स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार
कास्की । कास्कीको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनले भने, ‘गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।’ अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताए । ‘स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिएअनुसारको गर्भजाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउन अभियान सहयोगी हुने विश्वास लिएका छौँ’, अध्यक्ष ओझाले भने । गाउँपालिकामा एक वर्षमा दुई सय ३१ जना सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए । उनले भने, ‘यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ ।’ नौ वडा रहेको रुपामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताए । रासस
यस्तो छ आजको तरकारीको मूल्य
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । आज भारतीय गोलभेडा प्रतिकेजी औसत ६५ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी २५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ तोकिएको छ । रातो आलु औसत प्रतिकेजी ७० रुपैयाँ, भारतीय रातो आलु प्रतिकेजी ५७.६७ रुपैयाँ, मुडे आलुको ६१ रुपैयाँ, सुकेको भारतीय प्याजको प्रतिकेजी १२४ रुपैयाँ तोकेको छ । [pdf id=508670]
४ जलविद्युत कम्पनीले गरे लाभांश घोषणा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९१ वटा जलविद्यतु कम्पनी सूचीकृत भएर कारोबार भइरहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये विभिन्न ४ वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् । भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर अपी पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएका हुन् । भगवती हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी २४औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । कम्पनीको साधारण सभा असोज १६ गते बिहान ११ बजे नयाँ बानेश्वर काठमाण्डौंमा बस्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । यस्तै माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश १३औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । कम्पनीले उक्त लाभांश पारित गर्न असोज १४ गते साधारण सभा आह्वा गरेको छ । कम्पनीको सभा नयाँबजार काठमाडौंमा बिहान १० बजे बस्नेछ । साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ ३० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर सहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अपी पावर कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को खुद नाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
श्रीलङ्काको पर्यटन आम्दानी २ अर्ब १७ करोड अमेरिकी डलर
काठमाडौं । श्रीलङ्काले सन् २०२४ को पहिलो ८ महिनामा पर्यटनबाट २ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा श्रीलङ्काले २ अर्ब १७ करोड डलर कमाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ६६.०१ प्रतिशतले बढी हो । सोही अवधिमा पर्यटक आगमनमा पनि ५०.०७ प्रतिशतले वृद्धि भएको र सन् २०२४ को पहिलो ८ महिनामा १३ लाख ६० हजार पर्यटक आएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । सन् २०२४ अगस्टमा पर्यटक आगमन १ लाख ६४ हजार ६०९ थियो । यो सङ्ख्या सन् २०२३ अगस्टको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको हो । पर्यटन श्रीलङ्काको शीर्ष विदेशी राजस्व उत्पन्न गर्नेमध्ये एक माध्यम हो । श्रीलङ्का पर्यटन प्रवर्द्धन ब्युरोका प्रबन्ध निर्देशक नलिन परेराले श्रीलङ्काली पर्यटन अधिकारीहरूले सन् २०२५ मा ३० लाख विदेशी पर्यटकहरूको अपेक्षा गरेको बताए ।
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ अन्य देशको मुद्रा भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको भाउ बढाएको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४७.९६ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.३६ रुपैयाँ र बिक्रीदर १७६.१४ रुपैयाँ कायम छ । यस्तै फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५७.८७ रुपैयाँ र बिक्रीदर १५८.५८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.२२ रुपैयाँ र बिक्रीदर ८९.६२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.८५ रुपैयाँ र बिक्रीदर ९९.२९ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, सिङ्गापुरे डलर खरिददर १०२.५४ रुपैयाँ र बिक्रीदर १०३ रुपैयाँ तोकेको छ । जापानिज येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९५ रुपैयाँ र बिक्रीदर ३.९६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६६ रुपैयाँ र बिक्रीदर ३०.८० रुपैयाँ तोकिएको छ ।
नेपाल एयरलाइन्स सुधार्न हस्तक्षेप गर्छु, निजी क्षेत्रको मनोमानी हटाउँछु
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाहरूबीचको परिचयात्मक कार्यक्रममा उनले निगमको नीतिगत सुधारका लागि अब हस्तक्षपकारी योजना अगाडि बढाउने बताए । ‘नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ । म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन, अब नीतिगत हस्तक्षेपको बाटोमा अगाडि बढ्छु । यथास्थितिलाई भत्काएर सुधारको दिशामा लैजान्छौँ, सुधारिएको नेपाल एयरलाइन्स बनाउन चाहन्छौँ, उनले भने । पर्यटनमन्त्री पाण्डेले निगम सुदृढ भएमा हवाई उडानमा निजी क्षेत्रको मनोमानी घट्ने विश्वास व्यक्त गरे । निगमले न्यूनतम शुल्कमा सेवा दिने वातावरण बन्नेबित्तिकै हवाई यात्रा सुलभ र सहज हुने उनको भनाइ छ । मन्त्री पाण्डेले ठूलो खर्च गरेर बनाइएका विमानस्थल सञ्चालन गरेर जनतालाई सर्वसुलभ सेवा दिइनुपर्नेमा जोड दिए । ‘आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाइ विमान सेवा बढाएर दुर्गममा बढीभन्दा बढी सेवा दिन जरूरी छ । बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालन गर्नेतर्फ पनि ध्यानदिनुपर्ने आवश्यकता छ, उनले भने ।
गरिब र विपन्न वर्गलाई जलविद्युतको सेयर दिने व्यवस्था गर्छाैं : उर्जामन्त्री खड्का
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले गरिब र विपन्न परिवारका लागि सरकारले जलविद्युत् आयोजनाको सेयर सुनिश्चित गर्ने बताएका छन् । ‘सङ्खुवासभाको वस्तुस्थितीको छलफल’मा उनले गरिब र विपन्न वर्गका नागरिकको जीवनस्तर उकास्नका लागि जलविद्युत् आयोजनाको सेयर गरिब वर्गका नागरिकलाई सुनिश्चित गर्न सरकारले काम गर्ने बताएका हुन् । ‘साधन र स्रोतको प्रचुर सम्भावनाको क्षेत्रमा बसेका नागरिकलाई सेयर प्राप्त गर्ने ग्यारेन्टी सरकारले गर्छ, जलविद्युत् आयोजनालाई आफ्नो भविश्य सम्झेर सहयोग गर्न म सङ्खुवासभाबासीलाई आग्रह गर्दछु,’ उनले भने । उनले आर्थिक, सामाजिक र राजनीतिक हिसावले तल्लो वर्गका नागरिकमा पहुँच पु¥याउन सकिएन भने मुलुक समृद्धि हुन नसक्ने धारणा व्यक्त गरे । सङ्खुवासभाबाट निर्वाचित सांसद खड्काले मतदाताको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लाको विकासमा राजनीतिक दलबीच भाइचाराको सम्बन्ध रहेको बताए । जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले विपन्न र निमुखा नागरिकलाई जलविद्युत् आयोजनामा जोडेर उनीहरुको आर्थिक जीवनस्तर बढाउन मन्त्रालयले चासो देखाएको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले माथिल्लो अरुण आयोजनालाई वैदेशिक लगानीका साथै नेपाली लगानी जुटाएर भएपनि पूरा गर्ने बताए ।
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
