नोबडी प्रोडक्सनले एकैसाथ तीनवटा रियालिटी शाे ल्याउँदै
काठमाडौं । नोबडी प्रोडक्सनले एकैसाथ तीनवटा रियालिटी शोहरूको घोषणा गरेको छ । आइतबार दूषित प्रिन्सेस होटलमा आयोजित पत्रकार सम्मेलनमा सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २, अन्ताक्षरी र ब्रिलियन्ट ब्रेन्स शो घोषणा गरेकाे हाे । क्राइम पट्रोल नेपालको पहिलो सिजन बनाएपछि सुस्ताएको नाेबडी प्राेडक्सनले लगभग ३० महिनापछि रियालिटी शाेहरूकाे घाेषणा गरेकाे हाे । नोबडी प्रोडक्सनले ‘काे बन्छ करोडपति’ शोबाट यात्रा सुरु गरेको थियाे । लगभग एक महिना पहिले डिजिटलल अडिसन सुरु गरिएको सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २ काे लागि अहिलेसम्म लगभग १२ हजारले अडिसन भिडियो पठाइसकेका छन् । सिजन २ मा जजेजका रूपमा दीप श्रेष्ठ, स्वप्न सुमन र सुवानी मोक्तान रहनेछन् । भारतमा लगभग २५ वर्षदेखि रियालीटी सोको टेलिभिजन रेटिङ पोइन्टमा संधै अग्रपंक्तिमा रहने यो शोको नेपालमा आफ्नै फ्यान फलोइङ छ । यसको पहिलो सिजनलाई नेपाली दर्शकले अत्यधिक रुचाएका थिए । सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २ सँगै नेपाली जीवनको अभिन्न हिस्सा अन्ताक्षरी अब रियालिटी शोका रूपमा आउने भएको छ । संगीतको बाह्रखरी ट्याग लाइनसहित घोषणा गरिएको अन्ताक्षरीको डिजिटल अडिसन यही घटस्थापनाबाट खुल्ने भएको हाे । सांगीतिक कार्यक्रम सारेगमप लिटिल च्याम्पस नेपाल र अन्ताक्षरी सँगसँगै ब्रिलियन्ट ब्रेन्स पनि यही समारोहमा घोषणा गरिएको छ। ‘सारेगमप लिटिल च्याम्पस नेपाल’ को सिजन टु स्पेस फोरके टेलिभिजनमा प्रसारण हुनेछ । आज भएको कार्यक्रममा प्रसारण सम्झौतामा हस्ताक्षर सारेगमपका तर्फबाट विष्णु सापकोटाले र स्पेस फोरकेका तर्फबाट शाहकुमारी शाहीले हस्ताक्षर गरेका छन् । यसैगरी, सिजन २ को एक्सक्लुसिभ कमर्सियल पार्टनरका रूपमा फर्मुला प्लस रहनेछ भने डिजिटल मिडिया पार्टनरका रूपमा राष्ट्रिय सञ्चार रहनेछ। यसमा नोबडी प्रोडक्सनसँग सम्झौता पनि भएको छ ।
१६ वर्षमा १८ लाख यात्रु बोकेको बुद्धको एउटा जहाजको बिदाइ
काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर-४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित सदाका लागि बिदाइ गरे । सन् २००८ मा नेपाल भित्र्याएको यो जहाजले आफ्नो उडान साइकल पूरा गर्दा नेपाली आकाशमा १८ लाख यात्रु बोकेको छ । नेपालको आन्तरिक उडान तथा एटीआरको इतिहासमा उडान अवधि पूरा गरी डिकम्पोजमा जान लागेको पहिलो विमान हो ।
सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ उपलब्धीका आधारमा आकर्षित गर्नेगरी काम गर्न आग्रह गरे । उनले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको बताए । कोषले सकेसम्म न्युन जनशक्तिबाट अधिकतम काम गर्न पनि आग्रह गरे । दक्ष र क्षमतावान जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिए । यस्तै उनले, नेपालमा रोजगारीको पनि आवश्यकता भएपनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको बताए । संस्थाहरुले जनशक्तिलाई सेवा सुविधा, मर्यादा, इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्नेगरी ढोका खोलिदिनुपर्ने बताए । कोषमा ५ सय दरबन्दी धेरै भएपनि अहिले ३७१ जनाले काम गरिराखेको भन्दै थप जनशक्ति थप्न आवश्यक नदेखिएको उल्लेख गरे । ‘कर्मचारी सञ्चय कोष,बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम लिनुपर्छ । उक्त जनशक्तिलाई सेवा सुविधा, मर्यादा, इज्जत दिनुपर्छ । कर्मचारीले आफ्नो भविष्य त्यहाँ खोज्न सक्ने ढोका खोलिदिनुपर्छ’, उनले भने । उनले नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको बताए । प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट पनि धेरै काम लिन सकिने भएकाले कोषले सोही बमोजिम काम गर्नुपर्ने जानकारी दिए ।
गुराँस लघुवित्तको लाभांश घोषणा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेको छ । लघुवित्तले १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
दुर्घटनाको खबरले पर्यटक त्रसित, धमाधम बुकिङ रद्द
काठमाडौं । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटक क्रमशः बढ्दै गइरहेका थिए । पर्यटक आगमन वृद्धिले पर्यटन क्षेत्र उत्साहित थियाे । तर, हालै मुलुकमा भएका विमान तथा सवारी दुर्घटनाका खबरले यस क्षेत्रमा फेरि निराशा छाएकाे छ । शरद ऋतुमा नेपाल भ्रमण गर्न होटल बुकिङ गरिसकेका केही पर्यटकले बुकिङ नै रद्द गरेको व्यवसायीहरूले बताएका छन् । नेपालको प्रमुख पर्यटन बजार युरोप र अमेरिकाका केही पर्यटकले नेपाल भ्रमण बुकिङ रद्द गरेका हुन् । यसले विश्व बजारमा नेपालको पर्यटन छविमा धक्का लाग्न सक्ने व्यवसायीको अनुमान छ । पछिल्लो दुई महिना मुलुकमा दुई ठूला हवाई र केही ठूला सडक दुर्घटना भए । ती दुर्घटनामा परी नेपालीसँगै विदेशी पर्यटकले पनि ज्यान गुमाएको विषयका समाचार विश्वका धेरै सञ्चारमाध्यममा प्रकाशित भयाे । यही कारण उनीहरूले नेपाल सुरक्षित गन्तव्य नभएको भन्दै बुकिङ रद्द गरेको व्यवसायीहरू बताउँछन् । सन् २०२३ मा यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्दा ७२ जनाको ज्यान गएको थियो । त्यस्तै, गत साउनमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियाे । त्यसलगत्तै एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घनामा पर्दा १ नेपालीसहित ४ चिनियाँको ज्यान गएको थियो । ती दुर्घटनाकाे समाचार नसेलाउँदै पृथ्वीराजमार्गअन्तर्गत तनहुँ आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट भारतीय पर्यटक सवार बस मर्स्यांदी नदीमा खस्याे । दुर्घटनामा परी २७ जनाको मृत्यु भयाे । यसरी दुर्घटना वृद्धि हुँदा भारतीयसहित विश्व बजारबाट आउने पर्यटक आगमनको संख्या घट्दै गएको छ । सन् २०२४ अगस्टमा अमेरिकी र युरोपेली पर्यटक घटेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार २०२४ को आठ महिना (जनवरी–अगस्ट) मा ७ लाख २० हजार ३ सय ३४ पर्यटक नेपाल घुम्न आएका छन् । अगस्टमा मात्र ७२ हजार ७ सय १९ पर्यटक नेपाल आइपुगेका थिए । अगस्टमा भारतबाट आएका २५ हजार ८ सय ३२ जनाले नेपाल घुमेका छन् । यो संख्या अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३.१ प्रतिशत कम हो । अघिल्लो वर्ष २६ हजार ६ सय ६५ भारतीय पर्यटकले नेपाल घुमेका थिए । यस्तै, २०२३ मा १० लाख १४ हजार विदेशी पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्यांक छ । यही मेसोमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी कात्तिक २३ गतेदेखि चैतसम्म राति १० देखि बिहान ८ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेरै धावनमार्ग, ट्याक्सी वे, पार्किङ बेलगायत विस्तारको काम गर्न लागेको छ । पर्यटक भित्रिने सिजनमा करिब पाँच महिना दैनिक १० घण्टाका दरले प्रमुख ‘गेटवे’ नै बन्द गर्दा यसले पनि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्ने व्यवसायी बताउँछन् । के भन्छन् पर्यटन व्यवसायी ? सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपाने सिद्धार्थ होटलमा भएको बुकिङ रद्द नभएको तर ‘होल्ड’ मा बसेको बताउँछन् । उनका अनुसार तिब्बतका केही ग्रुपले केही समयअघि नेपाल भ्रमणका लागि बुकिङ गरेका थिए । तर, उनीहरूले बुकिङ ‘क्यान्सिल’ त गरेका छैनन्, ‘पोस्पोन्ड’ भने गरेका छन् । ‘अझै बर्खा नसकिएको र बाटोघाटोको अवस्था राम्रो नभएका कारण पोस्पोन्ड भयो कि भन्ने लागेको छ,’ उनले भने, ‘हाम्रोमा क्यान्सिल नै भनेर भएको छैन, ट्राभल विशेष वा होटल विशेष कुनै त्यस्तो भएको भए होला ।’ सीईओ न्यौपानेका अनुसार अहिलेको समयमा अपेक्षाकृत बुकिङ भने भएको छैन । गत वर्षको तुलनामा अहिले बढ्छ कि भन्ने आशा पलाए पनि त्यस्तो हुन भने सकेको छैन । ‘समस्या भनेको नेपालको बाटो, सुरक्षा हो । गत वर्ष अत्यधिक दुःख पाएका पर्यटकका हकमा र उनीहरूका अनुभव वा पछिल्लो समय जति पनि दुर्घटना भए । यिनै कुराले अन्तर्राष्ट्रिय बजारमा नराम्रो समाचार गएको छ, ’ उनी भन्छन्, ‘यो वर्ष बाटोको अवस्था पनि जटिल नै छ, पोखरा घुम्न आएका पर्यटकलाई बाटोकै कारणले पोखरा पुर्याउन असम्भव नै देखिन्छ । यिनै कारण पर्यटक बिच्केको अवस्था छ ।’ पछिल्लो समय नेपाल आउने पर्यटकले सुरक्षा र पूर्वाधारका विषयमा धेरै नै प्रश्न उठाउने गरेका छन् । यस्ता कारणले बुकिङ क्यान्सिल हुने हो वा उनीहरू ‘कन्फिडेन्ट’ नदेखिएका हुन् कि भन्नेमा शंका उत्पन्न गरेको सीईओ न्यौपाने बताउँछन् । मुलुकको पर्यटन राजधानी पोखराका पर्यटन व्यवसायी तथा होटल क्राउन हिमालयाजका प्रबन्ध निर्देशक आग्रह अर्याल पोखराको पर्यटन सुस्त नै रहेको बताउँछन् । उनका अनुसार सडकका कारण पोखराले त्यहाँको क्षमताअनुसार पर्यटक भित्र्याउन सकेको छैन । ‘सडककै कारण काठमाडौंबाट पोखरा आउन १०–१२ घण्टा र चितवनबाट आउन ८ घण्टा लाग्छ,’ उनी भन्छन्, ‘अस्ति पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाले गर्दा नराम्रो म्यासेज पुगेको छ ।’ प्रबन्ध निर्देशक अर्याल यिनै घटनाका कारण पर्यटकले बुकिङ रद्द गरेको बताउँछन् । यकिन तथ्यांक नभए पनि यसरी बुकिङ रद्द गर्नेमा युरोपेली पर्यटकहरू धेरै छन् । उनका अनुसार बितेका वर्षमा पनि अलिअलि बुकिङ रद्द त हुन्थे, तर पछिल्लो समय भने दुर्घटनाकै कारण बुकिङ रद्द भएका छन् । पर्यटनका छाता संगठन के भन्छन् ? टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया केही पर्यटकले बुकिङ रद्द गरेको र केहीले बुकिङ मिति परिवर्तन गरेको बताउँछन् ।