चार गुणाले बढ्यो बोटको व्यापार, ब्रान्ड वीक सेलमा ६० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाली बजारमा भारतको नम्बर एक अडियो तथा वेयरेवल ब्राण्ड बोटको व्यवसाय चार गुणाले बढेको छ । २०७९ फाल्गुनमा नेपाली बजारमा प्रवेश भएकाे बाेटले छाेटै समयमा उल्लेख्य व्यवसाय गर्न सफल भएकाे हाे । यो अवधिमा व्यवसायमा चार गुणाले वृद्धि भएको बताएको छ । बाेटले नेपाली बजारको लागि टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको छ । कम्पनीले प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरूको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ । बोट पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रूपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल रहेको छ । बोटले आफ्ना उत्पादनहरूको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरूमाझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ । बोटका उत्पादनहरू अब नेपालभरि १ हजारभन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ। ब्राण्डको स्थापनादेखि नै बाेट दराजमा एक प्रमुख बिक्रीकर्ताको रूपमा प्रस्तुत भइरहेको छ । बाेटले नेपालभरि १० भन्दा बढी टचप्वाइन्टहरूबाट ग्राहकवर्गलाई वारेन्टी लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवर्द्धन गर्न बाेटले भाद्र २० देखि भाद्र २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा ब्राण्ड वीक सेलको आयोजना गरिरहेको छ । यस अवधिमा ग्राहकहरूले रुचाएका उत्पादनहरूमा ६० % सम्मको छुट राखिएकाे छ ।
बजाजले दशैंतिहारको अवसरमा ल्यायो ‘क्यास सफारी’ अफर
काठमाडौं- बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । नेपालीहरूको महान चाड बडा दशैंतिहार र छठको अवसरमा यस्तो स्किम ल्याएकाे हाे । ‘हातहातमा हात्ती, लकमा लखपति’ को सन्देशसहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरूले हरेक बजाजको खरिदमा स्योर सट रूपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् । त्यसैगरी, बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन् । कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले ग्राहकहरूलाई फरक किसिमको अनुभव प्रदान गर्न यस्ताे किसिमकाे स्किम ल्याएकाे जानकारी दिए । बजाजले ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । इजी फाइनान्स र ५०% डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ ।
रोयल इनफिल्डका राइडरहरूले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्म राइड गर्ने
काठमाडौं- रोयल इनफिल्ड मोटरसाइकल राइडर्स क्लबले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्मको राइड आयोजना गर्ने भएको छ । क्लबले भदौ ३ दिने राइड आयोजना गर्न लागेको हो । भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि रसुवासम्म ‘एप्पल फार्म राइड’ हुने भएको हो । आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि सो राइड आयोजना गर्न लागिएको हो । सो राइडमा सहभागी राइडरहरूले अर्गानिक खाना, स्थानीय परिकार, स्थानीय कला तथा संस्कृतिको प्रत्यक्ष अनुभव गर्न सक्ने आयोजकले जनाएको छ । रसुवाको बारबलमा सुरु गरिएको व्यावसायिक स्याउखेतीको पवर्द्धन तथा प्रचारप्रसार गर्ने रहेको मुख्य उद्देश्य रहेको जनाइएको छ । सो राइड आयोजनामा लगभग ६० भन्दा बढी राइडर सहभागी हुने क्लबले जनाएकाे छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १ हजार ७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो निकुञ्ज नुवाकोट, रसुवा र सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
मुक्तिनाथले घोषणा गर्याे लाभांश, चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश
काठमाडौं । मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले असोज ११ गते १५औँ वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौंमा साँझ ४ बजे बोलाइएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । साथै सञ्चालक नियुक्ति सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।
एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा
काठमाडौं- एनसेलले आफ्नो एनसेल एपमा नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । साउन २९ गतेबाट लागू हुनेगरी एनसेलले नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/ लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्नेगरी निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरू लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा लाग्ने छैन । ‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं,’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ।
माण्डु हाइड्रोपावरको लाभांश घोषणा, असोज १४ गते डाक्यो साधारण सभा
काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश १३औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । कम्पनीले उक्त लाभांश पारित गर्न असोज १४ गते साधारण सभा आह्वा गरेको छ । कम्पनीको सभा नयाँबजार काठमाडौंमा बिहान १० बजे बस्नेछ । साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ ३० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
तीजको दिनमै सुनको मूल्यमा कीर्तिमानी, ६ महिनाभित्रै २ लाख पुग्ने विश्लेषण
काठमाडौं । हरितालिका तीजको दिनमै सुनको मूल्यमा कीर्तिमानी भएको छ । सुनको मूल्य हालसम्मकै उच्च भएर १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको हो । बिहिबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको हो । तेजावी सुनको मूल्य पनि १३ सयले नै बढेर एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर प्रतितोला १७ सय ९५ रुपैयाँ पुगेको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । दिनप्रतिदिन सुनको मूल्य बढ्दा व्यवसायीले खरिदकर्ता पाउन सकेका छैनन् भने सुन भएकाहरु प्नि बिक्री गरिरहेका छन् । यसरी मूल्य बढ्दा अब छ्टिटै मूल्य २ लाख नाघ्ने व्यवसायीको विश्लेषण छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियशरत्न शाक्य ६ महिनाभित्र २ लाख रुपैयाँसम्म पुग्ने बताउँछन् । ‘सुनको मूल्य अचाक्ली बढेको हुनाले यो नेपालीको क्रयशक्तिभन्दा बाहिर गइरहेको छ । यसको मूख्य कारण राज्यले लगाएको २० प्रतिशतको भन्सार दर हो, यसले पनि प्रतितोला २५ हजार मूल्यवृद्धि गरेको छ, अन्तर्राष्ट्रिय बजारको तुलना गर्दा अहिले १ सुनको मूल्य प्रतितोला १ लाख ३० हजार हुनुपर्ने हो,’ उनी भन्छन्, तर नेपालमा बढी नै मूल्यपर्छ, अब छिट्टै प्रतितोलाको मूल्य २ लाख रुपैयाँ पुग्नसक्छ ।’ नेपालमा मात्रै होइन, सुनको मूल्य विश्व बजारमा नै बढिरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब विश्व बजारमा सुनको मूल्य बढ्छ, नेपालमा पनि बढ्ने गरेको छ भने जब विश्व बजारमा सुनको मूल्य घट्छ नेपालमा पनि मूल्य घट्ने अभ्यास छ ।
सेयर बजारका महिलाकाे तीज- तारे होटलमा फजुल खर्च गर्नुभन्दा सेयरमा लगानी गरौं