काठमाडौं । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो । भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कँदै गर्दा उनी केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिए । ‘१८ वर्ष भयो यसैगरी गोठालो भई हिँडेको, दौतरीहरु कति विदेश त कति सहरतिर लागे,’ उनले भने, ‘मलाई त यही भिरपाखामै रमाइलो छ ।’ तामाङको दिनचर्या बिहानैदेखि राति अबेरसम्म भेडा र च्याङ्ग्रा स्याहार्दै बित्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ यारा र घारा गाउँका किसानका भेडाच्याङ्ग्रा चराउँदै ६ हजार मिटरसम्मको उचाइमा पुगेर फर्किंदै गर्दा उनले सुनाए । ‘काम खोज्दै दौतरीहरु विदेश र सहर पसे । म मुस्ताङमै रमाएँ, नपढेकाले जहाँ गए पनि गर्ने दुःखै रहेछ, मलाई यही ठीक छ,’ तामाङले भने, ‘मलाई विदेशको मरुभूमिभन्दा मुस्ताङकै भिरपाखा रमाइलो लागिरहेको छ ।’ तामाङले गोठालो गरिएदिएबापत खाना र कपडाबाहेक वार्षिक १ लाख ५० हजार पैयाँ तलब पाउँछन् । यही आम्दानीले धादिङ झर्लाङमा रहेका श्रीमती र दुई सन्तान चलाउनुपर्छ । गोठालो जाँदा बास कहाँ बस्ने टुङ्गो हुन्न । कहिलेकाँही समयमै खाना खाने मेसो पनि पर्दैन । कहिले गोठ त कहिले ढुङ्गामुनी ओत लागेर रात काट्नुपर्ने बाध्यता छ । यसरी बर्खामा हिमालतिर उकालो लाग्ने गोठाला उनी एक्लो भने होइन । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका ५८ वर्षीय नवाङ गुरुङ पनि तीन वर्षयता गोठालो गरिरहेका छन् । ७ वर्ष साउदी अरबमा काम गरेपछि उनी गोठालै भई काम गरिरहेका छन् । ‘बालबच्चाको लालनपालन र घरव्यवहार चलाउन बाध्यताले भेडा, च्याङ्ग्रा गोठाला बन्नुपरेको हो,’ उनले भने, ‘गरिबलाई दुःख नगरी जहाँ गए पनि हातमुख जोर्नकै लागि सङ्घर्ष गर्नुपर्ने रहेछ ।’ गर्मी बढेपछि हिमाली क्षेत्रको चिसो हावापानीमा पलाएको पोसिलो घाँस खुवाउन लेकमा लगिएका भेडा, च्याङ्ग्रा, गाईभैँसी र चौँरी विस्तारै तल झार्नेक्रम सुरु भइसकेको छ । जेठको अन्तिम साता लेक उल्किएका गोठालाहरु घुम्ती गोठ सार्दै जनावरहरुलाई बेंसीतर्फ लागेका छन् । दामोदरकुण्डमा भेटिएका मेल्चा र नवाङ जस्तै मुस्ताङका च्याङ्ग्रा गोठमा म्याग्दी, बागलुङ, धादिङ, रुकुम, रोल्पाका धेरै जना काम खोज्दै गोठाला बस्न पुग्छन् । दुःख र जोखिम धेरै हुने भएकाले किसान आफँै गोठमा बस्दैनन् । चार÷पाँच वटा घर मिलेर एउटालाई तलब दिनेगरी गोठाला राखेर भेडाच्याङ्ग्रा पाल्ने गरिएको याराका टासी गुरुङले बताए । ‘च्याङ्ग्रापालनबाट दसैँ, तिहारजस्ता चाडपर्वमा सहर बजारमा पोसिलो र स्वादिलो मासु आपूर्ति गर्न सहयोग पुगेको छ,’ उनले भने, ‘च्याङ्ग्रा गोठालाका रुपमा कतिपयले रोजगारी पनि पाएका छन् ।’ चरनका लागि भिरपाखा चहार्दै दौडिने भेडाच्याङ्ग्राको पछिपछि दौडिनुपर्ने गोठाला पेसा सजिलो भने छैन । बर्खामा गोठ लिएर लेकमा जाँदा तीन महिनासम्म परिवार र आफन्तसँग सम्पर्कविहीन भएर बस्नुपर्छ । भकारीले छाएको र बारेको गोठभित्र झरी र चिसो नभनी पाठापाठीसँगै रात कटाउनुपर्छ । त्यसमाथि जङ्गली जनावरको डर उस्तै । छुट्टी र बिदा हुने कुरै भएन । मोबाइल, रेडियोमा गीत सुन्दै डाँडापाखा डुल्ने गोठालाका सुरक्षाका लागि भोटे कुकुर भने साथैमा हुन्छन् । बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाको आम्दानीको मुख्य स्रोत भेडाच्याङ्ग्रापालन हो । हिउँदमा गाउँबस्ती नजिकै ल्याउने भेडाच्याङ्ग्राका लागि उपल्लो मुस्ताङका कृषक हिजोआज घाँसको जोहो गर्ने व्यस्त छन् । हिउँ परेको अवस्थामा चरनमा जान नसक्ने भएकाले च्याङ्ग्रालाई सुकाएको र साइलेज बनाएर राखेको घाँस खुवाउने गर्छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुुस्ताङका अनुसार जिल्लाभर रहेका ६५ वटा ठूला फार्ममा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । दसैँ तिहारका लागि गत वर्ष २३ करोड रुपैयाँ मूल्य बराबरको करिब ६ हजार च्याङ्ग्रा निकासी भएको केन्द्रको तथ्याङ्क छ । हिमचितुुवा, ब्वाँसो र जङ्गली कुुकुरबाट भेडा च्याङ्ग्रालाई बचाउन गाह्रो भएको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका पासाङ डेण्डुप गुरुङले बताए । १५० वटा च्याङ्ग्रा पालेका गुरुङले वार्षिक ४० वटा हाराहारीमा बिक्री गर्छन् । उनको घरखर्चको मुख्य स्रोत यही हो । जङ्गली जनावरले वर्षमा एउटै फार्ममा २० वटाभन्दा बढी भेडा च्याङ्ग्रा मार्ने गरेको सुनाए । तीनदेखि चार वर्ष पुगेका च्याङ्ग्रा मासुुका लागि बजार पठाइन्छ । हिमालमा पालिएका भेडा, च्याङ्ग्राको माग दसैँको समयमा सहर बजारमा हुने गरेको छ ।