विकासन्युज

आइजीआई प्रुडेन्सियलद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट ४ दिने तालिम सम्पन्न गरेको हो । तालिम भदौ १६ देखि १९ गतेसम्म सञ्चालन भएको थियो । बीमा अभिकर्ताको रूपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि सो तालिम दिइएको कम्पनीले जनाएको छ । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । तालिमपश्चात सहभागीहरूलाई प्रमाणपत्रसमेत कम्पनीले वितरण गरेको थियो । तालिमबाट अभिकर्ताहरूको माध्यमबाट ग्राहकले सहजरूपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको जनाएको छ ।

टिकटक प्रतिबन्ध हटाउन इन्टरनेट कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लागिएको प्रतिबन्ध फुकुवा गर्न सबै इन्टरनेट सेवा र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले प्रदायक संस्थाहरुलाई प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको जनाएको छ । सरकारले २०८० कार्तिक महिनादेखि टिकटकमा रोक लगाएको थियो । तर, गत भदौ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदले फुकुवा गर्ने निर्णय गरेपनि सबै इन्टरनेट सेवामा टिकटक फुकुवा भएको थिएन् । सरकारबाट आधिकारीक जानकारी नआएको भन्दै इन्टरनेट प्रदायकले टिकटक फुकुवा गरेका थिएनन् । प्राधिकरणको यो निर्देशन पछि अब भने सबै इन्टरनेटमा टिकटक चल्ने भएको छ ।

अमेरिकादेखि बेल्जियमसम्म पुग्छ नेपाली अचार, एक महिनामा सवा २ करोडको निर्यात

काठमाडौं । नेपाली अचार विश्वका विभिन्न देशहरूमा निर्यात हुने गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा मात्रै नेपाली अचार विश्वका ५ मुलुकमा निर्यात भएको हो। साउन महिनामा २ करोड २३ लाख रुपैयाँ बढीको २५ हजार ९३ केजी अचार नेपालबाट निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार अमेरिकामा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको ९ हजार ६२२ केजी अचार निर्यात भएको छ । यसैगरी, अष्ट्रेलियामा ८० लाख ५० हजार रुपैयाँ बराबरको ९ हजार ८५ केजी, इटालीमा १८ लाख ३६ हजार रुपैयाँ बराबरको १२ हजार केजी, बेल्जियममा २३ लाख ५० हजार रुपैयाँको ४ हजार ५९६ केजी र क्यानडामा ६ लाख १३ हजार रुपैयाँ बराबरको ४ हजार ९० केजी अचार निर्यात भएको विभागको तथ्यांकमा उल्लेख रहेको छ । यो अवधिमा नेपालमा ९३ लाख रुपैयाँ बराबरको विदेशि अचार आयात भएको छ ।

खाद्य कम्पनीका कर्मचारीले वाणिज्य बैंकबाट सस्तो ब्याजमा कर्जा पाउने, सीमा १५ लाख

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झाैता भएकाे छ । कम्पनीका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार कम्पनीमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई कम्पनीकोे सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ । सम्झौताअनुसार कम्पनीका कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झाैतापश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ । उक्त अवसरमा कम्पनीका विभागीय प्रमुखहरू डिल्लीराज लम्साल, घनश्याम अर्याल, अधिकृत रामसफल साह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाल लोहनी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय थापाथलीका शाखा प्रबन्धक विक्रममान श्रेष्ठलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

महिला प्राचार्य भन्छन्- अहिलेको पुस्ताले तीजलाई पुस्तान्तरण गर्छन् भन्नेमा शंका छ

काठमाडौँ । तीज रमाइलोमात्र होइन, यसभित्रको मूल्य, मान्यता र  सभ्यताको पहिचान पृथक छ । तर, पछिल्लो समय तीजको नामका गरिने तडकभडकले यसको गरिमा र छवि धुमिल पारिरहेको छ । धैले तीजको अस्तित्वमाथि नै प्रश्न गरिरहेका छन् । एउटा घरपरिवार र समाजमा मात्रै होइन, विभिन्न संघसंस्था तथा विद्यालय-कलेजहरूले पनि तीजलाई भव्यताका साथ मनाइरहेका छन् । पृथक किसिमको पहिचान बोकेको तीजको सुन्दर पाटोलाई हामीले पुस्तान्तरण गर्न आवश्यक छ । त्यो पुस्तान्तरणको थालनी चाहिँ अहिले विभिन्न विद्यालय तथा कलेजहरूले पनि गरेका छन् । आज हामीले काठमाडौँमा रहेका विभिन्न विद्यालय तथा कलेजका महिला प्राचार्यसँग तीजको विषयमा उनीहरूले गरेको अभ्यास बुझ्ने प्रयास गरेका छाैँ । दक्षिणा श्रेष्ठ, सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी  दक्षिणा श्रेष्ठ । म नेवार समुदायको महिला हुँ । हाम्रो समुदायमा यो पर्वमा महिलाहरू व्रत लिने तथा रमाइलो गर्ने खासै चलन हुँदैन । तर, पनि राष्ट्रिय चाडको रूपमा महिला दिदीबहिनीहरूले मनाउनुहुन्छ । यसमा पनि मेरो आस्था छ । गत मंगलबार हामीले कलेजमा पनि तीज कार्यक्रम मनाएर दर खायौँ । कलेजका सबै शिक्षक साथीहरूसँग रमाइलो गरियो । विगतको तुलनामा तीज केही फरक हुँदै गएको महसुस मैले गरेकी छु । विगतमा तीज भनेपछि दिदीबहिनी माइत जाने, बाआमा, काका-काकी आफन्तहरूसँग भेटघाट गर्ने अनि मीठोमसिनो खाएर रमाइलो गर्ने भन्ने हुन्थ्यो । तर, अहिले पहिलेको तुलनामा फेरिँदै गएको देखिन्छ । महिलाले एकदिन भएपनि आफ्नो लागि जीउँछन् । तर, पछिल्लो समय देखावटी बढेको छ ।  देखाउनका लागि अनेक गतिविधि गरिन्छ । अहिले सबैले आ-आफ्नै तरिकाले तीज मनाइरहेका छन् ।  धेरैजसो विद्यालय तथा कलेजले पनि तीजका कार्यक्रमहरू गरिरहेका छन् । कतिपय विद्यालय तथा कलेजले विद्यार्थीबाट पैसा उठाएर त कतिपयले नउठाएर मनाएका छन् । यो राम्रो हो । किनकि विद्यार्थीले यस्ता चाडपर्वबाट पनि धेरै कुराहरू सिक्छन् । तर, यस्ता कार्यक्रमका नाममा कलेज वा विद्यालयले विद्यार्थीबाट पैसा भने उठाउनु हुँदैन । म यसलाई बेथिति भन्छु । यस्ता चाडपर्व हाम्रा संस्कृति हुन् नि । यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो । तर, नेपालमा यस्तो छैन । परम्परा बिस्तारै लोप हुँदै गएको पाइन्छ । विद्यार्थी मात्र होइन, सबैले यस्ता चाडपर्वबाट धेरै कुरा सिक्नुपर्छ । नेपालमा विभिन्न जातजाति बसाेबास गर्दै आएका छन् । हाम्रो नेवार समुदायमा पनि फरक किसिमका चाडपर्व छन् । सबैले एक-अर्काको संस्कृतिलाई सम्मान गर्दै कार्यक्रम मनाउनुपर्छ । प्रदिप्ता कादम्बरी, कादम्बरी कलेज  प्रदिप्ता कादम्बरी । तीजलाई म पारिवारिक चाड भन्न रुचाउँछु । यो चाड अहिले सामाजिक हुँदै गएको छ । आमा, दिदी, सानिमा, दाजुभाइले दिदीबहिनीलाई तीजमा माइत बोलाउने चलन छ । म पनि आफन्तले बाेलाएको ठाउँमा तीज मनाउन गएँ । त्योबाहेक साथीहरूसँग विभिन्न समुदाय र अफिसमा भने म गइनँ । किनकि तीज महिनौं दिनसम्म चल्ने र खाने मात्र देखिएकाले मैले आफ्नै ढंगले मनाउँदै आएकी छु । तीजमा धेरै परिर्वतन भएको छ । पहिले तीजको जुन मर्म थियो, त्यो अहिले छैन । टाढा बसेका छोरीहरू माइत आउने अनि आफ्ना दुःखसुखका कुरा सुनाउने अभ्यास थियो । त्यहीअनुसारका गीतहरू हुन्थे । जुन यथार्थमा भइरहेकै घटनामा आधारित हुन्थे । तर, अहिले बढी पार्टी गर्ने, रमाइलो गर्ने खालको भएको देख्छु । हुन त समय परिवर्तनसँगै त्यो अवस्था रहेन होला । प्रविधिले दिएको फाइदा सदुपयोग होला । यद्यपि अहिले पनि समाजमा त्यस्ता विभिन्न घटनाहरू भइरहेका छन् । पहिलेको भन्दा केही महिला सशक्तिकरण पनि भएको छ, यस्ता गीत पनि आएको भए समय परिर्वतनसँगै फेरियो भन्न मिल्थ्यो । तर, अहिले  तीज धेरै भड्किलो भएको छ । आजभोलि भ्यूज, लाइक अनि कमेन्ट बढाउन पनि यस्तो गरेको हुन सक्छ । योसँगै संस्कृतिको कुरा पनि जोडिएर आएको छ । यसले गर्दा नराम्रो भएको छ । यसको म विरोध नै गर्छु । यस्तै, विद्यालयमा पनि विद्यार्थीबाट पैसा उठाएर कार्यक्रम गरेको भन्ने सुनिन्छ । हाम्रो कलेजले यस्तो गर्दैन । मलाई पनि मन पर्दैन । बरु हामीले बाहिर बाटोमा नाचिरहेका महिला दिदीबहिनीहरूलाई बोलाएर कलेजको प्राङ्गणमा नाच्ने सुविधा गराउँछौँ । पानी, जुस र म्युजिकको व्यवस्था गर्दै आएका छौँ। हामी पैसा उठाएर तीज मनाउँदैनौँ । तीजमा रमाइलो गर्न शुल्क उठाउनु विकृति हो । विद्यालयले यस्ता कार्यक्रमको आयोजना गरेर चाडपर्वबारे विद्यार्थीलाई सिकाउन सक्छ । यस्तो गर्दा बच्चाहरूले संस्कृतिबारे बुझ्दै जान्छन् । यसरी मनाउनु राम्रो हो तर बालेनजस्तो श्रीमान पाऊँ भन्दै नाच्दै गाउँदै गए राम्रो हुँदैन । डा. सर्मिला पोखरेल, पद्मोदय मावि  हामीले पनि विद्यालयमै तीज कार्यक्रम मनायौं । कक्षा ११ र १२ का विद्यार्थीले आफैं पैसा उठाएर दर बनाएर खाए अनि नाचगान गरे । रमाइलो नै भयो । विद्यार्थी आफैले पैसा उठाउने निर्णय गरे । कक्षा १ देखि १० सम्मका विद्यार्थीले भने पैसा उठाएनन् । उनीहरूले नृत्य कार्यक्रम गरे । मैले यो वर्षको तीज विद्यालय र विद्यार्थीसँगै मनाइरहेकी छु । विद्यार्थीलाई रमाइलोमात्र नगराइ तीज के हो ? यसको महत्त्व के छ ? भन्ने विषयमा पनि जानकारी गराएका छौँ । अहिलेो तीज विगतको जस्तो छैन । अहिलेको पुस्ताले यस्ता पर्वलाई पुस्तान्तरण गर्छन् भन्नेमा शंका लाग्छ । खानपानदेखि अन्य कुरामा निकै तडकभडक छ । बच्चालाई हामीले दिने संस्कार के हो ? घरबाट के सिक्छन् ? विद्यालयबाट के सिक्छन् भन्ने हो । रिताल राणा,  मिडभ्याली इन्टरनेशनल कलेज यो पटकको तीज मैले पनि रमाइलो साथ मनाइरहेकी छु । हामी सबै महिला मिलेर कलेजमै रमाइलो गर्यौँ, घरमा आफन्तहरू जम्मा भएर पनि रमाइलो गरिरहेका छौँ । यस्ता रमाइला पर्वहरूले खुसी ल्याउँछ । तीजले सधैँ टाढा भएर व्यस्त भएकाहरूसँग भेट गराउने मौका जुराउँछ । राम्रो श्रीमान पाउन मात्र होइन, श्रीमानको आयुको लागि मात्र पनि होइन, साथीभाइसँग रमाइलो गर्न  पनि यो चाड मनाइने गरिन्छ । रिताल राणा ।

करिब ७ करोड रुपैयाँको चुरा, पोते, सिन्दुर र टीका आयात

काठमाडौं- हरितालिका तीजको अवसरमा पौने ७ करोड रुपैयाँको टीका, चुरा, सिन्दुर र पोते आयात भएको छ । साउन महिनामा ६ करोड ८३ लाख ६२ हजार रुपैयाँको चरा, पोते, सिन्दुर र टीका आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चीन, जापान र भारतबाट उक्त सामग्री नेपाल भित्रिएको हो । जसमध्ये ४ करोड ९१ लाख १३ हजार रुपैयाँको चुरा र टीका आयात भएको जनाइएको छ । भारत र चीनबाट चुरा र टीका आयात भएको हो । यसैगरी, १ करोड ८२ लाख २५ हजार रुपैयाँको पोते आयात भएको छ । चीनबाट ८१ लाख ६८ हजार रुपैयाँको पोते आयात हुँदा भारतबाट २६ लाख ६८ हजार र जापानबाट ७३ लाख ८९ हजार रुपैयाँको पोते आयात भएको छ । यसैगरी, १० लाख २३ हजार रुपैयाँ बराबरको सिन्दुर आयात भएको छ । सिन्दुर सबै भारतबाट आयात भएको हो । उक्त सामाग्रीहरू आयातबाट १ करोड २५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको ‍विभागले जनाएकाे छ ।

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो एभरेष्ट, यस्तो छ लाभांश इतिहास

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २१ गते बसेकको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ । लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा एभरेष्ट पहिलो बैंक बनेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव सुरेश चापागाईं बताउँछन् । यस्तो छ बैंकको लाभांश इतिहास बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले आर्थिक वर्ष २०७८/७९मा बैंकले सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरि कूल २५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७३/७४ मा ३३ प्रतिशत बोनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसैगरी बैंकले आर्थिक वर्ष २०७२/७३ मा ७० प्रतिशत बोनस र ३.६७५ प्रतिशत नगद गरि कूल ७३.६७५ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७१/७२ मा ३० प्रतिशत बोनस र ६.५७ प्रतिशत नगद गरि कूल ३६.५७ प्रतिशत लाभांश र आर्थिक वर्ष २०७०/७१ मा १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल ६२ प्रतिशत लाभांश वितरण गरेको थियो । यसैगरी आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत बोनस सेयर र ५०.५३ प्रतिशत नगद गरि कूल ६०.५३ प्रतिशत लाभांश, आर्थिक वर्ष २०६८/६९ मा ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश र आर्थिक वर्ष २०६७/६८ मा १० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्‍यो विशेष योजना, खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरूसहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको हाे । यस योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरू सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा विक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो शेयर, आइपीओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकताअनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ । यी सेवाहरू बैकको ३५४ वटा शाखा कार्यालयबाट उपलब्ध हुने बैंकले जनाएकाे छ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।