छ । बैंकरहरुले प्रचिलित ऐन, नियम तथा कानुन बमोजिम स्थापित संस्थाहरुले सहज रुपमा कारोबार गर्न सक्ने अधिकारबाट बञ्चित पुगेको उल्लेख गरेका छन् । यस्ता गतिविधिलाई नियन्त्रण गर्न बैंकरले नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र गृहमन्त्रालयको सहयोग माग गरेका छन् । संयुक्त विज्ञप्तिमा अहिले देशका ९ वटा लघुवित्तको १७ वटा शाखामा तोडफोड गरेर महत्वपूर्ण कागजात, ल्यापटप, साइनबोर्ड तथा अन्य सामानहरु लुटपाट गरेको उल्लेख छ । यस्तो संयुक्त विज्ञप्ति नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिइ ऐन, नियम, कानून र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधि भित्र रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले छरिएर रहेको रकमलाई संकलन गरी देशको विभिन्न ठाउँमा रहेका व्यवसायी, उद्योगी र दुर्गम क्षेत्रमा समेत सरल र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुरÞ्याउदै आइरहेका छन् । विगत केही समयदेखी केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने काममा अवरोध पुरÞ्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौं । विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ । पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका निन्दनीय कार्यहरु भएको छ । लघुवित्त क्षेत्रलाई अझ व्यवस्थित गर्नका लागि नेपाल सरकारबाट गठित कार्यदलमा लघुवित्त विरुद्धको संघर्ष समितिको तर्फबाट समेत प्राप्त सुझाव अनुसार नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक कदमहरु चालिरहेको वर्तमान स्थितिमा पनि कथित लघुवित्त विरुद्ध संघर्ष समितिको नामबाट पुनः मिति २०८१/०५/११ का दिन तथा त्यस पछिका दिनहरुमा विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका ९ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्ने जस्ता अराजक गतिबिधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुयाउने जस्ता कृयाकलापबाट लघुवित्त क्षेत्रमा पुनः ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ्ग क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको छ । प्रचलित ऐन, नियम, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम सहज रुपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा हामी खेद प्रकट गर्दछौं । नेपाल सरकारका सम्बन्धित निकायहरु, खास गरी नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा गृह मन्त्रालयसंग नेपाल लघुवित्त बैंकर्स संघको प्रतिनिधि मण्डलको भेटघाट पश्चात प्राप्त सकारात्मक आश्वासन प्रति विश्वस्त रहि यस्ता अराजक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याई कानून बमोजिम कारवाही गर्न तथा अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासन लगायत सम्बन्धित सबै निकायहरुबाट आवश्यक सहयोग र सुरक्षाको प्रत्याभूतिको लागि हार्दिक अनुरोध गर्दछौं । साथै, बैंक तथा वित्तीय संस्थामा आवद्ध कर्मचारीहरु बिचलित नभई निरन्तर आफ्नो कर्तव्यमा उच्च मनोबलका साथ आ-आफ्नो कार्यमा लागि पर्न हार्दिक अनुरोध गर्दछौं । ग्राहक र बैंक तथा वित्तीय संस्था विचमा सुमधुर सम्बन्ध कायम गर्न दृढ रही, ग्राहकको हित संरक्षणलाई सदैव मुख्य प्राथमिकतामा राखी यस्ता किसिमका घटनाहरुबाट कत्ति पनि विचलित नभई आगामी दिनमा निरन्तर रुपमा ग्राहकलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न हामी पूर्णरुपमा प्रतिवद्ध रहेको समेत सम्बन्धित सबैमा जानकारी गर्दछौं ।

मनाङेलाई मन परेन वन मन्त्रालय, राजीनामा दिँदै भने- वनमारा र तितेपाती हेर्न किन चाहियो मन्त्री ?

कास्की । गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार एमालेलाई सामेल गराएर प्रदेश मन्त्रिपरिषद्‌मा जिम्मेवारी हेरफेर गर्दा असन्तुष्ट बनेका मनाङेले मन्त्री पदबाटै राजीनामा दिएका हुन् । मन्त्रिपरिषद् विस्तार हुँदा सोमबार मुख्यमन्त्री पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनी सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री थिए । सरकार पुनर्गठनपछि सन्तुष्ट बनेका मनाङले स्वकीय सचिवमार्फत मुख्यमन्त्री पाण्डेलाई राजीनामा पठाएका हुन् । मुख्यमन्त्री पाण्डेले मनाङेको राजीनामा बुझिसकेका छन् । राजीनामा दिँदै मनाङेले प्रदेशलाई वन तथा वातावरणमा पर्याप्त अधिकार नै नभएकाले आफू सो मन्त्रालयको जिम्मेवारीमा नरहने बताए । ‘प्रदेशलाई वनमा कुनै अधिकार नै छैन, खासमा प्रदेशलाई वन मन्त्रालय आवश्यक नै छैन, सबै अधिकार संघमा भएपछि यहाँ वनमारा र तितेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो ? त्यो त रेन्जरले हेरे भइहाल्छ,’ उनले भने । उनले आफूलाई मन्त्री नभए पनि कुनै समस्या नभएको बताउँदै कुनै युवालाई मन्त्री बनाउन आग्रह गरेका छन् ।

नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र बुद्ध एयर सञ्चालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रविनमुनि बज्रचार्य लगायतको उपस्थिति थियो । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बजेट अभावले ‘महभिर झरना’को भौतिक पूर्वाधार तयार हुन सकेन

ढोरपाटन । चारैतिर घनाजङ्गल । अग्लो भिर । स्वच्छ हावापानी र शान्त वातावरण । त्यसमाथि चिरबिर चराचुरुङ्गीको आजाव । उसै गरी भिरको बीच भागमा छ महभिर झरना । झरना वरपर ठूलाठूला भिर छन् । उक्त भिरलाई महभिरका रुपमा चिनिन्छ । महभिरकै नामले झरना परिचित छ । बेलाबखतमा स्थानीय फाट्टफुट्ट पुग्ने गरे पनि बाहिरी पर्यटक पुग्न सकेका छैनन् । बागलुङको निसीखोला गाउँपालिका–३ स्थित महभिरमा रहेको यो झरना दुरीका हिसाबले टाढा पनि छैन । समुन्द्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको छ । झरनासम्म पुग्नका लागि सहज पदमार्ग तथा सडक भने छैन । बोहोरागाउँ र याङ्म्याङको बीचमा पर्ने यो झरना क्षेत्रमा बर्सेनि स्थानीय भिर मह काढ्नका लागि पुग्ने गर्छन् । झरनासँगै यो क्षेत्र ‘हनी हन्टिङ’ अर्थात् मह सिकारका लागि निकै उपयुक्त रहेको स्थानीय बताउँछन् । स्थानीय सरकारले यसको चासो दिए पर्यटकीय गन्तव्य बन्ने निसीखोला गाउँपालिका–३ का विनोद विश्वकर्माले बताए । उनले झरना सुन्दर रहेको तर यहाँसम्म पुग्ने पहुँचमार्ग सहज नहुँदा बाहिरी मान्छे आउन नसकेको बताए । धेरै टाढाबाट पनि यो झरना देख्न सकिने भन्दै अब पर्यटक भित्र्याउनका लागि पदमार्ग निर्माण गर्नुपर्ने उनको भनाइ छ । विश्वकर्माले स्थानीयहरु पशुचौपाया चरनका लागि झरना रहेको क्षेत्रमा जाने गरेको भए पनि प्रचार नभएको बताए । उनले भने, ‘अरू ठाउँमा योभन्दा निकै साना झरनाहरु छन्, ती झरनाहरुमा पर्यटकहरूको चहलपहल देखिन्छ तर यो झरना निकै ठूलो छ र पनि आझेलमा पर्दा पर्यटक आउन सकेका छैनन्, स्थानीय सरकारले यसको प्रचार र पूर्वाधार निर्माण गर्न सके यहाँ पनि पर्यटक आगमनमा कमी हुने थिएन, यति सुन्दर ठाउँमा सरकारको नजर पर्न सकेन ।’ निसीखोला गाउँपालिका–३ का वडाअध्यक्ष रमेश विक्रम शाहीले झरनामा पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्य बनाउनका लागि योजना बनाएको बताए । उनले भौगोलिक विकटताका कारण झरनासम्म पुग्ने पदमार्ग तथा सडक निर्माणका लागि ठूलो बजेट लाग्ने हुँदा प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ । वडामा सीमित बजेट हुँदा अहिलेसम्म झरना वरपर पूर्वाधार निर्माण गर्न नसकिएको अध्यक्ष शाही बताउँछन्। मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिका–४ झिवाखोलादेखि करिब ३ घण्टाको यात्रामा झरनामा पुग्न सकिन्छ ।

ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, असोजदेखि नै निर्माण सुरु हुने

काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा निर्माण हुनेछ । यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० २०८० वैशाखमा तयार भएको हो । यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ । यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ । यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ । २०८४ वैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ ।