रोयल इन्फिल्ड हिमालयन ४५० को टेस्ट राइड, यस्ता छन् विशेषता
काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ । रोयल इन्फिल्डले टेस्ट राइड ट्र्याक अनुभव भाद्र २१ देखि २३ सम्म सञ्चालन गरेको हो । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले राइडरहरुलाई अफरोडिङ अनुभव प्रदान गर्न सफल भएको कम्पनीको दाबी छ । राइडरलाई अफ–रोड ट्र्याकमा हुने अनुभवले हिमालयन ४५० बाइकको उत्कृष्ट पर्फमेन्स सहित रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको उनीहरूको अनुभव छ । अल्फा अटोमोटिभले नाडा अटो सो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसी शेर्पा इन्जिन लन्च गरेको थियो । हिमालयन ४५० को प्रारम्भिक मूल्य ९ लाख ८९ हजार पाँच सय रुपैयाँ रहेको छ । टप भेरियन्टको मूल्य दश लाख ३९ हजार पाँच सय रुपैयाँ तोकिएको छ । हिमालयन ४५० मा ४ भेरियन्टमा बजारमा उपलब्ध छन् । जसमा काजा ब्राउनको मूल्य नौ लाख ८९ हजार पाँच सय तथा स्लेट पपी ब्लूस्लेट हिमालयन साल्टको मूल्य नौ लाख ९९ हजार पाँच सय रुपैयाँ रहेको छ । त्यस्तै क्यामेट व्हाइटको मूल्य दश लाख अठार हजार पाँच सय रुपैयाँ रहेको तथा हान्ले ब्लाकको मूल्य दश लाख ३९ हजार पाँच सय रुपैयाँ रहेको छ । ४५२ सिसी इन्जिन र आधुनिक एबीएस प्रणाली रहेको यस मोटरसाइकलले आधुनिक प्राविधिक सुधारसहित रहेको छ । यो बाइक सहरका सडकहरू र नेपालको प्राकृतिक सुन्दरताले भरिएको पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राहरूको लागि सर्वोत्कृष्ट रहँदै आएको छ । रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० ले इन्डियन मोटरसाइकल अफ द इयर २०२४ अवार्ड विजेता प्राप्त गरेको छ । यस बाइकमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश गरिएको कम्पनीले जनाएको छ । रोयल एन्फिल्ड हिमालयनको अधिकतम पावर २९/४४ किलोवाट रहेको छ भने अधिकतम टर्क ४० एनएम २५५०० आरपिएम रहेको छ । हिमालयन ४५० सिसी मा १७ लिटरको फ्युल ट्याङ्की रहेको छ । सामुन्ने पाङ्ग्राको साइज ९०/९०–२१ छ भने पछाडि पाङ्ग्राको साइज १४०/८० आर १७ र बाइकमा २३० मिमि को उच्च ग्राउन्ड क्लियरेन्स छ । डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो टिएफटि डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गुगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन, र मिडिया कन्ट्रोल पनि उपलब्ध छन् । मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरू समावेश छन् । हिमालयन ४५० अल्फा अटोमोटिभका नेपालभर रहेका २४ ओटै शोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले दिए राजीनामा
काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे कम्पनीबाट बाहिरिएका छन् । उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भाद्र २२ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो । घिमिरे २०७८ साल माघ १९ गते ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकाल अझै एक वर्ष ५ महिना बाँकी थियो ।
भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्छ: ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता हुनुपर्ने बताएका छन् । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल-अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । अमेरिकाले सन २०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानी सम्बन्धी सम्झौता (टिफा ) परिषदको बैठक महत्त्वपूर्ण रहेको उनको धारणा थियो । उक्त बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । यसैगरी, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भैरहेको समयमा भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा उनकाे जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझावअनुरूप अमेरिकासँग छलफल गरिने बताए । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए । नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जाेड दिए । त्यस्तै, नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथ साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीइ लगानी र व्यापारका लागि सम्झौत गर्नका लागि यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो । तर हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घट्न सक्नेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।
कुमारी बैंक र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता भएको छ । बैंक र धुलिखेलमा रहेको दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
एनआईएमबी ग्राहकका परिवारलाई समेत बुद्ध एयरमा छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरू साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ । सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । यो सम्झौताबाट एनआईएमबीका ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ । गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआईएमबीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ विभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरूलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको हो । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।
सिन्धु विकास बैंकले मनायो १५औं वार्षिकोत्सव
काठमाडौं । सिन्धु विकास बैंकको १५औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंकले आफ्नो १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको हो । बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बनेपा बजार आसपासका स्थानीय वासिन्दा, जिल्ला रेडक्रस सोसाईटी तथा विभिन्न बैंक तथा वित्तीय संस्था एवं संघ संस्थाका प्रतिनिधिहरु लगायत बैंकका उच्च कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । उक्त खुला रक्तदान कार्यक्रममा करिब ५० रक्तदाताहरुले रक्तदान गरेका थिए । सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ ईकाइबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।
खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो । आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत प्यान अध्यावधिक गर्नका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ । उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची-१० मा करकट्टीको विवरण मिलान गर्ने बैंकको भनाइ छ । जसले गर्दा ग्राहक करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैंकले लिएको छ ।