विकासन्युज

सिटिजन्स क्यापिटलको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको अठारौं साधारण सभाले आ.व.२०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आ.व. २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको संचालकको नियुक्ति अनुमोदन र संचालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।

हुलाकी राजमार्गमा नदी तर्न डुंगाकै सहारा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुंगाकै साहरामा नदी तर्न बाध्य छन् । यहाँ वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि विकल्पका रूपमा यहाँ वर्षौदेखि यस्तै नियति दोहोरिरहन्छ । अरु समय काठेपुलको सहाराममा आवतजावत गर्ने स्थानीय वर्षासँगै नदीको बहावले पुल बगाएपछि वर्षायामभरि यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् । विगतमा यस्तो समस्या भोगे पनि १३ वर्षदेखि पुल निर्माण सुरु भएपछि समस्या धेरै रहँदैन होला भन्ने अपेक्षा गरेका थिए तर बहुप्रतिक्षित उक्त पुल अझै निर्माण नहुँदा समस्या ज्यूँका त्यूँ छ । यतिबेला कमलावारि घर, पारि खेतबारी हुनेहरूको लागि बर्खामा नदी वारपारको एकमात्र विकल्प डुंगा बनिरहेको छ । ‘घरमात्रै वारि हो, खेतबारी र गोठ पारि नै छ । वस्तुभाउलाई दानापानी गर्न भए पनि दिनको एक दुईपटक त आउजाउ गर्नैपर्छ । हाम्रो जीवन त मर्नु न बाँच्नु भएको छ,’ सिरहा नगरपालिका–६ की लिला यादवले भनिन्, ‘कमला नदीमा पक्की पुल बन्न नसक्नु यहाँका नागरिकहरूका लागि दुर्भाग्य हो । पुस्तौँपुस्तादेखि बाउबाजेले जुन दुःख र सास्ती खेपे, हाम्रा छोरानातिले यही सास्ती व्यहोर्न परेको छ ।’ दैनिकजसो डुंगाबाट नदी वारपार गर्दा पाएको हैरानी र दुःख भन्दाभन्दा अब त थाकिसकेको उनको भनाइ छ । निर्माणाधीन अवस्थामै करिब तीन वर्षअघि पुल भासिएको थियो । भासिएको पुलभन्दा करिब १० किलोमिटर दक्षिणतर्फ नेपाल–भारत सीमाक्षेत्र नजिक गत वर्षदेखि झोलुङ्गे पुल सञ्चालनमा रहेको छ तर उक्त पुल पाएक नपरेको स्थानीयको गुनासो छ । ‘यहाँ पुल निर्माण हुनसकेको छैन । झोलुंगे पुलले त्यस आसपासका नागरिकलाई सहज भए पनि बाँकी क्षेत्रलाई सहज भएन । नदीमाथि पल बन्नुको विकल्प छैन’, डुंगामा मोटरसाइकल चढाएर सिरहाबाट घर फर्किंदै गरेका कमला नगरपालिका–५ धनुषाका अरविन्द पासवानले भने । मोटरसाइकल तार्न सय रुपैयाँ सिरहाको साररश्वरनाथ घाटस्थित कमला नदीमा दैनिक चारवटा डुंगा वारपार गरिरहन्छन् । स्थानीयदेखि टाढाटाढासम्मका सयौँ मोटरसाइकल यात्रु तथा पैदल यात्रुले डुंगाबाटै नदी तर्ने गरेका छन् । जसमध्ये स्थानीय मानिसहरूले मासिकरवार्षिक रूपमा केही अन्नपात डुंगा खियाउने माझीलाई बुझाउने गरेका छन् भने टाढाटाढाका यात्रुहरूले प्रतिमोटरसाइकल एक सय शुल्क तिर्ने गरेको माझी रामअवतार सहनीले जानकारी दिए । बाउबाजेदेखि गरिआएको पेसा भएकाले व्यवसायभन्दा पनि सामाजिक सेवा गरिरहेको उनको भनाइ छ । ‘चार दशकदेखि यहाँ डुंगा चलाइरहेको छु, बाउबाजेदेखिको पेसा नै यही हो । मेरो जुनी पनि डुंगा चलाउँदै बित्यो । छोराहरूले पनि यही पेसा अङ्गालिरहेका छन्’, उनी भन्छन् । बिहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेउ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने यहाँका माझीहरूको दिनचर्या बनेको छ । यसैमध्येका अर्का माझी हुन कमला नगरपालिका–७ का ७० वर्षीया रामसेवक सहनी । ‘के गर्नु वर्षाका दुईरचार महिना त हो डुंगा चलाउन पाउने । यही डुंगा चलाउन पनि नदीमा बाढी पर्खनुपर्छ । सानै उमेरदेखि गर्दै आएको र जानेको सीप भएकाले ज्यानले साथ दिएसम्म त काम गर्नै पर्‍यो,’ सहनीले भने । कमला नदीमा पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुंगा चलाइरहेका माझीहरू बताउँछन् । डुंगाबाट जोखिमपूर्ण यात्रा गरेर भए पनि थोरै राहत मिलेको स्थानीयको भनाइ छ । १३ वर्षदेखि पुल अधुरै हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १३ वर्षसम्म अधुरै छ । निर्माण सुरु भएको १२ वर्षपछि सञ्चालन नहुँदै तीन वर्षअघि पुलको तीनवटा पाया भासिएका थिए । विसं २०६८ मा पुल बनाउन निर्माण व्यवसायी कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ले ठेक्का पाएको थियो । तीन वर्ष ६ महिनामा कमला नदीमा चार सय ७० मिटर लम्बाइ र नौ मिटर चौडाइको पुल बनाइसक्ने सम्झौता थियो । म्याद गुज्रँदै पप्पुले सात वर्षमा पनि कमलामा पुलको निर्माण नसकेपछि हुलाकी सडक निर्देशनालयले सम्झौता तोड्दै विसं २०७८ असार १३ सम्म निर्माण सक्नुपर्ने सर्त राख्दै अर्को निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’लाई ठेक्का दियो । लुम्बिनी बिल्डर्सले पनि समयमा काम नसकेपछि अन्तिम पटक भनेर २०७८ फागुन ३० गतेसम्म पुलको काम सक्न पुनः म्याद थपियो तर सोही वर्षको बाढीले निर्माणाधीन पुलको तीनवटा पिलर नै भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भयो । पुनः पुल बन्ने नबन्ने अनिश्चितताका बीच ०७९ चैतमा तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक निर्माण तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले पुलको पुनःनिर्माण तत्काल सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । ठेकेदार र बीमा कम्पनीको चेपुवामा पुल निर्माण पुल निर्माणको म्याद आउँदो असारसम्मको छ तर निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले काम रोकिएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुर कार्यालयका प्रमुख कृष्ण महतोले जानकारी दिए । निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले बाढीले भासिएको पुलको बीमा रकम १२ करोड ७० लाख रुपैयाँ दाबी गरेकामा बीमा कम्पनीले एक करोड ९३ लाख मात्र दिएको भन्दै लुम्बिनी बिल्डर्सले काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेको छ’, उनले भने, ‘त्यो मुद्दा दुई वर्षदेखि विचाराधीन छ भने पुलको काम रोकिएको छ ।’ पुल निर्माणका लागि यहाँका स्थानीयले पटकपटक आन्दोलन गरे पनि सुनुवाइ हुन सकिरहेको छैन । यही बीचमा सिरहाका केही युवाले सोही क्षेत्रमा नयाँ पुलको माग गर्दै मधेस प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशनसमेत बसे । मुख्यमन्त्री सतिशकुमार सिंहसँग प्रदेश सरकारले नयाँ पुल बनाउने सहमति भएपछि तत्कालका लागि अनशन तोडियो । अनसन बस्नेमध्येका सिरहा नगरपालिका–६ का वडाअध्यक्ष इन्द्रजित यादवले पुल नबन्दासम्म निरन्तर संघर्ष जारी रहने बताए । उनले भने, ‘मधेसको जीवनरेखा मानिएको कमला पुल नबन्दासम्म जीवनमरणको संघर्ष निरन्तर गरिरहने छौँ ।’

