पर्व नजिकिँदै गर्दा केराको माग उच्च
महोत्तरी । महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ । अहिले पर्वका लागि आफ्ना उत्पादित कृषि उपज बजार पुर्याउने किसान र व्यापारी तथा सामान किन्न पुग्ने उपभोक्ताको सघन जमघटले पर्वका बजार बिहानैदेखि जम्ने गरेका छन् । चौरचन पर्व केराखेती गर्ने किसानलाई खास अवसर बन्ने गरेको छ । अहिले चौरचन पर्वको मुखमा बेचिएको केराबाट दुई लाख रुपैयाँ प्राप्त भइसकेको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बताए । उनले १० कठ्ठा क्षेत्रफलमा केराखेती लगाएका छन् । जिल्लाभरिमा चौरचन पर्वमा ५० लाख रुपैयाँ हाराहारीको केरा किनबेच हुने महोत्तरी उद्योग वाणिज्य सङ्घको अड्कल छ । पर्वका लागि छिप्पी नसकेका कलिला कोसाका केरा पनि प्रशस्तै देखिएको छ । यसैगरी पर्वको बजार भोलिसम्म मात्र हुँदा कलिला केरा कार्वाइड हालेर पकाइएका छन् । पर्वमा भीडभाडका बेला पारेर अन्य कमसल गुणस्तरका सामान पनि बिक्री भइरहेको हुँदा स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य सङ्घ र सामाजिक सङ्घसंस्थाले बजार अनुगमन बढाउनुपर्ने उपभोक्ता हकहित संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष दीपेन्द्र पराजुली बताउँछन् ।
सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
युनिलिभर नेपालले सिधैं बैंक खातामा लाभांश पठाउने
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीले लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टममार्फत रकम भुक्तानी गर्ने भएकाले सेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न अनुरोध गरेको हो । हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभश रकम प्राप्त हुने कम्पनीको भनाइ छ । साथै प्रत्येक सेयरधनीहरूलाई प्यान नम्बर, फोन वा मोबाइल नम्बर र इमेल आइडी हितग्राही खातामा अद्यावधिक गराउन कम्पनीले भनेको हो ।
एकैपटक नेपाल प्रहरीका ५८७ इन्सपेक्टरको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको भदौ १७ गतेको निर्णय अनुसार एकैपटक ५८७ जना इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ । सूचनामा लेखिएअनुसार ती इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् । [pdf id=507269]
नर्वेमा विद्युतीय कारको हिस्सा ९४ प्रतिशत, विश्व कीर्तिमान
काठमाडौं । नर्वेमा विद्युतीय कारको बिक्रीले अगस्टमा बजारको ९४ प्रतिशत हिस्सा ओगटेको छ । यो नयाँ विश्व कीर्तिमान हो । युरोपका बाँकी भागहरूमा बिक्री स्थिर रहेको तथ्याङ्कले सोमबार देखाएको छ । नर्वेजियन रोड फेडरेशन (ओएफभी) का अनुसार टेस्ला मोडल वाईले बिक्रीको १८.८ प्रतिशत हिस्सा ओगटेको र केही हदसम्म हुन्डाईको कोना र निसानको लिफले पनि बजार लिएको छ । नर्वेलीहरूले अगस्टमा १० हजार ४८० नयाँ ईभीहरू किनेका छन् । युरोपमा अन्य ठाउँमा उच्च मूल्य र अपर्याप्त पूर्वाधारले ईभीको बिक्रीमा बाधा रहेको समयमा नर्वेले यो कीर्तिमान् बनाएको हो । ‘विद्युतीय कारको प्रयोगका शिलशिलामा हेर्दा विश्वको कुनै पनि देश नर्वेको नजिक छैन,’ ओएफपी निर्देशक ओभिन्ड सोलबर्ग थोरसेनले एक विज्ञप्तिमार्फत भने, ‘यदि यो प्रवृत्ति जारी रह्यो भने, हामी चाँडै सन् २०२५ सम्म शत प्रतिशत शून्य उत्सर्जन कारहरूको हाम्रो लक्ष्य हासिल गर्ने बाटोमा छौं ।’ युरोपेली अटोमोबाइल उत्पादक सङ्घका अनुसार, जुलाईमा ईयूमा नयाँ कार बिक्रीको विद्युतीय कारले १२.१ प्रतिशत, ३३.४ पेट्रोलबाट चल्ने कारले प्रतिशत, पूर्ण हाइब्रिड कारले ३२ प्रतिशत र डिजेल कारले १२.६ प्रतिशत हिस्सा ओगटेको थियो।
आज यी ४ प्रदेशमा भारी वर्षा हुने, यस्तो छ आगामी २४ घण्टाको मौसम
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका केही तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ विभागले अनुरोध गरेको छ ।
त्रिविले खुला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गर्दै, माग्यो १९ क्याम्पसका लागि आवेदन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पस प्रमुख खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने भएको छ । खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्न त्रिभुवन विश्वविद्यालयले डेढ दर्जन क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको हो । त्रिभुवन विश्वविद्यालयको क्याम्पस प्रमुख छनोट समितिले एक सूचना प्रकाशन गरी सोमबार ११ क्याम्पस र मंगलबार ८ क्याम्पस गरी १९ क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको हो । त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम (संशोधन सहित) को परिच्छेद ५२ को नियम १८५ (२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम आवेदन आह्वान गरेको हो । क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेदवारहरूले ७ दिनभित्र विनियम ३९ (२) मा व्यवस्था भए बमोजिम आवश्यक कागजात पेस गर्नुपर्नेछ । त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो । यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवन, महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँके, सानोठिमी क्याम्पस भक्तपुर, ललितकला क्याम्पस भोटाहिटी काठमाडौं, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, धवलागिरी बहुमुखी क्याम्पस बाग्लुङ, महेन्द्ररत्न क्याम्पस ताहाचल काठमाडौं र भोजपुर बहुमुखी क्याम्पस भोजपुरको क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको हो । साथै कृषि र पशु विज्ञान अध्ययन संस्थानको डीन र योजना निर्देशनालयको निर्देशक पदका लागि आवेदन आह्वान गरेको हो ।
३५० रुपैयाँमा स्वरोजगार लघुवित्तको सेयर किन्ने मौका
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २९ हजार ७२१ कित्ता सेयर बिक्रीमा राखेको हो । लघवित्तले उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ । साथै लघुवित्तको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक सेयरधनीले ३५ दिनभित्र उक्त सेयरका लागि आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।,