उनले पछिल्लो समय बेलायतबाट बुकिङ गरेका १७/१८ जनाले रद्द गरेका जानकारी दिए । अध्यक्ष थपलियाले ‘यो डराइहाल्नुपर्ने स्थिति नभए पनि चिन्ताको विषय भने भएको’ बताए । ‘ओभरअलमा हेर्दा सोंचेजस्तो बुकिङ छैन,’ उनले भने, ‘यसको एउटा कारण महँगो हवाई भाडा हो, अर्को पछिल्लो समय दुर्घटना पनि भयो, यसले पनि असर पारेको हो ।’ उनका अनुसार पर्यटकलाई सुरक्षाका विषयमा चासो बढी हुने गरेको छ । नेपालमा कोरोना भाइरस महामारी सुरु हुनुअघि ८ सयदेखि ९ सय जनासम्मको ट्रिप आउँथ्यो । ‘त्यसबेला नेपालबाट युरोपको टिकट ८ देखि ९ सय युरोमा आउँथ्यो,’ अध्यक्ष थपलिया भन्छन्, ‘अहिले महँगिएर १८ सय युरो पुगेको छ, यसको कारण सरकारले भ्याट लगाएको छ । अर्को नेपालको नम्बर अफ फ्लाइट बढ्नुपर्ने हो तर त्यो पनि बढ्न सकेन ।’ नेपालमा हवाई सेवा महँगो भएकै कारण होटल, ट्रान्सपोर्ट कम्पनी, टुर ट्राभल्स, ट्रेकिङलगायत अन्य धेरै कम्पनीलाई प्रत्यक्ष असर पारिरहेको उनी बताउँछन् । नेपालमा हवाई सेवा महँगो हुनु पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो इस्यु भएको उनको भनाइ छ । अध्यक्ष थपलियाका अनुसार नेपालमा ट्रेकिङ (पदयात्रा) को सिजन सेप्टेम्बरबाट सुरु हुन्छ । त्यसमा पनि सोंचेजस्तो बुकिङ नभएको उनी बताउँछन् । ‘अहिले विश्वव्यापी रूपमा टुरिजम ग्रो भइरहेको छ, नेपालमा भने पुरानो तथ्यांकमा ल्याउनलाई नै गाह्रो हुने अवस्था छ,’ उनी भन्छन् । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह पनि हवाई दुर्घटना र सडक दुर्घटनाका कारण पर्यटकले बुकिङ रद्द गरेको स्वीकार्छन् । उनले यति नै बुकिङ रद्द भएको भनेर तथ्यांक खुलाउन भने चाहेनन् । ‘अलिअलि क्यान्सिलेसन हुन्छ, बिजनेसमा त यो स्वाभाविक नै हो, ’ उनले भने, ‘हाम्रोमा हवाई सेवा पनि महँगो नै छ । कुनै पर्यटकले हजार डलर खर्च गरेर घुम्न आउँछ भने ६० प्रतिशत हवाई भाडामा नै खर्च हुन्छ । यसमा सरकारले पनि रेगुलेट गर्नुपर्ने हो, त्यो हुन सकेको छैन ।’ अध्यक्ष शाह नेपालमा पर्यटक भित्र्याउन नेपाल वायुसेवा निगमले विशेष भूमिका खेल्नुपर्ने बताउँछन् । अहिले केही बुकिङ रद्द भए पनि केही नयाँ बुकिङ पनि आएको उनले बताए । ‘अहिलेको अवस्था सजग हुनुपर्ने भए पनि हामीसँग अझै तीन महिना बाँकी छ । त्यो समयमा मार्केटिङ गर्न सकियो भने सहजै पर्यटक भित्र्याउन सकिन्छ,’ उनी आशा गर्छन् । शाहका अनुसार भदौ अन्तिम हुँदासम्म पनि पर्यटन बोर्डले बजेट पास गर्न सकेको छैन । ‘अन्य देशमा नसके पनि हामीले चीन र भारतलाई टार्गेट गरेर प्रचारप्रसार गनुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनी भन्छन्, ‘बजेट पास गर्न नसकेको पर्यटन बोर्डले प्रचारप्रसार गर्न सकेको छैन । मार्केट बिस्तार नगरी पर्यटक ल्याउन सम्भव देखिँदैन ।’ उत्तरी छिमेकी चीनले सन् २०२५ लाई ‘भिजिट नेपाल इयर’ भनेर घोषणा गरेको छ । चिनियाँ सरकारले नै आफ्ना नागरिकलाई ‘नेपाल घुम्न जाऊ’ भनेर पठाउँदा नेपालले सोहीअनुसारको प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न नसकेको अध्यक्ष शाह बताउँछन् । त्यसैगरी, हान-चितवन च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरे अहिले चितवनको पर्यटन क्षेत्र पनि सुस्ताएको बताउँछन् । उनका अनुसार पछिल्लो समय चितवन–सौराहा घुम्ने पर्यटक संख्या घटेको छ । आन्तरिक र बाह्य दुवै पर्यटक कमै मात्रामा घुमघामका लागि आएका छन् । यसको मुख्य कारण पूर्वपश्चिम राजमार्ग रहेको उनकाे भनाइ छ । घिमिरेका अनुसार चितवन तथा सौराहाका होटलमा पनि सोंचेजस्तो बुकिङ भने छैन । ‘केही ठाउँमा बुकिङ राम्रो आए पनि केही ठाउँमा अवस्था खराब छ,’ उनी भन्छन्, ‘अक्टोबर, नोभेम्बरमा पर्यटक बढ्नेमा हामी आशावादी चाहिं छौं ।’ पछिल्लो समय पूर्वपश्चिम राजमार्गमा भएका ठूला दुर्घटनाले बाह्यभन्दा पनि आन्तरिक पर्यटक प्रभावित बनाएको घिमिरेले बताउँछन् । ‘पोखरा–मुग्लिङ र पोखरा–नारायणगढ, काठमाडौं–नौबिसे सडकमा स्तरोन्नतिको काम भइरहेको छ अनि सोही सडकमा बाढी-पहिरोको जोखिम पनि छ,’ उनी भन्छन्, ‘जबसम्म मनसुन रोकिँदैन तबसम्म मानिसहरू सुरक्षाका कारणले पनि हिँडडुल गर्दैनन् ।’ दसैं–तिहारमा पानी परेन भने चितवन–सौराहा घुम्ने बाह्य तथा आन्तरिक पर्यटक संख्या वृद्धि हुनेमा घिमिरेले विश्वास व्यक्त गरे । ‘पछिल्लो दुई–तीन महिनामा पर्यटकीय गतिविधि ठप्प जस्तै छ । पोहोरको जति पनि गतिविधि यसपटक भएन, सिजन सुरु भएसँगै ग्रो हुन्छ कि भन्ने आशा छ,’ उनले भने । त्यस्तै, पर्यटन क्षेत्रमा काम गरिरहेको संस्था ‘चाइनिज टुर अपरेटर्स एलायन्स’ का अध्यक्ष विश्वेश श्रेष्ठ केही बुकिङ रद्द हुनुलाई सामान्य लिन्छन् । उनी पर्यटकीय आगमन पहिलाभन्दा ‘बेटर’ हुनुपर्नेमा जाेड दिन्छन् । ‘केही बुकिङ रद्द भए पनि अहिलेको अवस्था हेर्दा राम्रो नै हुन्छ भन्नेमा म आशावादी छु,’ उनी भन्छन्, ‘पछिल्लो समय भएको दुर्घटनाले अहिलेको अवस्थामा अलिकति प्रभाव पारे पनि दीर्घकालीन रूपमा पारिराख्दैन । सरकारले लिएको लक्ष्य नै पूरा गर्न सकिएला भन्नेमा आशावादी छैनौं, तर केही बेटर हुने सम्भावना छ ।’ सरकारले यो वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटन बोर्डको तर्क के हो ? नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पछिल्लो समय नेपालमा भएका हवाई र सडक दुर्घटनाले विश्व पर्यटन बजारमा नेपाल गन्तव्य सुरक्षित छैन भन्ने सन्देश गएको बताउँछन् । यही कारण पर्यटक संख्या क्रमशः घट्दै गएको उनकाे बुझाइ छ । सन् २०१९ जुलाईको तुलनामा पर्यटक आगमन संख्या २०२४ जुलाईमा ९ प्रतिशत घटेको छ । अगस्टसम्मा आइपुग्दा यो संख्या २४ प्रतिशत घटेको देखिन्छ । यो संख्या घट्नुको कारण भारतीय पर्यटक आगमन घट्नु रहेको निर्देशक लामिछाने बताउँछन् । ‘पहिलाभन्दा यसपालि भारतीय पर्यटक आगमन पनि ३–४ प्रतिशत कम छ । अमेरिकी र युरोपेली पर्यटक संख्या पनि क्रमशः घट्दै गइरहेको छ,’ उनी भन्छन्, ‘यसले आउँदो सिजनलाई शतप्रतिशत प्रभाव पार्छ । पर्यटन व्यवसायीले पनि बुकिङ रद्द भएको, पोस्पोन्ड र होल्ड भएको बताइरहनुभएको छ ।’ निर्देशक लामिछाने ‘अब आउने सिजन राम्रो हुने वा नहुने भन्ने कुरा सरकारले लिने पूर्वसतर्कतामा भर पर्ने’ बताउँछन् । पर्यटन बोर्डले पनि अहिलेसम्म अन्तर्राष्ट्रिय बजारमा राम्रोसँग प्रचारप्रसार गर्न नसकेको उनी सहर्षै स्वीकार्छन् । ‘आजको मितिसम्म बोर्डबाट बजेट पास भएको छैन, अझै एक साता बजेट पास हुने सम्भावना छैन,’ निर्देशक लामिछाने भन्छन्, ‘बोर्डले लामो समयपछि सीईओ पनि पाएको छ, नयाँ नेतृत्वले पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ उनी भन्छन् ।
सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सम्झाैता
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले अन्तराष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ सँग सम्झाैता गरेकाे छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुई संस्थाबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएकाे हाे । आधारभूत शिक्षा तथा साक्षरता कार्यक्रममार्फत पिछडिएका वर्गकाे साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले दुई संस्थाबीच सहकार्य हुने भएकाे हाे । सहमतिपत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्री रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष श्री राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट सञ्चालक श्री भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिति रहेको थियो । सहमतिअनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई ५ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त रकममध्ये २.५ लाख रुपैयाँ शौचालय निर्माणको लागि र बाँकी रकम संस्थाको विभिन्न रोटरी क्लबहरूमार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कूलमामा सञ्चालन हुने युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ। सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको बताए । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरू, ५० हजारभन्दा बढी अभिकर्ताहरू तथा १८ वटा योजनाहरूमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।
नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छ : भारतीय अभिनेता नवाजुद्दिन
काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् । सोमबार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताएका हुन् । उनले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए । देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे । ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरु आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनैपनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन्, उनीहरुले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन्’, उनले भने । अभिनेता सिद्धिकीले नेपाली चलचित्रको भविष्य उज्वल रहेको बताए ।
महालक्ष्मी बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच शैक्षिक संस्था स्तरोन्नति गर्नेबारे भयो सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विश्व साक्षरता दिवसको अवसर पारी सम्झाैतापत्रमा हस्ताक्षर भएकाे हाे । उक्त सम्झौताअनुसार विभिन्न सार्वजनिक/सामुदायिक शैक्षिक संस्थाहरूमा आवश्यक स्तरोन्नति, शौचालय निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ । यसबाट संयुक्त राष्ट्रसंघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरपसफाइमा सबैको पहुँच’ हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ तथा शौचालय सुविधाहरूमा पहुँच अभिवृद्धि गर्ने बैंकको नितिअनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहक रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ ।