विकासन्युज

अडानी ग्रिन इनर्जीमा फ्रान्सको टोटल इनर्जीले सवा ३७ अर्ब लगानी गर्ने

काठमाडौं । भारतको व्यावसायिक घराना तथा दोस्रो धनी व्यक्ति गौतम अडानीको कम्पनीमा अर्को विदेशी कम्पनी प्रवेश गरेको छ । यो फ्रान्सको कम्पनी टोटल इनर्जी हो। यो कम्पनीले अडानी ग्रुपको कम्पनी अडानी ग्रिन इनर्जीमा ४४ करोड ४० लाख अमेरिकी डलर (करिब ३७ अर्ब २७ करोड रुपैयाँ) लगानी गर्ने छ । तर, विदेशी कम्पनीले भारतीय कम्पनीमा लगानी गरेको यो पहिलो पटक भने होइन । यसअघि पनि अडानी समूह लगायत धेरै कम्पनीमा विदेशी कम्पनीले लगानी गरिसकेका छन् । अडानी ग्रिन इनर्जीले संयुक्त उद्यम गठन गर्न टोटल इनर्जीबाट ४४ करोड ४० लाख डलर थप लगानीका लागि सम्झौता अनुमोदन गरेको बताइएको छ । ‘संयुक्त उद्यम कम्पनीको पोर्टफोलियो १ हजार १ सय ५० मेगावाट हुनेछ, यसमा सञ्चालन र निर्माणाधीन सौर्य ऊर्जा सम्पत्तिहरू समावेश हुनेछन् । यसबाहेक व्यापारमा आधारित र विद्युत खरिद सम्झौतामा आधारित आयोजना पनि समेटिनेछन्,’ विज्ञप्तिमा उल्लेख छ । योसँगै अडानी ग्रिन इनर्जीमा टोटल इनर्जीको १९.७५ प्रतिशत हिस्सेदारी पुगेको छ । गत वर्ष सेप्टेम्बरमा अडानी ग्रिन र टोटल इनर्जीले १ हजार ५० मेगावाटको ग्रिन पोर्टफोलियोका लागि संयुक्त उद्यम गठन गर्न सहमत भएका थिए । टोटल इनर्जीले यो सम्झौतामा ३० करोड डलर लगानी गर्ने भनिएको थियो । नयाँ सम्झौता अन्तर्गत अडानी ग्रिन इनर्जी र टोटल इनर्जीले नयाँ संयुक्त उद्यम कम्पनीमा प्रत्येकको ५० प्रतिशत सेयर राख्नेछन् । एजेन्सी

सुपरमाई हाइड्रोपावरले घोषणा गर्यो १२.६३ प्रतिशत लाभांश, बोनस र नगद कति ?

काठमाडौं । सुपरमाई हाइड्रोपावरले सेयरधनीको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो । सो प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।

नतिजामा चित्त नबुझेका विद्यार्थीलाई ओएमआर र एन्सर की हेर्न दिइने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझे ओएमआर र एन्सर की हेर्न दिने बताएको छ । विद्यार्थीले आफ्नो नतिजामा चित्त नबुझे सम्वन्धित विद्यार्थीलाई उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न दिने बताएको हो । आयोगले नतिजामा गम्भिर त्रुटी गरेपछि सार्वजनिक रुपमा आलोचना हुँदा यस्तो निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको सोमबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । नतिजामा चित्त नबुझेका विद्यार्थीले ओएमआर र एन्सर की हेर्न पाउनुपर्ने माग गरेका थिए । आयोगले अब विद्यार्थीहरुलाई नतिजा प्रकाशनको क्रममा कोडिङ गरी स्क्यान गरिएको उत्तरपुस्तिकाको शीर्ष भाग (हेड) र मुल भाग (बोडी) एवं सम्बन्धित सेटको उत्तर कुन्जिका (एन्सर की)को फोटोकपी उपलब्ध गराउने छ । त्यसका लागि परीक्षार्थीले प्रवेश पत्र र नागरिकता सम्लग्न गरी आफै आयोगमा पुग्नुपर्ने बताएको छ । सर्वोच्च अदालतले १९ असार २०७९ मा चिकित्सा शिक्षा आयोगलाई विद्यार्थीले चाहेमा उत्तर पुस्तिका हेर्न दिन निर्देशनात्मक आदेश जारी गरेको थियो । सोही आदेशअनुसार आफूहरुले उत्तर पुस्तिका हेर्न पाउनुपर्ने माग विद्यार्थीले गरेका थिए ।  

बालबालिकालाई काममा लगाउने ३५ उद्योग कारबाहीमा

बागमती । बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो । कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ६१ हजार एक सय रुपैयाँ जरिवाना तथा तीन लाख ९१ हजार दुई सय ५६ रुपैयाँ जरिवाना गराइएको छ । सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका ३५ जना बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३५ प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताए । अनुगमनका क्रममा कमजोर पाइएका उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको उनले बताए । सो कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको र एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उनले बताए । सो अवधिमा पारिश्रमिकसम्बन्धी ७९ उजुरी दर्ता भएकामा ६० उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १९ उजुरी समाधानको प्रक्रियामा रहेको उनले सुनाए । त्यस्तै, यस अवधिमा मकवानपुर, चितवन, सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको उनको भनाइ छ ।

यस वर्षको अगस्ट महिना अस्ट्रेलियाली इतिहासकै गर्मी

काठमाडौं । यस वर्षको अगस्ट महिना अस्ट्रेलियाले रेकर्डमा सबैभन्दा गर्मी अगस्ट रिपोर्ट गरिएको छ । मौसम विज्ञान ब्यूरो (बीओएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार अगस्टमा राष्ट्रिय औसत तापक्रम सन् १९६१–१९९० लामो अवधिको महिनाको औसतभन्दा ३.०३ डिग्री सेल्सियस थियो । यसले अघिल्लो राष्ट्रिय तापक्रम अगस्टको २.५६ डिग्री सेल्सियसको रेकर्ड तोडेको छ । जुन सन् २००९ को लामो अवधिको औसतभन्दा माथि छ । राष्ट्रिय औसत तापक्रम २०२४ को जाडोको दीर्घकालीन औसतभन्दा १.४८ डिग्री सेल्सियस बढी रहेको तथ्यांकले देखाएको छ । २०२३ मा औसत तापक्रम १.५४ डिग्री सेल्सियसभन्दा बढी थियो ।

ज्योति विकास बैंकका ग्राहकलाई संगम स्वीट्समा १० प्रतिशतसम्मको छुट

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुले सहज र सस्तो सुविधा प्रदान गर्नका लागि विभिन्न ४ संस्थासँग छुट सम्झौता गरेको छ । यसै क्रममा बैंकले संगम स्वीट्ससँग ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यस्तै बैंकले हालै मात्रै ललितपुरस्थित मेडेक्स मल्टीस्पेसिअलीटी क्लिनिक एण्ड डाएग्नोस्टीक सेन्टरसँग पनि सम्झौता गरेको छ । बैंकका ग्राहकलाई उक्त क्लिनिकका सेवामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । साथै बैंकले काठमाडौंस्थित प्रख्यात ट्रान्क्वीलिटि स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। यस्तै बैंकले लुगा सुगा ट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

कान्तिपुर फर्मास्यूटिकल्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आइपीओ) जारी गर्ने निर्णय गरेको छ । सेयर निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागिएको हो ।

नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । नबिल बैंकको साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । उक्त साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो । बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृती पश्चात् जारी हुने गरी ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित भएको हो । बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्याउनमा सेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए । सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ । साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पुँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी ‘अग्राधिकार सेयर’ जारी हुने बैंकले बताएको छ ।