मलेसियामा विचौलियाले श्रमिकलाई पाइलैपिच्छे ठग्छन् : राजदुत तिमिल्सिना

काठमाडौं । मलेसियाका लागि प्रश्तावित राजदुत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् । मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पारे । सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत तिमिल्सिनाले मलेसियामा विचौलियाहरुले श्रमिकहरुलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताए । उनले मलेसियामा श्रमिकको पक्षमा काम गर्न विचौलियाहरुको कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको जानकारी दिए । ‘म के भन्न चाहन्छु भने यो यस्तो खालको हाईलेवलको भिजिट मलेसियाबाट चाँही गृहमन्त्रीको लेवलको भिजिट चाँही उनीहरुको चासो छ भन्ने मैले सुनेको छु । त्यसकारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढने ? मलेसियामा म्यान पावरको कुरा यस्तो हुँदो रहेछ’, उनले भने । प्रश्तावित राजदुत तिमिल्सिनाले मलेसियामा श्रम नीति अनुसारको कुटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताए ।

सफ्टवेरिकाको नयाँ अभ्यास : रोबोट फाइटमा भिड्दै नेपाली विद्यार्थी

काठमाडौं । हातहातमा रोबाेट । समूहअनुसार फरक-फरक ड्रेस, प्रतियोगिता जसरी हुन्छ जित्नैपर्छ भन्ने मनासय । कोही रोबाेट फाइट गराउँदै त कोही हेर्दै । जब रोबाेट, रोबाेटको टक्कर पथ्र्यो, विद्यार्थीको तालीकाे गडगडाहट र हुटिङ चल्थ्यो । सधैं ल्यापटप बोकेर जाने विद्यार्थी आइतबार रोबाेट बोकेर गएका थिए । अरु दिनभन्दा अलि फरक र राेमाञ्चक माहोल । यो दृश्य थियो काठमाडौं डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजको । जहाँ सुरु भएको थियो ‘रोवो लिग वारियर्स’ कार्यक्रम । अर्थात विद्यार्थी आफैंले बनाएका रोबाेटहरूको फाइट । आइतबारदेखि सुरु भएको यो कार्यक्रममा विभिन्न २४ वटा विद्यार्थी समूहले बनाएका रोबाेट प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन आइतबार १२ समूहका विद्यार्थीले बनाएका रोबाेटबीच प्रतिस्पर्धा भएको थियाे । यो क्रम ६ महिनासम्म चल्ने कलेजले जनाएको छ । प्रत्येक आइतबार हुने ‘रोवो लिग वारियर्स’ कार्यक्रममा एक रोबाेटले सबै रोबाेटसँग प्रतिसपर्धा गर्नुपर्छ । प्रतिस्पर्धाका आधारमा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई पुरष्कार प्रदान गरिने छ । हिमालयन ग्रुप, अनलाइन ल्यापटप लेख, चाँगुनारायण नगरपालिका, श्रेय कन्सलटेन्सी, ब्रन्डवे इन्फोसिस् लगायतका संघसस्थाले विद्यार्थीलाई आर्थिक सहयोग गरिरहेका छन् । सिकाइमा थप टेवा पुग्ने आशा यो कलेजमा यस्ता एक्सपो, वारियर्स जस्ता विभिन्न कार्यक्रम हुँदै आइरहेका छन् । जहाँ विद्यार्थी आफैं आयोजक र आफैं प्रतिसपर्धी बन्ने गर्छन । चाँगुनारायणकी प्रविसा खड्काले सफ्टवेरिका कलेजबाट भर्खरै थेसिस सकिन् । पढाइ सकेपछि उनी कलेजमा हुने विभिन्न कार्यक्रममा