विकासन्युज

नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम  सम्पन्न गरेको छ । कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा करिब पाँच हजारभन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरू, शाखा तथा उपशाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति रहेको थियो । असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिम कार्यक्रममा भारतको दिल्लीबाट आएका प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सिपको बारेमा प्रकाश पारेका थिए । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भएपनि मानिसले यसको महत्त्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको बताए । उनले अभिकर्ताहरूले बीमाको महत्त्वमाथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावनाहरू भएकाे जनाउँदै अगाडि बढ्न उत्प्रेरणा दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनोट भएर कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए । अभिकर्ताहरूको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तता प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय प्रशिक्षकको उपस्थितिमा यस किसिमको भव्य र सभ्य कार्यक्रम आयोजना गरिएको उनले बताए । यस कम्पनीले बीमा अभिकर्ताहरूलाई आफ्नो मेरुदण्ड मानेको र उनीहरूको ज्ञान र सीपलाई निखार्न यस किसिमको कार्यक्रम फलदायी हुने कुरामा आफू विश्वस्त रहेको पनि बताए । कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य भएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो । यसका साथसाथै कम्पनीले हरेक प्रदेशमा प्रथम द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई प्रमाणपत्रसहित सम्मानसमेत गरेकाे थियाे । कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई बधाई ज्ञापन गरेका थिए ।

महिला अधिकारकर्मी भन्छन्- तीजमा नाचेरमात्र हुँदैन, महिलाको हकअधिकारको आवाज पनि उठाउनुपर्छ

काठमाडौं । हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तिकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तिकरणको रूपमा हेर्न थालिएको हो । नेपाल बार एशोसिएसनकी पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेम र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । ‘आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमानका लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ, व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, पारिवारिक भेटघाट, रमाइलो माहोल तयार हुन्छ, त्यो राम्रो हो,’ उनले भनिन्, ‘तीज महिलाले मात्रै मनाउनुपर्छ भन्दा पनि राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भन्ने लाग्छ ।’ अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालको बुझाइमा महिलाको स्वतन्त्रताका दिनका रूपमा हिन्दू महिलाले मनाउँदै आएको राष्ट्रिय पर्व तीज हो । ‘पहिला अहिलेजस्तो सडक सुविधा थिएन, टाढा विवाह गरेर पठाउने चलन थियो, एक दिन तिजमा बोलाएर खुवाउनुपर्छ भन्ने थियौ, घरमा भोगेका पीडा माइतीघरमा आएर सासू, देउर, जेठानी, नन्द, आमाजुले दिएको दुःख गीतमार्फत गाउँथे, अहिले महिला सशक्तिकरणको राम्रो दिन बनेको छ,’ उनले भनिन् । यो पर्व मनाउँदै गर्दा महिला सचेत भएर निरंकुशताविरुद्ध, समाजमा भएका महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रुपान्तरण र चेतनाका गीत गाउन थालेको उनको अनुभव छ । ‘समाज परिर्वतशील छ, महिलाका साझा सवालका विषयमा तीजलाई मनाउनुपर्छ, महिला एकजुट हुनुपर्छ, महिलाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्ने विषयमा गीत गाउनुपर्छ,’ नेतृ हमालले भनिन् । महिलाले खाएर नाचेरमात्र पर्वको सार्थकता नहुने र महिलाको हकअधिकारको आवाज उठाउने, क्षमता अभिवृद्धि गर्ने र आयआर्जन गर्ने खालका काम गर्नुपर्छ भन्ने उनको ठम्याइ छ । सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणाले तीज पर्वलाई समानता, सशक्तिकरण र सहअस्तित्वको उत्सवका रूपमा ९ वर्षदेखि ‘तीज उत्सव’ मनाउँदै आएकी छिन् । यस वर्ष उनले सुदूरपश्चिमको कञ्चनपुरमा तीज संवाद गरेकी छिन् । ‘तीज पर्वलाई महिला सशक्तिकरण, समानता, सद्भावको उत्सवका रूपमा मनाउनुपर्छ,’ संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीड) कमिटीका सदस्य राणाले भनिन्, ‘नेपाली संस्कृतिको कुरीतिहरूलाई हटाउँदै संस्कृति र प्रथाको गर्व गर्दै राम्रो पक्षलाई अगाडि लैजानुपर्छ भनेर तीज संवाद मनाउन लागिएको हो ।’ उनलाई तीज पर्व महिला स्वतन्त्रताको दिनका रूपमा मनाउने तरिका राम्रो लाग्ने उल्लेख गर्दै भनिन्, ‘पितृसतात्मक सोंचका कारण महिलालले स्वतन्त्रता एकदम कम हुन्छ, सहरी महिलालाई मात्र हेरेर हुँदैन, गाउँगाउँमा महिलाको अवस्था अहिले पनि उस्तै छ, महिला पनि एक दिन माइत आउँन, आफ्ना आमा, दिदीबहिनी, साथीभाइसँग भेट्न पाउनु राम्रो हो ।’ महिला सशक्तिकरण र सद्भावका लागि पर्व असाध्यै राम्रो रहेको र गाउँगाउँमा धेरै महिला माइत जान पाउनु, दिदीबहिनी रमाउन पाउनु असाध्यै खुसीको कुरा भएको राणाको भनाइ छ । ‘एउटा वर्गले श्रीमानका लागि व्रत बस्ने भन्ने पनि छ, हुन त व्रत बस्दा स्वास्थ्य पनि राम्रो हुन्छ, तर लहैलहैमा व्रत बस्न जरुरी छैन, करकापमा व्रत बस्न भएन, महिला सशक्तीकरण, समानता र सदभावका दृष्टिकोणले पर्व असाध्यै राम्रो हो,’ उनले भनिन् । संस्कृतिविद् डा. शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तीज मनाउने भए तापनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मुलतः महिलाको पुनःमिलनको पर्व हो । ‘महिलाबीच वर्षमा एक दिन भए पनि एकापासमा भेटघाट हुने अवसर मिलेको छ, संस्कृतिको प्रसार भएको छ, महिलाले खुसी साट्न पाएका छन् । केही विकृति पनि छ, त्यसलाई कम गरेर संस्कृति, स्वतन्त्रता दिवस र महिलाको पुनःमिलनको पर्वका रूपमा मनाउनुपर्छ,’ उनले भनिन् । डा. ढुङ्गानाका अनुसार परम्पराअनुसार श्रीमानको दीर्घायुको कामना गरी व्रत बस्ने, माइतमा आमा, दिदीबहिनीसँग भेटघाट गर्ने, दुःखसुखका भावना आपसमा बाँड्ने रूपमा मनाउँदै आए पनि स्वस्थानी व्रत कथाको सुरु भएपछि हरितालिका तिजको महत्व अझ बढ्दै आएको पाइन्छ । तीज पर्व महिलाको पर्व भएकाले आपसमा सौहार्दपूर्ण तरिकाले, तडभडक नगरी, महिलाको स्वतन्त्रता, सशक्तीकरण र समग्र महिलाको हितको विषयसँग पर्वलाई जोड्न जरुरी छ ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौं, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् । पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएको उहाँको भनाइ छ । अहिले पनि निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउँछन् । ‘रातिदेखि ठूलो वर्षा भइरहेको छ, धेरै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्, अहिले सवारी पूर्ण रुपमा ठप्प भएको अवस्था छ, वर्षा रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन्,’ उनले भने ।

राष्ट्रपति भ्लादिमिर पुटिनले मुस्कुराउँदै भने-रूसले ह्यारिसलाई समर्थन गर्छ

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताएका छन् । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दाहरूमा टिप्पणी गर्ने गरेको पाइन्छ । गत वर्ष उनले अमेरिकी राजनीतिक प्रणाली ‘बिग्रेकोे’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताएका थिए । रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले भने, ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई श्रीमती ह्यारिसको पक्षमा उतार्नु आवश्यक छ।’ ‘हामी उनी (ह्यारिस) लाई समर्थन गर्छौ,’ उनले मुस्कुराउँदै भने । रूसी नेता पुटिनले ह्यारिसको मुस्कानले उनको सबै कुरामा सही हुन्छ भन्ने देखाउने उल्लेख गरेका छन् । ‘पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि अन्य कुनै अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै यदि ह्यारिसले राम्रो काम गर्ने भएमा सम्भवतः उहाँ यस्ता कार्यबाट टाढै रहनुहुनेछ।” गत फेब्रुअरीमा पुटिनले ट्रम्पको सट्टा बाइडेनको समर्थन गर्दै वर्तमान राष्ट्रपतिलाई ‘अनुमानयोग्य’ भनेका थिए । पुटिनको यो टिप्पणी ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको एक दिनपछि आएको हो । यसै सन्दर्भमा रूसी सरकारी समाचार नेटवर्क आरटीका शीर्ष सम्पादकहरूमाथि प्रतिबन्ध लगाएको छ। वासिङ्टनले उनीहरूमाथि आगामी अमेरिकी मतपत्रलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ ।

एनआईविएल ग्रोथ फण्डको लाभांश घोषणा

काठमाडौं । एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई लाभांश घोषणा गरेको छ । एनआइएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूलाई गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो । लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति पछि तय गरिने क्यापिटलले बताएको छ । यस फण्डको कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हो ।

अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । आज एक युरोको खरिददर १४८.९३ रुपैयाँ र बिक्रीदर १४९.६० रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.६४ रुपैयाँ र बिक्रीदर १७७.४३ रुपैयाँ कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.२४ रुपैयाँ र बिक्रीदर ९०.६५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२५ रुपैयाँ र बिक्रीदर ९९.७० रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९१ रुपैयाँ र बिक्रीदर ३१.०५ रुपैयाँ तोकिएको छ ।

आज तीज पर्व मनाइँदै, यस्तो छ तीज मनाउनुको कारण

काठमाडौं । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाए । पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनुभएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाए । ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ,’ उनले भने, ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।’ स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् गौतमले जानकारी दिए । श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा देवमणि भट्टराई बताउँछन् । ‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ,’ उनले भने । नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रविद्हरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो । पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । दर खानुपर्छ २ भाग रात हुँदैमा यो व्रत सक्ने नीराहार बस्ने भएकाले बिहीबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । महिनाँै अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा स्थापित गर्न खोजेको छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा यसका लागि तोकिएको छ । बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् ।

३० अर्बको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार, २ महिनादेखि बजेट शून्यता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए । ‘बजेट तयारीका क्रममा मन्त्रालयस्तरमा भइरहेको छलफल शुक्रबार सकिन लागेको छ, राजनीतिक समझदारीको विषय भएकाले यही भदौ २५ गतेभित्र बजेट आउँछ भन्ने छ,’ उनले भने । नयाँ सरकारका प्राथमिकतालाई सम्बोधन गर्नेगरी परिमार्जन गरेर बजेट ल्याउने तयारी भइरहेको जनाइएको छ । बजेट तयारीसँगै विनियोजन विधेयक र आर्थिक विधेयक परिमार्जनका विषयमा छलफल भइरहेको छ । बजेट कार्यक्रमका सिद्धान्त, नीति, प्राथमिकता भने यसअघिकै सरकारका पालामा प्रदेशसभाबाट पारित भइसकेकाले त्यसैमा टेकेर अर्को बजेट ल्याउन लागिएको हो । निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभा प्रस्तुत गरेको चालु आव २०८१/८२ को बजेटलाई कमलबहादुर शाह नेतृत्वको वर्तमान सरकारले परिमार्जन गरेर अर्को बजेट ल्याउन लागेको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता सोडारी नेतृत्वको तत्कालीन सरकारले प्रदेशसभामा प्रस्तुत गरिसकेको बजेटमाथि छलफल गर्न ढिलाइ भइरहेकै बेला सत्ता समीकरण फेरबदल भएर नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारबाट समर्थन फिर्ता लिएसँगै उक्त बजेट पारित नभई अलपत्र परेको थियो । जसका कारण साउन १ गतेदेखि सरकारको राजस्व सङ्कलन र खर्च गर्नेलगायतका काम ठप्प भएको थियो । नेपाल कांग्रेसका नेता शाह नेतृत्वको नयाँ सरकारले अध्यादेश ल्याएर राजस्व सङ्कलन कार्य सुरु गरिसकेको भए पनि बजेट शून्यताको अवस्था अझै हटेको छैन । प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब भत्ता, सञ्चालन खर्चलगायतमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ । अहिले सबै खर्च उधारोमा चलिरहेको छ । अस्पतालको सेवासमेत उधारोमा सञ्चालन भइरहेको छ । केन्द्रमा बनेको समीकरणअनुसार कांग्रेसका नेता शाहको नेतृत्वमा साउन २२ गते नयाँ सरकार गठन भएको थियो । सोडारी नेतृत्वको तत्कालीन सरकारले चालु आव २०८१/८२ का लागि ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेको थियो । योमध्ये चालुतर्फ ११ अर्ब सात करोड १९ लाख रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख रुपैयाँ छुट्याइएको थियो । अब ३० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरिएको छ । मन्त्रालयका सचिव अधिकारीले थपे, ‘यो बजेट सन्तुलित आउँछ, महत्वाकाङ्क्षी बजेट हुँदैन ।’ बजेट परिमार्जन गर्दा २१ अर्ब रुपैयाँको बजेटमा परिमार्जन गर्ने सम्भावना नरहेको बताइएको छ । बाँकी ८ अर्ब रुपैयाँको बजेटलाई आवश्यकतानुसार परिमार्जन गर्न लागिएको छ । साबिकमा ल्याइएको बजेटमध्ये चालु खर्चसहित बहुवर्षीय, क्रमागत, समपूरक, सशर्त, गौरवका लगायत आयोजनाको २१ अर्ब रुपैयाँको बजेटमा परिमार्जनको सम्भावना नरहेको बताइएको छ । योजनाहरूमा विगतमा देखिने गरेको बिचौलियाको प्रभाव हुन नदिन प्रदेश सरकारका योजनामा २५ लाख रुपैयाँभन्दा कम रकमका योजना नराख्ने मापदण्ड बनाइएको छ । परिमार्जित बजेटमा कुनै व्यक्ति, निजी फर्म, सहकारी, संस्थालाई तोकेर बजेट विनियोजन नगर्ने र उपभोक्ता समितिमार्फत योजनाको कार्यान्वयन नगर्ने मापदण्ड पनि बनाइएको छ ।