मुग्लिन-पोखरा सडक खण्डको पश्चिमतर्फको म्याद थप
दमौली । निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो । यसअघिको म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन-पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । पश्चिम खण्डमा २० किलोमिटर दूरीमा दुई लेन सडक कालोपत्र सकिएको छ । सो खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । पौडेलका अनुसार सोही अवधिमा शून्य दशमलव पाँच किलोमिटर सडक चौडा गर्ने काम भएको छ भने ९५ प्रतिशत ‘ब्याक कटिङ’ सम्पन्न भएको छ । पौडेलका अनुसार त्यस अवधिमा १३ पल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटाको काम सकिएको छ । आठ वटा पुलको संरचना निर्माण सम्पन्न भइसकेको छ । आर्थिक वर्ष २०८०/८१ मा योजना कार्यालयको पहलमा निर्माण कम्पनी, सरोकारवाला निकायहरुको साथ र सहयोगले सडक स्तरोन्नतिको भौतिक प्रगति नौ प्रतिशतबाट २८ प्रतिशत पुगेको पौडेलको भनाइ छ । उनले भने, ‘नेपालकै अधिक वर्षा हुने क्षेत्रमा अवस्थित यस राजमार्गको स्तरोन्नतिमा सुरुआतदेखि नै केही समस्या देखिएको थियो । काम सुरु भएपछि पोखरामा निर्माण भएको नयाँ अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनजर गरी जामुनुदेखि सेती पुल खण्डको डिजाइन परिवर्तन गरिएको थियो ।’ सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचनाहरु स्थानान्तरणका लागि सम्झौता भइ सम्बन्धित उपभोक्ताबाट स्थानान्तरण भइरहेको पौडेलको भनाइ छ । त्यस्तै योजना कार्यालयले लागत बेहोर्ने गरी नेपाल विद्युत् प्राधिकरणका निकायमार्फत दुई हजार ३१ पोलमध्ये एक हजार दुई सय ३६ विद्युत् पोल स्थानान्तरण भइसकेको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । रासस
मन्त्रालय फुटाएपछि एमाले गयो गण्डकी सरकारमा, ४ जनाले लिए शपथ
काठमाडौं । गण्डकी प्रदेशमा पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमाले ४ मन्त्रालयसहित सरकारमा सहभागी भएको छ । श्रेष्ठ नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य हुन् । एमालेको नेतृत्व गर्दै सरकारमा पुगेकी श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी समालेकी छन् । सरकारमा श्रेष्ठसहित बागलुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् । गण्डकीमा ९ मन्त्रालयको टुंगो लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाठकलाई दिइएको छ । केसीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनाइएको छ । यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । बस्याल उद्योग, पर्यटन मन्त्री बनेका छन् । आजै एमालेबाट नियुक्त भएका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
पर्यटन नीति परिवर्तन गर्ने संघारमा छौँ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताएका छन् । सोमबार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४६ औं साधरण सभामा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको उल्लेख गरे । उनले संस्कृति नीति, हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गरे । उनले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको पनि बताए । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मात्रै नभएको जनाए । पर्यटन मन्त्रालय भुमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव रहेको जानकारी दिए । उनले पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलताको आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको सक्रियता विना मुलुकको पर्यटन क्षेत्रको विकास नहुने उल्लेख गरे । मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउने बताए । मन्त्री पाण्डेलले मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढाउने प्रतिवद्धता जनाए । ‘संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय होइन । निजी क्षेत्रको पनि मन्त्रालय हो । भुमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव छ’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सरकारले अहिले पनि रफ्तार समाउन नसकेको बताए । उनले पर्यटनमन्त्री मन्त्रालय सम्हालेको ५० दिनसम्म पनि अध्ययनमा नै रहेकाले केही काम हुन नसकेको बताए । मन्त्रीहरु ५० दिनसम्म अध्ययन मात्रै गरेर बस्दा प्रधानमन्त्रीले सोचे जस्तो काम हुन नसकेको उल्लेख गरे । सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेको स्वीकार गरे । उनले सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए । उनले भने,‘सरकार अहिले पनि रफ्तार समाउन सकेको छैन । सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्रले नै मुलुकमा युवाहरुलाई रोक्न सक्छ ।’ उनले पछिल्लो समय विदेश पलायन भइरहेका युवालाई रोक्नको लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताए ।
भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिममा चरणमा
भैरहवा । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ । पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्यांक निर्माण गरिने परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए । पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएका छन् । निगमले तीनवटा ठेकेदारमार्फत गत जेठ १८ गतेदेखि भण्डारण गृहको जग्गा व्यवस्थापनका काम गरिरहेको छ । भण्डारण गृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणी खोलमा आएको बाढीले केही समय ढिला भएको निगमको भनाइ छ । ‘बर्खायाममा रोहिणी खोलामा पानीको सतह बढेको तथा ढुङगाको सहज उपलब्धता नहुँदा पहिलो प्याकेजमा केही ढिलाइ भएको हो,’ साइट इन्जिनियर अंकित रिमालले भने, ‘अन्य प्याकेजका काम अन्तिम चरणमा छन्, अबको एक महिनाभित्र पहिलो चरणका सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।’ रोहिणी खोलाको समानान्तर ६ मिटर अग्लो ६ सय २० मिटर ग्याविन र जग्गाको उत्तरतर्फ ४.२ मिटर अग्लो १ सय ५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ । भण्डारणस्थल प्रस्तावित जग्गालाई रोहिणी खोलामा आउने बाढीबाट सुरक्षित बनाउन परियोजनास्थलभन्दा माथि करिब एक सय ८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ । रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ । ग्याविन पर्खालका लागि ६ र जग्गा पुर्नका लागि १ गरी ७ वटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको थियो । सात वटा प्याकेज ८ करोडमा ठेक्का लागेको थियो । प्याकेज नं ७ अन्तर्गत जग्गा पुर्ने तथा सम्याउने कार्य लगभग सम्पन्न भएको छ । प्याकेज नं ४, ५ र ६ मा ग्याबिन पर्खाल लगाउने काम सम्पन्न भइसकेका छन् । प्याजेक नं ३ अन्तर्गत करिब ७० प्रतिशत काम सकिएको छ । काठमाडौंस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगन्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी ४ वटा प्याकेजमा काम गरिरहेको छ । अबको एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउण्ड’ निर्माणको काम थालिने इन्जिनियर रिमालको भनाइ छ । रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता न्यून तथा घनाबस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । उक्त भण्डारण निर्माण भएसँगै लुम्बिनी प्रदेशका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ । सो भण्डारणले लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा नयाँ भण्डारण गृह निर्माण तथा क्षमता विस्तार गर्दै आइरहेको छ । रोहिणी क्षेत्रमा करिब ३ अर्ब लागतमा नयाँ भण्डारण गृह निर्माण गरिने परियोजना संयोजक यादवले जानकारी दिए । सो स्थानमा डिजेल भण्डारणका लागि २१०० किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६०० किलोलिटर दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिनेछ । भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । असोजभित्र परियोजनाको डिजाइन सम्पन्न हुने निगमले जनाएको छ । परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गरिरहेको छ । आगामी मङ्सिरमा भण्डारण गृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
धनसँगै ग्राहकको स्वास्थ्य सुरक्षा गर्दै सिटिजन्स बैंक
काठमाडौं । बैंक के हो भनेर प्रश्न गर्दा तपाईं हामीले सरल जवाफ दिन्छौं निक्षेप संकलन र कर्जा प्रवाह गर्ने संस्था । हो सामान्यतया बैंकहरूको दैनिक काम भनेको जनताबाट निक्षेप संकलन गरी कर्जा लगानी गर्नु हो । बैंकलाई जनाताको रकम सुरक्षा गर्ने संस्थाका रूपमा पनि लिइन्छ । तर, सिटिजन्स बैंकले जनताको सम्पत्ति वा रकम सुरक्षाका साथै ग्राहकको स्वास्थ्य पनि सुरक्षा गर्ने भएको छ । निक्षेप जम्मा गर्ने ग्राहकको बैंकले स्वास्थ्य पनि हेरचाह गर्ने भएको हो । बैंकिङ क्षेत्रमा सिटिजन्स बैंकले फरक तथा नौलो अभ्यासको थालनी गर्दै ‘स्वास्थ्य र धन बचत खाता’ योजना सञ्चालनमा ल्याएको हो । यस बचत खाता योजनामा बैंकले ग्राहकको सम्पत्तिसँगै स्वास्थ्य पनि सुरक्षा गर्ने जनाएको छ । बैंकका निक्षेप प्रमुख पारसविक्रम थापा स्वास्थ्य र धनलाई सन्तुलन गर्न यो प्रडक्ट ल्याएको बताउँछन् । ‘हामी तपाईको स्वास्थ्य र धनको ख्याल राख्छौं’ भन्ने मूल नाराका साथ बैंकले स्वास्थ्य र धन बचत खाता सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार यस बचत खातामा ग्राहकहरूले स्वास्थ्य र धन गरी दुई वटा फाइदा लिन सक्नेछन् । बैंकका अनुसार स्वास्थ्यतर्फ ग्राहकले वर्षमा एकपटक सम्पूर्ण शरिरको निःशुल्क जाँच्न र परामर्श लिन पाउनेछन् । साथै ग्राहकले दाँत, छाला र आँखा सम्बन्धि निशुल्क परामर्श लिन पाउने बैंकले जनाएको छ । साथै यस बचत खाता अन्तर्गत ईफार्मेसीद्वारा सञ्चालित निःशुल्क डेलिभरी र चिकित्सा खरिदमा विशेष छूट पाउने थापाको भनाइ छ । यदि स्पा गर्न इच्छा लाग्यो भने बैंकले ग्राहकलाई विशेष छुट दिनेछ । यस्तै यस बचत खाता योजनाको सम्पत्तितर्फ खाता खोलेको पहिलो वर्ष इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र डेबिट कार्डमा कुनै पनि शुल्क लाग्ने छैन । एक वर्षसम्म यी सबै सुविधा बैंकले निःशुल्क उपलब्ध गराउनेछ । लकरको वार्षिक शुल्कमा ५० प्रतिशतसम्म छुट र न्यूनतम ३ लाख रुपैयाँ जम्मा गर्याे भने शतप्रतिशत छुटको व्यवस्था छ । साथै, १ लाख रुपैयाँ सीमा भएको मेडिकल क्रेडिट कार्ड जारी शुल्कमा १०० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । स्वास्थ्य र धन बचत खाताका ग्राहकले सिटिजन क्यापिटलको पीएमएस सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै सीबीआईएल सेक्युरिटिजमा निःशुल्क ब्रोकर खाता खोल्न पाउने बैंकको भनाइ छ । यस्तै यस बचत खाताबाट प्रत्येक महिना न्यूनतम १ सय रुपैयाँसम्म कट्टा हुने गरी आकस्मिक कोष खडा गने सकिने व्यवस्था छ । यो कोषको पैसा आकस्मिक अवस्थामा ग्राहकले निकाल्न पाउनेछन् भने उक्त रमकमा मुद्दती खाता सरह ब्याज पाउनेछन् । यस बचत खातामा विदेशी मुद्रा खरिदबिक्री गर्दा ०.१० पैसा छुटको व्यवस्था पनि छ । ग्राहकले डलर ट्राभल कार्ड जारी गर्दा २५ प्रतिशतसम्म छूट पाउने छन् । साथै, इकोम कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशतसम्म छुटको व्यवस्था छ । बैंकका निक्षेप प्रमुख पारसविक्रम थापा स्वास्थ्य र धनलाई सन्तुलन गर्न यो प्रडक्ट ल्याएको र बैंकका ग्राहकको निशुल्क शरिर जाँच गर्ने अवधारणा अनुरुप विभिन्न स्वास्थ्य संस्थासँग सम्झौता भइरहेको बताउँछन् । यस योजनाका ग्राहकले दाँत र छाला सम्बन्धि वर्षमा ५ पटकसम्म निशुल्क परामर्श लिन सक्ने उनको भनाइ छ । ‘हाम्रा ग्राहकको निशुल्क होलबडी चेक गर्ने अवधारणामा बैंकले विभिन्न स्वास्थ्य संस्थासँग सम्झौता गरिरहेको छ, काठमाडौं उपत्यका धेरैवटा संस्था भइसकेको छ, अब उपत्यका बाहिर पनि सम्झौता गर्ने तयारी छ,’ उनले भने, ‘चिरायु हस्पिटल र हिमाल हस्पिटलमा निशुल्क होलबडी चेकअप सुविधा र परामर्श पनि हुनेछ, समाज डेन्टल र नव डर्मा स्किन लेजर एथलेटिक्समा दाँत र छाला सम्बन्धि वर्षमा ५ पटकसम्म निशुल्क परामर्श पाउनेछन् ।’ उनका अनुसार बैंकका ग्राहकले निक्षेप जम्मा गरेवापत उच्च ब्याजदर पनि पाउनेछन् । पैसा मात्रै नभएर स्वास्थ्यलाई पनि ध्यान दिन प्रडक्ट विकास गरेको उनको भनाइ छ ।
ट्राफिक प्रहरीले डेढ महिनामा उठायो ४४ लाख ६९ हजार राजस्व
बागमती । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढ महिनाको अवधिमा ४४ लाख ६९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व संकलनमा वृद्धि भएको हो । चालु आव २०८१/८२ को पहिलो महिना साउनमा चार हजार एक सय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट ३० लाख ८७ हजार ५ सय १ र भदौ १५ गतेसम्म १ हजार ७ सय ७९ सवारी साधनलाई गरिएको कारबाहीबाट १३ लाख ८२ हजार गरी ४४ लाख ६९ हजार ५ सय १ रुपैयाँ संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए । कार्यालयले अघिल्लो आव २०८०/८१ को पहिलो महिना साउनमा एक हजार सात १७ सवारी साधनलाई कारबाही गर्दा १२ लाख १२ हजार मात्र राजस्व संकलन भएको जनाएको छ । विभिन्न सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेपछि मकवानपुरमा सवारी दुर्घटनामा समेत कमी आएको छ । कार्यालयका अनुसार चालु आव २०८१/८२ को साउन र भदौको १५ गतेसम्ममा ३८ वटा सवारी दुर्घटना भएको छ । जसमा एक जना बालकको मृत्यु भएको छ । गत आव २०८०/८१ मा मकवानपुरमा दुई सय ४५ सवारी दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । जबकी आव २०७९/८० मा दुई सय ५२ सवारी दुर्घटना हँुदा ६१ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा तीन सय १७ दुर्घटनामा ७० जनाले ज्यान गुमाएका थिए । आव २०८०/८१ मा २ करोड ८३ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउने ३७ हजार ९ सय ६० सवारी साधनमाथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । कार्यालयले गत आव २०७९/८० मा ४७ हजार आठ सय ९९ सवारी साधनमाथि कारबाही गर्दा रु तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको थियो । ‘हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै ट्राफिक जाँचमा कडाइ गरेका छौँ,’ प्रहरी निरीक्षक अधिकारीले भने,‘’आव २०८०/८१ मा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी, कर्मचारीलगायत दुई हजार ३७ पटकमा एक लाख ९६ हजार दुई सय ९५ जनालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ । यसबाहेक ठाउँ ठाउँमा पर्चा, पम्पलेट, स्टिकर टाँस र समय समयमा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएका छौँ ।’ बढ्दो सवारी साधनको चाप, साघुँरो सडक, चालकको लापरबाही तथा सडकहरूमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना हुने गरेकाले यसबारे पनि नागरिकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका प्रहरी निरीक्षक अधिकारीको कथन छ ।
वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर
पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाख रुपैयाँका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । चालु आवको साउनमा भने ९४ करोड ४८ लाखका सात हजार एक सय ५० रुपैयाँ थान मोटरसाइकल आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाखका एक सय २७ रुपैयाँ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा १४ करोड ४४ लाखको ७६ थान रुपैयाँ मात्र जिप र कार आयात गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए । गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
नाडा अटो शोमा ‘स्काइवेल’को १२६ युनिट बुकिङ
काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड ‘स्काइवेल’ ले नाडा अटो शो २०२४ मा आक्रामक बुकिङ गर्न सफल भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले आक्रामक बुकिङ गर्न सफल भएको हो । आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले १ सय २६ युनिट बुकिङ गरेको छ । शनिबारसम्म स्काईवेलले ९९ युनिट गाडीको बुकिङ प्राप्त गरेको थियो । आइतबार थप २७ युटिन गाडी बुकिङ प्राप्त गरेको स्काईवेलको नेपालका लागि एकमात्र आधिकारिक वितरक जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । ‘हामीले प्रिमियम गाडीमा सम्भवतः सबैभन्दा धेरै गाडी बुकिङ गरेका हौँ, शो निकै उत्साहजनक रह्यो’, उनले भनेका छन् । उनका अनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो । नाडा अटो शोमा स्काईवेल एसयूभी बी ११ मा ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्जको इभी सार्वजनिक गरेको थियो । नाडा अटो शोमा गाडी बुकिङ गर्दा कम्पनीले न्यूनतम ४ लाखसम्मको छुट पनि दिएको थियो । कम्पनीले जनाएअनुसार ४१० किलोमिटर रेन्ज दिने गाडीलाई छुटसहित ७५ लाख ९० हजार, ५२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजार र ६२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजारमा उपलब्ध गराइएको थियो । १ सय ५० किलोवाट मोटर क्यापासिटी भएका गाडीहरूमा सेफ्टी फिचरसहित विभिन्न सुविधा पनि उपलब्ध गराइएको थियो । गाडीमा अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषताहरू रहेको कम्पनीले जनाएको छ । स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर इभी प्लेटफर्ममा बनेको कम्पनीले जनाएको छ । स्काईवेलका विद्युतीय सवारीहरू जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत धेरै देशहरूमा लोकप्रिय छन् ।