भाग लिरहन्छिन् । अहिले उनी टीम अस्वस्तमाबाट रोवर्ट प्रतिस्पर्धा गरिरहेकी छिन् । आइतबार भएको पहिलो खेलमा उनको समूहको रोबाेटले श्रेया ग्रुपकाे रोबाेटलाई टक्कर दियो । आफ्नो समूहले बनाएको रोबाेटले जितपेपछि उनीलगायत उनको समूहकाे खुसीकाे सीमा नै रहेन । प्रविसा खड्का, विद्यार्थी त्यही खुसीको मौकामा विकासन्युजसँग कुरा गर्दै प्रविसाले भनिन्, ‘पढेर मात्रै हाेइन काम नै गरेर पो सिकिँदो रहेछ ।’ प्रविसाले रोबाेट कसरी बन्छ, उसले के काम गर्छ भन्नेबारे सामान्य जानकार थिइन् । तर, जब उनले रोबाेट बनाउने र प्रतिसपर्धा गर्ने कार्यक्रममा भाग लिइन् उनलाई सुनेको भन्दा धेरै कुरा बुझ्न सजिलो भयो । ‘हामीले कक्षामा पढेका कुरालाई व्यवहारमा कसरी ल्याउने भन्ने कुरा यस्ता कार्यक्रमबाट थाहा हुने रहेछ,’ भन्छिन्,‘मैले किताबमा मोटरलाई कसरी कन्ट्राेल गर्ने, ब्याट्रीकाे माध्यमबाट कसरी दायाँ र वायाँ र अगाडि पछाडि लाने भन्ने कुरा कितावमा पढेकी थिएँँ, तर कसरी जोडिन्छ त भन्ने कुरा आफैं जोडेपछि मात्र थाहा पाएँ, पढ्नु र गर्नुमा फरक हुने रहेछ, यस्ता कार्यक्रमबाट धेरै कुरा सिक्न पाइन्छ । ’ प्रविसा व्यवहारिक ज्ञानसँगै यो कार्यक्रमले व्यक्तित्व विकासमा पनि ठूलो भूमिका खेल्ने बताउँछिन् । उनले यस्ता कार्यक्रमबाट विद्यार्थीले कुन संस्थासँग कसरी सहकार्य गर्ने, कुराकानी कसरी गर्ने भन्नेबारेमा पनि सहज भएको बताइन् । रोवर्ट बनाउने विद्यार्थीका सबै समूहले आफैं प्रायोजक खोजेर रोबाेट बनाएका छन् । ‘मलाई कसरी कम्पनीसँग कुरा गर्ने भन्ने आइडिया नै थाहा थिएन, जब म आफ्नो योजना लिएँ त्यसपछि ममा आत्मविश्वास बढ्यो,’ उनी थप्छिन,‘मैले पालिकालाई आफ्नो योजना सुनाएँ, मेरो कुरामा पालिकाले सकरात्मक धारणा बनायो, मैले पहिलो पटक कामका लागि कुनै संस्थालाई मनाउन सके यो नै मेरो सफलताको खुड्किलो हो, यस्ता कार्यक्रमले हामीलाई यसरी नै सफल हुने विश्वास दिलाउँछ ।’ सुयोग मानन्धर,विद्यार्थी काठमाडौं बालाजुका सुयोग मानन्धर सफ्टवेरिका कलेज अन्तिम समेस्टरमा अध्ययनरत छन् । उनी पनि यस्ता कार्यक्रमले विद्यार्थीको अध्ययन क्षमता फराकिलो बनाउने बताउँछन् । उनी नेपालका लागि रोबाेटीकक नयाँ कुरा रहेको बताउँदै देख्नु र आफैं बनाउनुमा फरक हुने बताउँछन् । सुयोगले रोवर्टको बारेमा पहिलो पटक अनलाइनमा देखेका र सुनेका थिए । विदेशमा हुने रोबाेट वार हेर्थे पनि । उनलाई आफू पढिरहेकै कलेजले रोबाेटकै कार्यक्रम गर्छ भन्ने सुन्दा पहिलो पटक निकै कौतुहुलता जाग्यो । उनले विकासन्युजसँग भने,‘जस्तो मैले देखेको थिएँ त्यस्तो नभए पनि आफैं कार्यक्रममा सहभागी हुँदा निकै खुसी छुँ ।’ कक्षामा भन्न नसकिने र नसिकेका कुरा कार्यक्रमबाट सिक्न पाएको सुयोगको अनुभव छ । ‘पहिले कक्षामा सर र साथीहरूसँग मात्र बोलिन्थ्यो, बाहिर मासमा बोलिँदैनथियो, यस्तो नेटवर्किङ पनि थिएन,’ उनी भन्छन्,‘अब धेरै व्यक्ति कम्पनीलाई चिन्ने अवसर पाएँ यो मेरा लागि खुसीको कुरा हो अब म पढाइपछि आफूलाई आफै काम खोज्न सक्छु ।’ प्रायोजकको खोजी आफैं विद्यार्थी पढेर हातमा मास्टर्सकाे सर्टिफिकेट मात्र भएर पुग्दैन । कितावी कुरा सबै घोकेको तर व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने सिप नभएको व्यक्तिलाई काम पाएर पनि गर्न मुस्किल पर्छ । कलेजमा हुने यस्ता कार्यक्रमले विद्यार्थीलाई बोल्ने, कुरा गर्नेदेखि लिएर हरेक कुराको क्षमता बढ्दै जान्छ । कलेजले हरेक महिना गर्ने रोबाेट वार, एक्सपो लगायतका कार्यक्रमलले आफूहरूमा आत्मविश्वास आएको विद्यार्थी बताउँछन् । अहिले आफैं रोबाेट बनाइ प्रतिस्पर्धामा उत्रेका २५ वटै समूहले रोवर्टका लागि स्पोन्सर आफैं खोजेका हुन् । सफ्टवेरिका कलेज अफ आइटी र ई-कमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेल आइटी कम्पनी, होटेल, पालिका लगायतका विभिन्न संघसंस्थाको सहयोगले विद्यार्थीले कार्यक्रम गरिरहेको सफ्टवेरिका कलेज अफ आइटी र ई–कमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेलले बताए । यो कार्यक्रमभन्दा पहिले गरेका कार्यक्रममा विद्यार्थी र विभिन्न संघसंस्थाको आकर्षण बढेकाले त्यसैलाई निरन्तरता दिन कार्यक्रम गरिएको उनको भनाइ छ । उनले भने, ‘अहिलेका विद्यार्थीलाई शिक्षा सधै बोरिङ हुन्छ भन्ने अनुभव छ, यसलाई चिर्दै अलि रोचक बनाउन सकिन्छ र रमाएरै पनि सिक्न सकिन्छ भनेर कार्यक्रम गरिएको हो । र, सफल पनि भइरहेको छ ।’ प्रमुख पौडेलका अनुसार यो कार्यक्रममा सफ्टवेरिकासँगै काठमाडौं उपत्यका रहेको विभिन्न आइटी र रोवर्टीक कलेजका विद्याहरूले सहभागीता जनाएका छन् । रमाइलोसँगै शिक्षा नेपालमा अझै पनि पाठ्क्रममा सीमित घोकन्ते शिक्षा छ । व्यवहारिक शिक्षाका नारा लगाए पनि त्यो व्यवहारमा लागु भने भएको छैन । सफ्टवेरिका यस्तो कलेज हो, जुन विश्वका विभिन्न देशमा दिरहेको आइटी शिक्षा नेपालमै नेपाली विद्यार्थीलाई दिरहेको छ । प्रमुख पौडेल अब विद्यार्थीलाई घोकाएर नभइ रमाइलो तरिकाले शिक्षा दिनुपर्ने बताउँछन् । ‘विद्यार्थीलाई यस्तो शिक्षा दिनुपर्छ जहाँ उनीहरूलाई पढेको होइन रमाइरहेको महसुस् होस्’ भन्छन्,‘हामीले यसको सुरुवात गरेका छौँ, यहाँ विद्यार्थीहरू रोबाेट बनाइरहेका छन्,सँगै रमाइ रहेका छन् ।’ विद्यार्थीले बनाएका रोबाेटमा विभिन्न किसिमका प्रविधि प्रयोग भएको छ । जसरी अभ्यास गरेर विद्यार्थी आफ्नो हातले रोवर्ट बनाउँछन्, त्यसलाई आफैंले कार्यक्रम गरेर सार्वजनिक गर्छन । त्यसमा आएका कमीकमजोरीलाई विद्यार्थी आफैंले सच्याउने र आफैं कसरी प्रयोमा ल्याउने भनेर सिक्न कलेजले यस्ता कार्यक्रम गर्दै आएको उनले बताए । आइटी, इलेक्ट्राेिनिक्स र रोबाेटीक्सको उपकरणसँग खेल्ने, त्यसको प्रयोग गर्ने, त्यसका विभिन्न कमी कमजाेरी पत्ता लगाउने र आफ्नैं रोबाेट बनाउने अवसर विद्यार्थीलाई दिएको हो ।