बायाँबाट क्रमश: शाेभा दाहाल, दुर्गा पाेख्रेल र राधा पाेख्रेल । काठमाडौं । पछिल्लो समय तीज पर्व खर्चिलो हुँदै गएकाे छ । तीजको नाममा केही वर्षयता महिना-दिन अघिबाटै दर खाने, भिआईपी होटलहरूमा गएर कार्यक्रमहरू गर्ने हुँदा लाखौं रकम सकाउने गरेको उदाहरण नयाँ होइन । यस्तो अवस्थामा उक्त खर्चलाई घटाएर भविष्यको लागि सहयोग हुने ठाउँमा लगानी गर्न उचित हुने महिला सेयर लगानीकर्ताहरू बताउँछन् । सेयर लगानीकर्ता राधा पोख्रेल आफू तीजलाई भड्किलो तरिकारे मनाउने कुराको विरोधी रहेको बताउँछिन् । ‘हिजोआज तीज महिना दिन अघिबाटै मनाउने गरिन्छ। मलाई पनि होटलमा दर खाने भन्दै बोलाउँछन् तर म सकेसम्म यस्ता किसिमका कार्यक्रममा जान अस्वीकार गर्ने गरेकी छु,’ उनी भन्छिन्, ‘तीज भनेको त हाम्रो संस्कृति हो नि, यसलाई त सभ्य तरिकाले र परम्परागत तरिकाले मनाइनुपर्छ भन्ने मलाई लाग्छ ।’ कुनै समय १८ सय बिन्दुमा झरेको सेयर बजार हाल २७ सय बिन्दुमा रहेको छ । सत्ता परिवर्तनसँगै केही समय सकारात्मक बाटोमा रहेको सेयर बजार हाल करेक्सनको बाटोमा रहेको लगानीकर्ताहरूले बताउँदै आएका छन् । अहिलेको घटेको बजार करेक्सन मात्रै रहेको र केही समयमा नै नेप्से उच्च बिन्दुमा पुग्दै नयाँ रेकर्ड कायम गर्नेमा लगानीकर्ताहरू विश्वस्त रहेको बुझिन्छ । लगानीकर्ता पोख्रेल अहिलेको समय भनेको तीजमा खर्च गर्ने रकम सेयरमा लगानी गर्ने समय रहेको बताउँछिन् । ‘तीजमा अहिले जुन किसिमको फजुल खर्च गरिन्छ, त्यसको सट्टा त्यो रकम सेयरमा लगानी गर्यो भने त भविष्यको लागि बचत पनि हुन्छ नि,’ उनी भन्छिन्, ‘अहिलेको थोरै लगानीले पनि हाम्रो भविष्यका लागि ठुलो सहयोग पुग्छ, त्यसैले अहिलेको समयमा अन्य फजुल खर्च घटाएर सेयरमा लगानी गर्नु उचित मान्छु म ।’ त्यस्तै, लगानीकर्ता शोभा दाहाल पनि तीजमा फजुल खर्च नगर्न र उक्त खर्च बरु सेयरमा लगानी गर्न सुझाव दिन्छिन् । ‘अहिलेको समय भनेको फजुल खर्च गरेर तीज मनाउने समय होइन, बरु त्यो पैसा सेयरमा लगानी गर्यो भने त्यसले भविष्यमा राम्रो प्रतिफल दिन्छ,’ उनी भन्छिन्, ‘हामी महिलाहरू सधैं बचत गर्ने कुरामा अघि सर्नुपर्छ, त्यसले हामीलाई भविष्यलाई सघाउँछ ।’ सेयरमा लगानी गर्नु भनेको भविष्यको लागि बचतसमेत रहेको बताउँदै लगानीकर्ता दाहालले तीजलाई परम्परागत तरिकाले र कम खर्चमा मनाउन जाेड दिइन् । ‘तीजमा धेरै फजुल खर्च गर्न र भड्किलो तरिकाले मनाउन राम्रो लाग्दैन,’ उनी भन्छिन्, ‘हामीले हाम्रो परम्परालाई पनि जोगाउँदै संस्कृति मनाउनुपर्छ र यही कुरा सबैलाई बुझाउनु पनि पर्छ ।’ सेयरमा जमेका महिला लगानीकर्ताहरू प्राय: सबैजसो तीजमा फजुल खर्च घटाएर उक्त पैसा सेयरमा लगानी गर्ने गरेको बताउँछन् । सेयर लगानीकर्ता दुर्गा पोख्रेल पनि तीज सभ्य र कम खर्चमा नै मनाउन उचित रहेको धारणा राख्छिन् । ‘मलाई तीज सामान्य तरिकाले, खास गरेर सभ्य र परम्परागत तरिकाले मनाउन राम्रो लाग्छ,’ उनी भन्छिन्, ‘म एक सेयर लगानीकर्ता समेत हुँ, त्यो हिसाबले हेर्दा पनि मैले फजुल खर्च गर्न हुँदैन भन्ने कुराको राम्रो ज्ञान मसँग छ । फजुल खर्च गर्ने पैसा मैले सेयरमा लगानी गरे भने मेरो छोराछारीको भविष्य पनि राम्रो हुन्छ, यो कुरा मैलै सधैं ध्यानमा राख्छु ।’ अहिलेको बचत भनेको भविष्यको सहयोग भएको लगानीकर्ता दुर्गा बताउँछिन् । ‘महिलाहरू सधैं आर्थिक रूपमा सवल हुनुपर्छ भन्ने मैले ठान्छु, त्यसको लागि कुनै न कुनै काम वा केहीमा लगानी महिलाले गर्नेपर्छ,’ उनी भन्छिन्, ‘सेयर बजारमा लगानी गर्ने कुरा भनेको एकदमै सजिलो छ । हामी महिलाहरूको लागि त झन् यो धेरै सजह हो किनकि यसको लागि कुनै समय छुट्याउनु पनि पर्दैन र यसमा लगानी गर्दा गर्दै अन्य काम पनि गर्न सकिने भयो। त्यसैले तीज मात्रै होइन, हरेक कुरामा हुने फजुल खर्च घटाएर सेयरमा लागनी गर्न नै सुझाव दिन्छु म ।’ तीजजस्तै अन्य चार्डपर्वहरू पनि छन् जुन हिजोआज थप भड्किलो हुँदै गइरहेका छन् । फजुल खर्चसमेत कम गर्न आवश्यक रहेको तीनै जना महिला सेयरकर्ता बताउँछन् । तीनैजनाले सन्तानकाे भविष्यबारे साेंच्दै सेयर बजारमा लगानी गरेका छन् । फजुल खर्चलाई घटाएर सेयरमा लगानी गर्नु राम्रो हुने धारणा उनीहरूकाे छ ।