कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् । उनले कोही पनि सरुवा, बढुवा वा अरू कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गरे । उनले आफ्नो रुचि र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताए । सरकारले लिएको राजस्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गरे । उनले आन्तरिक राजस्व रणनीति कार्यान्वयनका लागि जोड दिए । ‘हामीले भर्खरै आन्तरिक राजस्व रणनीति परिचालन गरेका छौं । यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहनेछ । रणनीति कार्यान्वयनमा जोड दिनुहोला,’ उनले भने । उपप्रधानमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए । लक्षित राजस्व लक्ष्य सम्पूर्ण रूपमा पूरा गर्न पनि निर्देशन दिए ।
मेटलाइफ नेपालको ‘विविधतामा एकताको जीवन्त उत्सव’ भव्यताका साथ सम्पन्न
काठमाडौं । मेटलाइफ नेपालले विविधतामा एकताको जीवन्त उत्सव भव्यताका साथ सम्पन्न गरेकाे छ । उत्सवमा मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाकाे पनि उपस्थित थियाे । नेपालको विभिन्न क्षेत्रबाट मेटलाइफका अभिकर्ताहरू आफ्नो परम्परागत राष्ट्रिय पोशाकमा उत्सवमा सहभागी भएका थिए । मिस एलेना बुटारोवा र मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठ र वरिष्ठ व्यवस्थापन टोलीले २०२३ मा शीर्ष-कार्यकारी गर्ने एजेन्सी म्यानेजर, युनिट म्यानेजर र फिल्ड रिप्रिजेन्टिभहरूको परिश्रम र समर्पणलाई सम्मान गरे । बीमा अभिकर्ताहरू वर्षभरि उत्कृष्ट बिक्री कार्यसम्पादन, उल्लेखनीय सेवा र व्यावसायिकताप्रति प्रतिबद्धताका लागि सम्मानित भएका हुन् । मेटलाइफ, मेटलाइफ इन्कर्पोरेटेडको एक शाखा हो, जुन नेपालमा ५ डिसेम्बर, २००१ देखि सञ्चालित छ । मेटलाइफ नेपालमा बीमा अनुमति प्राप्त गर्ने पहिलो विदेशी कम्पनी पनि हाे । मेटलाइफ जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभहरु बीमा गर्ने देशको एक अग्रणी संस्था हो, जसले सुलभ लागतमा आकर्षक बीमा संरक्षण योजना र लाभ उपलब्ध गराउँदै आइरहेको छ । नेपालमा मेटलाइफका ८ हजार एजेन्ट छन् । सन् १८६८ मा स्थापित मेटलाइफ इन्कर्पोरेटेडको न्यूयोर्कमा प्रधान कार्यालय रहेकाे छ । विश्वका ४० भन्दा धेरै देशहरुमा सञ्चालित मेटलाइफले संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ।
केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने
काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेष्ट ड्राइभको आयाेजना दुई दिन गर्ने भएकाे छ । शनिबार केई शोरुम थापाथली र आइतबार केई शोरुम भाटभटेनी नक्शालमा टेष्ट ड्राइभ हुन लागेकाे हाे । केईको इलेक्ट्रिक एसयूभ एक्स थ्री प्राे इभी, इलेक्ट्रिक ह्याचब्याक ई-क्वेट ०४ र ई-क्वेट ०४ टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएकाे छ । प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहार राखिएको छ । सहभागीहरूमध्ये एकजना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बाेस्चको मिक्सर ग्रिन्डर प्राप्त गर्नेछन् । योजनामा सहभागी हुन र यस कार्यक्रमको विस्तृत जानकारीको लागि ९८०१२०११०३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनअन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो । जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो। हालैमात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।
सञ्चालनमा आयो ‘सिद्धार्थ होटल’, दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न भएको दावी
दमौली । मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रूपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए । ‘दमौलीलाई पर्यटकीय नगरीका रूपमा विकास भइरहेको छ, पछिल्लो समय व्यास–देवघाट करिडोर निर्माणदेखि १०८ वटा मूर्ति निर्माण पनि भइरहेका छन्,’ उनले भने, ‘म लगानीकर्तालाई दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानीका लागि आग्रह गर्दछु ।’ उनले दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न होटल निर्माण भएको उल्लेख गर्दै विगतमा कुनै पनि कार्यक्रम गर्नका लागि बन्दिपुर, पोखरालगायतका स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्राण्डअन्तर्गतको होटल सञ्चालनमा ल्याइएको हो । एपेक्स हस्पिटालिटी लिमिटेडका अध्यक्ष मुकुन्द तिमल्सिनाले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको दमौलीमा आवश्यकताका आधारमा होटल निर्माण गरिएको बताए । ‘प्रारम्भमा व्यावसायिक कम्प्लेक्सको अवधारणामा भवन निर्माण सुरु गरिए पनि अन्ततः यहाँ सुविधा सम्पन्न होटल र दुईवटा सिनेमा हाल सञ्चालनमा ल्याइएको छ,’ उनले भने, ‘होटल निर्माणपछि यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलगायत लाभान्वित हुने अपेक्षा गरेको छु ।’ उनले दमौली भइ पोखरा, काठमाडौं र चितवन जस्ता पर्यटकीय गन्तव्यमा पुग्ने यात्रु तथा स्थानीय स्तरमा आयोजना हुने सभा, सम्मेलनका साथै विवाह, व्रतबन्धलगायतका अवसरमा पार्टी आयोजनाका लागि पनि सहज भएको बताए । होटलमा डिलक्स र जुनियर स्वीट गरी ३४ वटा कोठा छन् । साथै करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन् । होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफेको पनि सुविधा छ । पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौंबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ । पर्याप्त सवारी साधन अट्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ। ‘पछिल्लो समय यहाँका पर्यटकीय गन्तव्यहरु महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्त्वका स्थानमा पर्यटकको संख्या बढिरहेको छ । उनीहरुका लागि लक्षित गरी होटल निर्माण गरिएको हो,’ अध्यक्ष तिमल्सिनाले भने । उनले नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको बताए । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले होटल सञ्चालनले यहाँको पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुलुकको पर्यटन क्षेत्रको विकास विना आर्थिक समृद्धि हासिल नहुने उल्लेख गर्दै उनले विकासको पहिलो सर्त पर्यटन क्षेत्र भएको बताए । ‘मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४.४ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउन सकिन्छ, यसका लागि होटललगायतका पूर्वाधारमा लगानी बढाउनु जरुरी छ,’ सीइओ न्यौपानेले भने, ‘पर्यटन क्षेत्रको विकासमार्फत स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने हो ।’ उनले हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका आउटलेटमा नेपालमै उत्पादित कफी खपत भइरहेको जानकारी दिए । ‘हाम्रो नेटवर्कभित्रका होटल, रेष्टुरेन्ट तथा क्याफेमा प्रयोग हुने कफी सिद्धार्थ ग्रुपअन्तर्गतको कृषि कम्पनी बायोटिका र नेपाली किसानले उत्पादन गरेको हो, आगामी दिनमा होटलमा स्वदेशमा उत्पादित खाद्यान्न हुनेमा हाम्रो जोड रहनेछ,’ उनले भने । एपेक्स हस्पिटालिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील न्यौपानेले आफूहरूले नयाँ व्यवसाय सुरुआत गरेको र सिद्धार्थ हस्पिटालिटीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भवन निर्माण सुरु गरेको लामो समयपछि सुविधासम्पन्न होटल तथा क्यूएफएक्स ब्राण्डमा दुई वटा सिनेमा हल सञ्चालनमा ल्याइएको जानकारी दिए । त्यसअवसरमा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले होटलको सेवा ग्राहकमुखी हुनुपर्ने बताए । उनले दमौलीमा अहिलेसम्मकै ठूलो लगानीमा होटल सञ्चालन आएको र यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा गलेश्वर धामका पीठाधीश स्वामी आत्मानन्द गिरीले होटलको व्यावसायिक सफलताको शुभकामना दिँदै मेहनतका साथै आत्धात्मिक चिन्तन र ध्यानले मात्रै सफलता प्राप्त हुने भएकाले मेहनतसँगै अध्यात्ममा केन्द्रित हुन सुझाव दिए । व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले दमौलीमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको सञ्चालनमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाए । होटल संघ गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गाविलास भट्टराईले यस होटल सञ्चालनले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघ दमौलीका अध्यक्ष बैकण्ठनाथ मिश्रले दमौलीमा आवश्यकताअनुसारको स्तरीय होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको व्यावसायिक सफलताका लागि आफूहरूले साथ र सहयोग रहने उल्लेख गरे ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गर्यो प्रतिफल घोषणा
काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको हो । कम्पनीको भदौ २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । फण्डको कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको कम्पनीले जनाएको छ ।
हाथवे इन्भेष्टमेन्टको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरू वितरण गरिने कम्पनी सचिव सुधा अर्यालले जानकारी दिए । कम्पनीले यसअघि आर्थिक वर्ष २०७९/८० मा १०.५२६ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा ५५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सुनको भाउ हालसम्मकै उच्च, आज ३ हजारले बढ्यो
काठमाडौं । आज शुक्रबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ३ हजार रुपैयाँले बढेर आज छापावाला सुनको भाउ १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो बिहिबार छापावाला सुनको भाउ १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । आज शुक्रबार चाँदीको भाउ पनि आज एकैपटक तोलामा ६५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
तनहुँमा ७ सय ७० साना उद्योग थपिए
फाइल तस्बिर । तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा ६६ लाख चार हजार दुई सय राजस्व सङ्कलन गरेको यो कार्यालयले आव २०८०/८१ मा रु ५१ लाख चार हजार आठ सय राजस्व सङ्कलन गरेको जनाएको छ । ‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ, आव २०८०/८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्,’ कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने । त्यसैगरी, २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् । चालु आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।