स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय सम्झौता, १ अर्बको बजेट विनियोजन

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहको लागी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री दामोदर भण्डारीको उपस्थितिमा स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय सम्झौता पत्र हस्ताक्षर भएको हो । सम्झौता पत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट कार्यकारी अधिकृत रमेश घिमिरे, राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अधिकृत देवेन्द्ररमण खनाल र प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्तासँग त्रिपक्षीय सम्झौता भयो । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्टार्टअप कर्जा प्रवाह सहजिकरणको लागि तीन संस्थाबीच त्रिपक्षीय सम्झौता भएको बताए । उनले स्टार्टअप कर्जा प्रवाह गरी स्टार्टअप उद्यमलाई प्रोत्साहन गरी प्रभावकारी बनाउने योजना रहेको बताए । उनले त्यसको लागि वित्तीय क्षेत्रको साथ र सहयोग रहने आपेक्षा रहेको उल्लेख गरे । सम्झौतापत्रमा हस्ताक्षर पछि कार्यक्रममा बोल्दै निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेले स्टार्टअप कर्जा सुरक्षणको लागि कोषले छुट्टै सहुलियतको व्यवस्था गरेको बताए । उनले तीनै तहका सरकारले स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर्ने योजना बनाएको भए उनीहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको जानकारी दिए । कार्यक्रममा बोल्दै प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप उद्यमको लागि १ अर्बको बजेट विनियोजन भएको बताए । उनले स्टार्टपअप उद्यमको लागि सहुलियत कर्जाको लागि गोरखापत्रमा समेत सूचना निकालिएको बताए । उनले सरकारले सहज रुपमा स्टार्टअप उद्यमको लागि कर्जा प्रवाह र सुरक्षण बनाउनको लागि सम्झौता भएको जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकृत देवेन्द्ररमण खनालले बैंकले गत वर्षदेखि स्टार्टपअप उद्यममा कर्जा प्रवाहमा सहभागिता जनाउँदै आएको बताए । उनले गत वर्ष बैंकले १८३ वटा स्टार्टअप उद्यमलाई कर्जा प्रवाह गरेको बताए । सरकारले विश्वास गरेर सरकारी बैंकमार्फत देशका सम्पूर्ण क्षेत्रमा रहेको सञ्जाललाई उपयोग गरेर कर्जा प्रवाह गर्ने प्रतिवद्धता जनाए । उनले स्टार्टअप उद्यमको लागि १ अर्ब रुपैयाँ ठूलो फण्ड भएको भन्दै २५ लाखसम्मको लागि स्टार्टअप उद्यमीहरुले कर्जा लिन सक्ने बताए । उनले बैंकको चाहना २५ लाख मात्रै उपयोग गर्ने नभएको भन्दै २५ लाखको लगानीबाट ठूलो उद्यमी बन्न मद्दत पुग्ने जानकारी दिए ।

सिद्धार्थ बैंकका ग्राहकलाई अकामा होटेलमा १५ प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा १५ प्रतिशतसम्मको छुट हुने भएको छ । सिद्धार्थ बैंक र अकामा होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुम्बाराही स्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुविधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सेयर बजार १२७ अंकले बढेर २८ सय विन्दुमाथि, कारोबार १३ अर्ब बढी

काठमाडौं । अघिल्ला केही दिन ओरालो लागेको सेयर बजारमा सोमबार भने १२७ अंकको वृद्धि भएको छ । उक्त अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा अडिएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १३ अर्ब १० करोडको कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएको थियो । यस दिन २३९ कम्पनीको मूल्य बढ्दा ५ को घटेकाे छ । सोमबार सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको बढेको छ । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, निर्जीवन बीमा ४.८१, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३,  अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे । यस्तै,  यस दिन करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

सिटिजन्स बैंकका ग्राहकलाई सुबिसु केबल नेटमा छुट हुने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुलाई सुबिसु केबल नेटले विशेष छुट दिने भएको छ । दुई पक्षबीच भएको समझदारी अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकहरूले ३ सय एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशत साथै २ सय एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूले बैंकको लिंक प्रयोग गरेर दर्ता गर्नुपर्नेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।